~भागवत खनाल~
साहुनी : यो काठालाई किन रक्सी खान दिएको ?
साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन।
साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान , कति गतिला बाहुन छन् ती। औंसी कहिले हो एकादशी कहिले हो बाजे भनेर सोध्यो भने फलानो दिन हो नानी भनेर जवाफ दिन्छन। अरु जस्तो मै जान्ने सुन्ने जस्तो पनि गर्दैनन् सोझा छन्।
साहु : हो जान्दछु गल्ती भयो। अव मरे पनि दिन्न। मेरो दुकानतिर हेर्यो भने पनि लघार्छु यो काठालाई।
साहुनी : धेरै काठा काठा नभन्नुस है सुन्लान बिचराले , दुख मान्लान।
साहु : सुन्दैनन्। पहिलो पल्टमै कप्तान बाले जति धोकेका छन् , अव रातभरि बेहोस नै हो के को सुन्नु नि ।
साहुनी : पैसा लिनु भयो कि बाँकी छ ?
साहु : लिएको छैन। दिएको भए पो लिनु। गिलास समातेपछि मात्र पैसा छैन उधारो हो के गरम भन्यो मैले खाऊ भने।
साहुनी : अनि अर्को गिलास किन दिनु भयो त ?
साहु : हत्य हाल्यो अनि दिएँ , गल्ती भयो।
साहुनी : कति रुपियाको खाएछन ?
साहु : तीन रुपियाँ।
रातिको साढे एघार बजिसक्यो , तर लीलाधरले सुत्ने सुरसार गरेको छैन ।
श्रीमती : आधा रात हुन लागिसक्यो अझै सुत्नुहुन्न ?
लीलाधर: .न अत्याउ न सुतिहाल्छु नि। मलाई जागिर खान जानु छैन , गयल पर्ने डर छैन। भोलि बिहानभरि आरामले सुत्छु।
श्रीमती : तपाईलाई पो अफिस जानु पर्दैन , मलाई त जानु छ नि।
लिलाधर :तिमी सुत न मलाई एकछिन यसै गम्न देउ। मलाई फेरि त्यही कुरा सम्झना आइरहेको छ।
श्रीमती : फेरि त्यही तीन रुपियाँ उधारो खाको सम्झन थाल्नु भो हैन ? कि बेलैमा तिर्नु पर्थ्यो कि जावो तीन रुपियाँ बिर्सनु पर्थ्यो। न तिर्न जानुहुन्छ न बिर्सनै सक्नुहुन्छ। अव अहिलेको दशैंमा त म आफै गएर साहु पत्ता लगाएर तिरेरै आउछु। हैरान।
लीलाधरले बत्ती निभायो। श्रीमतीसंग नछोइने गरी उतापट्टी मुख फर्काएर सुस्त सुस्त लामो सास फेर्दै सुत्यो।आज उसलाई निद लाग्दैन कि भन्ने हैन निद लाग्छ कि भन्ने डर छ। आज रातभरि आफ्नो अतीतसंग साक्षात्कार गर्ने मन छ उसलाई। ऊ अहिले साठी वर्षको भयो। आफ्नो जन्म ठाउँ छोडेर हिडेको बयालीस वर्ष भएछ। हिसाव गर्दा लिलाधरको सात भागमा पांच भाग जीवन जन्म ठाउभन्दा बाहिर नै बितेछ। सात भागमा दुई भागमध्ये सचेत र सक्रिय समय त करिव दश वर्ष मात्र हो जन्म ठाउमा बिताएको। तर पनि उसलाई आफ्नो जन्मभूमिको काख जस्तो न्यानो र प्यारो अरु कुनै ठाउँ पनि लागेन।
आज फेरि उसले लालनन्द साहुलाई सम्झ्यो। लालनन्द श्रेष्ठ। उनको सानो घर थियो। त्यो सानो घरको सानो दलानमा उनको सानो दुकान थियो। काला काला हिस्सी परेका , हातगोडा सफासंग धोएर सेतो कमिज र लामो कालो जाघे लाएर बस्थे उनी दुकानमा। दुकानमा सस्ता खाले बिस्कुट , दालमोठ , चकलेट ,एक दुइ धार्नी तमाखु , दुइ चार पाकेट चुरोट ,थोरै भेली, चिनी , दुइ चार माना मट्टीतेल , गडी , छोहडा जस्ता वस्तुहरु राख्थे। उनको मुख्य व्यापार भने चियाको हुन्थ्यो।त्यस बखत घर घरमा चिया पकाउने चलन थिएन , लोग्ने मानिसहरु यसो पसलमा आएर एक गिलास तातो र गुलियो चिया खाएर गफगाफ गरेर जान्थे। ग्राहक बस्नको लागि दलानमा एउटा फलैचा राखिएको थियो , त्यसमा न अटाएका मान्छे पेटीमा बस्थे या बाहिर ठिङ्ग उभिएरै चियाको चुस्की लिन्थे।लालनन्द साहुले दुकानमा आफ्नो बस्ने ठाउँ चुल्होको ठिक सामुन्ने बनाएका थिए। उनी एउटा पिर्का माथि टुक्रुक्क बसेरै काम चालाउंथे। त्यहीबाट चिया छान्न सजिलो हुने र आगो फू फू गर्न पनि सजिलो हुने।
