~उदय निरौला~
यो रूख, यो मान्छे, यो चौतारो
यो धारो, यो पँधेरो, यो पाठशाला
अहिले सबै–सबै, त्यो–त्यो, जस्तै–जस्तै छन्
घुर्मैलो, पनेलो, ओझेल जस्तै–जस्तै छन्
आँखामा मोतीबिन्दु बसेको जस्तो
अथवा आफैले आफैलाई बिराएको
हराएको वा भुलेको जस्तो
खासमा सबै बिरानो बन्दै गएको पनि हैन
नचाहेरै बिरानिएको,
टाढिएको, हराएको भुलेको
नहारेरै सबै थोक हारिहालेको पनि हैन
तर पनि नजानेरै बिगारेको
बिगारेरै बिगार्न बाँकी पनि हैन
तर कुन्नि किन बनाउन जानेको पनि छैन
निशाना नचुकाएरै पनि तीर गलत पर्यो कि ?
बाजमाथि हानेको तीरले परेवा मर्यो कि ?
सोच्न पनि नसोचेको हैन
तैपनि पाठशाला बसाइँ सरेजस्तो छ
खोज्दाखोज्दै नहराउँदै आफ्नो बास नै बसाइँ सरेझैँ
बसाइँ सरेको भूगोलपछि कहाँ फर्कन्छ र ?
मानचित्र मात्र कोठामा बसाइँ सरेको पो हो कि ?
भ्रम भैरहेछ, कि भूगोल नै सरेको पो हो कि ?
त्यो केही सिकेको
केही जानेको
केही बेहोरेको
केही ठानेको
आफ्नो–आफ्नोपन,
आफ्नो मन,
आफ्नो तन नै
कतै बसाइँ सर्यो कि ?
हँ ! केही हरायो कि ?
(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )