~गोपाल नेपाली~
एकाबस्तीमा काले मङ्गली वि.क.को कोखबाट जन्मेका थिए । कालेको बुबा भारतको कोठीमा काम गर्दागर्दै हर्ट अट्याकको बिरामीको कारण मृत्यु भइसकेको थियो । उसको बा मर्नेबेला काले ५ वर्षको थियो । आमा मङ्गलीले दुईछोरी र एक छोराको जीवनमा खर्च पुर्याउन अत्यन्तै अप्ठ्यारो परिरहेको थियो । आमा अर्काको काममा दिन नबिराई जाने गर्दथिन र ती स–साना नानि–बाबुहरूलाई पनि आफू जहाँ जान्थिन् त्यहीं लैजान्थिन् र दिनभरि उनले साहुको खेतबारीमा काम गर्दथिन् । छोरा–छोरीहरू धुलो–मैलो हुँदै माटामा दिनभरि खेल्दथे र ती साना बालकहरू आज–भोलि ठूला र बुझ्ने हुँदै गए । आफूजत्रा केटाकेटीहरू झोला बोकी ड्रेस लगाइ चटक्कपरी स्कूलतिर जान्थे भने आफूहरू दिनभरि ढुङ्गो, माटोसँग खेल्दथे ।
कालेलाई लाग्न थाल्या,े हामीपनि तिनीहरू जस्तै भएर स्कूल जान पाए कति हुन्थ्यो । स्कूलमा गएर के गर्दथे । कालेलाई त्यो चिन्ताले सताउन थाल्यो र आमासँग भन्न थाल्यो,‘आमा गाउँका सबै केटाकेटी राम्राराम्रा भएर स्कूल भन्ने ठाउँमा जान्छन् । हामीलाई पनि पठाउनुस् न ।’आमाको पनि पठाउने मन त थियो, तर के गर्ने उनको बाध्यता थियो । दिनरात काम गर्दा पनि खान लाउन धौ धौ भएको थियो । तर स्कूलको कुरा त छाडौँ, उनले भन्न थालिन्, ‘हेर बाबु , तेरा बा त सानो हुँदा नै मरेका छन् । तिमीहरूलाई हुर्काउन बढाउन मलाई कती दुःख छ । पढाउने मन त मेरो पनि थियो । तर तँलाई नाम लेखाउने, कापीकिताब र ड्रेस हाल्दिने पैसा मसँग कहाँ छ र ?’ काले आमाको कुरा सुनेपछि झन् रून थाल्यो र भन्न थाल्यो,‘मलाई जसरी भएपनि स्कूल पठाउनु पर्छ । मलाई पढ्ने रहर छ ।’ आमाले भनिन् , ‘हेर बाबु, तँ सानो छस् , अलि ठूलो भएपछि स्कूल जालास्’। त्यस दिन त कालेले मान्यो । तर भोलिबाट काले त्यो स्कूलको चिन्ताले फेरि रून कराउन थाल्यो । आमाले कालेलाई सम्झाउनु बाहेक के उपाय थियो र आमाले पनि ‘हुन्छ बाबु, म तँलाई स्कूल पठाउनको लागि पैसा खोज्न जान्छु , अनि तँ स्कूल जालास्’ भनेपछि काले रून छाड्यो र आमा गाउँतिर लागिन् ।
आमालाई छोराको पीडा देखेपछि उनलाई पनि चिन्ताले सताउन थाल्यो र उनी गाउँका ठूला साहुको घरमा ऋण खोज्न भनी २–३ ठाउँ पुगिन । बिचरा उनलाई कले पत्याउने ? हुन पनि उनको छुट्टै आयस्रोत के नै थियो र? दिनभरि काम गरी खान बल्लबल्ल पुग्थ्यो । गाउँभरि हिंड्दा एकजना हर्के साहू कहाँ पुगिन् र पैसाको कुरा गरिन् । साहुले भन्यो,‘हेर, पैसा चाहियो भने एक सयको व्याज ५ रूपैयाँ लाग्छ । चाहिए लग न चाहिए नलग’ । छोराको पीडा सम्झेर कालेकी आमाले हुन्छ भनी स्वीकारेर हर्के साहुबाट एक वर्षको लागि पाँच हजार छिटो फिर्ता गर्ने सहमतिमा कागज गरी पैसा ल्याइन् । कालेलाई लगेर स्कूल गइन् र कक्षा एक मा भर्ना गरिदिइन् । कालेको खुशीको कुनै सीमा थिएन । अत्यन्तै खुशी भयो र काले नियमित स्कूल जान थाल्यो । पढाई पनि कालेको अत्यन्तै राम्रो थियो । परीक्षामा फस्ट आउन थाल्यो । त्यसैगरी काले पास हुँदै जाँदा ६ कक्षासम्म पुग्यो । छोराको पढाई देखेर आमा अत्यन्तै खुसी थिइन् भने अर्कोतिर हर्के साहुबाट लिएको ऋण चुक्ता गर्न नसकेकोमा अत्यन्तै दुःखी थिइन् । साहुको ऋण दिन प्रतिदिन बढ्दै गइरहेको थियो ।
साहुले साह्रै अत्याउन थाल्यो । उसले यतिसम्म बेलाबेला भन्ने गर्दथ्यो कि ‘मलाई पैसा चाहियो कि भने तेरो वारीको सुको दे’ । आफ्नो सम्पत्तिको नाममा त्यही सानो सुर्को र सानो स्याउले घर थियो । त्यहीपनि साहुले माग्दा मन भक्कानिएर आउँथ्यो । के गर्नु, कोसँग रूनु, कोसँग आफ्नो दुःख र पीडा पोख्नु, कहिले काहीं त मरौँकि जस्तो पनि लाग्थ्यो । तर ती साना बालकले कति दुःख पाउलान् भन्ने लाग्थ्यो र आफ्नो मन आफै सन्ताउँथिन् ।