लीलाधरको स्कूल जाने बाटो त्यतैबाट पर्थ्यो। साहुको दुकान अगाडिको बाटो राम्रै फराकिलो भएको हुँदा बटुवाहरुलाई पर्याप्त बाटो छोडेर बस्दा पनि प्रसस्त मानिस अटाउने ठाउँ खाली रहन्थ्यो। संयोग कस्तो पर्ने भने बिहान लिलाधर स्कूल जाने बेलामा र बेलुका फर्कने बेला दुवै समयमा मान्छे जम्मा हुने। बिहान स्कूल जादा पढाइ छुट्ने डर हुने हुँदा लिलाधर प्राय सरासर स्कूल जान्थ्यो , कुरा सुने पनि यदाकदा एकछिन मात्र सुन्थ्यो र बाटो तताइहाल्थ्यो। तर साँझको बेलामा त एउटा छेउमा बसेर मज्जाले मानिसहरुको कुरा सुन्थ्यो ऊ।
एकदिन सांझ काप्तान बाले लालनन्द साहुलाई सोधे ” कान्छा त्यो नया पारेका छौ ” साहुले छ भनेर जवाफ दिए। त्यहा भएका कतिले बुझे कतिले बुझेनन् थाहा भएन तर लिलाधरले बुझेन। उसलाई कौतुहल भयो के पार्ने भनेको होला ? के पारेको कप्तान बा भनेर कप्तान बूढासँग सोध्ने हिम्मत थिएन उसको। सोधी नै हाले पनि कप्तान बाले तेरीमा काठा तलाई किन चाहियो भनेर मारे थर्काउन पनि बेर थिएन। लालनन्द साहुसंगा सोध्न पनि त्यो बेला अनुकूल परेन। साहु पनि कम बोल्ने स्वभावका थिए , भन्लान भन्ने निश्चित थिएन। अनि उनले पनि थपक्क घर जाउ बाहुन तिमीलाई किन चाहियो भने पनि भयो। तर लिलाधरलाई यो कुरा पत्ता पाएरै जाने मन थियो।
यत्तिकैमा झिसमिसे अँध्यारो हुनै लाग्ने बेलामा उसका काका पर्ने रशीक कुमार आइपुगे। उनले रक्सी खाएर जात फालेका छन् भनेर उनको पीठ पछाडि कुरा काटेको सुन्थ्यो लिलाधराले , तर उनी नजिक भएको बेला सबैले ओहो माइला के छ हालखबर भन्दै चापलुसी गर्थे। यी रशिक .कुमार बडो मनमोजी रमाइला र फरासिला थिए , जात फालेर के भो ससाना केटाकेटीलाई माया गर्थे र सोधेको कुरा भन्थे। लिलाधरले मौका को फाइदा उठाएर सोधिहाल्यो काका लालनन्द साहुले आज के पारेका छन् ? सोध्नुस है। काका त खुसीले उफ्रदै लौ कान्छा नया माल पारेर हाम्लाई नभन्ने भन्न थाले। खै ल्याउ एक गिलास ! साहुले एउटा बोतलबाट एउटा सिसाको गिलासमा कलकल गर्दै खान्याएपछि पो थाहा भयो , त्यो त आजै पारेको ताजा रक्सी रहेछ।
आज लिलाधर धेरै ढीलो गरेर घर पुग्यो। यसबेलासम्म कहा थिइस ? मास्टरहरु चार हात घाम छँदै आएर कति धन्दा गर्न भ्याए। अरु सप्पै केटाहरु अघि नै आएर काम सघाइओरी खाएर पढ्न थालिसके, यो पाजी बल्ल आउदै छ। यसले केही उपति गर्ने वाला छैन , न गरिखाला न मरिजाला यो। ऊ चुपचाप सुनिरह्यो। चीसो भएको ,अरु भाइबैनाले जुठ्याएर छोडेको खाना खाएर पढ्ने निहुले बस्यो। तर उसको मन पढाइमा थिएन। उसले सोच्यो कप्तान बालाई सबैले ठूलो मान्छे भन्छन , बाहुनहरुले पनि अदव गर्दै नमस्कार कप्तान दाइ भन्छन , अलि सानो उमेरकाले नमस्ते कप्तान बा भन्छन। जातले उनी मगर हुन् तर कस्तो सान छ , सारा थर्कमान हुन्छन। उनी त रक्सी खान्छन। यस्तो ठूलो र गतिलो मान्छेले खाने कुरा कसरी खराव भयो ? यिनको जात गएन … काकाको जात कसरी गयो ? त्यो जात कहाँबाट आयोथ्यो र कहाँ गयो ? काकालाई पीठ पछाडि मात्र किन भन्छन ? सामुन्नेमा किन सबै डराउछन् ? बा सुत्न गएपछि उसले आमालाई एकछिन है आमा भनेर रोक्यो। आमाले प्रश्नवाचक आँखाले उसलाई हेर्नुभयो ? लीलाले भन्यो आमा जात कहाबाट आउँछ ?
