व्यङ्ग्य कविता : रित्याउनु मुलुकको ढुकुटी निखारी

~काशीनाथ मिश्रित~

लय : देवकोटाको ‘प्रश्नोत्तर’ कविता

के हो अहो अमृतकन त्यो ? मदिरा समान
क्यै छैन अन्य तिमीले यति राख ज्ञान
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
खानू लुटेर दिनहुँ अरूको जहाँ छ ।

के भैरहेछ जगमा कति छन् विरोध ?
जान्दिन त्यो बरू बन्दुकलाई सोध ।
भेटिन्छ ईश कुन मन्दिरमा पसेर ?
गाउँतिर झोपडीभित्र पसेर हेर ।

कर्तव्य के छ जनको ? निमुखा निचोरी
मच्चाउन जति सकिन्छ नि घूसखोरी
रित्याउनु मुलुकको ढुकुटी निखारी
खानू बसेर घरमा सबले डकारी ।

के हो ठूलो जगतमा ? रुपियाँ समान
देखिन्न केही अरू चीज महान
ऐले अमीरसँग छन् सब थर्कमान
दौडी रहेछ तिनकै पछि वर्तमान ।

पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?
शस्त्रास्त्रको गतिविधी जब बन्द हुन्छ
शान्ति यहीँ वरिपरि छ लुकिरहेको
हाबी भएर बम पो त नदेखिएको ।

के हुन्छ भाषण गरेर ? छिटो विकास
केको विकास शुरु भो ? सबतर्फ त्रास
के मिल्छ गोष्ठीहरूबाट ? यथेष्ट भत्ता
उद्देश्य के ? लिनु लडीकन एक सत्ता ।

(महाकवि देवकोटा अहिले थिए भने आफ्नो ‘प्रश्नोत्तर’ कविता यस्तो लेख्थे)

बम्घा–८, गुल्मी

(स्रोत : फित्कौली डट कम)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.