नियात्रा : इलाम यात्रा

~उत्तम न्यौपाने~

प्रकृति भनेपछि जो कोही हुरुक्क नहुने कुरै छैन । प्रकृतिको काखमा घण्टौँ समय बसेर मान्छे आनन्दित हुन पाउँदा समय बितेको पत्तै पाउँदैन । आजको व्यस्त अनि थकित उकुसमुकुस जिन्दगी, अनि धुवाँधुलोले आकुलव्याकुल मान्छे प्रकृतिमै घण्टौँ समय बिताउन चाहन्छ । एउटा साहित्यकारका लागि प्रकृति प्रेरणा हो । पर्यटकका निम्ति शयर गर्ने ठाउँ र विद्यार्थीका निम्ति अनुसन्धान गर्ने ठाउँ । जति कुरा किताबमा पढिन्छ, त्यो भन्दा बढी प्रकृतिमा अनुसन्धान गरेर बुझिन्छ । शायद त्यही भएर होला, आज–भोलि शैक्षिक भ्रमण प्रत्येक स्कुल, अनि क्याम्पसको प्राथमिकतामा पर्ने गर्दछ । म चौथो वर्षमा अध्ययन गर्ने भए पनि सिभिल इञ्जिनियरिङ स्नातक तह दोस्रो वर्षका भाइबहिनीहरू भौगर्भिक अध्ययन अन्तर्गत सुरुङ अवलोकनका लागि इलाम जाँदैछन् भन्ने पत्ता पाएपछि हतार हतार क्याम्पसतर्फ दौडिए । बिहानै आठ बजे हामी धरानको तिनकुनेस्थित इञ्जिनियरिङ अध्ययन संंस्थान अन्र्तगतको आङ्गिक क्याम्पस पूर्वाञ्चल क्याम्पसबाट चारकोसे झाडि हुँदै इटहरीको पूर्वतर्फ प्रस्थान ग¥यौँ । केही छिनपछि हामीलाई झापा जिल्लाले स्वागत गरेको थाहा पायौँ । झापाको उर्लाबारी, दमक हुदैं बस निरन्तर पूर्वतर्फ लम्किरह्यो । करिब दश बजे हामी खानाका लागि बिर्तामोड बजारमा ओर्लियौँ । बिर्तामोडको मुक्तिचौकको उत्तरतर्फ लागेपछि शनिश्चरे, खुदुनाबारी हुुँदै केही बेरमै हामीलाई इलामको शुरदानी भन्ने ठाउँले स्वागत गरेको थाहा पायौँ । इलामलाई विकसित पहाडी जिल्लाको रूपमा लिइन्छ । यहाँका वासिन्दाहरूले खाद्य बालीभन्दा नगदे बालीको खेती गरेकाले तीब्र आर्थिक विकास गरेका रहेछन् ।

जिल्लावासीहरूले आफ्नै श्रमले गाउँगाउँसम्म मोटर बाटो पु¥याएका रहेछन् । समुद्र सतहबाट ३०० देखि ३,६३७ मिटरमा अवस्थित यो जिल्लाको क्षेत्रफल १,७०३ वर्ग किलोमिटर छ । यहाँको धरातलीय स्वरूपका कारण यो जिल्लाको हावापानीमा पनि विषम भिन्नता छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा तापक्रम न्यूनतम शुन्य डिग्री र होचो क्षेत्रमा गृष्म ३१ डिग्री सेल्सियससम्म पुग्ने गरेको तथ्याङ्क रहेछ । जेठ महिनाको मध्य भागमा पनि हामीलाई कहिल्यै गर्मीर्को आभाष भएन । जताततै हरियाली नै हरियाली थियो । इलाम र हरियाली त मलाई पर्यायी नै लाग्यो । बसमा भाइबहिनीहरू ताली पिट्दै कहिले राष्ट्रिय गीत, त कहिले दोहोरी गीत गाउँदै जिस्किँदै थिए । मलाई गीत गाउन नआए पनि ताली पिट्दै रमाइलो गर्दै यात्रा गर्न खुब रमाइलो लाग्यो । एकछिनमा त्यहाँ बहस चल्यो । एक जना भाइले मलाई सोधिहाले– “दाइ, तपाईहरू सङ्घीयताको विरोध गर्नु हुन्छ । खास कुरा के हो ?”