आमा : जात आउने हैन यो त त्यसै आफ्नो आफ्नो हुन्छ।
लिलाधर : कहीबाट आउन्न भने किन जान्छ ? आको कुरा पो जान्छ , हैन र ?
आमा : तलाई किन चाहियो यो सबै ? खाली यस्तै यस्तै कुरामा ध्यान जान्छ हैन तेरो ?
लिलाधर: रक्सी खायो भने के हुन्छ आमा ?
आमा : आम्मै नि के बोलेको हरे राम , धेरै खराव कुरा हो त्यो , जातै जान्छ बाबै।
लिलाधर : त्यसो भए कप्तान बाको पनि जात गयो ?
आमा : उनी त मगर हुन् . जात भए पो जानु।
लिलाधर : अनि सबैले उनलाई मान्छन त , हाम्रो बाले पनि नमस्कार कप्तान दाइ भान्नुहुन्छ त आमा …..
लिलाधर : …काकाको जात गयो ?
आमा : तँ चुप लागेर सुत्न जा त , काम साम केही गर्नु छैन , पढ्नु छैन खाली जिब्रो थुतिने कुरा गर्छ।
लिलाधर धेरै निरास भयो। पहिले एक दुइ पल्ट उसको पनि झन्डै जात गएको थियो। एक पल्ट खरवारीमा गएको बेलामा दिसा गर्दा कानमा जनै झुण्डाउन बिर्सेर , एक पटक गाई चराउन गएको बखत नछुनी भएकी कान्छी भाउजुलाई छोएर र अर्को पल्ट सुजी दाइले लुगाको नापो लिएपछि छिटो नहाल्दै भित्र पसेर। तर त्यस बखत नुहाएर नया जनै फेरेर र सुन पानी छर्केर जात जोगिएको थियो। तर रक्सी खाए पछि त नुहाएर जनै फेरेर पनि हुँदैन , छिटो हालेर पनि हुँदैन र सुनपानी छर्केर पनि चोखो हुँदै न रे जात फर्कदैन रे। आमाले भनेको।
लिलाधर भोलि पल्ट स्कूल जाँदै थियो। साहुको दुकान अगाडी ५ / ६ जना मानिस जामा भएर होहला गर्दै गफ गर्दै रहेछन। यसो हेर्छ त रशिक काका त हिजोदेखि नै यतै। त्यहा सबैभन्दा चर्को र जोसिलो आवाज उनैको छ , सबै जना उनको कुरा सुनेर गलल्ल गलल्ल हास्दै छन्। सबैलाई ठीक गर्छु भन्दै थर्काउदै छन्। बाहुनहरू त उनको डरले पर पर उभिएका छन्। बडो सान छ काकाको। कप्तान बा पनि काकासंग अरु बाहुनसंगभन्दा प्रेमले गफ गर्दै छन्। साहुले पनि केही थपौं कि हजुर भन्दै छन्। काकाको नजर लिलाधरमा पर्यो , चार आँखा भए , लिला डरायो तर काकाले हात समाएर दुकानमा लिएर गए र साहुलाई भने यो मेरो भातिजोलाई सांझ स्कूलबाट फर्कदा चिया बिस्कुट ख्वाउनु है !
त्यो दिन लिला स्कूल गएन। दुइ तीन घण्टा यता उति भुलेर अलि चाडै साहुजीको अगाडि देखा पर्यो। साहुजीले आज चाडै बिदा भयो? भनेर सोधे , लीलाले तुरुन्तै झुठ बोल्यो आज झपिन्द्र सर आउनु भएन लास्ट पिरेड उहाँकै थियो त्यसैले हिडेको नि। साहुले उसलाई चिया बिस्कुट दिए , लीलाले खायो। तर आज उसलाई चिया बिस्कुटमा सदाजस्तो आनन्द आएन। उसको मनमा आगो बलिरहेको थियो , उसलाई केही नया गर्न मन लागेको थियो। आज उसलाई कप्तान बा जस्तो बान्न मन लग्यो , रशिक काका जस्तो बन्न मन लाग्यो। परन्तु मनमा डर , कौतुहल र पीडा छ , अनुहार रातो रातो भएको छ भनु कि नभनु , घरतिर जाउँ कि भागौ कि ? साहुले सोधे ए बाबु के हो किन राता राता गाला बनाको के भयो? त्यस बेला सांझ आउनेहरु आइसकेका थिएनन् , काका गैसकेका थिए अव २/४ दिन आउन्नन , कप्तान बा त अलि अध्यारो भए पछि आउछन , दुकान खाली नै छ।
लिलाले हिम्मत गरेर भन्यो मलाई त्यो हिजो पारेको एक गिलास दिनुस , म खान्छु। लालनन्द अचम्म परे , यो बाहुन केटो यो हदसम्म पुग्ला भन्ने उनले सोचेका थिएनन। उनले भने धत् पण्डितको छोरा भएर , बाहुन भएर , हुँदैन। लीलाले अव खाएरै जाने अठोट गरेको थियो उसको धक पनि फुक्दै गयो , भन्यो राशिक काका बाहुन हैनन् र ? साहुले उनी बाहुन त हुन् तर अलि छाडा हुन् उनलाई चोखो मान्दैनन भन्दै सम्झाए तर लीलाले मानेन। साहुले सोधे कति वर्षका भयौ ? लीलाले एक वर्ष बढाएर भन्यो पन्ध्र वर्ष। साहुजीली नखाउ बाजेले थाहा पाउनु भयो भने मलाई पनि के भन्नु होला भने तर अति नै भए पछि बोतलबाट सारेर एक गिलास रक्सी लीलाको हातमा थमाइदिए। लीलाले हातमा गिलास लियो उसको हात कापिरहेको थियो। अनुहारमा अपूर्व लालीमा छाउदै थियो , लामो लामो सास फेर्दै उसले साहुजीलाई भन्यो तर मसंग पैसा छैन उधारो दिनु पर्छ।
साहुले खाऊ भने पछि लीलाले एकै सासमा सबै रक्सी निल्यो। रक्सी खाने आदत लागेका अम्मलीले पनि यसरी खान सक्दैनन् , के भएको यो बाहुनलाई ? साहुजी अवाक थिए। आधा मुठी दालमोठ र सानो ढिक्का नून दिए उनले लीलालाई।लीलाले नून र दालमोठ एकै गासमा मर्याक मर्याक चपायो। अनि भन्यो अर्को एक गिलास दिनुस। साहुजीले सम्झाए तर उसले मानेन थपिछाड्यो। यत्तिकैमा साहुनी आइपुगिन कताबाट। उनी लीलाको हातमा रक्सीको गिलास देखेर तर्सिन , यो के गरेको ? किन दिएको यिनलाई ?तपाइँ कति लोभी हँ यस्तो कलिलो बाहुन केटालाई रक्सी खान दिने ? बाजेले के भन्नु होला , मान्छेले देखे के भन्लान भन्दै बाबु तिमी यता आऊ त भनेर दलानभित्रको सानो कोठामा बोलाइन।
लालनन्द साहुको श्रीमती सुत्केरी भएको भन्ने सम्म लीलाले सुनेको थियो। त्यो सानो अध्यारो कोठामा नवजात सिशुलाई जतनले सुताइएको थियो। बोलिचालीमा पो साहु भनिन्थ्यो , लालनंद बिचरा के को साहु हुनु। दिनमा बाह्र पन्ध्र रुपियाको व्यापारबाट कति नाफा हुनु ? तीन चार रुपियाँ होला। तैपनि भएका सामग्रीहरुलाई बडो जतनले राखिएको देख्यो लीलाले। अनि मन मनै सोच्यो , यी साहुनीले आफूसंग भएको सामानलाई कसरी मिलाएर राखेकी छन् , कति सफा छ , कति शान्तसंग बसेका छन् , ननीलाई कति राम्ररी सुताएका। हामी बाहुन ठूलो जात रे न राम्ररी खाने न लाउने ।
साहुनीले सोधिन कैलेदेखी सिकेको?
