~रुपिन्द्र प्रभावी ‘कटु’~
परिचय :
नेपाली माटोमा जन्मेका कैयौँ प्रतिभाहरुमध्ये ‘अग्रणी नाम’का रुपमा स्थापित नाम हो – लक्ष्मीप्रसाद देवकोटा । वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा काठमाण्डौंको डिल्लीबजार, धोवीधाराटोलमा जन्मेका तीर्थमाधव देवकोटा नेपाली साहित्याकासमा लक्ष्मीप्रसाद देवकोटाका रुपमा ध्रुवताराझैँ चम्किइरहेका छन् ।
पाँच वर्षको उमेरमा बाबुले देवकोटालाई अक्षर चिनाउन थालेका थिए । बाबुले पढाएका कुरा रुचि र परिश्रमपूर्वक पढ्ने देवकोटा सानैदेखि गम्भीर स्वभावका थिए । उनी संस्कृत र नेपाली भाषाका साथै अङ्ग्रेजी भाषा पनि सानैदेखि मन लगाएर पढ्ने गर्थे । उनी ११ वर्षको हुँदा वि.सं. १९७७ मा बाबुले दरबार स्कुलमा कक्षा ५ मा भर्ना गरिदिए । त्यसपछि औपचारिक शिक्षा आर्जन कार्य सुरु गरेका उनले वि.सं. १९८२ मा भारतको पटनाबाट म्याट्रिक (एस.एल.सी.) प्रथम श्रेणीमा उत्तीर्ण गरे । उनले त्रिचन्द्र कलेजबाट आइ.एस.सी. गरेपछि बी.ए.÷बी.एल. गरे भने अङ्ग्रेजी साहित्यमा एम.ए. गर्ने रुचिका कारण मिहिनेतपूर्वक अध्ययन सुरु गरे तर घरायसी परिस्थितिका कारण पूरा गर्न सकेनन्; अङ्ग्रेजी साहित्यका राम्रा अध्येता भई प्रशस्त ज्ञान भने उनले आर्जन गरे । उनले त्रिचन्द्र कलेज र कमर्स कलेजमा प्राध्यापन गर्नुका साथै ट्युसन पढाउने काम पनि धेरै नै गरे । राणाविरोधी सिर्जना गरेका उनी वि.सं. २००७ मा राणा शासनको अन्त्य भएपछि वि.सं. २०१४ मा डा. के.आइ.सिंहको मन्त्रीमण्डलमा ३ महिना नेपालको शिक्षा तथा स्थानीय स्वायत्त शासन मन्त्री पनि भएका थिए । साहित्यका प्रायः सबै विधामा कलम चलाएका देवकोटा एक बहुमुखी प्रतिभा हुन्; कविता र निबन्धमा उनको योगदान विशेष छ । नेपाली साहित्यमा महाकविका रुपमा परिचित देवकोटालाई सर्वप्रथम विद्वान् बदरीनाथ भट्टराईले ‘महाकवि’ भनेका र जनताले ‘महाकवि’ भन्दा भन्दै ‘महाकवि’ भएका भनाइ विद्वान्हरुको पाइन्छ । देवकोटा वि.सं. २००४ मा भारतको वनारस पुगी ‘युगवाणी’ पत्रिकाको सम्पादनसमेत गरेका थिए । वि.सं. २०१४ मै रोयल नेपाल एकेडेमी (हालः नेपाल प्रज्ञा प्रतिष्ठान)का सदस्य बनेका देवकोटाले नेपाली साहित्यमा पु¥याएका अतुलनीय योगदानको कदरस्वरुप वि.सं. २०२३ मा एकेडेमीले मरणोपरान्त त्रिभुवन पुरस्कार प्रदान गरेको थियो । १५ वर्षकै उमेरमा मनदेवी चालिसेसँग उनको विवाह भएको थियो जसबाट ५ छोरी र ४ छोरा जन्मिए । उनको मृत्यु वि.सं. २०१६ भदौ २९ गते काठमाडौ, आर्यघाटमा ५० वर्षको उमेरमा भएको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधारा प्रवेश गराएका उनी स्वच्छन्दतावादी–प्रगतिवादी धाराका सशक्त प्रतिभा हुन् । उनको केन्द्रीय सिर्जनात्मक स्वर मानवतावादी दृष्टिकोणमा खिचिएको पाइन्छ ।
देवकोटाको काव्ययात्रा :
