~सानु शर्मा~
हेर, तिमीहरूको लागि
म चट्टान भएर उभिएकी छु।
आऊ, त्यो अग्लो पर्वतमा चढेर हेर,
तिमीहरूका आँखाले देखेजति
त्यो सबै तिमीहरूकै हो।
मलाई तिमीहरूको खाँचो छ, तिमीहरूको लागि
म चट्टान भएर उभिएकी छु।
ममाथि चढेर हेर,
तिमीहरूले धेरै कुरा पाउने छौ।
तिमीहरूलाई दिने कति कुरा
सम्हालेर राखेकी छु।
तिनले तिमीहरूको
न्यानो हातको माया खोजिरहेका छन्।
आऊ, एक चोटि आएर त हेर,
यो मायालु आँखाले तिमीहरूलाई हेरिरहेको छ।
मैले तिमीहरूलाई ज्ञान सिक्न
र बुद्धिको भण्डार कमाउन पठाएकी थिएँ।
तर, तिमीहरू त दास बन्न पुगेछौ।
त्यहाँ तिमीहरू दिनको दसबाह्र घन्टा काम गर्छौ,
तिमीहरू बिरामी हुन्छौ,
डाक्टरकहाँ जान र औषधि गर्न असमर्थ हुन्छौ।
तिमीहरूको त्यो छट्पटी,
त्यो व्यथा र त्यो पीडा
अब म हेर्न सक्तिनँ।
तिमीहरूसँग मैले दिनको
बाह्र घन्टा पनि मागेकी छैन,
केवल छ घन्टा मात्र मागेकी छु।
आऊ, म तिमीहरूलाई
योजना बताइदिन्छु,
परियोजना सिकाइदिन्छु,
भो, अलपत्र भएर नबस।
त्यहाँ बिरामी भएर अलपत्र नबस,
मृत्युशय्यामा नजाऊ,
अहिले तिमीहरूको
जाने वेलै भएको छैन।
मलाई तिमीहरूको त्यो कर्मठ हात चाहिएको छ,
मलाई तिमीहरूको विद्वत्तापूर्ण दिमाग चाहिएको छ।
एक चोटि आएर त हेर,
तिमीहरूले छोडेर गएका डाँडाहरू
पत्थरमा परिणत हुन लागेका छन्।
आऊ, आएर त्यहाँ दुइटा रूख रोपिदेऊ
र फेरि हरियालीमा परिणत गरिदेऊ।
सानु शर्मा , (अमेरिका)
(नभेम्बर २१, २००८)