~अनुपम दहाल~
हामी सँगसँगै जस्तो जन्मेका रे! बेलुकीपख पल्लोघरमा उसले जन्म लिएर रुन सिकेको १०-१२ घण्टा पछि बिहानीपख मैले पनि त्यसै गरी रुन सिकेको थिएँ रे, वल्लो घरमा! त्यसैले होला उसलाई सबैले ‘सन्ध्या’ भनि बोलाउँथे र मलाई ‘प्रभात’ । हाम्री आमाहरु छिमेकी हुनुका साथसाथै एक अर्काका मिल्ने सखी पनि थिए । उनीहरुको उमेर पनि मिल्दो र विबाह पनि सगँसगैँ जस्तो भएकाले त्यसबेलाको नौलो परिवेशमा एक अर्कासँग नजिकिएका होलान् । हाम्रो नाम पनि उनीहरुले मिलेमतोमै राखेका हुन् क्यार! ‘सन्ध्या’ र ‘प्रभात’ । हाम्री आमाहरु एकदमै नजिक भए पनि हाम्रा बाहरु भने छिमेकीका रुपमा मात्रै सिमित थिए । मेरा बाका खलक त्यस ठाउँमा पहिलेदेखि नै बसोबास गर्दै आएका भएपनि सन्ध्याका बा भने ५-६ बर्ष अघि मात्रै त्यहाँ आएका रे! त्यसैले होला हाम्रा बाहरुमा हाम्री आमाहरुको जस्तो आगाढ मित्रता नबढेको ।
समय बित्दै जाँदा हामी पनि मल खाएको बिरुवा झैं बढ्दै गयौं रे! म १०-११ महिना देखि नै हिँड्न थालेको रे! तर बोली भने लगभग २ वर्षको पुगेपछि मात्रै फुटेको रे! आमा भन्नुहुन्थ्यो – ‘सन्ध्याले क,ख,ग,घ भट्याउने हुँदासम्म पनि तँ भने बोल्दैनथिस् ।’ लाटो हुन्छु कि भन्ने पीर मेरा परिवारको सबैमा परेको रहेछ त्यसबेला । हो, सन्ध्याले भने छिट्टै बोल्न थालेकी रे! हिँड्न पनि १-१.५ वर्षदेखि नै थालेकी रे! मलाई यस कुरामा कुनै शङ्का छैन । उ मान्छे नै त्यस्तै तीक्ष्ण छे । मलाई आफू ६-७ वर्षको हुँदा देखि मात्रै अलिअलि सम्झनाहरु आउँछ । अनि त्यसपछिका उमेरका घटनाहरु भने क्रमश अझै राम्ररी सम्झन्छु । मलाई सबैभन्दा पहिले के याद आउँछ भन्दा मेरो बकबक बोलीरहने गर्ने बानी । म आमासँग खुब बोल्थें । लाटो हुने आशंका गरेको छोरो यसरी बोलीरहँदा आमा पनि कुनै झर्को नमानी सुनीरहनुहुन्थ्यो । बा भने – ‘कति बोल्न सक्छ यो? चुप लागेर बस न एक छिन त’ भनेर हकार्नुहुन्थ्यो । अनि बासँग खासै बोल्दिनथें । साथीहरुसँग, गाउँका अरुहरुसँग पनि यसरी नै बोलीरहन्थें । बोल्न सक्दिनथें त सन्ध्याका अगाडि । उसका अगाडि भने शब्दै हराउँथे र उहि पहिले झैं लाटो हुन्थें । अर्थात् अरुसँग जस्तै कुरा खोतलेर उसका अगाडि गफ गर्न सक्दिनथें । उसले बोलाउँदा बोल्ने र चाहिँदा मात्रै बोल्थें उसँग । तर म मौन बस्दा पनि कुनै अप्ठेरो लाग्दैनथ्यो हामीलाई । पढिरहेका बेला बालाई नानाथरी प्रश्न सोधेर हैरान पारें भने ‘ए सन्ध्या! एक छिन याँ आइज आइज, यो प्रभात अघिदेखि बोल्या बोलै छ’ भन्दै वल्लै घरबाट बा चिच्याउनुहुन्थ्यो । बा यसरी कराएको सुनेर आमा भान्सामै हाँस्नुहुन्थ्यो । अनि म – ‘आमा, बालाई त्यसरी नचिच्याउन भन्नु न!’ भन्दै आमासँग गुनासो पोख्थें । आमा भन्नुहुन्थ्यो – ‘तेरा बालाई तँ आफैं भन् । आफैं बालाई दिक्क लगाउँछ अनि !’
मेरा बा त्यहिँको बिद्दयालयमा पढाउने मास्टर । उहाँको विषय गणित । तर साहित्य क्षेत्रमा पनि खुब रुचि राख्ने । अलिकति फुर्सद भएपनि विभिन्न पुस्तकहरु पढ्नुहुन्थ्यो । धेरै कथा-कबिता पनि लेख्नुहुन्थ्यो । यस्तै बेला त हो नि मैले वाक्क लगाएँ भने उहाँले सन्ध्यालई चिच्याएर बोलाउने । सन्ध्या आओस् नआओस्, म चाहिँ चुप लाग्थें अनि आमालाई बाको पोल लगाउँथें । बा गणितको शिक्षक भए पनि मलाई भने गणित नै नआउने । बाले सिकाउन त खोज्नुहुन्थ्यो तर म भने मरे बुझ्दिनथें । सन्ध्या पनि बासँग सिक्न आउँथी । अनि अर्को दिन उसैले बुझाइदिन्थी । उसले बुझाउँदा चैं दुइ-तीन पटकमै बुझ्थें । बासँग यसरी उसले गणित मात्र सिकिन । कला-साहित्य पनि सिकी । बासँगै भाका हालेर कस्तो मीठो स्वरमा कबिता, श्लोक आदि गाउने गर्थी । आमा मलाई – ‘तँ पनि गा न छोरा’ भन्नुहुन्थ्यो तर मलाई भने सुन्न मै आनन्द लाग्थ्यो । एक दिन त बा निकै मख्ख पर्नुभो । सन्ध्याले आफैंले रचेर कविता ल्याइछ । उ गएपछि पढेर सुनाउनुभयो आमा र मलाई । भन्नुभयो - ‘यो केटिको भविष्या उज्जवल छ । आफ्नु छोरोको भन्न सक्दिन, यसले चैं केहि गर्छे’ । बाको यस्तो भनाईले मलाई कत्ति दुख लागेन । बरु भनें – ‘बा, एकचोटि फेरी सुनाउनु न’ ।
बिद्यालय हामी सँगै जान्थ्यौं । सन्ध्या, म अनि बा । म बाटोमा मौन रहन्थें । बा र सन्ध्याबीच कुरा हुन्थे । सन्ध्या कक्षामा हुने सबै कुरा बालाई सुनाउँथी । कसले फोहोरी लुगा लगाउँछ, कसको सिँगान बगिरहेको हुन्छ, को राम्रो, को नराम्रो, …………….. । उसका कुरा म सब सुनिरहेको हुन्थें । जवाफ भने बा दिनुहुन्थ्यो । तर बाका जवाफ मेरा दिमागमा कहिल्यै अडेनन् । सन्ध्याका अरु कुरा सुन्नलाई बाकै जवाफहरुले ठाउँ खाली गरीदिन्थे । बिद्द्यालय पुगेपछि हामी कक्षातिर जान्थ्यौं, बा शिक्षकहरुको कोठातिर । कक्षामा म अन्तिमतिर बस्थें । त्यहाँ पुग्नबित्तिकै मेरा बाह्र-सत्ताईस कुरा फेरी सुरु हुन्थे । किनकी सन्ध्या अलि अगाडि तिर बस्थी । विज्ञान पढाउने शिक्षकले हल्ला गरेको निहुमा उठाएर नानाथरी प्रश्न सोध्थे । भन्न नजाने कुखुरा बन्नु पर्थ्यो अगाडि गएर । धेरै पटक बनियो पनि । सन्ध्याको अगाडि कुखुरा बन्नु पर्दा लाज लाग्थ्यो । तर के गर्नु उत्तर भन्न सक्दिनथें, बन्नै पर्थ्यो । उ पनि मैले कुखुरा बन्नु पर्दा मुसुक्क हाँस्थी । अनि घर पुगेपछि मेरी आमालाई सुनाइदिन्थी । आमा भन्नुहुन्थ्यो – ‘राम्ररी पढिस् भने त कुखुरा बन्नै पर्दैन नि! खै, सन्ध्याले अहिलेसम्म कुखुरा बन्नु परेको छ?’ एक दिन सन्ध्या पनि मसँगै पछाडि बसी । त्यसदिन म मौन थिएँ । बासँग उसले गरेका कुराहरु सम्झिदै थिएँ, शिक्षले उठाएर भने – ‘आज त चुप लागेको छस् त! ध्यान दिए जस्तो लाग्यो । लु भन् त …………….’ बुढालाई के थाहा कि सन्ध्या भएकाले म चुप भएको भनेर । प्रश्न सोधे पनि उत्तर मलाई कताबाट आउनु! रणभुल्लमा पर्दापर्दै सन्ध्याले खुसुक्क उत्तर भन्दी । त्यस दिनदेखि उनले मलाई प्रश्न सोध्न छाडे, सोधे पनि सजिलो सजिलो सोध्थे । त्यस दिनदेखि मैले कुखुरा बन्नु परेन । आमाले भने झैं कुखुरा नबन्न पढि राख्नु पर्ने रहेनछ । सन्ध्यालाई साथमा राख्नु पर्ने रहेछ ।
घर फर्कदा भने बासँग फर्कदैन थियौं, साथीहरुसँग फर्कन्थ्यौं । आँगनमा भेला भएर कहिले चुङगी त कहिले ढक खेल्ने गर्थ्यौं । जे खेल्दा पनि सन्ध्यालाई हराउन कसैले सक्दैनथ्यो । पालैपालो हार मानेर सबै घर फर्कन्थे । आफ्नै आँगनमा भएकाले हामी भने पछिसम्म खेल्थ्यौं । मेरो लक्क्ष सन्ध्यालाई हराउने थियो । तर जति प्रयास गरेपनि असफल हुन्थें । सन्ध्यालाई उसकी आमाले फलानो काम गर त छोरी भनी केहि काम अह्राउने बित्तिकै उ जान्थी । म भने भोली चैं उसलाई हराउँछु भन्दै अभ्यास गरेर बस्थें । मेरी आमा पनि मलाई खै के के काम अह्राउनुहुन्थ्यो । म भने नटेरी खेलेर बस्थें । अनि आमा रिसले चुर हुँदै कराउनु हुन्थ्यो – ‘एउटा काम गर भनेको पनि गरेको रहेनछ । एउटी सन्ध्या छे, आमालाई त्यस्तो सघाउँछे । आफ्नो एउटा भको पनि सिन्कै भाच्दैन ।’ कहिलेकाँहि त भाटा, दाउरा के भेट्नु हुन्थ्यो, बोकेर पिट्न आउनुहुन्थ्यो । अनि भागेर आमाले अह्राएको काम गर्थें ।
