~गोबिन्दसिंह रावत~
सत्तामा भित्रिए पछि बाहिरिन कोही मान्दैनन्
सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छे नै ठान्दैनन्
किनभने
ब्ाहिर चर्को घाम छ सडक जाम छ जताततै लामैलाम छ
भित्र मीठो माम छ नजराना र प्रत्येक बोलीमा दाम छ
बाहिर वर्षा बाढी धुलो र धुवा छ आक्रमण अपहरण हत्या र बलत्कार छ भित्र घरबार छ िसंहदरवार छ उद्घाटन शिलन्यास विमोचन र सत्कार छ
बाहिर गरीबि शोक महँगी रुवावासी सुकुमबासी र रित्तो पेट छ
भित्र बिरयानी साप्रो सुकुटी ह्याकुलो फिलो सुरापान र बजेट छ
बाहिर फोहर हिलो गोबर भकारी ठेला पसिना र दुर्गन्ध छ
भित्र घर घडेरी ब्याङ्क ब्यालेन्सगहना भत्ता सुविधा र सुगन्ध छ
बाहिर मजदुर किसान रोगी पिलन्धरे भोका नाङ्गा अनिकाले माग्ने खाते र बेरोजगार छन्
भित्र नेता मन्त्री सांसद राजदुत सचिव जिएम ब्यापारी उद्योगपति र जमिनदार छन्
बाहिर बन्द हडताल गुण्डागर्दी लुट र अपमान छ
भित्र गार्ड डाईभर स्यालुट मान पदवी अलङ्कार र सम्मान छ
बाहिर जुलुस धर्ना बम पहिरो डुबान कटान असिना पसिना खडेरी र माँगहरु छन्
भित्र टाई सुट बुट कमिसन घुस क्यामरा टेलिभिजन ब्रह्म लुट र भागहरु छन्
बाहिर रोग छ भित्र उपचार
बाहिर अदालत छ भित्र न्यायधिश
बाहिर आतङ्क छ भित्र सुरक्षा
बाहिर नाङ्गा खुट्टाहरु छन् भित्र गुदी टाउकाहरु
भित्र झण्डा छ बाहिर डण्डा
भित्र वकिल छ बाहिर कनून
भित्र मस्ती छ ब्ाहिर महँगी
भित्र पत्रकार छ बाहिर पत्रिका
जे छ भित्र छ जे छैन बाहिर छैन
त्यसैले सत्ताको भित्र पसे पछि बाहिरिन कोही मान्दैनन्
सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छेनै गन्दैनन्
- गोबिन्दिसंह रावत, टोरोन्टो