कविता : उजाडिएको मान्छे

~अपत्य शर्मा~

घरजग्गा जमिन सबैबाट विमुख
खुला आकाशमुनि
धुलो र फोहोरको प्रतिमूर्ति
रोग, भोक, शोक र घृणाको मूर्ति
त्यो उजाडिएको मान्छे

काम र मामको खोजीमा
शहर बजार र गल्ली गल्ली घुम्दै
उपहास र घृणाको पात्र
सम्पन्नहरूले घृणा गरिएको
लुछिएको ठुङिएको
त्यो उजाडिएको मँन्छे

त्यो त्यही सहरको मान्छे
जहाँ ऊ जन्मियो हुर्कियो र बढ्यो
जन्म, विवाह, मृत्यु र परम्पराका बन्धनहरू
ऋणको गह्रौँ भारीले
उसको शक्ति जोश र उत्साहलाई
किच्दै मिच्दै लग्यो
आज त्यो उजाडियो

ऊ त उजाडियो
आफ्नो भन्ने सबै गुमाएर
जहाँ उसको टाउकोमाथिको चुहिने छानो थियो
त्यहाँ त आज आकाश छुने महल छ
जुन महलले उसको
अभावमा उसलाई गिजाइरहेछ
हेपिरहेछ
त्यति मात्र कहाँ हो र ?
उसलाई कमारो बनाइरहेछ
ऊ उजाडिएको मान्छे

मानवका रगत पसिना
र हाडखोरका प्रतिरूप
महलहरू
ती महलका दानवहरूको
स्वर्ग ध्वंश गर्ने सङ्कल्प गर्दै
दाँत कट्कटाउँदै
अगाडि बढ्छ
उजाडिएको मान्छे ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.