‘हुने बिरुवाको चिल्लो पात’ का रुपमा स्थापित लक्ष्मीप्रसाद देवकोटाले १० वर्षकै उमेरमा आफ्नी जेठी भाउजू (लेखनाथकी जेठी पत्नी) को प्रेरणाबाट ‘म त अभागिनी पो भएँ’ शीर्षकको कविता लेखेर वि.सं. १९७६ मा कविता लेखन थालेका थिए । त्यसपछि बाबुको प्रेरणाबाट उनले ‘घनघोर दुःख सागर’ कविता लेखेः
घनघोर दुःख सागर संसार जान भाइ
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई ।
उनले वि.सं. १९७६ देखि १९९० सम्म केही कविता लेखेका भए पनि औपचारिक प्रकाशनयात्रा भने वि.सं. १९९१, मङ्सिर १५ गते शुक्रबारको गोरखापत्रमा प्रकाशित ‘पूर्णिमाको जलधि’ शीर्षकको कविताबाट प्रारम्भ भएको मानिन्छ तर लेखक कमल दीक्षितका अनुसार, देवकोटाको पहिलो प्रकाशित कविता ‘वसन्त षोडषी’ हो जुन वि. सं. १९८५ वैशाखको गोरखापत्रमा छापिएको छ । यस कुरामा महाकवि लक्ष्मीप्रसाद देवकोटाकै विषयमा पहिलो पटक विद्यावारिधि गरेका डा. कुमारबहादुर जोशीले पनि सहमति जनाएका छन्ः
भूँ भूँ गरी भृकुटीका कविता सुनाई
भों भों गरी रस चुसीकन जानलाई
दुर्भागिमा भ्रमर हाल न प्रेम पाश
भन्की रहेछ कलिमा कवि झैं चलाख ।
त्यसपछि शारदामा १९९२ मा ‘गाइन् तिनले घँसिया गीत’ र ‘शरच्चन्द्र’ जस्ता फुटकर कविता प्रकाशन गरेका देवकोटाको प्रथम कृतिका रुपमा भने वि.सं. १९९२ मै ‘मुनामदन’ खण्डकाव्य प्रकाशन भयो जो हालसम्म पनि नेपाली साहित्यको सर्वाधिक बिक्री हुने कृतिको सूचीमा सूचिकृत छ ।
डा. कुमारबहादुर जोशीका अनुसार हालसम्म ६४४ भन्दा बढी फुटकर कविताहरु देवकोटाद्वारा लेखिएका भेटिएका छन् । खोजीकार्य जारी राख्ने हो भने यो सङ्ख्या बढ्न सक्ने पनि जोशीको तर्क छ । उनका अनुसार, देवकोटाको पहिलो उत्कृष्ट कविता भने वि. सं. १९९१ फागुनको शारदामा प्रकाशित ‘गरिब’ कविता नै हो जसलाई राहुल सांकृत्यायनले देवकोटाको पहिलो प्रकाशित कविता पनि भनेका छन् । यसरी हेर्दा देवकोटाको साहित्यिक यात्रा ४० वर्ष (१९७६–२०१६)को अवधिसम्म लम्बिएको देखिन्छ । यसबीचमा उनका कविता, नाटक, निबन्ध, आख्यान तथा समालोचनाका अनेकौँ कृतिहरु प्रकाशित छन् :
भिखारी, पुतली, सुनको बिहान, भावनागाङ्गेय, आकास बोल्छ, पहाडी पुकार, लक्ष्मी कवितासङ्ग्रहलगायत २४ वटा कवितासङ्ग्रह ।
मुनामदन, राजकुमार प्रभाकर, लुनी, कुञ्जिनी, दुष्यन्त–शकुन्तला भेट, रावण–जटायु युद्ध, म्हेन्दु, सीताहरण, मायाविनी सर्सीलगायत २१ वटा खण्डकाव्य ।
शाकुन्तल, सुलोचना, महाराणाप्रताप, वनकुसुम, पृथ्वीराज चौहान र प्रमिथस गरी ६ वटा महाकाव्य ।
लक्ष्मी निबन्धसङ्ग्रह र दाडिमको रुखनेर (मृत्युपछि, २०३९) मौलिक निबन्धसङ्ग्रह ।
चम्पा (उपन्यास), लक्ष्मी कथासङ्ग्रह, लक्ष्मी गीतिसङ्ग्रह, सावित्री सत्यवान् र कृषिबाला (नाटक) आदि ।
साथै, समालोचना र अङ्ग्रेजी कविता लेखनमा पनि कलम चलाएका महाकवि देवकोटा २००२ मा तीन महिनामा शाकुन्तल महाकाव्य, २००२ मै दस दिनमा सुलोचना महाकाव्य र २००२ मै कुञ्जिनी खण्डकाव्य एक रातमा रचना गरेको प्रसङ्गबाट पनि नेपाली साहित्यमा चर्चित छन् । नेपाली कविताका क्षेत्रमा गद्य र पद्य दुवै शैलीमा उत्तिकै सशक्त कविता लेख्ने देवकोटा अद्वितीय प्रतिभा हुन् ।
