~लक्ष्मीप्रसाद देवकोटा~
मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन, न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी संस्कृत र नेपालीमा कविता लेख्नु हुन्थ्यो र उहाँलाई करिब असी वर्षको उमेरमा पुरानो सौख पुनर्जागरित भएको थियो । बृद्धले काव्य–रचना गर्नुमा हामी मानव–आत्माले यात्रा गरिसकेका क्षेत्रहरूको दृश्यउपर बैराग्य र भक्तिको भावना उठिरहेको देख्छौँ र मेरा प्राणदाता पिताजी अक्सर ईश्वरको स्तृति संस्कृत र नेपालीमा लेखिरहनु हुन्थ्यो । म साफी गरिदिन्थेँ–रातो मसीमा बाँसको कलमको सफा टड्कारा टाँका लगाएर । स्कुलबाट फर्किएपछि ४ र ६ बजेको अन्तरमा मेरो यही काम ज्यादा हुन्थ्यो र मलाई पनि कविता लेख्ने सौख त्यसैबाट बढेर गयो ।
केटाकेटीमा कविता कण्ठ गर्नु र सुन्नु कति हृदयमा असर गर्दो रहेछ ? मैले सम्झिरहेछु । पिताजीलाई संस्कृत कविताहरूमा सौख थियो र ‘रसगङ्गाधर’ का पाना पल्टाएर बराबर मलाई कविका राम्रा राम्रा अलङ्कारमण्डित पङ्क्तिहरू देखाउँदै अर्थ लगाइदिनु हुन्थ्यो । त्यसका साथसाथै स्तोत्रकलापका मीठा स्तुतिहरू मलाई कण्ठ गराएर भन्न लगाउने उहाँको सौख थियो । ‘पुराण’ भन्नामा बडो चित्ताकर्षकतासाथ सुरिलो सङ्गीतमय स्वरले भन्न सक्ने हुनाले उहाँले भागवतका श्लोकहरू उच्चारण गरेको सुन्न मलाई बहुत मिठो लाग्दथ्यो । यिनै प्रभावहरूले कता कताबाट मेरो हृदयमा छन्द आफै घुसेर आयो, जस्तो गानाको लय कुनै कुनै केटाकेटीको कानमा सच्चाइसँग घुस्दछ ।
तर शायद अझसम्म मैले मगण र रगणको भेद छुट्याउन सकेको छैन । किनकि मलाई तिनको जरूरतै छैन । जहाँ हृदयले छन्द पक्रेर टिपिसक्यो, उहाँ रगणको व्यायाम गर्नु गाना जानिसकेपछि सुरहरूका निम्ति सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन, तर त्यसको लयदार मिठास र मोहनीले शिशु हृदयलाई इन्द्रेणीले पक्रेर लगे झै लाग्दथे । मिठो कविताको बोली चराको बोली झैँ लाग्दथ्यो, बनमा बोले जस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा सुर चढेपछि त्यसै अक्षर मिल्दा रहेछन् र लय घुसेपछि हावाले बाँसमा मुरली बजाए झैँ त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न थाल्दो रहेछ ।
यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ र नियमभन्दा नियति । मानव–आत्माको चाखले आफ्नै दिशा देखाउँदो रहेछ र जहाँ ज्यादा मन गड्यो, उहीँ मानिस आफ्नो विलास पाउँदो रहेछ । किताबमा लेखिएका नियम र सूत्र पछाडि विश्वमा सुक्ष्म झल्का र अनुभूति पाइदा रहेछन्, जसले ती नियम, लय र तालमा हिडाउँदा रहेछन् । सानो क्षुद्र श्लोक–गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन चाहन्नँ । तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने सारहरू राख्ता रहेछन् ।
मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सुक्ष्म बुद्धि र लय पक्रिने सुक्ष्म जेहेन मानव आत्माको अभिरूचिमा उत्पन्न हुँदा रहेछन् र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ सत्यसलाई सुन्दरद्वारा देख्ता रहेछन्, उतैतिर लाग्दा रहेछन् । मेरो सिद्धान्तमा सुन्दर भनेको सत्यको मोहनी हो । मानव आत्मालाई सत्यतरफ आह्वान गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरण प्रतापको रङ्गिलो मोहनी पाइन्छ, जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि, मानव चैतन्य त्यसको टक हरेर आनन्द पाउँछ र त्यसको लयको सुक्ष्म चेत पाएर छन्दको ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्छन् । कोइलीले गुरू नराखी गान सिकी । सरितालाई त्यो लयको राहमा चल्न उस्ताद चाहिएन ।