त्यत्तिकैमा एक जना मधेसी भाइले भने– “दाइ, यो सङ्घीयता सबैले भन्छन् । तर किन हो ? यसले के गर्छ ? कसैलाई केही थाहा छैन । हामी बस्ने ठाउँमा अर्कै मान्छेहरू आएर गुन्डागर्दी गर्छ । हाम्रो ठाउँमा कोही आएर मुख्यमन्त्री बने पनि हामीलाई केही गर्ने होइन । झन् हामी पीडित हुने हो । हामीलाई त यस्तो शासन चाहियो कि हामी सर्वसाधारणको सानो आवाजले पनि माथि पुगेर भ्रष्टाचार गर्ने जो कोहीलाई एक मिनेटमै कान समातेर उठ्–बस् गराउन सक्ने तागत हामीमा रहोस् ।”

मैले पनि थपिदिए– “यो देशमाथि केन्द्रमा बसेकाबाट शासित छ । जहाँँ प्रधानमन्त्री स्वयम् एउटा सामान्य पुलिस सरुवाको फोहोरी खेलमा संलग्न भइराखेको छ । त्यस्ताको कुरा के गर्ने ? त्यसले देशको विकास गर्छ भनेर कसरी सोच्ने ? यस्तो केन्द्रीकृत राज्य प्रणालीको अन्त्य हुनु पर्छ र प्रजातान्त्रिक विकेन्द्रियता र जनताको स्वशासनमा आधारित राज्य प्रणालीको विकास गर्नु पर्छ । देशको अस्मिता नै सखाप पार्ने जातीय क्षेत्रीय राज्य हामीलाई चाहिएको छैन । हाम्रा पुर्खाले हिमाललाई हाम्रो शिर, पहाडलाई पेट र तराईलाई खुट्टा बताएका छन् । यी तीन वटा चीजलाई कुनै पनि नाममा अलग्याउनु भनेको आफ्नो अस्तित्व आफै सखाप पार्नु हो ।” बहस चल्दै गयो ।

एक जना बहिनीले थपिन्– “जो जहाँ बसे पनि हामी सबै मिलेर बसेकै छौँ त । हामीलाई विकसित नेपाल चाहिएको छ । विकास गर्ने मन भए एउटै नेपाल काफी छ । नेपालको अस्मिता मेटिएको हेर्न सक्दिनँ म ।” बहिनीको कुरा सुनेर सबले हुटिङ गरे– “अस्मिता हाई हाई । हाम्रो नेपाल हाई हाई ।” फेरि बसमा सबैले एक स्वरमा गाउन थाले– पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो । छरिएर बसे के भो सन्तान त एउटै हो ।”

एकछिनपछि हामी सहिद गेटमा आइपुग्यौँ । उक्त गेटको उत्तरतर्फको घना जङ्गल हँुदै हामी दानाबारी ३ स्थित शुक्रबारे बजारमा पुग्यौँ, जहाँ हामी सबैको ध्यान काठका घरले तानिरहेको थियो । एकछिनपछि हामी दानाबारी १ मा पुग्यौँ, जहाँ हामीलाई शितल शान्ति समाजको बोर्डले स्वागत गरिरहेको थाहा पायौँ । सबैको ध्यान बाटोको दायाँबायाँमा रहेको चियाबगानतर्फ गइरहेको थियो । बाटोको दायाँभन्दा पनि बायाँतर्फको त्यो घना चिया बगान देख्दा छुट्टै दुनियामा पुगेको आभाष जो कोहीलाई हुन सक्छ । त्यहाँको हावामा श्वास फेर्न पाउँदा फोक्सोका प्रत्येक नलीहरू सल्बलाएको आभाष हुन थाल्यो । बस निरन्तर कुद्दै थियो । बस रोकेर चियाबगानमा गएर नाच्न मन लाग्यो । भिन्ना भिन्नै पोजमा फोटो खिचेर फेसबुकमा अपलोड गर्न मन लाग्यो । तर गन्तव्य अर्कै थियो । समय थोरै थियो । करिब एक बजे हामी एउटा लामो घुमाउरो बाटो हुँदै एउटा बोर्ड टाँसिएको ठाउँमा पुग्यौँ । बोर्डको पूर्व उत्तरतर्फको पुर्णहाङ चोक हुँदै दानाबारी ६ स्थित मुसे खोलामा पुग्यौँ । बाटाको बायाँतर्फ बाँसैबासले बनेको घर अनि, दायाँतर्फ मुसे खोलाले स्वागत गरिरहँदा हामी हाम्रो गन्तव्यमा पुगिसकेका रहेछौँ ।