भिखारी कविताको भाव :
‘भिखारी’ कविता देवकोटाको वि.सं. २०१० मा प्रकाशित कवितासङ्ग्रह भिखारीमा समावेश गरिएको एक उत्कृष्ट कविता हो । नेपाली साहित्यमा रोमान्टिक भावधाराको सुरुवात गर्ने कवि देवकोटाले यसै अन्तरगत रहेर मानवतावादी दृष्टिकोणसहित भिखारी कविता रचना गरेका छन् । नेपाली समाजको निम्नवर्गीय एक चरित्र ‘भिखारी’को जीवनचित्र मानवीय दृष्टिकोणले प्रस्तुत गर्दै कविले तीन तहबाट कवि कल्पना प्रस्तुत गरेका छन्ः– पहिलोः भिखारीको दीनहीन अवस्थाप्रति स्वयम् व्यथित भई सबैलाई करुणा राख्न कविले आग्रह गरेका छन् । दोस्रोः समाज र सामाजिक दुरावस्थाका कारण भिखारीको दुरावस्था आएको विश्लेषण गर्दै कविले त्यसप्रति असन्तुष्टि जनाएका छन् । तेस्रोः यस तहमा कविले भिखारीलाई ईश्वरको दूतका रुपमा आरोपित गरेका छन् । धर्तीका मानवको परीक्षा लिनका लागि मानव (भिखारी) भेषमा ईश्वर आएको विश्वाससहित कविले भिखारीलाई कविताका अन्तिम दुई पद्यांशमा ईश्वर नै भनी घोषणा गरेका छन् । यसरी हेर्दा कविताले आस्तिकहरुले जसरी ईश्वर मान्छन्, त्यसैगरी एक मानवलाई मान्नुपर्ने विचार व्यक्त गरेका छन् । अतः भिखारी एक उत्कृष्ट मानवतावादी कविता बन्न पुगेको छ ।
भिखारी कवितामा प्रस्तुत मानवतावाद :
मानवतावादी दृष्टिकोणले भिखारी एक उत्कृष्ट कविता हो । पश्चिमबाट नेपालीमा स्वच्छन्दतावाद भिœयाएर त्यसभित्र प्रमुख रुपमा मानवतावादी स्वर मुखरित गर्ने कवि देवकोटाको समग्र काव्यप्रवृत्तिमै मूल स्वर मानवतावाद नै बनेको देखिन्छ । हरेक बिम्ब वा प्रतीकलाई मानवताको आँखाले हेर्ने दृष्टिकोण नै मानवतावाद हो । मानवीय जीवनलाई सुगम बनाउनका लागि वैचारिक आन्दोलन हो– मानवतावाद । दुःखी, गरिब, उत्पीडित वर्गप्रति सहानुभूति राख्दै जीवनलाई सुखमय बनाउनका लागि प्रयास गर्न देवकोटाका कविताहरु आग्रह गर्दछन् । भिखारी कविता पढ्दा पाठकलाई भिखारीप्रति अपार सहानुभूति खन्याउन मन मात्रै लाग्दैन, ऊ कुनै पनि मानिसले भिखारीका रुपमा जीवन बिताउन नपरोस् भन्ने कामना पनि गर्न पुग्छ । पाठकका आँखामा भिखारीको प्रतिच्छाया सजीव भएर देखापर्छ । भिखारीको हिँडाइ, आँसु, करुण दृष्टि, आर्तनाद आदि पाठककै आँखामा नाच्छन्– कविता पढ्दा । देवकोटाको सार्थक मानवतावादी दृष्टिकोण पनि यहीँ नै प्रष्टिएको पाइन्छ ।
यस कविता मानवताको जीवन्त तस्वीर हो । मान्छे भएर पनि मान्छेबाटै उपेक्षित हुनुपरेको स्खलित मानवतालाई कारुणिक ढङ्गले पगाल्ने प्रयास कविताले गरेको छ । श्यामश्वेत जीवन बाँच्नका लागि पनि गास र कपासको भिख माग्नुपर्ने बाध्यतालाई बडो मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेका छन् देवकोटाले । अनुहारभरि हजारौं मुजा फुलाएर झुत्रो जिन्दगी घिसार्दै जिन्दगीको