म ता रेखागण्ति किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु र जब आकाशमा हेर्दछु, तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको जस्तो लाग्दछ । गुलाफका पत्तिदार लाल कितापमा जति ज्ञान छ, मैले पुस्तक पढेर पाइनँ र उस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू आफुखुशी बालुवामाथि बगिरहेको देखेँ । मानव शिल्पकला विशाल रचना अगाडि दिनको चन्द्रमा झैँ धुसर बन्दछ । चित्रकारी यो अनन्त रङदार कला भवन अगाडि श्वास र ढुकढुकी बिनाको जँच्दछ । ज्ञानका शिखर पनि शिरोविन्दु अगाडि बाउन्ने बन्दछ र हाम्रँे क्षुद्र रचना महासागरको मिठो रङ्गिलो बँुदबुँदभन्दा बढ्ता देखिँदैन । जीवनको जादुले सब चीजलाई हराइदिन्छ र लटमुखा जस्तो बनेर शिक्षितको घमण्ड विशालको मुख ताकेर अँध्यारैमा बस्दछ ।
समुदकै तरङ्ग हो, तरङ्गको समुद्र होइन ।
मलाई त्यसैकारण किताबहरूदेखि झर्को लागेर आउँछ र जब नवीन छन्द खोज्नु पर्यो, म वनको या पहाडको नजिक गएर नालाको गुनगुननेर लेट्तछु या त तारादार नीलाकाशको छायाछवि मधुर दृश्यमुनि बसेर अनन्तको लहरदार प्रगति सुन्न खोज्दछु, तब उहाँ कहाँबाट मौनको मुटुबाट सन्देश जस्तो हृदयभावना अस्पष्टको मधुर कोपिलामा सुवास झैँ भएर निस्कन्छ र ताराहरू मिल्न जान्छन् । अनि जीवनले मिठो बोली बोल्दछ, जस्तो चिडियाहरू आकाशको शीतदार हावामा छातीले उडेर आएपछि बोल्दछन् ।
जुन आँखाले विश्वमा छन्द देख्तछ, त्यसलाई नियमावलीका यान्त्रिक तालिमहरू निको लाग्दैन, सहस्ररजनीको मिठासबाट अलङ्कारमञ्जरी र तगण तारतम्यहरूमा पुगे जस्ता लाग्दछन् । किताबका नियमहरू साङ्ग्रा, साना, टुक्रे, टेढा विदित हुन्छन् र विवेकी छर्लङ्ग कठोरतामा रहस्यको लयदार प्रगति ल्याउन खोजे जस्तो देखिन्छ ।
म भावलाई प्रथम मान्दछु र हृदयलाई पहिला स्थान दिन्छु । भाषा भनेको भुलभुलावट हो । स्वर्गको रस भरिएको छातीलाई शब्द शास्त्र पढ्नु पर्दैन, त्यसै झर्झराउँछ । सिर्जनाको प्राकृत ऐडी मलाई त्यसै मुखरित गर्दछ र शब्दकोषको मलाई त्यतिको महत्व छैन, जतिको राबर्ट ब्राउनिङलाई सुरूमा थियो । म भाषाहीन युगको पहिलो जन्तु भए पनि पहिला गुलाफ देखेर चुप रहन सक्ने थिइनँ । रङ–रेखाबाट शब्दहरू बन्दै आउँथे र मानव भाषापछि त्यसैलाई भन्ने थिए । मेरा अनुभूतिहरू कविता भएर मलाई कवि कला सिक्नाको जरूरत छैन र कलेज स्कुलहरू बन्नु मानव हृदयको पक्षपात युगमा हुँदो रहेछ जस्तो मलाई शङ्का लाग्दछ । शब्दहरू अनुभूतिबाट बन्दछन्, जस्तो अनुभूति विभूतिबाट । शायद हामीहरू बाइमात्रा र तर्कुल्याका विज्ञान बनाउन सक्ने थियौँ । मलाई ‘को हो ?’ भन्ने प्रश्न कोइलीबाट निस्केको जस्तो लाग्दछ र ‘क’ अक्षर पृथ्वीको पहिला बसन्तसँग सम्बन्धित भए जस्तो विदित हुन्छ । हृदयको आफ्नो भाव तर हृदयले पहिला थाहा पाउँछ क्यारे । अनि त्यसका स्पर्शहरू लम्बिँदै जाँदा दर्शनशास्त्र बन्दा हुन् ।
विश्वमा छन्द नभए म कवि हुन सक्ने थिइनँ । चैतन्य नभए म अनुभूति पाउने थिइनँ । स्वर्ग नभए खोज्ने थिइनँ । नरक नभए डराउने थिइनँ । सिर्जना नभए मुखरित हुने थिइनँ । गाना सितारमा बज्दैन, तर पहिलो सूर्यरश्मीमा चित्रकारी पहिला गुलाफमा निस्किएको थियो, नाटक पहिला प्रभातको तरङ्गमा ¤ मेरा नसामा नाला छन्, हृदयदाकाशमा ताराको झिलिमिली छ । गोधुलीबाट म दोसाँधी दुनियाँको मिठास पाउँछुु र मेरा छन्द र लय छन्दोमञ्जरी र सङ्गीत परिचयमा छैनन्, तर अनन्तको पूmलबारीमा जलको कलकल बनेर म बराबर निदाउँछु । संसारबाट अनि म जागृत पक्षी झैँ गाउन खोज्छु किन किन ?