लिला: आज पहिलो पल्ट हो।
किन खाएको ? यो त मतवाली जातको लागि पो बनाएको। बाहुन भएर यस्तो खाने हो? धर्म नास हुन्छ। हामी त नेवार जात , पुर्खाले खाएको अनि सानो दुकानबाट गुजारा गर्नु पर्ने। अरु आम्दानीको जरिया छैन र पो यो बेचेको। मलाई बाह्र महिना एक छाक खान पुग्ने भए यो चिज बेच्न दिने थिइन काकालाई। हामीलाई बाध्यता छ। तर यो तिमी जस्तालाई खुवाउन बानाको हैन। सक्छौ अव देखि यो चिज कतै पनि नखानु , सक्दैनौ र खाने नै हो भने मेरो दुकानामा नखानु। आज जे भयो भयो म कतै पनि भन्दिन। तिमी पनि चुपचाप बस्नु। यति बेरसम्म त्यो रक्सीको गिलास लीलाको हातैमा थियो। साहुनीले उसलाई हेरिन् ,कोठाको छेउँमा राखेको सानो ताप्के उचालेर ल्याइन , त्यसमा एक डाडु मासु रहेछ, सानो रिकापीमा राखेर लिलालई दिदै भनिन अस्ति उहाँले तानसेनबाट आधा बिसौली खसीको मासु मगाइदिनु भएको थियो यति बाकि रहेछ यसैसंग खाऊ।
लिलाले यन्त्रवत। साहुनीलाई हेरिरहेको छ। यी कस्ता ब्यापारी हुन् ? म जस्तोलाई उधारो दिन्छन , अव देखि नखा भन्छन कोठामा लुकाउछन , आधा बिसौली सुत्केरीलाई भनेर पकाएको मासु मलाई खान दिन्छन। सानो घर छ ,गरिवी छ तैपनि शान्त छन् सन्तोकी छन्। कसैसंग दुख देखाउदैनन , गुनासो गर्दैनन्। लीलाले मनमनै सोच्यो उसको टोलाका मान्छे धनी नभए पनि यिनीहरुभन्दा ठूलो घरमा बस्छन , अलि धेरै जग्गा जमिन छ , गाई भैसी दुहुना छन् नालनाता छिमेक ठूलो छ , केही नाम र मान इज्जत पनि छ , तर यिनीहरु जस्तो खुसी मेलमिलाप सन्तोक र शान्ति तिनीहरुको घरमा किमार्थ छैन। ऊ बोल्नै सकेन त्यो गिलास सक्यो र चुपचाप बसिरह्यो।
घरमै बनाएको कडा रक्सी , कहिल्यै नखाएको कलिलो शरीर , लीला उठ्न सक्ने अवस्थामा थिएन। त्यही बसेको चटाईमा निदाएछ। राती नसाको असर घटेर होला , जाडो भएर पनि होला ऊ जाग्यो। उसको मनमा एक प्रकारको रोमान्च भइरहेको थियो भने पछुतो र क्षोभ पनि थियो। तर जे हुनु भैसक्यो ,भर्खर सात कक्षामा पढ्ने केटो , बाहुनको बच्चा , बाबु कुखुराको चल्ला छोइयो भने पनि नुहाएर जनै फेर्छन। नित्य स्नान र पूजापाठ गरेर मात्र मुखमा अन्न हाल्छन। रक्सी कुखुरा खाने कि आजै मर्ने भनेर सोध्यो भने आजै मर्ने विकल्प रोज्छन उनी। तर छोराको यो हविगत छ , रक्सी खाएर भट्टीमा ढलेको छ।
लीला नचलमलाइकन सुतेको छ। निदाएको बहाना गर्दै। दुकानतिर कुनै आवाज सुनिदैन शान्त वातावरण छ।लीलाले लख काट्यो रात धेरै छिप्पिसकेछ। लालनन्द साहु कुन बेला दुकान बन्द गरेर भित्र आए , कुना बेला सुते उसलाई थाहा नै भएन। बरु साहु र साहुनी आपसमा बिस्तारै बोलेको सुन्यो उसले :
साहुनी : यो काठालाई किन रक्सी खान दिएको ?
साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन।
साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान , कति गतिला बाहुन छन् ती। औंसी कहिले हो एकादशी कहिले हो बाजे भनेर सोध्यो भने फलानो दिन हो नानी भनेर जवाफ दिन्छन। अरु जस्तो मै जान्ने सुन्ने जस्तो पनि गर्दैनन् सोझा छन्।
साहु : हो जान्दछु गल्ती भयो। अव मरे पनि दिन्न। मेरो दुकानतिर हेर्यो भने पनि लघार्छु यो काठालाई।
साहुनी : धेरै काठा काठा नभन्नुस है सुन्लान बिचराले , दुख मान्लान।
साहु : सुन्दैनन्। पहिलो पल्टमै कप्तान बाले जति धोकेका छन् , अव रातभरि बेहोस नै हो के को सुन्नु नि ।
साहुनी : पैसा लिनु भयो कि बाँकी छ ?