भिख माग्न आफ्नै भाइहरुको आँगनमा टुप्लुकिनुपर्ने एक बाध्यात्मक प्रस्तुतीले पाठकलाई सोचमग्न बनाउँछ । मानवसभ्यताको इतिहासमा आर्थिक विषमताका कारण बनेको यस्तो वर्गीय खाडललाई कविले बिडम्बना मानेका छन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी भावधारालाई समेत प्रवर्तन गर्ने देवकोटा कार्ल माक्र्सले भनेझैँ ‘हरेक समस्याको समाधान आर्थिक समानता हो’ भन्ने कुरामा विश्वास राख्छन् । कोही गुलाबझैँ मुस्कुराइरहेको समाजमा कोही भने उन्युको रोदन बोकेर बाँचेका छन् । यस्ता असमानतालाई चिरेर कवि समानताको उज्यालो प्रकाशमा मानवीय संवेदनाको रक्षा गर्न चाहन्छन्, उनी मान्छेले मान्छेसँग मान्छेकै व्यवहार गरोस् भन्ने चाहन्छन् र मानवीय आदर्शसहितको समतामूलक समाजको कल्पना कवि गर्दछन् ।
अडिई–अडिई करुण दृष्टि उठाउँदै, थरथर काँप्दै आफ्नै जीवनको दुःखद् इतिहास चुहाउँदै आँसुमा, उज्यालो भविष्यको याचनामा भिखारी निरर्थकझैँ भौतारिन्छ । कविले यस खालको चित्रणसँगै मानवीय व्यवहारको अपेक्षा गरेका छन् । निष्ठुर समयप्रति आक्रोशित हुँदै कवि समग्र असमानता त्यागी समानतासहितको विश्वबन्धुत्वका भावनामा जोड दिन्छन् । खुल्ला आकासमुनिको सारा पृथ्वीलाई आफ्नो घर सम्झने भिखारीको गालामा बगेका खहरेले बनाएका खोंचहरु पनि उत्तिकै दयनीय लाग्छन् । “भत्केको घरः जता हे¥यो उतै दैलो”को नियतिमा बाँचिरहेछ भिखारी । शारीरिक दुर्बलताले गर्दा काँप्दै एक मुठी चामलको पुकारा गर्छ भिखारी । मानौँ, उसको जीवनको चन्द्र छुने लक्ष्य त्यसमै छ । कवि देवकोटा भिखारीलाई जन्माउने बेलामा बाबुआमाले कति सपना देखेका थिए होलान्, ती सपना किन तुहिएका होलान् भन्ने अनुत्तरित प्रश्न गर्छन् । कविले भिखारीमा ईश्वरको प्रतिबिम्ब कोर्दै सबैले भिखारीलाई मानवीय व्यवहार गर्न आग्रह गरेका छन् ।
उपसंहार :
स्वच्छन्दतावादी भावधाराअन्तरगत महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानवतावादी दर्शनलाई आत्मसात् गरेका छन् । पाश्चात्य साहित्यका वर्ड्स्वर्थ, शेली, किट्स, बायरनजस्ता प्रतिभाहरुको भाव ग्रहण गर्दै वैज्ञानिक एवम् भौतिक र आध्यात्मिक मानवतावादी आदर्शलाई कवि देवकोटाले स्थापित गराए । व्यक्ति स्वतन्त्रता, शोषणहीन आर्थिक अवस्था, समानता तथा असल प्रजातान्त्रिक पक्षलाई मानवतावादी दृष्टिकोणबाट आफ्ना कविताहरुमा देवकोटाले प्रस्तुत गरेका छन् । देवकोटाको मानवतावादी चिन्तन एवम् दर्शन पूर्वीय अध्यात्म दर्शनको पृष्ठभूमिमा पल्लवित हुँदै पाश्चात्य भौतिक आदर्शलाई समेत वरण गर्दै विकसित हुन पुगेको पाइन्छ । उनी मूलतः आफ्नो साहित्यिक यात्राका सबै मोडहरुमा मानवतावादी रहेका छन् । मान्छेका दुःख, दर्दलाई कवितामा भिœयाउने र सत्कार्यमा अग्रसर हुन अभिप्रेरित गर्ने भावनाका साथ देखापर्ने कवि देवकोटा समाजका दलित, पीडित र पिछडिएका वर्गलाई उत्थान गर्नुपर्ने महसुस गरी उनीहरुप्रति समवेदना र सहानुभूतिसमेत प्रकट गर्दछन्; एक मानवले अर्को मानवलाई मान्छेकै व्यवहार गर्नुपर्छ भन्दै बाँच्न पाउने मान्छेको नैसर्गिक अधिकारको पक्षमा सचेत देखिन्छन् । भिखारी कविता पनि उपर्युल्लिखित गुणहरुले युक्त छ ।