विश्वकवि नभए साना कवि हुने थिएनन् । हामी खालि हावामा रूनझुनाइरहेका टुक्रा टिप्तछौँ । महासागरका स्वातिबुँद करूणामा पिउँछौँ । साना नदीमा सपना देख्तछौँ र हाम्रा भाषा व्याकरणबाट निस्कँदैनन् तर हृदयको प्रथम राशीबाट हाम्रँे विश्वमा शीत कणमा झल्किरहेछन् र अनन्तको सामुन्ने आँसुका दाना जस्ता छन् । सिर्जनाको पहिलो सुख प्रेमद्वारा हामीलाई दोहोर्याउन र भाव लिन दिइएको छ । हामी अपूर्णता र लय सुन्दछौँ र क्ष्ँणमा अनन्तको स्पर्श गर्दछौँ । पहाडहरूमा नीरका शिल्पकारी छन् । विश्व नृत्य, गान र मदिराले बनेको छ । अमृतबाट रूपरेखाहरू निस्के । धन्य घ् त्यसको आनन्द, जो आफ्नो मिठो रूनझुनीमा मस्त छ । म उसैको नक्कल गर्दछु । पर्दापछाडिका मरमरे झल्काहरू कानमा बराबर पस्तछन् र हृदय परदेशी बन्दछ । म आत्म–समष्टिको होस पाएर स्पन्दन लिन्छु । मेरो मट्टी थाकेर उड्दछ र म भाषा आविष्कार गर्दछु । त्यही भाषामा छन्द हुने थिएन, यदि विश्व नेता बेलयको अन्धो काकताली हुँदो हो । हर मेरा तार मिलेर आउँछन्, तारकित तारतम्यको जुहारदार झलमलाहट पनि अनन्तका विन्दुहरूको नुपुरमा छन्दको आह्वान सुन्दछु ।
अनि, त्यस होसले गुलाफ गाना बन्दछ । त्यसका कोमल अधरहरू बोलेर उठ्दछन् । माटो र रश्मी छिरेर सजग बन्दछ, मधुर कम्पमा थर्कन्छ । मलाई बृक्ष लयदार जस्ता लाग्दछन् र पत्ती र कोपिला र बास्नाहरू सुरिला तार झैँ झुनझुनाउँछन् । चराहरू प्रार्थित प्रदेशमा स्वर्गका खबर ल्याउँछन् । सम्पूर्ण वस्तुहरू कानमा स्पर्श गर्दछन् र तरल बन्दछन् । दृश्य जगत् गानामा परिणत हुन्छ । लहरदार आनन्दसागर पुकारको राहमा कलकल र झलमल लिएर मुखरित हुन्छ । पहाडका नीलरेखा खँदिला सङ्गीतशाला बन्दछन् । ग्राह्य वस्तुहरू बन्दछन् । सबमा आत्मचेतको रङ्गिलो भाषा स्पष्ट बन्दै आउँछ । त्यस बेला भाषाभेदहरू व्यर्थतामा पुग्दछन् । म झल्का र शब्द पाउँछु । मलाई यस्तो लाग्दछ कि हृदयमा एक केन्द्र छ, जहाँ छुनासाथ वस्तुहरू बोल्दछन् । यो अगाध शब्दसागर अनियत, बेताल र बेलयको हुँदैन । दिव्य अभिप्रायको सङ्गीत मिहिन सम्बन्धहरूका टुनाले टुक्रा टुक्रा जोड्दछ, जस्तो सुरहरू पहिला गवैयाको प्रतिभाषका सुत्रमा अभिप्रायबद्ध भएर माला गाँसिन्छन् र अल्प भागहरूमा पनि एकसुत्री ऐक्य देखाउँछन् । मलाई बराबर त्यसैले लाग्दछ कि लेख्नेभन्दा नलेख्ने कवि बेस होलान् । किनकि हृदयमा प्राकृतिक कम्पन र स्पन्दन पाउनु रभित्र भित्रै चित्रकारिनु र शब्दित हुनु, आफ्नै दिव्य सङ्गीतमा संसारको समझउपरको अप्रकाशित अविरल काव्य हो । किनकि भित्री शब्दहरू मानव भाषामा बसै व्यक्त हुँदैनन् तर आफ्नो स्वानुभवी दृष्टिमा सदा आत्मप्रकाशिनी र आत्मभाषी, सच्चा कविहरू मानव प्रेमले लेख्ता हुन् । सिर्जनाको प्रेरणा मानव प्रेरणाबाट निस्कँदो हो । निराला अकेला ढङ्गकालाई के कलम लिन पृथ्वीमा ओर्लनु होवैन र अक्षर बनाउनु रहस्यलाई गिजाए जस्तो लाग्दो होवैन ?
आखिरमा म वेदान्ती बन्दछु । यो फल्दो, फुल्दो, रङ्गिलो फिल्किँदो प्रगतिशील सङ्गीतको आत्मा नै सिर्जना रहेछ । ऊकारी अमृत स्पन्दनमा विश्व निर्माण भयो भन्नेतिर मेरो विश्वास ढल्किन्छ । सूर्योदय जस्तै त भयो होला नि घ् पहिलो स्तब्ध सुनसान हुँदो हो निराकार र निरञ्जनको नीरव एकान्तमा । अनि ‘उनी खै ? उनी खै ¤” भनेर अकेलाले सोधे होलान् । प्रश्न तीव्र हुँदा हुँदै कला जन्मिन्छन् र त्यो प्रथम कामको उत्पत्ति म ठीक बुझ्न सक्तिनँ ¤ तर मलाई घाम जस्तो उज्यालो छ कि त्यसपछि परमेश्वर आफ्नै प्रेममा मुग्ध भए । प्रेमले लीला सिकायो र लीलाले सिर्जना गरी । सिर्जना प्रेमको पुजासामा भयो होला । यी मेरा क्षुद्र अनुमान हुन् र कत्तिले बोक्रे वेदान्ती बनाउलान् भन्ने डर छ । तर अहिले लेख्ता लेख्तै यस्तो लाग्यो । आफूलाई परमेश्वरको सानो टुक्रा सम्झन्छु, जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठे हुँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होस राख्छौँ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एक सिवाय दुई देखिन्न होला । तर मलाई सिर्जना मिठो छ । प्रेम रसिलो छ र म आफूलाई झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी पहाडकन्याहरू ऐसेलु टिप्छन् ।
छन्द र लय बिना म केही कुरामा ऐक्य देख्तिनँ । कविता र गानाले सारा संसारलाई एक सूत्रमा गाँस्दछ । वेछन्दी हुनु विक्षेप हो । बेलायकको बोली अन्धकारबाट उठ्छ । छन्द र लय समय र अवकासको अनन्ततामा विश्वकविको प्रतिभाष झल्कन्छ । किनकि अल्पांशी विभिन्नतामा एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हुन चाहन्छु र बराबर मिल्न चाहन्छु, नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र आनन्द बिना जीवन खल्लो हुन्थ्यो र रूनुमा, हाँस्नुमा, च्याँट्ठिनमा, रिस देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै रिसका पनि राग छन् । उनको छन्द हामीले बुझ्नु पर्छ, उनको लयमा आत्मा रहनु पर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु, तब रूप र रङ व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन् त्यही रूपमा, जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य रङ्गिँदै ओर्लिरहेछ र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका विवरण विवेकसङ्गत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा प्रथम रश्मीको कम्पन भए झैँ लाग्दछ । शायद जीवन हृदयबाटै विस्तार भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मे हुँला र भावको लक्षण छन्द हो । जीवन अरू बेला विदा पाएर गुनगुनाउँछ, तर समुचा जीवन आत्म–चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर्र पर्सिएर आउँछ । खँदिलोपना पग्लिए जस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको सब कठोरता पग्लिएर आउँछ । तरल माधुरीमा म विश्व बुझ्दछु– त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन् । कणाकणसँग बेरिँदै, अङ्कमाल गर्दै बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ घ् म नाला जस्तो स्वर्ग बर्सिदा जन्मे हुँला–यी पहाडहरूको मुखतिर पार्ने