समय बित्दै गयो । कक्षा ३, ४ हुँदै ७ मा पुगेका थियौं । सन्ध्या मभन्दा पनि अलिकति अग्ली भएकी थिई । काँध-काँध आउने गरी कपाल काटेकी थिई । निकै सुहाएको थियो । नाकमा फुली पनि लगाउन थालेकी थिई । म भने उसका अगाडि अझै बोल्न सक्ने भएको थिइनँ । घरका धेरै जसो काम उसैले गर्थी । घर लिप्ने, कुचो लगाउने, पँधेरोबाट पानी ल्याउने इत्यादि । अझ बासँग श्लोक सिक्न, पढ्न, कथा-कविता लेख्न पनि भ्याउँथी । म भने तीन-चार ओटा काम गर्न पनि भ्याउँदिनथें । उसका कविताहरु पहिलेका भन्दा पनि राम्रा हुन थालेका थिए । उसले लेखे पछि पहिले मलाई सुनाउँथी । मैले राम्रो छ भनिदिए बालाई सुनाउँथी, अनि आफ्नो घरमा सुनाउँथी । उसका कविता भन्दा पनि कथा अझ चाखलाग्दा हुन्थे । उसले लेखेको पढेर-सुनेर बा पनि छक्क पर्नुहुन्थ्यो । हाम्रो दुई घर एक अर्कातर्फ फर्किएका थिए, आँगन संयुक्त थियो । गाउँमा टिभी कसैको थिएन । साँझदेखि दुवै परिवार रेडियोमा समाचार सुन्थे । माओवादिको चहलपहल बढेको समाचार आउँथ्यो । म त खासै यस्ता कुरामा चासो दिन्नथें । बाआमा भने खुब ध्यान दिएर सुन्नुहुन्थ्यो । ७ कक्षाको पढाई हुँदै जाँदा गाँउमा अपरिचित मान्छेहरु देखिन थालेका थिए । रेडियोमा कता कता माओवादि पक्ष र राज्यपक्षबीच भिडन्त भएको सुनिन थाल्यो, मान्छे बेपत्ता भएको सुनिन थाल्यो । सन्ध्याले पनि भन्थी हाम्रै गाँउमा नयाँ मान्छे थुप्रै छिरेका छन्, जङ्गलतिर पनि मान्छेको चहलपहल बढेको छ । घाँस काट्न जाँदा थाहा पाएकी रे! एक वर्ष बित्यो तर हाम्रो गाँउमा खासै केहि भएन । कक्षा ७ को पढाई पनि सकियो ।
त्यसको केहि दिन पछि बाले मलाई सबेरै उठाउनुभयो । आमाले झोला भिराइदिनुभयो । भन्नुभो – ‘बाबु! अब काठमाडौं गएर पढ, फुपुकामा बसेर । यहाँको अब ठेगान छैन, माओवादि यो गाँउमा पनि छिरीसके । आजै काठमाडौं जा, बाले प्लेन चढाएर आउनुहुन्छ तँलाई ।’
आमाका यस्ता कुरा सुनेर म अक्कनवक्क भएँ । बोल्न खोजें, शब्दै निस्केनन् । अहिले त सन्ध्या पनि नजिकमा थिइन । बाले पनि सम्झाउनु भयो । मैले केवल टाउको हल्लाएर आमालाई ढोग गरी बाको पछि लागें । आमालाई ‘नरोई बस्नोस् है’ भन्न पनि सकिंन । बाले पहिले नै बन्दोबस्त मिलाई सक्नु भएको रहेछ । तिन चार घण्टाको बाटो हिँडेपछि एयरपोर्ट आइपुग्यो । टिकट बाले काटिसक्नु भएको रहेछ । त्यहाँ पुगेपछि बल्ल बोली फुट्यो मेरो ।
‘बा, म मात्रै जान्न । हामी सबै जाम । आमा, म, तँपाई । सन्ध्यालाई पनि लिएर जाम, यहाँ नबसम् ।’
बाले सम्झाउनुभयो – ‘के कुरा गर्छ यो? आफ्नो गाँउ छाडेर कहाँ जानु ? त्यहाँ गएर म बुढोले के गर्नु ? तेरी आमालई पाल्नै पर्यो, त्यसका लागी जागिर यैं छ । तँ जा, राम्ररी पढ ।’
जवाफमा मैले केहि भन्न सकिनँ । सोधें – ‘बा, अनि सन्ध्या चैं काठमाडौं’ कहिले आउँछे त?’
‘खै! यो त उसकै बाआमालाई सोध्न पर्छ ।’
मन खिन्न भयो । आफन्त, ईष्टमित्र सबैलाई छोडि विरानो ठाउँमा जाँदै थिएँ । सन्ध्याबाट टाढिदै थिएँ । उसँग एकफेर भेटेर बिदा हुन पनि भ्याइनँ मैले । मेरो बिग्रेको अनुहार देखेर बाले नै भन्नुभयो – ‘चिन्ता नगर! हामीलाई केहि हुन्न । बेलाबेलामा मौका मिलाएर चिठी लेख्तै गरौंला । परिस्थिति राम्रो भएपछि फेरी गाँउ फिर्लास । मेरो ढिपी र हतारले गर्दा बिदा माग्न नपाएको कुरा सन्ध्यालाई म भन्दिमला । चिन्ता नगरी जा ।’
प्लेनले मलाई लिएर काठमाडौंको भुइँ छोयो । मलाई लिन फुपु आउनु भएको रहेछ । सामान्य बोलीचाली बाहेक अरु केहि कुरा गरींन । गर्न मन पनि लागेन । फुपुको घर निकै ठुलो नभए पनि मेरो लागि छुट्टै कोठाको व्यबस्था मिलाउनु भएको थियो । फुपुका छोराछोरी थिएनन् । त्यसैले होला मलाई असाध्यै माया गर्नुहुन्थ्यो । त्यसपछिका केहि दिनमा मेरा नयाँ स्कुलमा भर्ना गर्ने, ड्रेस सिलाउने, किताप-कापी किन्ने जस्ता काम भए । मलाई भने घरकै याद आइरहेको थियो । आमा-बा के गर्दै हुनुहुँदोहो ! सन्ध्या के गर्दै होली ! उ पनि प्रभात के गर्दै होला भनेर सोच्दै छे कि छैन ! यसरी नै केहि हप्ता सकिएपछि घरबाट चिठी आयो । बाको अक्षर झट्टै चिनिहालें ।
छोरा, यता सबैलाई ठिकै छ, चिन्ता नगरेस् । तँ, तेरी फुपु लगायत सबैलाई पनि ठिकै होला । यहाँ तँ गएपछि खासै केहि परिवर्तन भएको छैन । तेरी आमा घर सुन्य भयो भन्छे । अस्तिदेखि नै चिठी लेख्नुस् भनेर कचकच गर्दै थिई । आज मौका मिलेको छ । तँलाई त थाहै छ गाउँमा नचिनेका मान्छेको चहलपहल बढ्दो छ । दिनभरी यस्ता थुप्रै मान्छेहरु देखिन्छन् । झोलामा के-के बोकेर ल्याउँछन् । राती कहाँ बस्छन्, के खान्छन् थाहा छैन । जङ्गलतिर बस्दा हुन् ।
खेतबारीमा रातो झण्डा गाडिन थालेका छन् । रेडियोमा पनि माओवादिले आफ्नो उपस्थितिको जानकारी यसरी नै दिने गरेको भन्छन् । गाउँमा त्रास बढ्न थालेको छ । पहिलेको जस्तो खुला रुपमा कोहि केहि बोल्दैनन् । भित्ताका पनि कान हुन्छन् रे ! तँसँग यो चिठीमा यति कुरा लेखेको छु । अर्को चिठीमा यसरी खुला रुपमा लेख्न नसकुँला । गलत हातमा पनि पर्न सक्छ यो चिठी । तँ त्यताबाट चिठी नलेख । मौका मिलेसम्म मै लेखुँला । राम्ररी पढ्नु, फुपुलाई धेरै दुख नदिनु । अलिकति पैसा पठाउन मिल्यो भने पठाइदिउँला । स्कुलमा के-कति खर्च लाग्ने हो ! पढाई पनि केहि दिनमा सुरु होला तेरो । जिल्ला स्तरीय परीक्षा हो, राम्ररी दे । ख्याल राख्नु । सन्ध्याले एउटा कविता लेखेर पठाएकी छे । सँगै होला, पढेस् ।
