~दिल थापा~
यो सहर
मेरो आंखाको थकाई मेट्ने सहर
आज कस्तो शून्यता
यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो
म आफैको शोकसभामा आफै आए जस्तो
बिहानीले रातको मौनता भङ्गता तोड्न नसकेजस्तो
रातले बिहानी , बिहानीले रातलाई नभेट्ला जस्तो
यो प्रहरमा
यो सुनसान सहरमा
खै किन हो हिउँको उत्सव चलिरहेछ ।
सहर हिउँसँग सेतै बलिरहेछ l
मलाई चिसो ताप्न स्वीकृति दिदै
म यो सहरको सेतै हिउँले कब्जा गरेको सुनसान सडकमा छु l
पाइलाहरु मेरा अघितिर बढाउने मनोआदेशको संगीतबिनाको शब्द पर्खाईमा भए जस्तै
आज मलाई यो सुनसान सहरको सडकहरुसंग मेरा पैतालाहरुको प्रेरणामा स्पर्श गर्न मन छ ।
सडकको छातीमा हिउँले बनेका वृक्षस्तनहरू मेरा आखामाथि हिउँको फूल फूलेको कालो परेला उगारी हेर्न मन छ ।
सडकको वल्लो पल्लो गगन छुने महलहरु
हिउँको उत्सवमा भुलेको बेला
सेताम्मे हिउँले सहर फुलेको बेला ।
म यात्री हुँ l
यो सहरको
मेरा पाइलाहरु अघि बढीरहेछ l
अघिल्ला जीवनका दोपहरु बस्ने गरी
सडकसँग लिप्त भएका हिउँमा
हिउँमा दोबीएका मेरा पाइलाहरु
हिउँका पुष्पवर्षाले कति सजिलै पूरी दिन्छ
एकचोटि होइन बारम्बार
एउटा होइन l
सबै पाइलाका दोपहरु
सायद त्यसैले होला
मेरा यात्रा अर्थहीन छ ।
मेरा पैतलाहरुले बनाएको प्रत्येक दोपहरुमा
मैले मेरा अस्तित्वहरु छोडेर आए जस्तो लाग्छ
अलि पर पुगेर मेरा पाइलाका दोपहरुलाई हेर्छु l
मेरा पैतलाहरुबिना
म बिना हिउँसंग युद्ध गरीरहेको देख्छु l
कस्तो मायाँ लागेर आउंछ।
मेरो सुरुको पैतलाको दोपले
मलाई सम्झदै होला l
मेरी प्रियसीले भन्दा बढी
थुक् थुक् मान्दै पनि होला
मैले अर्का पाइला सर्दा छोडेको यूग चिनो बचाउन नसक्दा
हिउँको रजस्वलाले अहाल बनेको सडकमा
मैले पहिलो पाइला तेक्दा मेरा पैतालाले बनाएको पहिलो दोप देख्दा म कति खुसी भएको थिए l
मैले सोचेको पनि थिए l
मेरा पैतालाले बनाउने हरेक दोपहरुमा मेरो अस्तित्वहरु हुनेछ l
त्यो अस्तित्वभित्र
मेरा भाषा हुनेछ l
मेरा धर्म हुनेछ l
मेरा संस्कृति हुनेछ l
मेरा समग्र गन्ध हुनेछ ।
तर आज म सोच्छु l
फगत: भ्रम रहेछ l
मेरा यात्रा नै भ्रम रहेछ ।
मैले पहिलो पाइला चाल्दा जति खुसी थिए l
जति वयस्क थिए l
आज यो पाइला अगाडी बढाइ रहदा
म त्यति खुसी पनि छैन l
त्यति वयस्क पनि छैन l
आशावादी पनि छैन l
कसैमाथि भरोसावादी पनि छैनl
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )