पुस्तक समीक्षा : आँखा र मनमा – म जयमायाको सन्तान

~जे. एन. दाहाल~

म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु।

विषय प्रवेश:

म जयमायाको सन्तानको आवरणमा एउटा सानो मान्छे आफ्नो अभिवावकको हात समाएर अघि बढी रहेको प्रस्ट देख्न सकिन्छ। ती को हुन्?  जयमाया को हुन?  पाठकलाई त्यहीँ कौतुहल्ता उठ्छ र यस्तो लाग्नु म स्वभाविक मान्दछु ।  यहाँ म एउटा कवितांश उधृत गर्दै कवि र कविताका केही विशेषताहरू कोट्याउने जमर्को गर्दैछु ।

धर्म….?

के धर्म….?

त्यही धर्म ओढेर त हो नि,

हिजो तिमीले,

बलेँसीमा पिरा ओछ्याएको,
धारो फेर्नु भनेको

अनि तिमी आउँदा

भुईँतिर हेर्नु भनेको”

प्रस्तुत कवितांशमा जातीय विभेद प्रतिको व्यगं छ। सामाजिक दुर्व्यवहार र वर्गीय असमानता उनका कवितामा प्रतिबिम्बीत ऐना भएर आएको छ । विश्वमा जहाँसुकै रहेपनि यो जातीय खाडल नेपाली समाजको कलङ्क हो र यसको उन्मूलन हुनुपर्छ भन्ने कविको आसय बुझिन्छ । तर यहाँ सृजना शिल्पीमा र पाठकीय बुझाईमा प्रश्न उठ्छ, कविता के हो? विम्ब के हो? यसको कसरी प्रयोग गरिन्छ?  कवि मनले सामाजिक पात्र र चरित्र कसरी केलाउने जस्ता कुरा उनको कृतिमा पढ्न मिल्छ। लामो शब्दको प्रस्तुति थुपार्दैमा कविता बन्दैन।त्यसमा विम्ब, भाव, चरित्र चित्रण हुनु पर्द छ जुन कुरा नयाँ पुस्ताका कविहरुले जान्नु अति आवश्यक छ । यहाँ फेरि अर्को सानो कवितांशलाई नियालौं ।

“यो ओछ्यान कहिले उठ्दैन!

कहिले उसको हुन्छ,

कहिले मेरो हुन्छ,

तर कहिले हाम्रो हुँदैन।”

अतीतमा भोगेको भन्दा छुट्टै वा फरक शैलीको जीवन भोगाई र पारिवारिक संरचनाले यस व्यस्त परिवेशमा पुनर्स्थापित हरेक व्यक्तिले दैनिकीको रूपमा भोगिरहेको वितृष्णालाई माथि उधृत कवितांशले छर्लङ्ग पारेको छ । उनका कवितामा जीवन,  दर्शन, धर्म र जातीय विभेद बोल्दछन्। उनका कवितामा यसरी सामाजिक विभेद मात्र नभई आफूले भोगी रहेको समय र स्थानको चित्रण पनि उतीक्कै प्रबल पाइन्छ। यस बाहेक सिवाको पुस्तकमा अनूदित कविता पनि पढ्न मिल्छ। जस्तै ओस्कर वाईल्डको अनुवादित कविता “श्रदाञ्जली” माया एन्जेलेउको ‘म अझै उठ्ने छु’  र  ल्याङ्गस्टन ह्युज्सको कविता “मिन्सट्रेल म्यान” नेपालीमा पढ्न मिल्छन्। यसलाई पाठकले बिलकुल नौलो स्वादको रूपमा लिन्छन्। किनकि आजका पुस्ताका कविमा यस्तो अनुदित कविता पढ्न पाईन्न।

मैले यस पुस्तक पढी रहँदा श्रवण मुकारुगंको ‘विसे नगर्चीको बयान’ संझीएँ । र अन्य केही कविताले मलाई रोबेर्ट फ्रष्टसम्म पुर्‍यायो। पुस्तकमा मुख्यतः: विज्ञान साहित्य, बाल साहित्य र वयस्क साहित्य पाइन्छ। सिवाका यी विभिन्न परिवेशका कविताले प्रतेकलाई ध्यानाकर्षण गर्छ। पाठकले प्रत्येक कविताको आनन्द लिँदै कत्ती बेला पुस्तक सकिन्छ पत्तो पाउँदैनन् ।

