~विमल पोखरेल~
यो ती जंगबहादुरको कथा होइन, जसले नेपालमा राणाशासनको सुरूआत गरे र करिब ३० वर्षसम्म आफैंले श्री तीन महाराजको रूपमा शासन गरे, उनले सुरू गरेको शासन १ सय ४ वर्षसम्म निरन्तर कायम रह्यो । राणाशासनको अन्त्यतिर पश्चिम पहाडी क्षेत्रको ग्रामिण भेगमा अर्का जंगबहादुरको जन्म भयो । उनी गाउँमै हुर्के पनि गाउँका अरू भन्दा टाठै थिए । पढाइको चलन उति थिएन । गाउँका साथीसंगीले जे पढ्थे, उनले पनि त्यही पढे । अलिअलि हिसावकिताब, चिठ्ठी तमसुक त्यति भए पुगिहाल्थ्यो । त्यति ठूलो खान्दानीमा नजन्मे पनि आफ्नो मध्य उमेर र उत्तरार्ध पूरापूर खानदानीमै विताए ।
त्यतिबेला देशविदेश घुम्ने चलन त्यति थिएन । गाउँका थुप्रै मान्छेहरू हिउँदको बेला नूनतेल, कपडा लिनको लागि पत्थरकोट, बटौली, कृष्णनगरसम्म पुग्थे । तर जंगबहादुरले देशविदेशका विभिन्न ठाउँमा घुम्ने मौका पाए । अहिलेजस्तो सर्टपाइन्टको चलन पनि आइसकेको थिएन । आफूलाई दौरासुरूवालमै चिटिक्क पार्थे, त्यति चिटिक्क त्यो वरिपरि सायदै हुन्थे । जब उनी घुमफिर गरेर घर फर्कन्थे, कपडा धुन लगाइहाल्थे । त्यतिबेला खरानीपानीमा पकडा धुने चलन भए पनि उनले भने रिठ्ठाको गेडाले धुन लगाउँथे । धोएका कपडाहरू पट्याएर एउटा सानो बाकसमा राख्थे । कतै जानुपर्दा झिकेर लगाउँथे र घर फर्केपछि धुन लगाइहाल्थे । उनी सधै भन्थे कि “कपडाको इज्जत गर्न सक्यो भने मात्रै कपडाले इज्जत बढाउँछ ।” त्यो बाकस कसैलाई छुन दिंदैनथे । २ जोर कपडा, एउटा कोट, एउटा गम्छा अट्ने त्यो बाकस उनले लाहुरबाट ल्याएका हुन्, जहाँ उनी ३–४ पटक नोकरी गर्न गएका थिए । मेहनत र चाकडी दुवै गर्न सिपालु भएकाले केही पैसा कमाउन उनी सफल भए । मालिकलाई रिझाउन यति सफल भए कि मालिकको लामो जीवनमा पहिलोपटक असल र मेहनती सेवक मिलेको थियो । मालिकले सोचेको थियो कि यसलाई मेरो जीवनभरि यहीं राख्नुपर्छ । उसले जंगबहादुरका सबै परिवारलाई बस्न मिल्ने घर बनाइदिने र छोराहरूलाई नोकरी दिने वचन दिएको थियो ।
जंगबहादुर लाहुरमा पो नोकर थिए । जब उनी घर फर्कन्थे उनको सान बेग्लै हुन्थ्यो । २–३ जना भरिया अघि लगाएर घर आउँदा वल्लोपल्लो गाउँभरि केवल उनकै चर्चा हुन्थ्यो । लाहुरमा नोकरी गर्दाखेरि मालिकबाटै नै धन र सम्पत्तिको महत्व र शासन बुझ्ने मौका पाए । लाहुरमा नोकर भए पनि गाउँमा मालिक भएको अनुभव गर्थे । किनभने उनमा मालिक बन्ने योग्यता पुगिसकेको थियो । देशविदेश घुमेर २–४ कुरा सिकेका, देखेका, टाठाबाठा र सबैभन्दा महत्वपूर्ण कुरा त धनसम्पत्ति पनि जोडिसकेका । लाहुरबाट कमाएको पैसाले पाखा, ख¥यान र करिब ५० मुरी धान फल्ने खेत आफै जोडिसकेका थिए । त्यो बेलामा हातमा पैसा छुने रहरले १–२ जनाले सस्तैमा जग्गा बेचिदिए । कोही नबिग्रीकन कोही बन्दैन भन्ने भनाइ त्यहाँ लागु भइरहेको थियो । केही मान्छे त आफैले बेचेको जग्गामा आफै काम गर्न जाने गरी कंगाल भए । बिंडी खान लत बसेकाहरूले दिनभरी काम गरेर सुकाएको लाम्पातेको ज्याला लैजान्थे, र पातमा बेरेर सल्काउँथे र धुँवाको आनन्द लिन्थे । जंगबहादुरलाई त के भयो र घ् लाम्पातेको ज्याला दिन्थे, अन्न तिनीहरूलाई नै उधारो बेच्थे । विचराहरू पैसा तिर्न सक्दैनथे । त्यसपछि सित्तैमा काम गरिदिन