काले ठूलो र अलि बुझ्ने भइसकेको थियो । काले दलित भएको कारण र संस्कारगत रूपमा दलितलाई हेर्ने दृष्टिकोण पुरानै थियो । त्यो पनि त्यो समाज भनेको ब्राहमणहरूको बाहुल्यता भएको समाज थियो । अहिलेसम्मको संस्कार र जातिवादको भरपुर रूपमा मान्ने भनेको ब्राहमण नै हुन् । त्यसैले कालेले स्कूलमा पानी खाँदा, नास्ता खाँदा हात थापेर खानु पर्दथ्यो र उसलाई हेर्ने बस्ने र बोलाउने जस्ता क्रियाकलापमा दलितको झल्को दिइन्थ्यो । कालेलाई त्यस प्रकारको व्यवहारले हीनताबोध हुन थाल्यो र सोच्न थाल्यो । ‘म पनि त यही समाजको मानिस हुँ, ममा के छ मलाई घृणा र छोइछिटो गर्नुपर्ने भिन्नै मलाई चिनाउने गुण?’ कालेलाई अत्यन्तै चिन्ता लाग्न थाल्यो । त्यस प्रकारको अपमानजनक व्यवहारलेकसैसँग बोल्न र पढ्न मन लाग्न छाडी सकेको थियो । अर्कोतिर आफूलाई स्कूलमा भर्ना गराउँदा आमाले साहु हर्केसँग लिएको ऋणले गर्दा साहु दिनदिनै घरमा आई नानाभाँती कुरा सुनाउँदै अत्यन्तै घिनलाग्दा भाषामा गाली गर्ने गर्दै आएको थियो । कालेले सोच्न थाल्यो, घरमा ऋण लागेको छ, स्कूलमा छुवाछूत, भेदभाव बढ्दै गएको छ, पशु सरह भएर पनि के स्कूलमा पढी रहनु, आफू सरहका केटाकेटीहरूले भेदभाव गर्दछन् भने यस्तो खालको अपमान कहिलेसम्म सहिरहनु । कालेले सोंच्यो, बरू भारतको कुनै ठाउँमा गएर काम गर्यो भने सम्मान र इज्जत दिन्छ होला ।
जातीय अपमान सहनभन्दा अन्य जस्तो खालको अपमान पनि सहँुला र साथसाथै साहुको ऋण पनि तिरिन्थ्यो भन्ने सोञ्च बनाएर काले भारततिर हिँड्यो । उ भारतको चण्डिगढमा गएर सामान्य होटेलमा भाँडा माझ्ने काममा लाग्यो । केही समयपछि त्यहाँ अन्य नेपालीसँग सम्पर्क हुँदै गयो । आजआज भोलिभोलि नेपालीसँगको सङ्गत बढ्दै जाँदा भारतमा एकता समाजको प्रभाव र प्रायः नेपाली सङ्गठित भएको पाइन्थ्यो र नेपालीहरूले उसलाई पनि सङ्गठित हुन आग्रह गरेपछि कालेलाई सुरूमा त अलि गाह्रो भयो । राजनीतिक कुरा राम्रोसँग बुझ्दैनथ्यो । तर पछिपछि उसले राम्रोसँग बुझ्न थाल्यो । समाजमा धनी किन हुन्छन्, गरिब किन हुन्छन् ? एउटा जातिले अर्को जातिलाई किन दमन गर्छ र त्यसको विरुद्ध उत्पीडित जातिले के गर्नुपर्छ र धर्म के हो ? धर्मले मानिसलाई कतातिर मार्ग निर्देशित गर्दछ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्ने मौका पायो । उसले सोच्न थाल्यो यो सम्पूर्ण उनीहरूले गर्ने गतिविधि त हामीमाथि नै लादिएको रहेछ भन्ने महशुस गरी कालेले अझ तीव्र गतिमा सङ्गठनको कामलाई अगाडि बढायो र सोंच्न थाल्यो,‘अब म भारतमा बसेर हुँदैन । यी समाजमा हुने अन्याय, अत्याचार र व्यभिचार जसता कुसंस्कार निम्ताउने शोषक, सामन्त र प्रतिक्रियावादीहरूको विरुद्ध जुझारू सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।’ त्यसैले काले अखिल भारत नेपाली एकता समाजको कोसेली लिएर गाउँ फर्कियो र घर गयो ।
घरमा पुग्दा उसको घरमा साहुले ताला लगाइदिएको थियो । अनि आमा र बहिनीहरू त्यही साहू हर्केको घरमा बँधुवा बसेको समाचार पायो । काले एकपटक मूर्छापर्यो । आमासँग भेट गरेर उसले साहूबाट कब्जा गरिएको आफ्नो सम्पत्ति फिर्ता गर्ने सल्लाह गरी भोलिपल्ट साहुको सबै पैसा असुली गरी आफ्नो गुमेको सम्पत्ति फिर्ता गर्यो र समाजमा हुने अन्याय, अत्याचार, छुवाछूत र शोषण, दमन जस्ता क्रियाकलापको विरुद्धमा शोषित, पीडित जनसमुदायलाई सङ्गठीत गर्दै तिनका विरुद्ध आन्दोलनको आँधीबेहरीको सृजना गर्न थालेपछि आफ्नो गाउँमा हुने सबैखाले गलत व्यवहारमा सुधार आयो र काले त्यो समाजको र राष्ट्रियताको पक्षमा एउटा सफल मान्छे हुन पुग्यो ।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४५ – Oct. 22, 2014 – २०७१ कार्तिक ५ गते, बुधबार)