माइ जलविद्युत परियोजनामा लगातार काम गरिरहेका दाङका एक जना इञ्जिनियरले स्वागत गरिरहँदा संयोग नै भन्नु पर्छ, त्यही ठाउँमा मेरो घर तुल्सीपुरकै अर्का इञ्जिनियरसँग भेट भयो । इलामको दानाबारी र चिसापानीमा अवस्थित उक्त भाइ जलविद्युत परियोजनाको लक्ष्य २२ मेगावाट जलविद्युत उर्जा उत्सर्जन गर्ने रहेछ । नर्वेको सानिमा हाइड्रोपावर कम्पनीले डिजाइन गरेको उक्त परियोजना रसियास्थित गैरआवासिय नेपालीहरूको सङ्गठन एन.आर.एन. को सहयोगमा सम्पन्न हुन लागेको रहेछ । चार वर्षसम्म सकिसक्नु पर्ने उक्त जलविद्युत परियोजनाको सुरुङ खन्ने जस्तो महत्वपूर्ण काम सकिसकेको भए पनि धेरै काम हुन बाँकी नै रहेछ । आगामी असोज कार्तिकमा उक्त परियोजना सुरु भएको चार वर्ष पुग्दो रहेछ । चार अर्वको उक्त परियोजनाको मुख्य लक्ष्य भनेको विद्युत लाइनको राष्ट्रिय प्रसारण गृहमार्फत् घरायसी प्रयोजनको लागि विद्युत वितरण गर्ने रहेछ । बन्नै लागेको पावरहाउसको साइट र पेनस्टक पाइपबारे जानकारी हासिल गरेपछि सुरुङ अवलोकनका लागि हामी उत्तर पहाडतर्फ लाग्यौँ । बाटो निकै साँघुरो थियो । उक्त बाटोमा बस जाने कुरा त कल्पना पनि गरेका थिएनन्, त्यहाँका साइट इञ्जिनियरले तर पनि हाम्रा ड्राइभर गुरुले बस सुरुङ बन्न लागेको ठाउँमा पु¥याएरै छाड्नु भयो । एक हिसाबमा भन्ने हो भने त्यो पहाडमा बस पु¥याउने प्रथम गुरु हाम्रो नै हुनु हुन्छ । । उक्त सुरुङको कुल लम्बाइ २,२०८ मिटर, चौडाइ ४.१ मिटर र उचाइ ४.३ मिटर रहेछ । त्यो सुरुङ बनाउँदा प्राविधिज्ञ र मजदुरहरूले निकै मेहनत गरेको जो कोहीले सहजै अनुमान गर्न सक्छ । त्यहाँका प्राविधिक साइट इञ्जिनियरले भने– प्राय सुरुङको काम गर्दा मानवीय जोखिम हुने निकै सम्भावना हुन्छ तर यति लामो २२०८ मिटर सुरुङ खन्दा यहाँ मानवीय जोखिम सुन्य रह्यो । सुरुङ बनेको ठाउँदेखि करिब ६ सात सय मिटर माथि जलासय स्थापना गरिएको रहेछ । उक्त परियोजनाको क्याचमेन्ट क्षेत्रफल ५८९.० वर्ग किलोमिटर रहेछ । जलासय स्थापनाका लागि बनाइएको बाँधको कुल लम्बाई ८५ मिटर रहेछ । पावरहावसको टर्बाइनको सतह र जलासयको इन्टेकमा रहेको पानीको सतह १२१.६ मिटर रहेछ अर्थात् उक्त परियोजनाको कुल हेड १२१.६ र नेट हेड १०८.९३ मिटर रहेछ । बन्दै गरेको माई जलविद्युत आयोजना पुगेपछि लाग्यो, “पढ्नु र काम गर्नु निकै फरक कुरा रहेछन् । हामी प्राविधिज्ञहरूले यो देशमा बसेर गर्ने काम धेरै छन् । हामीसँग स्रोत छ । हामीसँग डिजाइन छ तर पनि हामी अन्धकार जीवन बिताउन बाध्य छौँ ।