साहु : लिएको छैन। दिएको भए पो लिनु। गिलास समातेपछि मात्र पैसा छैन उधारो हो के गरम भन्यो मैले खाऊ भने।
साहुनी : अनि अर्को गिलास किन दिनु भयो त ?
साहु : हत्य हाल्यो अनि दिएँ , गल्ती भयो।
साहुनी : कति रुपियाको खाएछन ?
साहु : तीन रुपियाँ।
साहुनी : त्यो पैसा यी बाहुन केटासंग नमाग्नु होला। कहाबाट दिन्छन तेत्रो पैसा ? माग्नु भयो भने यिनले चोरेर ल्याउन सक्छन र अर्को नराम्रो बानी बस्न सक्छ। बिहान नसाले छोड्ने बित्तिकै यिनलाई लघार्नु पर्छ र हाम्रो दुकानतिर आँखा पनि नलगाउनु भनेर थर्काउनु पर्छ। यो कुरा कसैलाई पनि नभन्नु होला , म पनि भन्दिन। यो कलिलो केटालाई रक्सी खान दिएर गरेको पाप चुप लाग्यौं भने कटछ। साहुजीले आफ्नी धर्म पत्नीको कुरा सुनेर मनमनै गमे कति सज्जन आइमाई छ यो , कति सोझी र उपकारी। न कुनै माग छ न कुनै इच्छा , न झैँ झगडा न गुनासो। सधै शान्त र सन्तोषी। बरु मैले पो केही गर्न सकिन यसको लागि , यो सानो दुकानबाट केही उपति हुने वाला छैन , खेती गरम त एक हालको बारीमा के हुन्छ ?
यही दुकानामा पनि नगदमा ब्यापार हुने हैन आधा उधारो खान्छन त्यो उधारो पनि आधा मात्र उठ्छ। साहुजीले खातापाता पनि राखेका छैनन् सबै सम्झनाको भरमा हो। दिए लिन्छन नदिए पनि चुप लागेर बस्छन। इमान्दार र बचनको पक्का हुनु पर्छ भन्दै डिंग हाक्नेहरु कति इमान्दार र वचनका पक्का छन् साहुजीलाई राम्ररी थाहा छ , तर भन्दैनन्। कसैको कुरा काट्दैनन , झैँ झगडा गर्दैनन् , बरु झगडा गर्नेहरुलाई भयो भो छोड्नुस भनेर सम्झाउछन्।
रात छिप्पिदै छ। तर आज साहु दम्पतीलाई निद लागेको छैन। हुन त लीलालाई पनि निद लागेको छैन तर डर र पछुतोले गर्दा बोल्न पनि सकेको छैन , बोल्न मिल्ने काम गरेको भए पो बोल्नु। साहुनीले आफू यताउता जाँदा ओढ्ने गरेको खास्टो ल्याएर लीलालाई ओढाइदिइन तर लिला डरले चाल नपाए जस्तो गरिरह्यो। यस्तैमा साहुजीले भने ए सुन त एउटा कुरा गर्नु थियो। पहिले देखि नै भनम भनम भन्दा पनि भन्न सकेको थिइन।साहुनीले भन्नुस न के हो भने पछि साहुजीले भने म परदेश जाने बिचारमा छु। यो दुकानबाट गुजारा चल्ने वाला छैन। दुइटा बच्चा भइसके अझै कति हुने हुन्। कसरी पाल्ने ? तिमीलाई पनि खुराकको मात्रा पुगेको छैन , पछि उमेर बढ्दै जाँदा सुत्केरी हुनु पर्यो भने झन् खतरा हुन्छ। बरु म विदेश गएपछि त अरु बच्चा हुने डर पनि भएन।अलि अलि कमाइ गरिहाल्छु , त्यसैले तिमीलाई थोरै गहना किनिदिने इच्छा छ। अनि गंगे साहुको चिलिमे पाटो पनि किने पछि त बाह्र महिना आटो खान पुगीहाल्छ। मौका परे तिमीलाई पनि भारत घुमाउन लैजाम्ला।छिमेकीहरु आउने जाने गरेको देख्दा रहर पनि लागेको छ , तिम्रो माया पनि लागेको छ।
