~जीवन शर्मा~
अरू विधालाई जस्तै बर्षा यामका गीतहरूलाई पनि सौन्दर्यशास्त्रीय आँखाले राम्रोसँग नियाँल्न सकिन्छ । यस्ता गीतहरूमा सौन्दर्य कसरी छिपेको हुन्छ भन्ने कुरा बुझ्न सौन्दर्यशास्त्रका आधारभूत मान्यता, सिद्धान्त र नियमको ज्ञान हुनु आवश्यक छ । यी गीतहरूको वर्गीय स्वरूपको ठीकसँग अध्ययन गरेर मात्र यिनमा निहित सौन्दर्यको यथार्थ मूल्याङ्कन गर्न सकिन्छ । प्रकृतिमा निरपेक्ष सत्य केही हुँदैन । त्यसमा पनि सौन्दर्यलाई हेर्ने बुझ्ने र अनुभूत गर्ने अनेकौँ कोणहरू हुन्छन् । तिनीहरूको सापेक्षतामा नै यसलाई हेर्नु पर्दछ । गीतको सौन्दर्य अझै बढी संवेदनायुक्त र बहुआयामिक हुन्छ । सङ्गीत सिर्जना गर्ने काम आफैमा एउटा बुझ्न कठिन र जटिल प्रकृया हो । यसमा निरपेक्ष रूपमा सुन्दर जस्ता लाग्ने कैयौँ पाटाहरू हुन्छन् । सुक्ष्मतम रूपमा वर्गसापेक्षताको आँखाले हेर्न सके मात्र सङ्गीतको वर्गीय चरित्रलाई ठीकसित ठम्याउन सकिन्छ, नत्र भने सुर–तालको राम्रो संयोजन भएका सबै गीतहरू उत्तिकै कर्णप्रिय र सुन्दर लाग्छन् । वर्गीय समाजमा गीत–सङ्गीतको मूल्याङ्कन गर्दा यसको वर्गीय सापेक्षतामाथि नै सबभन्दा बढी ध्यान दिनु पर्छ । सुर–तालको सर्वोत्कृष्ट संयोजन भएको भएता पनि पुँजीपति वर्गको पक्षमा सृजना गरिएका गीत–सङ्गीतहरू सर्वहारा वर्गका निम्ति त्यत्ति नै घातक हुन्छन् । तर सुर–ताल र प्रविधिले कमजोर भएता पनि सर्वहारा वर्गको पक्षमा सृजना गरिएका गीत–सङ्गीतहरू त्यो वर्गका निम्ति सुन्दर हुन्छन् । बर्षा यामका गीतहरूको मूल्याङ्कन गर्ने बेलामा पनि यिनै कुराहरूमा विषेश ध्यान दिनु जरूरी हुन्छ ।
बर्षा यामको वर्णन गर्दै सबैभन्दा धेरै मिहिनेत गरेर काव्य लेख्ने कविमध्ये पुराना संस्कृत कवि कालिदास हुन् । उनले आफ्नो बहुचर्चित कृति “मेघदूतम्” मा बर्षा यामको वर्णन गर्न धेरै बौद्धिक श्रम खर्च गरेका छन ।
नेपालमा भने बर्षामासका गीतका बारेमा त्यति धेरै अध्ययन गरेको पाइदैन । अहिलेसम्म बर्षामासका गीतहरू पनि थोरै मात्रामा मात्र तयार भएका छन् भन्दा पनि हुन्छ । त्यसका बावजुद केही कलाकार र साहित्यकारले आ–आफ्ना दृष्टिकोण बमोजिम यस्ता कविता र गीतहरू तयार पारेका छन् ।
बर्षा यामका गीतको सौन्दर्य प्रकृतिमा बर्षाको सौन्दर्यसँग गाँसिएको हुन्छ । जेठ मासको प्रचन्ड गर्मीपछि बर्षा सुरू हुँदा हरेक मानिसको मनभित्र कस्तो प्रकारको तरङ्गपुञ्ज पैदा हुन्छ ? त्यस कुराको वर्णन गर्दै भीक पटेलद्वारा लेखिएको गीत भारतका प्रसिद्ध गजल गायक पङ्कज उदासले गाएका छन् ः
वह भी तो कुछ तडपा होगा
मौसम की पहली वारिस में ।