हाम्रो देशमा सर्वप्रथम सन् १९११ मा फर्पिङबाट जलविद्युत निकाल्ने थालनी भएकोमा अहिले एक सय बढी वर्ष बित्दा समेत हाम्रो देशका करिब साठी प्रतिशत जनता अझै अन्धकार जीवन बिताउन बाध्य छन् । बिजुली भएका घरमा पनि लोडसेडिङको समस्या छ । विश्वमा जलस्रोतमा दोस्रो धनी देश नेपालका जनता नालायक शासकहरूकै कारण लोडसेडिङको मारमा परिरहेका छन् । एकातर्फ, जनता अन्धकार जीवन बिताउन बाध्य छन्, अर्कोतर्फ, हाम्रा शासकहरू देशका खोलानाला विदेशी बहुराष्ट्रिय कम्पनी, विशेष गरी भारतीय विस्तारवादलाई सुम्पदैछन् । जलविद्युत उत्पादनको नाममा नेपालका अधिकांश खोलानालाहरू भारतका बहुराष्ट्रिय कम्पनीका नाममा दर्ता भइसकेको अवस्था छ । ती बहुराष्ट्रिय कम्पनीको उद्देश्य अर्काको प्रकृतिमाथि नियन्त्रण र विस्तारै सार्वभौमसत्तामाथि नियन्त्रण नै हो । प्राकृतिक स्रोतको स्वामित्व र उपयोग हामीले नै गर्न पाउनु पर्छ । राष्ट्रघाती कोशी सम्झौता, गन्डक सम्झौता, महाकाली सम्झौता हुनुमा नेपाली नेताको कुबुद्घि नै प्रमुख कारण हो । नेपाली नेताहरू खालि कुर्सी र सत्ताको फोहोरी खेलमा ब्यस्त हुने हो भने निश्चित छ राजनीतिक सङ्कटको फाइदा उठाएर नेपालको प्रकृति र खोलानालामाथि विशेष गरी भारतीय विस्तारवादको प्रभुत्व कायम रहनेछ । हामीसँग पैसाको कमी छैन तर पैसा जति सब दुरूपयोग भएको छ । उदाहरणका लागि संविधान सभाको चुनाव र नेताको भत्तामा मात्रै अर्बौं पैसा सकियो । त्यो पैसाको सही सदुपयोग भएको भए कति मेगावाट बिजुली निकाल्न सकिन्थ्यो । तर नेताको दिमागमा कहिल्यै यो कुरा आएन । खालि अर्काको अगाडि भिख माग्न र भ्रष्टाचार गर्नमा नै ठिक्क छ । स्वाभिमानको प्रवाह नगरी आफ्नो देशको प्रकृतिलाई बेचेर कमाएको पैसा खान पल्केको नेता हो तिमीहरूको दिमागमा कहिले घाम लाग्ने हो ? झन् यहाँ देशलाई सङ्घमा बाड्ने खेल पो खेल्न थालिँदै छ ।

भोलि देश सङ्घमा गयो भने नदीनाला र प्रकृतिको बाँडफाँडलाई लिएर झन् ठूलो समस्या नआउला भन्न सकिन्न । यसले अन्ततः देश गृहयुद्घमा होमिने खतरा बढ्नेछ । हामीले खोजको विकास हो । हामीले खोजेको शान्ति हो । हामीले हाम्रै श्रम र पसिनाबाट माइ जलविद्युत परियोजना सफल पार्न सक्छौँ भने राष्ट्रघाती सम्झौता गरेर किन आफ्नै देशको प्रकृति अरूलाई सुम्पने ? नेपालको विकास चाहने गैरआवासीय नेपालीलाई आकर्षित गर्न सके त्यो नेपाल र नेपालीका हितमा हुने स्पष्ट छ । आफ्नो देशको सार्वभौमसत्ता नै समाप्त पार्ने राष्ट्रघाती सम्झौता गर्नुभन्दा विदेशमा रहेका नेपालीका समस्या सुनेर उनीहरूलाई नेपालको विकासमा आकर्षित गर्न सके त्यो उत्तम हुनेछ ।”

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३२ – June 26, 2013 – २०७० आषाढ १२ गते, बुधबार)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.