म जयमायाको सन्तानमा प्रस्तुत केही कविता झन्डै दशक अघि र केही हालै लेखिएको जस्तो पनि भान हुन्छ। जसमा कुनै कविता यस पुस्तकमा नराखिए पनि हुन्थ्यो कि जस्तो पनि देखिन्छ। कवि सिवाका  केही कविता पुस्तकको आकार लिनु अघि नै अनलाइन साहित्य भकारी साहित्यसंग्रहमा र भुट्नीज लिट्रेचर डटकममा संग्रहित छन्। उनी रतुवाको किनार देखी देशको माटो सम्म पुग्छन्। यसरी उनका कविताले नोस्टल्जिया पछ्याई रहन्छन्।

“म

कुना-कन्दराबाट
थोपा थोपा हुँदै
भदौरे खहरे भएर

ढुङ्गामुढासंगै बगेको भेल

आज

मिसिसिपी र मिजौरी भएर

बग्दै छु मूलधारको वेगमा।”

माथि उल्लिखित कवितामा जयमाया कै विम्ब बोक्छ। इन्द्रबहादुर राईको कथा ‘जयमाया एक्लै लिखापानी आइपुगि’ मा उनी एक्लै बर्माबाट भागेर लिखापानी इण्डियाको बोर्डर सम्म आइपुगिन् भन्ने कुरा पढ्न पाइन्छ। पछि त्यसैलाई कृष्ण धरावासीले ‘शरणार्थी ‘ उपन्यासमा जयमायालाई भूटान, पालमा शरणार्थी शिविर हुँदै अमेरिका ल्याईपुर्याउँछन् । जयमाया बर्माबाट भागेर बचेकी परिवारकी एक मात्र  जीवित सदस्य हुन्। विश्व भरि विभिन्न कारण र अवस्थाले विस्थापित भई आफ्नो अस्तित्व खोज्दै भौंतारिरहने हामी हरेक नेपाली तिनै जयमायाको सन्तान हौँ भन्ने आशय यस कविता कृतिमा देखाउन खोजेका छन् कवि सिवाले ।

आवरणमा देखिएकी अभिभावक पात्र तिनै जयमाया हुन र सानो मान्छे उनकी सन्तान। यसरी कविले आफैँ आवरण कलाले सुन्दर पुस्तक निर्माण गर्नु भएको छ। यहाँ बर्माको कथाका पात्रसँग भुटानको कथा जोड्नु र म जयमायाको सन्तान भन्ने बिम्बात्मक शीर्षक जुराउनु सृजनामा छुट्टै स्वाद थप्ने काम भएको छ।

सिवाबाट अङ्ग्रेजी देखी नेपाली साहित्यमा अनुदित कविता आउनु एकदम सुन्दर कार्य भएको छ। तर पूर्ण कविता पढिसक्दा मलाई लागेको कवितामा जसरी भावानुवाद भएको छ, मिन्ट्रेल म्यान शीर्षक पनि अनुवाद गर्न सके नेपाली मात्र बुझ्ने पाठकलाई बुझ्न सरल पर्थ्यो कि! किनकि कविता पढी सकिन्छ तर मिन्ट्रेल म्यानको शब्दार्थ कतै खुल्दैन।

मलाई उनको पहिलो कविता कृति “डोबहरू” पढ्ने अवसर त प्राप्त भएन। यो दोस्रो कृति हेर्दा उनी लेखनमा परिपक्व देखिन्छन्। उनका गध्य कवितालाई मैले आफ्नो आँखाले र मनले पढेको छु। म जयमायाको सन्तानमा ८२ वटा कविता छन्। अलग्गै धारको यो कविता सङ्ग्रह पाठकलाई पढ्न सुझाव दिन्छु।

उपसंहार:

कविता कृति ‘म जयमायाको सन्तान’ अझै विउँझै छु भन्ने शाङ्केतीक प्रस्तुति हो। यसमा प्रस्तुत अङ्ग्रेजी कविताहरू हेरी मैले आगामी दिनमा उनलाई अनुवादकको रूपमा पनि देख्ने अपेक्षा गरेको छु। यसो भनौँ कविता प्रतिको मेरो मोह आख्यान अध्ययनले अझै सुस्ताउन दिएको छैन। उनका यस्ता विम्ब कविता हुँदै कथा/उपन्यास आख्यान विधा तिर पनि देखिनँ मिलोस् । लेखन सफल्ताको कामना।

जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.