यहाँ गीतकारले तातो हावा बगिरहेको मौसमको लगत्तै पानी पर्दा जो कोहीको मन पनि उद्वेलित हुन्छ भन्ने कुरालाई गीतमा उतारेका छन् । चाहे प्रेमी होस्, चाहे त्यो पे्रमिका अथवा अरू कोही, बर्षाको प्राकृतिक वातावरणले उसको मनमष्तिस्क झङ्कृत गर्दछ । त्यसमाथि विछोडिएका प्रेमी–प्रेमिकाहरू त्यस अवस्थामा कति तड्पिन्छन् भन्ने कुराको व्याख्या यस गीतमा व्यक्त भएको देखिन्छ ।
त्यस्तै, कालीदासले “मेघदूतम्” मा मेघ, बर्षा र बर्षाका पनि विविध रूपहरूको व्यापक वर्णन गरेका छन् ः
कर्तुं यच्च प्रभवतिमहीमुच्छिलीन्ध्रामबन्ध्यां
तत्छु्रत्वा ते श्रवणसुभगं गर्जितंमानसोत्काः
आ कैलासाद् बिसकिसलयच्छेदपाथेयवन्तः
सम्पत्स्यन्ते नभसि भवतो राजहंसा सहायाः ।।११।।
(पृथ्वीलाई बोटविरूवा तथा कन्दलिकाहरूद्वारा सजाएर सफल बनाउन सफल हे बादल ¤ तिम्रो कर्णप्रिय गर्जन सुनेर मानसरोवरमा जान उत्कण्ठित राजहंस, जसले बाटोमा खानका लागि कमलका डाँठको अग्रभाग ल्याएको छ, कैलास पर्वतसम्म त्यो तिम्रो सहयात्री बन्नेछ ।)
यहाँनेर सर्वप्रथम बादलको सौन्दर्यको वर्णन गरिएको छ । बादल उत्तरतर्फ उडेको देखेपछि पक्कै त्यो मानसरोवरतर्फ नै हिँडेको होला भन्ने कल्पना गरिएको छ । भयावह चट्याङसँगै उत्पन्न हुने बादलको गर्जन पनि कविको त्यो मनोदशाभित्र कर्णप्रिय बन्न गएको छ । यस्ता बादलको प्रशंसाको वर्णन गरिएका प्रसङ्गहरू खन्डकाव्यभरि सर्वत्र पाइन्छन् ।
नेपाली साहित्यमा पनि बर्षा, बादलका गीत, असारे गीत, साउने गीत र हिउँपानीका गीतहरू केही हदसम्म भेटिन्छन् । यी गीतहरू प्रायः श्रमसँग जोडिएर सिर्जना भएका हुन्छन् । तर ती गीतहरूको उचित प्रयोग, प्रोत्साहन र संरक्षण भएको पाइदैन । बर्षा यामका गीतहरू मात्र समेटिएको कुनै गीति–सङ्ग्रह पनि अहिलेसम्म छैन । निकै मिहिनेत गरेर खोज्यो भने मात्र केही केही पाउन सकिन्छ । धर्मराज थापाले “गोलसिमल” नामक गीति–सङ्ग्रह अन्तरगत “बर्षा गीत” उपशीर्षकमा यसरी वर्णन गरेका छन् ः
साउनै मासको सिमसिमे झरी मूल फुट्यो भल्भली
हिमालै चुली अरूणले खुली झल्कियो झलझली
काली है लेक धुम्मियो बादल गर्जियो गुडुङ्गै
ढुङ्गामा लुक्ने खजुरो पनि झस्कियो झसङ्गै
(गोलसिमल, पेज २५ )
प्राकृतिक गतिविधिलाई रमाइलो र आकर्षक ढङगले यो गीतमा प्रस्तुत गरिएको छ । सिमसिमे झरी र मूल फुटेको कुरा सम्बन्धित भए पनि हिमालचुली अरूणले खुलाएर झलझली बनाएको प्रसङ्ग यहाँ त्यति मेल खाएको देखिँदैन । कालो लेकमा धुम्मिनु, बादल गर्जिनु र खजुरो झस्किनुमा भने प्रसङ्ग मिलेको छ । जे होस्, यो गीतले बर्षा यामको राम्रो चित्रण गरेको छ । त्यस्तै प्रसङ्गको अर्को गीत छ “मेरो बादल” शीर्षकमा ः
मेरो बादल ¤ बर्षन्नौँ किन ?
घाँटी मेरो सुक्दैछ दिनदिन ।
(धर्मराज थापा, गोलसिमल, पेज नं ६४)
घाँटी सुकेको बेलामा बादललाई सम्झेर पानीको प्यास मेटाउने कोशिस नेपाली संस्कारभित्रको एउटा पाटो हो । ग्रामिण असहाय मानिसहरू अप्ठ्यारो पर्दा प्रकृति र देवीदेवतालाई पुकारेर आशावादी बन्ने संस्कार हजारौँ बर्षदेखि चलीआएको छ । त्यही संस्कारको प्रनिविम्ब यो गीतमा पाउन सकिन्छ ।
“पानीको रिमझिम बर्षात् बेला” भन्ने जस्ता गीतहरू रेडियोबाट बज्ने गर्छन् । प्रायःजसो यस्ता गीतहरूमा प्रकृतिको पूजा, आराधना र याचनाको भाव बढी झल्कने गर्छ । यी गीतहरूले सामान्यतया सबैलाई आनन्द दिन्छन् । तर वर्गीय आँखाले हेर्दा गीत सङ्गीतको तस्वीर अर्कै देखिन्छ । वर्गीय दृष्टिकोणबाट हेर्ने हो भने बर्षा यामका सुन्नलायक गीतहरू अत्यन्तै थोरै छन । परम्परागत चलीआएको सालैजो भाकामा यस्तो गीत गाउने गरिन्छ ः
रिँगाई र घुमाई सेखुलाई बुन्यो छ महिना बरिखालाई
छोरा त भए अंसैका धनी छोरी त अरिकालाई
यो गीत एउटा व्यक्तिले रचना गरेको गीत होइन । समयको प्रवाहसँगै झ्याउरे, रोधी र दोहोरीका खालहरूमा विकसित भएको गीत हो यो । यसमा बर्खा लाग्दा ओढ्नका लागि कसरी मिहिनेत गरेर सेखु बुनिन्छ भन्ने कुराको उल्लेख गरिएको छ । अनि, नेपाली समाजमा भएको लैङ्गिक भेदभावको पनि सुक्ष्म तरिकाले व्याख्या गरिएको छ । सर्वहारा वर्गीय दृष्टिकोणले मूल्याङ्कन गर्दा यो गीतलाई एउटा प्रगतिशील गीतको रूपमा हेर्न सकिन्छ ।
रक्तिम सांस्कृतिक अभियानले सर्वहारा वर्गको मुक्तिका निम्ति सयौँ गीत–सङ्गीत र नाटकहरू तयार गरेर जनसमक्ष प्रस्तुत गरेको छ । तीमध्ये रक्तिम सांस्कृतिक अभियानले तयार पारेका केहि गीतहरू यस कोणबाट निकै सुन्दर देखिन्छन् ।
उर्लेर आउँदा गन्डकीको भेलले
यी ढुङ्गे बगर कहाँ लाने हो
तिम्रो र हाम्रो यो दुई दिनको जिन्दगी
भोलि त अवश्य मरी जाने हो…….