‘बिरानो सहर’ शिर्षकमा कविता लेखेकी रहिछ उसले । उत्सुकताका साथ पढें । दोहोर्याई, तेहेर्याई पढें । मैरे लागि लेखेको जस्तो लाग्यो । कवितामा पात्रले आफ्नो घर-गाउँ छाडेर बिरानो सहरमा जानुपरेको विवशता थियो । सन्ध्या मदेखि कतै रिसाएकी छे कि जस्यो लागेको थियो तर उसको कविता पढेपछि भने म ढुक्क भएँ । त्यो कविता यति पटक पढें कि मलाई कण्ठै भयो ।
स्कुल लागेको एक-दुई हप्ता भइसकेको थियो । गाउँमा पढ्दै आएको स्कुलभन्दा बिलकुलै फरक थियो त्यो । दुइ-चार जाना सथी पनि बनाएको थिएँ । यहाँ त शुक्रबार आ-आफ्ना कक्षामा पढाई बाहेकका क्रियाकलाप हुँदा रहेछन् । सबैले भाग लिनु पर्ने । कसैले जोस्क भन्थे त कसैले गीत गाउँथे । मेरो पनि पालो आयो । न मलाई गीत गाउन आउँथ्यो, न नाच्न । अनि सन्ध्याले लेखेकी त्यै ‘बिरानो सहर’ कविता वाचन गरेर सुनाएँ । सबैको ताली पाएँ । शिक्षकले – ‘कसले लेखेको ?’ भनी सोध्दा ‘आफैंले ‘ भनेर फुर्ती पनि लगाएँ । सन्ध्याकै कारणले म त्यहाँ प्रख्यात भएँ । अझै केहि हप्ता बितिगए, बाको चिठी आएन । घरको न्यास्रो लाग्न थालेको थियो । बाको गाली खान मन लागेको थियो । आमाले पकाएको तिहुन खान मन लागेको थियो । सन्ध्याको अनुहार हेर्न मन लागेको थियो । उसँग गट्टा खेलेर हार्न मन लागेको थियो । उसको मुस्कान हेर्न मन लागेको थियो । अझ एक महिना पछि मात्रै घरबाट चिठी आयो । हतार हतार खाम च्यातेर पढ्नथालें –
प्रभात ! आशा छ सन्चै होलास् । तेरी आमा अलि बिरामी भएकी थिई । २-३ हप्ता औषधी गरे पछि अहिले सन्चो भएको छ । काली गाईले बाच्छो पाएकी छे । अरु सबै घरधन्दा पहिलेकै जस्तो छ । मौका मिलाएर विश्वासिलो स्रोतबाट यो पत्र पठाएको छु । गाउँमा धेरै घटना घटेका छन् । तैंले प्लेन चढेको एयरपोर्ट अहिले हतियारधारीको कब्जामा छ । एक हप्ता अघि कब्जामा लिएका रे ! राता राता रुमाल टाउकामा भिरेका पार्टीका मान्छे घरघरमा आएर चन्दा माग्न थालेका छन् । सक्दो सहयोग गरेर उनीहरुको क्रान्तिमा मद्दत गरिदिनु पर्यो रे ! अस्ती भर्खर सन्ध्याका बा र मैले १-२ हजार दिएपछि बल्ल किचकिच गर्न छाडेका छन् ।
गाउँमा उनीहरुको अनुमति बिना केहि काम गर्न पाइन्न । कुनै कार्यक्रम, सभा गर्नु परे उनीहरुलाई सोध्नु पर्छ । कतै जानु परे पनि उनीहरुकै अनुमति लिनु पर्छ । भएका अलिअलि प्रहरीहरु टाउको काटिएका कुखुरा झैं भएका छन् । यसो गर्ने कि उसो गर्ने केहि मेसो पाउँन्नन् । गर्न पनि के गरुन् र तिनले ! जम्मा १०-११ जानाले २-३ ओटा गाउँ हेर्नु पर्छ । हिजो राती मात्रै ‘ड्वाङ्’आवाज आएको थियो जङ्गलबाट । बम हो कि जस्तो लाग्यो मलाई । फेरी जङ्गलमा पड्काउने त कुनै कारण थिएन । परिक्षण गर्दा पड्केको हो कि जस्तो लाग्यो मलाई । भै गो, छाड्दे यो कुरा, पढाईमा ध्यान दे ।
साथमा सन्ध्याको पनि सानो पत्र रहेछ । लेखेकी थिई –
‘ओइ प्रभात ! सहर गएर मलाई बिर्सेको त छैनस् नि ? सहरमा त खुब राम्रो पढाई हुन्छ रे, तँ पनि राम्ररी पढ्नु । अँ साँची अस्ती मैले पठाएको कविता पढिस् ? तेरै लागि लेखेको मैले । अरुलाई चैं कसैलाई नसुना नि ! त्यहाँ पनि कितिर कितिर कराइरहन्छस् कि कम बोल्न थालिस् ? तँ कथा पढ्न खुब रुचाउँथिस्, एउटा छोटो कथा लेखेर समेटेकी छु, अवश्य पढेस् । यस्तै यस्तै कथा लेख्दै गएँ भने एउटा कथासङ्ग्रह निकाल्ने सोचेकी छु, तेरो धारणा के छ? -उहि तेरी सन्ध्या ।
उसका शब्द पढ्दा खुब खुशी लाग्यो । कविता कसैलाई नसुनाउनु भनेकी रहिछ, मैले त सुनाइसकेको थिएँ ।
अर्को चिठी तिहारमा आयो । बाले लेख्नुभएको थियो –
गाउँमा धेरै कुरा भएका छन् । अहिले चाडपर्वको समय भएकोले अलि खुकुलो भएको छ । नभए चन्दा मागेरै हैरान पारेका थिए । सन्ध्याका बा र अरु दुइ-तीन जानालाई धेरै पेलेका छन् यस विषयमा । अँ, अनि पिपलबोटे बाका दुई छोरा उतै लागेका छन् । यहाँ सबै डरमा बाँचेका छन् । सरकारले यहाँ प्रहरीको मात्रा केहि बढाएको छ । एयरपोर्ट अझै उनीहरुकै कब्जामा छ । चाडपर्वमा तँ घरमा नहुँदा तेरी आमा निकै खिन्न भएकी छे । चिन्ता गरी रहन्छे । के खान्छस्, के लाउँछस् !बा, दुब्लाएको पो छस् कि ? घरको खसी पनि पार्टिका मान्छेले लगीहाले । यसपालीको पर्व गइहाले, अर्को पाली समस्या हटेछ भने घर फिर्लास् । सन्ध्याले पनि सम्झेकी छे ।