मिठो ओरालीमा । अनि बहनुमा अविरल आनन्द छ त्यस जीवनलाई, जो बहन र कलकलिन चाहन्छ । मलाई स्रोत मन पर्दछ, छरिन मजा लाग्दैन । ढुङ्गा छन् त, तर तिनै उपर चल्नु मेरो हीरा मोती भएर झल्कन्छ । त्यसैमा मेरो प्राकृतिक गान पाउँछु । रक्त सञ्चालन लयदार नभएर मेरो जीवनको मुटु रूग्ण रहन्छ । अक्षरले अक्षर बोलाउछन् र शब्दले छायाँ र सहानुभूति खोज्दछन् । भाषा अड्दैन तर बग्दछ । हावा गह्रौँ हुँदैन, तर लहराउँछ । सच्चा शिल्पकलामा रेखाहरू तरल हुन्छन्, जस्तो ताजमहलमा । म बोल्नुभन्दा मिठो बोल्दछु, अर्थ रहस्यवादी बन्दछ । अक्षरका छायामा लेटेर सपना देख्तछु । पहिले मान्छेले गाए अनि लेखे । जब कुराले मुटु छुन्छ, मान्छे गद्य छोड्दछ र गाउँछ । तीव्र वेदना र तीव्र आह्लाद छन्दलाई वाहन बनाउँछन् । भाषाले सुन्दरको झल्का त्यहाँ पाउँछे, जहाँ सत्य सरल हुन्छ । शिला शालिग्राम हुन्छ, जहाँ कल्लोलहरू खेल्दछन् । मानवप्रति चकित बनेर नौलो देशको भावना पाउँछे र गद्यको साधारणपनबाट सपनाको देशतिर विदेसिन्छे । पङ्क्तिहरू अल्पको विशालता लिन्छन् र हृदयसँग कानेखुशी गर्दछन् । दिव्य बन्धनमा बस्नेले बन्धन नाघे झैँ पाठकले साना सीमाहरू पार गर्दछ । कम्पनहरू त्यहाँ भेटिन्छन् । अनि गिरिगह्वर गुञ्जे झैँ अनुप्रासहरू गुञ्जाएर दिलले दिल बेलाउने अक्षर र शब्दहरू बोल्दछन्, सिपीहरू सागर लहरले थर्कन्छन् । दोहोरो ‘कुहुकुहु’ गरे झैँ विचित्र दोहोरावट पुछारमा हुनाले बोल्दछ, मलाई त्यो आनन्द मिल्दछ जुन जल लाद्ने हावालाई मिल्दछ ।
जहाँ वार्णिक छन्दहरू छैनन्, त्यहाँ मात्राहरूमा सङ्गीतको मिष्टभाषिता लयदार बनेर निक्लन्छ । वार्णिक छन्दहरू प्रँचीन सिलसिला जस्ता विचित्र बहाव लिएका देखिन्छन्, मानौँ प्रकृतिका मुटुबाट कसरी कसरी निक्लिएका थिए । मात्रिक छन्दहरू फुका र रमाइला हुन्छन्, ज्यादा लच्किला, लस्सादार र कल्पनालाई खेलबहाड गर्न प्रशस्त ठाउँ दिने । वार्णिक छन्दहरूमा मधुर बन्धन छ, तापसपना कडा गाम्भीर्य उनीहरू पाठ गरिने र पढिने चिज हुन् । मात्रिक छन्द चाहिँ सङ्गीतसँग सम्बन्ध राख्दछ र विभिन्नता धेरै धेरै देखाउँदछ । उसमा अर्कै सौन्दर्य छ, यसमा अर्कै विभिन्न माधुरी । ‘कालिदास’ का पङ्क्तिहरू आफै बोलेर चल्छन् । ‘पन्त’ का पङ्क्तिकारहरू गीत गाएर चल्दछन् । ‘निराला’ का बेसाँध रबर पङ्क्तिहरूमा म सङ्गीतको चैतन्यले भावमा लय खोज्दै गीत गाउँछु र बाह्य नियम शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु आफ्नो आफ्नो रूचि हो ।
लय पाइँदै नपाइनु दोष हो । छन्द देखिँदै नदेखिनु अपराध हो । छन्द र लय बिना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै छन्ददार र लयदार हुन आउँछन् क्या र ¤ प्रकृतिकै नियमले छाउरे नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि अन्धोले पनि कवि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै बाँधिनु भन्नु र वार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा हो । तर हृदयको चरोले सुनौलो रङ देखे पखेटा उड्दा जता उडे पनि गाना बनेरै उड्दछन् ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ७ – Dec. 31, 2014 – २०७१ पौष १६ गते, बुधबार )