बाध्य हुन्थे । एकातिर काम गरेको ज्याला दिन नपर्ने, अर्कातिर उब्जेको अन्नपात बेचेर पैसा आउने भएपछि जंगबहादुरको आम्दानीले फड्को मार्दै गयो । उनको घरमा काम गरेर सुर्तीको ज्याला खाने र अन्न किनेर लैजाने मजदुरको ऋण बढ्दै गयो । व्याजको स्याज हुन थाल्यो । ऋणले गाँज्दै लगेपछि ५–७ जना त बँधुवा मजदुरको रूपमा परिणत भए । काम गर्ने मान्छे भएपछि त के थियो र ? ५० मुरी धान फल्ने खेतमा ८० मुरी फल्न थाल्यो, मकै, कोदो पनि भकारीका भकारी हुने भयो । केही वर्ष अगाडिसम्म लाहुरका नोकर ठूलै साहुमा परिणत भए । कमाइ भएको पैसा व्याजमा लगाउने र २–४–५ गुना असुल्ने कुरा त सामान्य भयो । परिस्थिति यस्तो बन्दोरहेछ कि गाउँमा उनको ऋण नखाएको मान्छे भेटिनै छोडे । जंगबहादुर गाउँका एक्ला महाजन बने ।
एउटा सेतो घोडा किनेको २–४ वर्ष भइसकेको थियो । घोडा मोटो, अग्लो, सलक्क परेको र यस्तो आज्ञाकारी बानीबेहोरा भएको थियो कि राजारजौटाका तालिमप्राप्त घोडा पनि उसको छेउमा उभ्याएपछि फिका सावित हुन्थे । त्यो बुद्धिमान र चलाख घोडाले उनलाई सयौं किलोमिटर बोक्यो । साँच्चै भन्ने हो भने त जंगबहादुरले त्यो घोडाबाट धेरै सिक्ने मौका पाए । तर घोडाबाट सिक्नुपर्ने एउटा कुरा चाहिं कहिल्यै सिकेनन् । सेतो घोडा छुचो र लुच्चो थिएन तर उनी थिए । यतिसम्म कि उनको पैसा कमाउने तरिका एक पछि अर्काे गर्दै फरकफरक हुँदै गए ।
पुसको महिना थियो । कोल डाँडामा उखु पेल्ने कोल गाडिएको थियो । उखु पेल्ने कोल गाडिएकोले त्यो डाँडाको नामै कोलडाँडा राखिएको थियो । हिउँदको पारिलो घाम ताप्दै धेरै उखु पेलिन्थे । एक दिनको कुरा हो, जंगबहादुरका उखु पेलिंदै थिए । कैयौं गाग्रीहरू उखुको रसले भरिएका थिए । ओहोरदोहोर गर्ने मान्छे कसैले किनेरै उखु खान्थे भने कसैले चाहिं खाँदैनथे । २ जना १५–१६ वर्षजतिका केटाहरू मावलीघर जान हिंडेका थिए । साथमा पैसा थिएन । केहीबेर उभिएर हेरिरहे । जंगबहादुरले चारवटा उखु उनीहरूलाई दिए । उनीहरू उखु चपाउँदै बाटो लागे । भोलिपल्ट त्यही बाटो फर्किए । जंगबहादुरले बोलाए “ए केटाहरू यहाँ आउ ।” उनीहरूले सोचे कि आज पनि उखु खान पाइने भयो । जब तिनीहरू बूढाछेउ गए, बूढाले भने “हिजो खाएको उखुको पैसा लेऊ ।” मावलीबाट दक्षिणा लिएको पैसा तिरेर अमिलो मन लिएर घर फर्के ।
दसैंताक कटहर मिठो नहुने कुरै भएन । रातामाटाको बलबहादुर एकाविहानै जंगबहादुरको घरमा पुगेको थियो । तर कुनै काम लिएर चाहिं होइन । केही बोटमा ठूलठूला कटहर फलेका थिए । एकप्रकारले भन्ने हो भने घरैभरि कटहरकै वासना फैलिएको थियो । उनले ४ वटा ठूलाठूला कटहर बलबहादुरलाई दिएर घर पठाए । २ दिनपछि गाउँतिरबाट डुलेर आउनेक्रममा सेतो घोडालाई रातामाटाको घरतिर सोझ्याए । मूलबाटो मुन्तिर बलबहादुरको घर थियो । जंगबहादुर बोले “ए रातामाटा जेठी, बाहिर हेर त घ्” बलबहादुरकी आमा हतारहतार बाहिर आइन् र नमस्ते गरिन् । अस्ति बलेले कटहर लिएर आएको थियो ? हो लिएको थियो । “कस्तो थियो ?” “मिठो”, जंगबहादुरको प्रश्नमा उनले सहज उत्तर दिइन् । त्यो कटहरको त पैसा दिनुप¥यो कि जेठी । गाउँघरको चलन– तुलबुल र फलफूल त्यत्तिकै दिने गरिन्थ्यो । तर जंगबहादुरले भने एउटा दिए पनि हुने ठाउँमा ४–५ वा बढी कटहर दिएजस्तो गरेर बलबहादुरकी आमाजस्ता ८–१० घरबाट पैसा लिइसकेका थिए । उनले अनेक तरिका अपनाएर आफ्नो बारी वा पाखोमा जे उत्पादन भए पनि त्यसको पैसा पार्न खुबै सिपालु थिए । जंगबहादुरले पैसा जसरी सोहोर्न सकिन्छ, त्यसरी सोहोर्थे । सोहोर्न नसकेको पैसा थुकले टिप्थे । केही वर्षपछि गाउँ यस्तो बन्यो, सबैको घरको नगद जंगबहादुरकै घरमा जम्मा भयो । खानको लागि गाउँलेहरूलाई निमेकको भर पर्नुपर्ने भयो ।