आमाको कुरा सुन्दा भक्कानो छुटेर आयो । कति चिन्ता लिनिहुन्थ्यो मेरो । उहाँले मैले निरन्तर बोलीरहेको सुन्न नपाएको पनि कत्ति भइसक्यो । यस पटक भने सन्ध्याले केहि पठाइनछे । उसका बालाई उनीहरुले यसरी दुख दिएको सुन्दा रिस उठेर आयो । पीर पनि लाग्यो सन्ध्याको । उसलाई पनि पीर परेको होला, त्यसैले केहि लेख्न भ्याइन । पिपलबोटे बाका छोराहरु २०-२१ वर्षका हुँदा हुन्, माओबादिमा लागेछन् । अर्को चिठी आउनुभन्दा अगाडि ८ को परीक्षा पनि सकियो । परीक्षा ठिकै गरेको थिएँ । बाले भन्नुभएको थियो –
परीक्षा राम्रै गरिस् होला । यताको अबस्था तनावग्रस्त छ । अस्तिदेखि कोइराला कान्छो हराएको छ । सुराकी गरेको आरोप लागेको थियो उ माथि । अस्ति स्याउला काट्न गएको मान्छे अझै फिरेको छैन । धेरै ठाउँमा खोजि गरिसक्यौं तर उसको अत्तोपत्तो लागेको छैन । आज तीन दिन भइसक्यो ।
सुराकी गरेको आरोप सन्ध्याका बालाई पनि लगाएका छन् । चन्दा माग्दा दिन नसकेपछि यस्तो आरोप लगाएका हुन् । चन्दा नदिए छोराछोरी वा परिवारका अन्य सदस्यलाई जे पनि हुन सक्ने धम्की दिन्छन् । तै पनि दिन नसक्दा सुराकीको आरोप लगाएका हुन् । तँ पनि यहाँ हुन्थिस् त मलाई पनि यस्तै धम्क्याउँदा हुन् । उनी सन्ध्याको एकदमै पीर गर्छन् । सन्तानको नाममा उ एउटी नै हो । तँलाई जस्तै काठमाडौं पुर्याउन पनि सकेनन् उनले सन्ध्यालाई । प्रयास नगरेका होइनन् । हिजो राती तेरी आमा र मसँग बिन्ती गरे –‘सुराकी आरोप लागेको कोइराला कान्छो अझै गायब छ । मलाई पनि त्यहि आरोप लगाएका छन् । मेरा दाजुभाइ पनि छैनन् । तँपाईहरु नै परिवार जस्तो हुनुहुन्छ । मलाई यदि केहि भइहाल्यो भने सन्ध्याको रेखदेख गरिदिनुहोला । भाउजु, सन्ध्याकी आमालाई सम्झाउनु बुझाउनु होला । बिन्ती छ ।’
मैले पनि –‘के यस्तो कुरा गरेको ! केहि हुन्न । फेरी मैले सक्ने त गरिहाल्छु नि ! भन्नै पर्दैन’ भनी आस्वासन दिएँ । तर चिन्ता लाग्छ छोरा, तनावग्रस्त छ अवस्था । त्राइमाम भएर बाँच्नु परेको छ । कतिले त आफ्ना छोराछोरीलाई स्कुल पठाउन पनि छाडिसके । सन्ध्या भने जाँदै छ । परीक्षा राम्रै गरेकी छे अरे ! तर उ पनि गम्भीर छे । बाबुको चिन्ता कसलाई लाग्दैन र ! तेरो, सन्ध्याको उमेर कलिलै भएपनि धेरै कुरा जान्दछे, बुझ्दछे उसले । बाँकी अर्को चिठीमा लेखौंला । आमा तँलाई सम्झिरहन्छे ।
यो पत्रले मलाई निकै दुखी तुल्यायो । सन्ध्याले के भोग्दै होली । उसलाई कत्रो पहाडले थिच्न खोज्दै थियो । तै पनि उ जसो तसो गरेर थिचिनबाट जोगिँदै थिई । उसको साह्रै सम्झना आयो । मैले कुखुरा बन्नु पर्दा खित्त हाँस्थी। त्यो हाँसो उसको मुहारमा कत्तिको आउँदो हो आजभोलि ! लाचार थिई उ, चाहेर पनि के नै गर्न सक्थी र उसले । अर्को पत्र कहिले आउने हो, प्रतिक्षामा बस्न थालें म । फोन गरौं भने गाउँमा भएको एउटै टेलीफोनको तार पनि काटिदिएका थिए । चिठी लेखेर सोधौं भने यताबाट चिठी लेख्न बाले मनाहि गर्नुभाको थियो । उताबाट चिठी लेख्दा पनि बाले निकै ठूलो जोखिम उठाउनु भएको थियो । बाकै चिठीको प्रतिक्षा गर्नु बाहेक मसँग कुनै विकल्प थिएन ।
बाको चिठी चार महिना पछि आयो । साह्रै नमीठो खबर लिएर आयो ।
प्रभात, अप्ठेरो छ यहाँ । यो चिठी पठाउन मैले निकै कसरत गर्नु पर्यो । अघिल्ला चिठीमा पनि मैले तँलाई धेरै कुरा बताइसकेको छु । कोइराला कान्छो अझै भैटिएको छैन । तीन महिना अघि शुक्रबारको रातमा प्रहरी चौकीमा आक्रमण भयो । चारैतिरबाट घेरेर हतियारधारीले चौकी कब्जामा लिए । रातभरी जस्तो गोली चलिरह्यो । कानै छेउमा पड्किए जस्तो लाग्थ्यो बन्दुक । एउटा गोली त उछिट्टिएर हाम्रै आँगनसम्म पनि आइपुगेछ । चौकीमा तैनाथ सबैको ज्यान गयो । अर्का पट्टिकाले पनि धेरैले ज्यान गुमाए । पिपलबोटे बाको एउटा छोरो पनि परेछ । चौकी कब्जामा त लिए तर आफ्ना १०-१२ जाना साथी गुमाएकाले उनीहरु झन् कठोर बन्न थाले ।
त्यसको एक हप्तापछि राति ४ जाना नाकमुखमा पट्टि बाँधेर नचिनिने भइ हातमा बन्दुक लिएर आए । सन्ध्याका बा-आमा, हामी सबैलाई आँगनमा डाके । निकै रिसाएका देखिन्थे उनीहरु । भन्न थाले कि प्रहरी चौकी कब्जामा लिँदा अनायासै त्यत्रो बलिदान दिनु पर्यो । त्यस्तो घटना रोक्ने किसिमले उनीहरुले योजना बनाएका थिए रे ! तर कसैले यो योजना प्रहरीलाई भन्दिएकाले रगतको खोलो बगेको रे ! त्यो को मान्छे हो जान्न चाहान्थे रे उनीहरु ! जवाफमा हामी केहि बोलेनौं । उनीहरु झन् मुर्रिदै गए । मकाँहा आएर ‘तैँले हो?’भनेर सोधे । मैले बिस्तारै मुन्टो हल्लाएँ ।
‘घरमा को-को छन्?’