– पोखरा
सन्दर्भसूची :
- अधिकारी, रविलाल, गद्यकारका रुपमा देवकोटा (२०६६), पोखरा ः अलिमिया लोकवाङ्मय प्रतिष्ठान ।
- आचार्य, कृष्णप्रसाद, नेपाली कविता र काव्य (२०६६), काठमाण्डौ ः क्षितिज प्रकाशन ।
- चैतन्य, लक्ष्मीप्रसाद देवकोटा : सङ्क्षिप्त मूल्याङ्कन (२०६६), कलम, पूर्णाङ्क–५२, काठमाण्डौ ः झिल्को प्रकाशन ।
- जोशी, कुमारबहादुर, देवकोटाको पहिलो प्रकाशित कविता (२०६९), मधुपर्क, पूर्णाङ्क–५२०, काठमाण्डौ : गोरखापत्र संस्थान ।
- जोशी, कुमारबहादुर (सम्पा.), महाकवि देवकोटाका कविता (२०४७), ललितपुरः साझा प्रकाशन ।
- न्यौपाने, नेत्रप्रसाद, देवकोटीय मानवतावादी चिन्तन र दर्शन, (२०६६), गरिमा, पूर्णाङ्क–२३२, ललितपुर : साझा प्रकाशन ।
- रेग्मी, जनकराज शर्मा, मानवतावादी महाकवि देवकोटा ः एक दृष्टि (२०६५), परिवर्तन, नेपालगञ्ज (बाँके) : प्रलेस ।
भिखारी
~लक्ष्मीप्रसाद देवकाेटाहेर भिखारी अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दु:खको मौन प्रकाश !
झीना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास !
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।
हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर !
जीवनपथमा बिचरा पथरा !
काँपिरहेका थुरथुर !
झल्लर झोली बढाउँछ बबुरा ।
करले अस्थिर, कातर !
वर्ष-वर्षका हेर तुषरा
शिरको उपर गिरेका ।
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेका
दिन दिनले त्यो छातीमाथि
चिरा चरक्क चिरेका ।
अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरि भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ, स्वरले छाती चिर्दै,
‘चामल एक मुठी ।!’
मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन
भाइहरूसँग भिक्षाको यो
मुठी दयाको याचन ।
घाम उज्यालो आँगनमा यो
एक अँध्यारो अवलोकन !
गुलाबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।
को होला यो, कसको छोरो ?
कसको बाबु गरीब ?
कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप ?कुन आशाले नजर खुलायो
सूर्य चन्द्रको नजर समीप ?
किन मुरझायो ? किन वैलायो ?
किन मधुरो यो जीवन दीप ?बुद्धदेवको नजर अगाडि
यही भिखारी आएथ्यो;
मूर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलियो शेखी
पवित्र पारी निठुराएथ्यो ।
कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी ।
युग-युगभरको आँसुहरूको
सार अपार उतारी
दु:खको दिलमा ईश्वर बोल्दछ
अधर अनन्त उघारी
माग्दछ करुणा भाइहरूमा
आई पृथिवीवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनमा एक भिखारी ?