~यकिना अगाध~
रातोपुलको छेवैमा एकजना साथीलाई कुर्नुपर्ने भयो । रातोपुलबाट सिफलचौर छिर्ने गल्लीछेवैको पसलको पेटीमा उभिरहेको थिए । एकजना बुढा त्यहाँ बसिरहेको थियो । हुन त यो बाटो आउँदा जाँदा बुढो र मेरो कैयौंपटक देखभेट हुन्थ्यो । बोलचाल चाहिँ आजसम्म गरिएको थिएन ।
‘कसलाई कुरेको बाबु ?’ बुढोले नम्रस्वरमा सोध्यो ।
‘साथीलाई ।’ मैले औपचारिकताभन्दा पनि बुढोसँग गफिएर समय कटाउन मात्र खोजें ।
‘तिमी प्रेमपीडामा परेका छौ ?’ बुढाले फुलेको आँखीभौ नराम्ररी खुम्च्यायो । आकाशतिर पल्टाए आधि आ“खा खोल्यो । दाँत झरेर झोल्लिएको गाला कच्याक कुच्युक पार्यो ।
‘अहाँ छैन ।’ फुर्तिसाथ कुम हल्लाउँदै मैले सामन्य प्रतिक्रिया दिए ।
‘हेर बाबु ! प्रेमपीडा पर्नु र मुटुको धड्कन रोकिनु उस्तै हो ।’ उसले कुरा अगाडि बढायो, ‘मेरी श्रीमति मलाई छाडेर अर्कै डाँगो टिपेर भागिन् ।
म त्यो दिन यस्तरी बहुलाएँ कि त्यसपछि के भयो थाहै भएन । धेरै दिनपछि होस खुल्यो । भाग्यलाई दोष लाउदै केटाकेटी हुर्काएँ ।
श्रीमतिले मसँग भएको पैसा सकाएपछि त्यो डाँगोले छाडिदियो । उसको विचल्लि देखेर मैले घरमा ल्याएर घर व्यवहार सुम्पिदिएँ ।’
‘केटाकेटीले आमा त पायो । होइन र ?’ अमिलो ओंठ बनाएर मलाई घुरेर हेर्यो, ‘बाहिरबाट हेर्दा हामी नमूना परिवार देखिन्थ्यो । तर श्रीमान श्रीमतिको सम्बन्ध कहिल्यै रहेन । भनि गो नि केटाकेटीले आमा पायो ।’
‘फिल्मको कथाजस्तै रहेछ ।’ साथी आउने बाटोतिर आँखा तेस्र्याउदै गिज्याइपूर्ण स्वरमा बोलें ।
बुढाले चाउरिएको गालामा बसेको झिंगालाई पाट्य हान्यो । झिंगा पिँ गर्दै टाउकोको सेतो कपालतिर सर्यो ।
‘यो घटनाको दश वर्षपछि फेरि म बहुलाएँ ।’
‘बहुलाउनु दिमागी सफाई हो ।’ मैले उनलाई वेफकुफी बुढा हो भन्ने जनाउन ओंठ लेब्य्राएँ ।
‘तिमीलाई विश्वास लागेन ?’ बुढोले ठूलठूला आँखा फारेर मलाई घुरेर हेर्दै आवेशपूर्ण स्वरमा काम्दै बोल्यो, ‘मैले असाद्दे श्रद्धा गर्ने एक आइमाई थिई । उनको सौहार्दपूर्ण व्यवहार र चालचलनप्रति म यति नतमस्तक भएको थिएँ कि म वर्णन गर्न सक्दिनँ । आफूले असाध्य श्रद्धा गरेको त्यस्तो मान्छेको चारित्रिक विचलन यही पींंडिमा देखें । म त्योदिन बहुलाएँ जसरी बहुलाएको थिए“ श्रीमति पोइल जाँदा ।’
‘छिः थु’ बुढाले आँखा रातो पार्दै उसको मनमा मौलाएको घृणा भुइभरि थुक्यो ।
बुढाले त्यो दिनको सम्झना गर्यो । पैतिस वर्षअघि कार्तिकको महिना थियो । काठमाडौंमा दिउँसो राम्रै घाम लागेकोले साँझ उतिसाह्रो जाडो थिएन । सामन्य मोटो कपडा लाएर उनी टहल्दै रातोपुलको यो गल्लीमा पुग्दा साँझको नौ बजिसकेको थियो । पसलहरु प्रायः बन्दभइसकेको थियो । रातको अन्धकारमा ऊ छिटोछिटो गल्ली पार गर्न पाइला चाल्दै थियो । चिरपरिचित महलिा कुनै पुरुषसँग फुसफुसाइरहेको सुन्यो । उनी टक्क अडिएर त्यसतर्फ हेर्दा जुन दृष्य देख्यो त्यो अकल्पनिय थियो । उनी विवेकहीन भयो । बहुलाझैं यताउता फनफनियो र अन्ततः ठमेल हानियो । ठमेलपुग्दा घन्टाघरले रातको एकबजेको घन्टी ठोक्दै थियो ।
‘डान्सबार गएर टन्न रक्सी धोकें । कसरी धोकें थाहा छ जसरी फिल्ममा हिरोले हिरोइनको विछोड पछि वा हार्दै गरेको गुण्डाले रिसको रागमा पिउँछन् नि हो त्यसैगरी ।’ बुढाले त्यो समयको जवानी सुकिसकेको ओंठमा फर्काउन खोज्दै भन्यो, ‘ढुनमुनिदै विना उद्देश्य बारबाट बाहिरिएँ ।’
‘ओइ जाने हो ?’ कोही महिलाको आवाज आयो ।
मातेको सुरमा भ्रम पनि त हुनसक्छ । नत्र यस्तो नचिनेको ठाउँमा कसले बोलाउँछ र ? यति राती ।
‘जान लागेको देखेनौं ।’ बुढोले त्यो दिनको लरखराएको स्वरको नक्कल पार्दै बोल्यो ।
‘जम्मा दुईहजार हो ? जाने ?’