‘म र मेरी श्रीमति । ‘
‘छोराछोरी छैनन्?’
‘छ, काठमाडौंमा छ । ‘
‘प्रहरीलाई पोल लाउने को हो, चिन्या छस् ?’
‘छैन । ‘
अनि सन्ध्याका बालाई पनि यहि प्रश्न गर्न थाले ।
‘घरमा को-को छन् ?’
‘हामी मात्रै, कोहि छैन । ‘
‘छोराछोरी छैनन् ?’
‘छे, भित्र छे ।’
‘प्रहरीलाई पोल लाउने को नि? ‘
‘था छैन हजुर । ‘
‘सुराकी गर्ने त तँ पनि एक होस् रे ! तैँले त होइन?’
‘म कसरी सुराकी गरौं हजुर । न तँपाईहरुका बारेमा था छ, न प्रहरीका बारेमा । म त साधारण काम गरेर खाने मान्छे हुँ । मैले केहि गरेको छैन । ‘
‘हामीलाई त सुराकी गर्नेहरुलाई लिएर आउने आदेश छ, जाउँ अब ।’
‘कहाँ हजुर ? म त कतै जान्न । ‘
‘जान्न रे ? खरुक्क हिँड । फेरी यो बन्दुले घरको भित्तै भरी प्वालैप्वाल पार्नु पर्ला । फेरी भित्र छोरी छे भनेको हैन? ‘
यस्तो धम्की पाएपछि उनले म तिर हेरेर पहिले गरेकै बिन्ती फेरी मौन रुपमा गरे । मैले टाउको हल्लाएर आस्वासन दिएपछि उनीहरुका पछिपछि लागे । सन्धयाकी आमा आत्तिएर पछि लाग्न खोज्दा उनीहरुले फर्काइदिए । उनको त होसहवास नै उडिसकेको थियो । मुर्छै परिन् । सन्ध्याले पानी छम्केर ब्युँझ्याई । रात कसरी कसरी बित्यो ।
बिहान पनि सन्ध्याका बा फिरेनन् । खोज्न हिँडे म उनलाई तर कतै भेटिएनन् । सन्ध्याकी आमाको हालत उस्तै थियो । टोलाएकी थिइन् । तेरी आमाले उसको साथ छोडेकी थिइन । घरका काम सन्ध्याले गरी । बिहान बेलुकी मा परिणत भयो र बेलुकी फेरी बिहानमा । यो क्रम जारी नै रह्यो तर सन्ध्याका बा फिरेनन् । घरका सबै काम सन्ध्याले नै गर्न थाली । घाँस काट्ने, बस्तुभाउ हेर्ने आदि । गाउँघरमा बाबुको बारेमा सोधपुछ गर्नु पनि उसको दिनचर्या जस्तै बनीसकेको थियो ।
एक महिना जति अगाडिबाट सन्ध्याकी आमामा सुधार आएको छ । समय र अबस्थालाई उनले स्वीकार गरे जस्तो लाग्छ । बिस्तारै घरको काम गर्न थालेकी छिन् । सन्ध्यालाई अलि सजिलो भएको छ । राती राती उनीहरु पनि हाम्रैमा सुत्ने गरेका छन् । सन्ध्या धेरै जसो तेरै कुरा गर्छे । प्रभात काँ छ होला, के गर्दै होला भनी तेरी आमासँग गनथन गरी रहन्छे ।
चिठी पढिसकेपछि एकदमै रुन मन लाग्यो । आँसु त पहिलै बगिसकेका रहेछन् । खाना पनि रुचेन केहि दिन । फुपुले सम्झाई बुझाई गरेर खुवाउनु भयो । स्कुलमा, घरमा जतिखेरै मेरो मन गाउँमै पुग्थ्यो, सन्ध्यालाई सम्झिन्थ्यो । राती राती छटपटि हुन्थ्यो । सपना पनि के कस्तो देख्न थालेको थिएँ । बाको चिठी एकैचोटि कक्षा ९ को अन्त्यतिर आयो । यो चिठीले त झन् लागेको घाउमा नुन खोर्सानी दल्ने काम पो गरिदियो ।
प्रभात, के भनूँ, कसरी भनूँ ! दैबले पनि एउटैलाई हेप्दा रहेछन् । सारा दुख, सारा चोट एउटैलाई दिंदा रहेछन् । सन्ध्याका बाबु बेपत्ता नै छन् । उसकी आमाले घरका सम्पूर्ण काम गर्न थालिसकेकी थिइन् । तँलाई अघिल्लो चोटि चिठी लेखेपछि एक ढेड महिना पछिको कुरो हो । सन्ध्याकी आमा मतानबाट तल झर्दा चिप्लिएर तल आँगनमा झरिछन् । टाउकामा नराम्रै चोट लागेछ । स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि सदरमुकाम लाने निर्णय भएछ । तेरी आमाले मलाई स्कुलमै बोलाउन आई । सन्ध्या पनि स्कुलमै थिई । उसलाई पनि साथैमा लिएर सदरमुकाम लाने तयारी गर्यौं । सन्ध्याकी आमा अचेत थिइन् । अस्पताल जाने आधा बाटो सकिएपछि उनले आफ्नो अन्तिम सास फेरीन् ।
उनको अन्त्येष्टि पनि सन्ध्याले नै गरी । छोरी भए पनि दागबत्ति उसैले दिई । अरु कामहरु पनि उसैले पुरा गरी । उ छोरी भएपनि छोरो जत्तिकै छे । गर्नु पर्ने सारा काम उसैले गरी । उसका अभिभावक अब हामी नै हौं । उसको घर रित्तिएको छ । त्यहाँ न उसका बाबु छन् न उसकी आमा । हाम्रैमा राखेका छौं । तेरो कोठासँगैको कोठामा । तेरी आमा र मसँग बाहेक अरुसँग राम्ररी बोल्दा पनि बोल्दिन । उसको आफ्नो मान्छे भनेकै हामी दुई छौं यो गाउँमा । तेरी आमालाई खुब सघाउँछे । तेरी आमा र सन्ध्याकी आमा दिदी बहिनी जस्तै थिए । त्यसैले उनको निधन हुँदा तेरी आमालाई पनि ठूलै घात परेको थियो । सन्ध्या र तेरी आमाले एक अर्कालाई साहाराको रुपमा पाएका छन् ।