लीलाले यो सबै चुप चाप सुनिरहेको छ। अलि अघिसम्म त साहू दम्पतीलाई लिला आफ्नै कोठामा रहेको हेक्का थियो अव कुराको तन्मयताले गर्दा लीलालाई बिर्से जस्तो छ दुबैले। यस्तैमा लीलाले के सुन्छ भने साहुनी सुक्क सुक्क गर्दै छन्। भन्दै छन् , तपाईलाई यस्तो बुद्धि कसले सिकायो हँ ? अव तपाईलाई फौजमा लिंदैन , फुटकर जागिर खान हिन्दुस्तान जानेहरुको हालत देख्नु भएको छ ? चार वर्षमा आउदा चार सय ल्याउछन्। रिण तिर्न पनि पुग्दैन। एक हप्तासम्म स्वास्नीहरुको पनि चुरीफुरी हुन्छ अनि जस्ताको तस्तै। बिचार गर्नु भएको छ भारत जाने कसका छोराछोरी गतिला छन् ? कोइ छैनन्। कति त रोगी भएर लौरो टेकेर आउछन। कमाउला भनेर जानेको कतिको त घर खेत भएको छ। यी भारततिर काम खोज्न जानेहरु अल्छिहरु हुन् कामचोर।
आफ्नो देशमा काम नगर्ने अर्काको देशमा भाडा माझ्न पनि तयार हुने अनि रातभरि चौकीदारी पनि गर्ने। हाम्रो दुकानको सबैभन्दा धेरै उधारो खाएर नतिर्ने यिनै तोरीलाहुरे हैनन्? मलाई चाहिएन गंगे साहुको चिलिमे पाटो। त्यो पाटो त के गंगे साहुको तीन तले घर पनि मलाई चाहिएन। तपाई मुगलानमा बस्ने मैले कसलाई देखाउन लाउने गहना? चाहिएन गहना सहना। मैले आजै दुकानामा दालमोठ चिया खाने मास्टरले गफ गरेको सुनेको थिए भित्रैबाट , हातका मैला सुनका थैला के गर्छ धनले ,साग र सिस्नो खाएको वेस आनन्दी मनले भनेर। काठमाडौँ तिरको बाहुनले लेखेको रे , पढ्न जान्ने हरु यो पढेर खुब रुन्छन रे। यो सबै सुनेपछि लालनन्द साहुले भारततिर जाने बिचार छोडे।
खुकुरा बास्यो। बच्चा पनि अहा अहा गर्दै रुन थाल्यो। लिला जुरुक्क उठ्यो र भन्यो काका म जान्छु है ऐले।साहुजीले भने तुरुन्त गैहाल तिमी काठा अव देखि मेरो दुकानतिर फर्केर पनि नहेर्नु नि। रक्सीको पैसा तिर्नु पनि पर्दैन। लीला चुपचाप निस्क्यो। एक मनले भन्छ रक्सी खानु राम्रो काम त हैन होला , किनकि म सानै छु, किन्तु जात जाने भनेको के होला ? जे होस् आज ऊ ठूलो लडाइ हारेर आएको छ। तर ज्ञान गुनका कुरा पनि सिकेर आएको छ। उसको टोलाभरि बाहुनहरू बस्छन , उसका बाबु नै सानो तिनो पण्डित बाजे हुन् , नाता पर्नेहरु हाइस्कूलका हेड मास्टरसम्म छन। तर सधै इर्श्या , दुख , दर्दका कुरा गर्छन , अर्काको पीठ पछाडि कुरा काटछन , साँध सिमाना र घास पातको लागि झगडा गर्छन , त्यसलाई जान्याछु भन्दै कुर्लन्छन , घरमा पनि रडाको नै गरिरहन्छन। अनि ठूलो जात रे , यिनले भगवान मान्ने रे ! लीला लालनन्द साहु र अरु गाउले बीचमा तुलना गर्दै घर पुग्यो।
लीलासंग साहुले पैसा चाहिन्न भने पनि साहु साहुनीबीच कुरा हुँदा तीन रुपियाको रक्सी खाएको सुनेकै थियो। त्यो घटना भएको तीनबर्षसम्म लिला गाउमै बस्यो , त्यही बाटो स्कूल पनि गयो तर साहुसंग आखा जुधाउने हिम्मत नै आएन। परैबाट साहुलाई देख्दा साहुप्रती त्यसै श्राद्धा लागेर आउथ्यो , गएर तिनका हातमा चुमौ जस्तो लाग्थ्यो ,नानीहरु खेलाउ जस्तो लाग्थ्यो तर नजिक जाने हिम्मत कहिलै भएन। स्कूलमै पढ्दाका बखत पनि दुई चार पटक साहुलाई तिर्न पुग्ने पैसा जम्मा नभएको हैन , तर तिर्न जाने हिम्मत नै भएन। साहुले मेरो नजिक नपर्नु भनेर लघारेको छ अनि पैसा तिर्नु पर्दैन भनेको छ , अरु कसैसंग पठाउ त्यस्तो गोप्य व्यवहारको विषय छ , यता आफ्नो मन पोलिरहेको छ।