‘के को दुई हजार ?’ उसले कुरा बुझेन ।
‘रातभरको…!’
‘ल हिंड ।’ आफूले असाद्दे श्रद्धा गरेकी आइमाईको चारित्रिक विचलनको झोंकमा रक्सी खान ठमेल पुगेको ऊ वेश्यागमनमा हिंड्यो ।
‘आईमाईसँगको वेश्यागमन यो मेरो पहिलो थियो ।’ बुढाले अनुहार एकाएक मेघगर्जन लागेको कालो बादलको धब्बाजस्तो बनायो, ‘म वेश्यागमन र परस्त्रिगमनलाई ठूलो अपराध सम्झन्थें । मेरो श्रीमतिको त्यो क्रियाकलाप अनि मैले श्रद्धा गरेको त्यो आइमाइको चरित्र देखेपछि भने ममा उल्टो सोंचको विकास भयो । नैतिक पर्दाभित्र चारित्रिक च्यूत भएर बेइज्जत हुनुभन्दा वेश्यालय जानु इज्जतदार कुरा लाग्यो र म वेश्यागमनको लागि हौसिएँ ।’
एकछिन रोकेर बुढा बोल्न थाल्यो । रातको तीन बजे ती दुई आइमाई र डान्सबारमै चिनजाने साथीले ट्याक्सीमा बसाएर ठमेलदेखि कतै टाढाको होटल पुर्यायो । होस फिर्दा थाहा भयो कि स्वयम्भूनजिकैको गेष्टहाउस रहेछ । त्यो आइमाईसँगै गएको उनको होटले चिनजाने साथी गायब थियो । एकजना आइमाई भने उनलाई स्याहारेर बसेको रहेछ । त्यो आइमाई, भागेको आइमाइ र साथी त्यही डान्सबारमा चिनजान भएको कुरा पछि होटलवालाले गरेको सोधपुछमा थाहा लाग्यो ।
‘आइमाई सबै खराब हुँदैनन् भाइ ?’ लामो निराशाको स्वास फेर्दै बुढो बोल्यो, ‘के को रसलिला त्यो रात ! म मातेर निस्लोटपूर्वक छाद्न थाले । होटलवालाको सयौं गाली र दूरदूर व्यवहारसँगै म निदाएछु । म र मलाई कुरेर बसेकी ती आइमाई निदाएको बेला मेरो खल्तीको भएभरको पैसा चोरेर अर्की आइमाई, त्यो साथी भनाउँदा बेपत्ता भयो । कस्तो अचम्म ! त्यो चोर्नी आइमाई, लोग्ने हुँदाहुँदा पोइल जाने मेरी स्वास्नी अनि मैले अगाध श्रद्धा गर्ने आइमाई छिः कति घिनाउँदा ।’
बुढाले गोजि छामछुम पार्यो । खैनिको बट्टा निकाल्यो । दुई औंलाले चेप्दै सुर्ति निकालेर हत्केलामा राख्यो र फ्वाक्का मुखमा हाल्यो । जिब्रोमा रसाएको पहेंलो थुकलाई घुटुक्क निल्नुको सट्टा पिच्चा थुक्यो । बहुलाले घिनलाग्दो पाराले ओंठ पुछ्यो ।
‘वेश्या भनेर भयो त । त्यही आइमाईले बिना पारिश्रमिक रक्सिले मेरो होस नखुलेसम्म स्याहारेर बस्यो ।’ बुढा उत्साहित भएर बोल्यो, ‘कि होइन ?’
बुढाको चौरिएको आँखा एकाएक चम्क्यो । गलाको नसा फुलेर आयो । चाउरिएको गालामा मुस्कानको तरंग तीब्र भयो र केही जरुरी कुरा सम्झेझैं गरी बोल्नलाई उत्साहित हुँदै थियो । एक्कासी सुर्ति सक्र्यो र खोक्न थाल्यो ख्वाक ख्वाक ख्वाक लहरेखोकीझैं निरन्तर निरन्तर । यहीबेला मेरो साथी आइपुग्यो र म हिंडे ।