~नारायण योगी~
एक दिन म सानै छँदा बुबाले
गैह्री खेत जोत्दै भन्नु भयो–
बाबु यो धरतीभन्दा ठूलो केही छैन
मैले उहाँको कुरा त केही बुझिनँ
तर घाँटीमा भिरेको सानो मादल
खुशीले ट्याङ्ग पारेँ
म अलि अलि बुझ्ने भएपछि
बाँसको कलमले
क माने कान्लो
ख माने खन्यु
ग माने गरिब
घ माने धरती लेखेँ
तर ती कमेरो माटोले लेखेका अक्षरहरू
सितले मेटाइदिन्थ्यो
वर्षभरि पाखुरा बजारे पनि
पेटभरि खान नपुग्दा
यो मन त्यसै त्यसै अत्तासिन्थ्यो
एक दिन आमाले गहुँको चोकरको
ढिँडो ओडाल्नु भयो, बिना स्वादको
त्यै पनि हामी सबैले मिठो मानी मानी खायौँ
आमाले गह गह आँशु ल्याएर भन्नु भयो–
बाबु, भोकभन्दा संसारमा ठूलो केही छैन
हो, जीवनका लागि हामीले खानै पदथ्र्यो, खायौँ
एक दिन आमाले सुकुल बुन्दै भन्नु भयो
सुख–दुःख त परालमा बेरिएर आउँछ बाबु
धर्म गर्न सक्नु पर्छ
तर मैले धैर्य मर्न सकिनँ
कसम तोडेँ, देश छोडेँ
मनमा प्रश्नहरूले लखेटी रहन्छन्
जीवनका गल्छेडाहरूमा म के गर्दैछु
आफैलाई थाहा छैन
जीवन बाँच्दैछु वा बचाउँदैछु
कहिलेकाहीँ मध्य रातमा म भनेर चिच्याउँछु
सम्झदा यो मन भत्भत्ती पोल्छ
सुगन्ध बोकेर रातरानी मगमगाउँदा क्षण
राप्तीमा उठ्ने ज्वारभाटाका छालहरू
झुमरा, कड्का नाचका मादलका ताल
सम्झनाले सताइरहन्छ
मैले रोपेको आँपको कलमी कत्रो भयो होला ?
केउलीले आज–भोलि मलाई सम्झन्छे कि नाइँ
उसको मप्रतिको प्रेम कस्तो होला
मनको बह भेटामा पोख्ने छु
हाम्रो रगत समुद्रमा मिसिएरै त नुनिलो भएकाले
अरबको बालुवाको अमिलो गन्ध
हाम्रै पसिना पोखिएरै अमिलो भएको हो
हामी वीर गोर्खालीको जीवन पनि मदारीको जस्तो छ
एक सरो लुगा, एक छाक टार्न र धनका लागि
नाचिरहेछ विश्वभरि
म घर फर्किएर पूरा गर्नु छ आमाका सपनाहरू
जिमुवालले लिएको घर फिर्ता गर्नु छ
आमाको बन्धकीको नथिया
साहुकहाँबाट ल्याउनु छ
अनि, झुपडी घडेरी पनि निखन्नु छ
आमाले कैयौँ पटक भन्नु भएको थियो–
बाबु त जन्मदा म खुशीले खुब रोएकी थिएँ
तर के मैले पूरा गर्न सकुँला आमाका सपनाहरू ?
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)