लीलाले गाउँको स्कूलको शिक्षा पूरा गरी एसएलसी पास नहुँदासम्म फेरि रक्सी खाएन। उसले लालनन्द साहुकहा रक्सी खाएर जात फालेको कुरा पनि अहिलेसम्म गोप्य नै छ। लीलाको श्रीमती बाहेक अरु कसैलाई थाहा छैन । पछिल्लो समय उसले स्वदेशी र बिदेशी सबै किसिमका रक्सी खायो , तर लालनन्द साहुकहाँ खाएको रक्सी , त्यस बापतको तीन रुपियाँ र त्यस बारे कहिलै हल्ला नभएको कुरा बिर्सन सकेको छैन। लीलाले जति पटक रक्सीको गिलास समात्छ त्यति नै पटक त्यो रक्सी , त्यो रुपियाँ , त्यो उदारता , निस्वार्थता , निर्दोषिता , निर्लोभ , निस्छल देशप्रेम र सुमधुर दाम्पत्य सम्झना हुन्छ।
लीला साहुजी र साहुनीलाई धन्यवाद दिने र रक्सीको पैसा तिर्ने अठोटसाथ गाउँ पुग्यो। उसले ठूलो हिम्मत जुटाएको छ उनीहरुको सामना गर्ने। अडतीस उन्चालीस वर्षदेखि उसले साहुजी र साहुनीलाई देखेको छैन। उसको मानसपटलमा उही काला काला सुकीला तीस पैतीस बर्षका लालनन्द साहुको छवि छ। लीलाले सोच्दै छ काका अवश्य बूढा भएका होलान। मलाई चिन्लान या नाचिल्नान , अनि मेरो उधारो व्यवहार सम्झेकै होलान कि बिर्से होलान। यस्तै सोच्दै ऊ उनको घर भएको ठाउँमा पुग्यो। अहिले त राजमार्ग जान्छ त्यताबाट , तैपनि लिला त्यता गएको थिएन। साहुजीको त्यो सानो फुसको घर र दुकान अहिले देखेन उसले।
यसो यता उता हेर्यो उसले एकजना बृद्ध आमालाई देख्यो , नियालेर हेर्यो साहुनी काकी जस्तो लाग्यो। सोध्यो काकी मलाई चिन्नु भयो ? म त्यही के लीलाधर , बाजेको छोरा , मैले रक्सी खाँदा मलाई लुकाउनु भएको थियो नि ? भर्खर नानी जन्मेको थियो। काकीले हेरिरहिन , केही बोलिनन , टोलाएर अतीतमा हराउन खोजे जस्तो लाग्यो। लीलालाई नै एक टक हेरिरहिन , उसलाई अप्ठेरो महसुस भयो। लीलाले हिम्मत गरेर भन्यो काका खै त काकी ? काकीका नाकाका पोरा फैलिन थाले , मुखाकृति बदलियो , निधार खुम्चिन थाल्यो , उनले लामो लामो सास फेर्न थालिन।
अव त लिला साच्चै डरायो काकीले के पो भन्ने हुन् , तर काकीको रुवाइ फुट्यो अनि भनिन बाबु उहाँले मलाई छोडेर जानु भयो , मलाई एक्लै पारेर जानु भयो। लीलाले पनि मन थाम्न सकेन हठात् काकीलाई अँगालो हाल्न पुग्यो , दुवै जना धेरै बेरसम्म चुपचाप रोइरहे। अलि मन मत्थर भएपछि काकीले भनिन बाबु तिमीलाई काकाले भेट्न खोज्नुहुन्थ्यो , तिमी उता फर्केर स्कूल गएको देखेर यस्तो भलाद्मी केटोलाई मतिर फर्केर पनि नहेर्नु भनेर किन भने हुला भन्नुहुन्थ्यो। तर बोलाउने हिम्मत नै भएन , त्यो दुर्वाच्य बोलेकोमा सधै पछुताउनु भयो।पछि त तिमी नै कता गयौ गयौ। ती बाहुन केटा कस्ता भए होलान भनिरहनुहुन्थ्यो। तर बाबु हामीले त्यो रक्सी खाएको कुरा कसैलाई पनि भनेनम।
आज पुरानो ऋण तिरेर हलुङ्गो भएर फर्कन भनेर आएको लीला, सधैको लागि त्यो तीन रुपियाँ र लालनन्द साहुलाई बिर्सने उद्देश्य लिएर आएको लीला झन् गरुङ्गो भारी बोकेर फर्क्यो। तीन रुपियाँ बारेमा बोल्ने हिम्मत फेरि पनि आएन। काकाको पछिल्लो जीवन , उनका सन्तान र तिनीहरुको हालको अवस्था थाहा पाउने जिज्ञाशालाई अर्को पटक मात्र मेटाउने गरी फर्क्यो लीलाधर।
(स्रोत : सदृश्य डट कम)