~प्रकाश सुनुवार ‘निराकार’~
एउटा त्यस्तो प्रतिक्षा
जुन अत्यन्तै लामो पनि
अनि छोटो पनि ।
छातीभित्र
तिम्रो आगमनको कैयौं तरङहरु सल्वलाए
अनगिन्ती फुलहरु फुलिदिए
एउटा अदभुत तृष्णालाई
हामी नजिकवाट स्पर्ष गरिरहेका थियौं ।
नभन्दै हाम्रो माझ फुल्यौ,
हामी पनि तिमीसंगै फुलिदियौं
मुस्कुरायौ, हामी पनि मुस्कुरायौं
रोयौ, हामी पनि रोयौं
टोलायौ, हामी पनि टोलायौं
दुख्यौ, हामी पनि दुख्यौं
निदाउन सकेनौ, हामी पनि अनिदोलाई निलिदियौं
खान सकेनौ, हामी पनि भोकहरु पचाइदियौं
तिमीले सहन सक्यौ तर हामीले सहन सकेनौं
तिमीले जुझयौ, तर हामीले तिमीलाई बल थप्न सकेनौं
तिमी जितेर गयौं, तर हामी हरेर बस्यौं
अनि यहाँ छौं ।
तिमी एउटा फुल
धर्तिमा एक्लै समाधिस्थ भयौ
हामी पनि एक्लै भयौं
रंगिविरंगी फुलका थुंगाहरुले छोपियौ ।
फुलका तरङ्गहरु बोकि आएर फुलहरुसंगै गयौ ।
हामी अवाक भयौ
स्तब्ध भयौं
आवज विहिन भयौं
सम्झना मात्र छोड्यौ
आँसु झार्नको निमित्त आँसु उमारेर गयौ
तिमी आँखा चिम्लियौ,
हामी आँखा खोलेर पनि अंध्यारोमा हरायौं ।
तिमी धर्तिमा विलिन एउटा फुल
सम्झनामा संधै जिवित छौ
तिमी संधै बाँचिरहेको छौ ।
(२६ मे २०१०, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)