जे भए तापनि हरेक कुराको सीमा हुन्छ । त्यो पार गरेपछि परिस्थितिले फरक मोड लिइहाल्छ । जंगबहादुरले धनसम्पत्ति कमाए तापनि त्यसको परिचालन एउटा सीमासम्म मात्रै हुन सक्यो । उनको पैसाको उपयोगिता हराउन थाल्यो । किनभने गाउँ रित्तिसकेको थियो । जोड्नुपर्ने जति सबै जोडिसकेका थिए । किन्नुपर्ने सबै किनिसकेका थिए ।
आखिर एक दिन त सबै मर्नुपर्छ नै । जंगबहादुरले पनि यो संसारबाट विदा लिए । आफूले कमाएको पैसाको बारेमा आफैलाई मात्रै थाहा थियो । छोराहरूलाई कुनै जानकारी दिएका थिएनन् । बाउले कमाएको सम्पत्तिले उनको सम्पूर्ण परिवारलाई प्रशस्तै भयो । छोरीहरू घर गरेर खाइरहेका थिए । छोराहरू सधैंभरि सँगै बस्न सम्भव भएन । उनीहरू छुट्टिए । जंगबहादुर जिउँदो छँदै घरगोठ, खेतबारी, पाखापखेरा सबै बाँडिदिएका थिए । घर पर्नेलाई घर भइहाल्यो, नपर्नेहरूले गोठ बारेर बस्न थाले । सधैंभरि गोठमा बस्नु सम्भव थिएन । एक दिन जेठा छोराले गोठ भत्काएर नयाँ घर बनाउने सोचे र भत्काए पनि । भत्काउँदा भैंसीको भकारामुनि प्लाष्टिकले बेरेर तामाको भाँडोमा राखिएका पैसा भेटिए । गारोमा पनि केही पैसा भेटिए । अब छोराहरूले मान्छे लगाएर भए पनि सम्भावित ठाउँहरू खन्न, भत्काउन थाले । यतिसम्म कि आफ्नै घर पनि भत्काए । तर कतै पनि अरू पैसा भेटिएन । जति पैसा भेटियो पैसा त्यति मात्रै थिएन । किन कि उनका आम्दानीका स्रोतहरू प्रशस्तै थिए । भेटिएको भन्दा सयौं गुना पैसा उनले जम्मा गरिसकेका थिए । तर आफू मरेर जाने बेलामा समेत पैसाको बारेमा कुनै कुरा कसैलाई पनि बताएनन् । गाउँमा उनले जसलाई पैसा दिएका थिए, ती कुराको जानकारी पनि उनले छोराछोरी कसैलाई दिएका थिएनन् । जंगबहादुरको मृत्युपछि उनका छोराहरू गाउँमा पैसा माग्न जाने आधारहरू थिएनन् । किनकि कसैसँग पनि उनले तमसुक गरेका थिएनन् । एउटा अनौठो तरिकाले कारोबार भइरहेको थियो । जंगबहादुरको घरमा धनसम्पत्ति जम्मा भइरहेको थियो । गाउँका मान्छेले पनि उनको मृत्युपछि आफूले लिएको ऋण र त्यसको व्याज तिरेनन्, किनकि उनीहरू तिर्न सक्ने अवस्थामा थिएनन् । जंगबहादुरले आफ्ना छोराहरूलाई त्यो पैसा किन बाँडेनन् ? सम्पत्ति बाँडिदिनेबेलामा धन पनि बाँडेको भए के हुन्थ्यो ? ती प्रश्नको जवाफ आजसम्म कसैले पाउन सकेका छैनन् । न त बाँकी पैसा नै भेट्टाउन सकेका छन् । उनका छोराहरू सुख खोज्दै शहर पसिसकेका छन्, र फर्केर गएका छैनन् । आज गाउँमा जहाँ जहाँ उनको जग्गा थियो, त्यहाँ त्यहाँ पैसा हुनसक्छ भन्ने दाबी गरिन्छ । तर त्यसरी जम्मा गरेको पैसाको त्यो गाउँमा कुनै अस्तित्व छैन । तर त्यसको कथा चाहिं आजसम्म पनि सुन्न पाइन्छ ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३४ – July 4, 2012 – २०६९ आषाढ २० गते, बुधबार )