हेर्दामा राम्रो यो काली गङ्गा तर्नलाई गाह«ो छ
चुनौती हाम्रो संसारलाई फेर्न झन् गाह«ो छ
यो गीति–नाटक “ठूली” को गीत हो । यसमा प्रकृतिको उत्पातलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ । बर्षामास उर्लेर आउने गन्डकीको भेललाई यसमा क्रान्तिकारी आन्दोलनसँग तुलना गरिएको छ । गन्डकीको भेलले ढुङ्गे बगरलाई बढारे जस्तै जनताको आन्दोलनले सामन्ती व्यवस्थालाई हटाइदिन्छ भन्ने तथ्य यसमा सुन्दरतम ढङ्गले प्रस्तुत गरिएको छ । जुन कुरा जति सुन्दर हुन्छ, त्यो त्यति नै अप्ठ्यारो र गाह«ो हुन्छ भन्ने कुरा यो गीतका पङ्क्तिहरूले प्रस्ट गरेका छन् । काली गन्डकी उर्लेर आउँदा जति सुन्दर देखिन्छ, त्यसमा होमिएर पार लाग्न त्यति नै कठिन हुन्छ । त्यस्तै, क्रान्तिकारी आन्दोलनको कुरा गर्दा जति आनन्द हुन्छ, त्यसमा सहभागी भएर आन्दोलनलाई टुङ्गोमा पु¥याउन त्यति नै जटिल र कष्टसाध्य हुन्छ । त्यस्तै, रक्तिम परिवारको अर्को गीत छ ः
बर्खा लाग्यो बरै छैन घर रूखमुनिको बास
तीज आयो बरै छैन मलाई माइत जाने आस
यहाँनेर यो गीतले नेपाली सर्वहारा वर्गका महिलाहरूका राम्रोे चित्र प्रस्तुत गरेको छ । बर्खा लाग्दा घरवारविहीनहरूको जीवन दशा कस्तो हुन्छ भन्ने कुरा यहाँ प्रकट गरिएको छ । त्यसै गरेर चाडवाडमा माइती नभएका चेलीहरूको मनोदशा पनि यो गीतमा उतार्ने प्रयत्न गरिएको छ ।
वर्षा यामका गीतहरूमा प्रायः बादल, पानी, हिलो, हावाहुरी आदिको वर्णन गरिएको हुन्छ । यसमा समाजको गरिबी र अभावलाई पनि चित्रण गरिएको हुन्छ । दिनभरि खेतबारीमा काम गरेर राती भोकै सुत्नु पर्ने बाध्यताका बीच पनि नेपाली किसान, हली, खेतालाहरूले “वर्षदिनको खेती” भन्दै आशापूर्वक काम गरिरहेका हुन्छन् । यस्तो बेदनालाई गीतमा उतारेर सामुहिक रूपमा खेतबारीमा गाउने प्रचलन नेपालका ग्रामिण भागहरूमा अहिले पनि यथावत छ । यी गीतहरूले काम गर्ने कामदारहरूबीच सामुहिकताको भावना विकास गर्ने र एक–आपसी घनिष्ठतालाई मजबुत गर्ने काम गरेका हुन्छन् ।
उत्पादन र श्रमसँग अरू गीतभन्दा बढी बर्खे गीतहरूको घनिष्ठ सम्बन्ध हुन्छ । खेतको रोपाइँका बेला हली, खेतालाहरूको दुःख, थकाइलाई कम गर्न र अझ बढी जोश र जाँगरका साथ काम गर्ने उत्साह भर्नका लागि यस्ता गीतहरू अति प्रभावकारी हुन्छन् । सामन्ती उत्पादन सम्बन्धको स्थितिमा यी गीतहरू बढी मात्रामा गाउने गरिन्छ । पुँजीवादी उत्पादन सम्बन्ध स्थापित भैसकेपछि कृषिमा हुने आधुनिकीकरण सँगसँगै यस्ता गीतहरू लोप हुने सम्भावना रहन्छ । यी गीतहरूमा पाइने सुन्दरता भनेको गीतको अन्तरवस्तुको वर्गीय पक्षधरता नै हो । सामन्ती युगमा किसान वर्गको पक्षमा देखा पर्ने सबै गीतहरू सर्वहारा वर्गीय दृष्टिकोण अनुसार प्रगतिशील गीतहरू हुन् र यिनीहरूले सामन्तवादी व्यवस्थालाई विस्थापित गर्न एक हदसम्म ठूलो उर्जाको काम गर्दछन् ।
सर्वहारा वर्गका पक्षधर सांस्कृतिककर्मीले वर्षा याममा गाइने असारे गीत, साउने गीत वा भदौरे गीतहरू रचना गर्दा सौन्दर्यशास्त्रका यिनै मान्यताहरू अनुरूप गीतहरू बनाउनु पर्छ । यसो गर्न सके मात्र सामाजिक रूपान्तरणका सुन्दर सांस्कृतिक हतियारहरू तयार हुन सक्छन् ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३६ – 31 July, 2013 – २०७० साउन १६ गते, बुधबार)