~यकिना अगाध~
नेपाल भन्ने देशमा हिङको ठूलो माग थियो । दुःखको कुरो, जहा जहा हिङको माग हुन्थ्यो त्यहा त्यहा हिङको उत्पादन हुदैनथ्यो । एकजना रायमाझी नाम गरेको चलाख ब्यापारीले नक्कली हिङ बनाएर बजार परीक्षण गर्ने निधो गर्यो । उसले नक्कली हिङ बनाएर बजारमा पठायो । उ खुशीलेले चकित भयो किनकि उपभोक्ताहरुले सक्कली र नक्कली हिङ छुट्याउन नसकेर भकाभक खरीद गरी उपभोग गर्न थाल्यो । यसले उसको हैसियत ह्वात्तै माथि उठायो । सक्कली सम्झी प्रयोग गरेका उपभोक्ताको जीवन भने नारकीय भयो ।
नक्कली हिङको कारणले यसपछि बजारमा हिङको ब्यापार खस्क्यो । केही सक्कली हिङ ब्यापारीहरुको पनि दोकान सुक्यो । फेरि यस देशको पुर्व झापातिर चलाक ब्यापारीहरुको समुह खडा भयो र हिङ ब्यापारले बजार लियो । यी ब्यापारी समुहले भने रायमाझीले जस्तो हविगत ब्योहोर्नु परेन किनकि उनीहरुको हिङको प्रयोगले उतिबिना नोक्सान पुर्याइरहेको थिएन ।
यसैबीच पश्चिम रोल्पातिरबाट अर्को नया ब्यापारीको समुहले ठूलो तामझामका साथ हिङको ब्यापार आरम्भ गर्यो । दश वर्षमा यसले झापातिरका नक्कली हिङ ब्यापारीहरुलाई नराम्ररी धक्का दियो । उपभोक्ताहरुमा रोल्पातिरको ब्यापारीको हिङ मोह देखेर उनीहरु आत्तिनुसम्म आतियो । हुन पनि झापातिरका ब्यापारीहरुसग नक्कली हिङसम्म नि बाकी थिएन, टालो मात्र थियो । हिङ नै पाइरहेको अवस्थामा टालोप्रति उपभोक्ताहरुको आकार्षण घट्नु स्वभाविकै हो । पश्चिमकाहरुले देशभर एकलौटी बजार पिट्यो । नक्कली नै सही तर उपभोक्ताहरुलाई दिन उनीहरुमा पनि अबदेखि हिङ बाकी रहेन ।
भखरै यी दुइ ब्यापार संघ एकअर्कामा गाभिएको छ र विकल्प नपाएर नक्कली हिङ प्रयोग गर्न विवश उपभोक्ताहरुलाई भनिरहेको छ– ‘ढुक्क हुनुहोस् । अब हामी दुइ मिल्यौ । हामी तपाईहरुलाई आवश्यक भए जति हिङ दिने छौं ।’
त्यसदिनको रोचक कुरा त यो थियो कि यी ब्यापार संघले आपसमा गाभिएपछि जानकारीको लागि आयोजना गरिएको आरम्भ कार्यक्रममा नक्कली हिङ समेत देखाउन नसकेर हिङ बाधेको उही थोत्रे टालोको मात्र प्रदर्शन गरिएको थियो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