अरु के बताउँ, केहि कुरा छैन । गाउँमा हालत अझै उस्तै छ । अरु सबै कुरा यस्तै छ ।
असह्य भएर फुपुका काखमा गएर धरधर रोएँ । फुपुले पनि केहि भन्नु भएन । मेरो कपाल सुम्सुम्याएर मेरा भावाना पोखिन दिनुभयो ।
अर्को चिठीमा गाउँबारे खासै केहि भन्नुभएन । एस एल सी परीक्षा राम्ररी दिनु । त्यस पछि के पढ्छस्, विचार पुर्याएर पढ्नु भनि भन्नुभएको थियो । सन्ध्या पनि एस एल सी को तयारी गर्दै रहिछ । त्यसपछि पनि त्यहिँ कै उमावि मा ११-१२ पढाउने विचार गर्नु भएको रहेछ बाले । काठमाडौं नै पठाइदिए हुन्थ्यो जस्तो लागेको थियो मलाई तर त्यसरी पठाउन मिल्ने अबस्था थिएन रे । सन्ध्यालाई पत्रकारिता पढ्न मन थियो रे । उसको यो आकांक्षा किन किन मलाई एकदमै स्वाभाविक लाग्यो । यसपाली भने सन्ध्याले एउटा मीठो कविता लेखेर पठाएकी रहिछ । उसको अक्षर देख्दा पनि उसकै स्वार सुने जस्तो लाग्यो मलाई ।
एस एल सी पनि सकिए पछि बाको मनाहि बाबजुद पनि गाउँमा चिठी पठाएँ ।
बा,आमा ढोग छ । मलाई, फुपुलाई, सबैलाई सन्चै छ । तँपाईहरुले बिदा गर्दा भन्दा अलिकति दुब्लाएको छु । अग्लो पनि भएको छु । त्सैले दुब्लाएको जस्तो लागेको होला । एस एल सी परीक्षा पनि दिएँ । राम्रै भाको छ । अब आइ एस सी गर्ने विचार गरेको छु । गाउँमा के-कस्ता घटना घटिसकेछन् । मैले गाउँ फर्कने बेलामा त बिलकुलै फरक गाँउ पाउँछु कि जस्तो लाग्यो । ठिकै छ, अरु कुरा यस्तै हो । म दुब्लाएको छु भन्दा आमा पीर मान्नुहोला । खाना रुचेजति खाइराखेकै छु । फुपुले असाध्यै माया गर्नुहुन्छ । मैले खान नमान्दा पनि के-के खुवाइरहनुहुन्छ । चिन्ता नलिनु ।
बा, सँगै सन्ध्यालाई पनि एउटा पत्र लेखेको छु । उसलाई दिनुहोला ।
गलत ठाउँमा पर्ने हो कि भनेर यो भन्दा बढि लेखेको थिइनँ । सन्ध्यालाई लेखेको थिएँ –
सन्ध्या, तँसँग आमनेसामने त कुरा गर्न जान्दिनथें, तँलाई पत्र लेख्न पनि जान्दो रहेनछु । कागज र कलम लिएर बसेको एक घण्टा भइसक्यो । हामी सँगै हुँदा तैँ कुरा झिक्थिस्, म जवाफ मात्र दिन्थें । अहिले पनि तँ नै कतैबाट कुरा झिक्छेस् कि भनी पर्खी बसेको छु । तँलाई के भनूँ, के सोधूँ ! त्यो पनि थाहा छैन । भन्न, सोध्न त धेरै कुराको मन थियो । लेख्न खोज्दा कलम नै सर्दैन ।
तँलाई मैले कत्ति पनि बिर्सेको छैन । तेरो याद आए, तैँले पठाएका कथा, कविता पढ्छु । सबै कण्ठ छन् मलाई । मेरो बोलीरहने बानी पनि हराएको छ । त्यसरी बोलीरहन त आफ्ना मान्छे चाँहिदा रहेछन्, यहाँ त फुपु बाहेक सबै बिराना छन् । समय परिस्थितिले मलाई कहाँ पुर्यायो र तँलाई कहाँ पुर्यायो । एस एल सी राम्रै गरीस् होला । अब के पढ्छेस्, राम्ररी पढ्नु । तैँले असफल हुने कुनै कुरा, कुनै क्षेत्र छैन । ख्याल राखेस् । अरु थोक लेख्न जानिनँ, माफ गर्दे । -प्रभात
एस एल सी परीक्षाको नतिजा पनि आयो । प्रथम श्रेणीमा पास भएको थिएँ म । सन्ध्याले भने डिस्टिङ्गसन नै छोइछे । पछि बाले पत्रमा भन्नुभाको । आइ एस सी को कक्षा पनि सुरु भए । सन्ध्याले पनि राम्रो अङ्क ल्याउँदै ११ कक्षा पास गरीछ । १२ कक्षा सुरु भए देखिन् चैं गाउँमा पनि स्थिति मत्थर हुँदै गाको थियो रे ! १२ को जाँच पछि जनआन्दोलन भयो । त्यस पछि शान्ति सम्झौता र सेना समायोजनहरु भए । माओवादिको क्रान्ति पनि सकियो । म त गाउँ कुदिहालें ।
घर पुग्दा बा पिढिँमा बसेर पुस्तक पढ्दै हुनुहुन्थ्यो । आमा जाँतोमा मकै पिन्दै हुनुहुन्थ्यो । सन्ध्या डोकोमा एक भारी घाँस बोकेर आँगनमा आइपुगेकी थिई । मलाई देखेर एकछिन अड्डिई । मेरा दाह्रि जुँगा आएकाले चिनिन कि जस्तो लाग्यो । उसले बोकि राखेको डोको त्यहिँ बिसाएर कुद्दै आएर अङ्कमाल गरी । मैले गाउँ छाड्दा म भन्दा अग्ली थिई, अहिले भने म नै अग्लो भएछु । उसको अनुहार उस्तै त थियो तर पहिलेको जस्तो केटाकेटिको जस्तो होइन, बयस्कको जस्तो । उसको जिउडालमा पनि त्यस्तै परिवर्तन आएको थियो । उसका कपाल भने उस्तै थिए, काँध काँध सम्म आएका । बाआमालाई ढोग गरें । बाआमा आफ्नो उमेरभन्दा अलि बुढा देखिनुभएको थियो । चार-पाँच वर्ष पछि घर पुगेको थिएँ । एकाएक बाल्यकालको याद आयो । त्यै आँगनमा सन्ध्या र म खेल्थ्यौं । आमा मलाई भाटा लिएर पिट्न आउनुहुन्थ्यो । बाकालागि एक-दुइटा किताब, आमाको लागि एउटा घडि र सन्ध्याको लागि एउटा कलम लगेको थिएँ । दिएँ पनि ।
गाउँ हेर्दा त पहिले जस्तै थियो तर भित्र लागेको चोट बाहिरबाट देखिंदो रहेनछ । प्रहरी कार्यालय क्षतविक्षत थियो । पहिले जस्तो खुल्ला स्वभावको थिएन गाउँ । युद्धकालको तरङ्गहरु अझै बाँकी नै थिए । करिब एक महिना जति बसेर सन्ध्या र म काठमाडौं लाग्यौं । सन्ध्या पहिलोचोटि काठमाडौं आएकी थिई । उसलाई ठाउँ चिनाउने, घुमाउने काम मैले गरें । आइ एस सी मा पनि पास भएछु । बि एस सी पढ्न त्रि-चन्द्रमा भर्ना भएँ । फुपाजुले एउटा जागिर पनि मिलाइदिनु भयो । त्यो पनि गर्न थालें । क्याम्पस जाने समय पाउँदिनथें, घरमै पढ्थें । सन्ध्याले बि एड पढ्न थालेकी थिई । फुपाजुकै सम्पर्कबाट एउटा मासिक पत्रिकामा उसका रचनाहरु पाहुना कृतिका रुपमा छापिन थालेका थिए । ९-१०ओटा रचनाहरु छापिसकेपछि त्यस पत्रिकाले उसलाई आफ्नो स्टाफमा समावेश गर्यो । अब उसका एउटा न एउटा रचना हरेक अङ्कमा छापिन्थ्यो । दुई-तीन वर्ष यसरी नै काम गरेपछि सोहि पत्रिकामा सहायक सम्पादकको रुपमा उसलाई मुख्य सम्पादकले नियुक्त गरे । उसलाई भेट्न धेरै मान्छेहरु आइरहन्थे । त्यसैले फुपुकाबाट छुट्टै फ्याट लिएर बस्न थाली । म भने फुपुको मै थिएँ । सहायक सम्पादक भएपछि व्यस्त त हुने नै भई । यस्तो व्यस्तताका बाबजुद उसले बि एड पनि सकाई । मेरो पनि बि एस सी सकियो ।
मास्टर्स गर्दागर्दै उसले काम गर्ने पत्रिकाका मुख्य सम्पादक रिटायर भए । अहिले उ नै छे मुख्य सम्पादक । उसले त्यहाँ काम गर्न थालेपछि पत्रिकाले पनि अपार सफलता प्राप्त गरेको छ । उसले आफले लेख्न पनि छाडेकी छैन । मलाई बेलाबेलामा कविताहरु सुनाइरहन्छे । पहिले भन्थी कथासङ्ग्रह निकाल्छु । तर उसले त उपन्यास नै लेख्न भ्याईसकिछ । एक दिन मलाई चकित पार्दै पाण्डुलिपि दिई ।
‘तैँले दिएको कलमले लेखेकी, पढ है । तँलाई राम्रो लाग्यो भने तेरो बालाई देखाउँछु । उहाँको सल्लाह सुझाव समावेश गरेर छपाउन तिर लाग्छु ।’
त्यहि दिन पढें, रातभरी लगाएर । उसले लेखेको हरेक कुरा राम्रा हुन्छन् । त्यो पाण्डुलिपि त झन् उत्कृष्ट छ । उसले आफ्नो भोगाइलाई समावेश गरेर लेखेकी छ यो उपन्यास । अब केहि समयमा तपाईँहरुले पनि पढ्न पाउनु होला ।
म एउटा आइ एन जि ओ मा जागिर खाँदै छु । शिवरात्री, नारी दिवस र ल्होसारको अवसरमा हाम्रो अफिसले एउटा सानो पुस्तक छपाउने निर्णय गरेको छ र मबाट पनि एउटा रचनाको माग गरेको छ । नारी दिवसलाई लक्षित गर्दै लेख्ने निर्णय गरें यति कुरा लेखेको छु । सन्ध्याले भोग्नु परेका मैले भोग्नु परेको भए म कतै हराएर जान्थें । उसको जस्तो सफलता हासिल गर्न सक्दिनथें । म पुरुष भएर, उसको भन्दा तुलनात्मक रुपमा शान्त क्षेत्रमा पढेर, उसका भोगाइहरु नभोग्दा पनि एउटा सानोतिनो जागिर खाएर बसेको छु । उ भने चर्चित पत्रिकाको सम्पादक छे र छिट्टै सफल लेखकका रुपमा पनि चिँनिदै छे । यस नारी दिवसमा उसैकै कथा लेख्न उचित देखें ।
विभाकर (नारी दिवस २०७२)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)