~शशिधर भण्डारी~
वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छैन । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौँ सुधारक र पन्थहरू पैदा भए तर भारतमा सन्त परम्पराको धारा बगिरहेको छ । त्यसो त बुद्ध, महावीर गुरूनानक पनि सन्तहरू नै थिए ।
यद्यपि बुद्धको जन्म नेपालमा भएको थियो ।पछि खस आर्य समाजमा पनि भारतीय सन्त परम्पराको प्रभाव पर्यो । तर खस जातिमा त्यति ठूला सन्तहरू पैदा भएको देखिँदैन । यस क्रममा कसैले गोरखनाथ र मछिन्द्रनाथको पनि चर्चा गरेर नेपाली सन्त परम्परामा बल दिन्छन् । तर मस्टोपुजक खस आर्यहरूमा सन्त परम्पराभन्दा गृहस्थी परम्परा नै मान्य र प्रभावशाली देखिन्छ । त्यसैले मस्टो, बराह, कुलानी, भुमे, सिद्ध देवताको पूजा गर्ने खस आर्यहरू सन्त परम्पराभन्दा सिद्ध परम्परागत संस्कृतिका अनुयायी हुन भनेर दावी गर्न सकिन्छ ।
त्यसमा खस आर्य समाजमा जोसमनी सन्त परम्परा खस आर्य समुदायको मात्र होइन, समग्र नेपालकै सन्त परम्पराको एउटा मौलिक पहिचानको सन्त परम्पराका रूपमा स्थापित भएको देखिन्छ । जोसमनी सन्त परम्परा हिन्दू संस्कृतिकै एउटा पन्थ हो । तर यसले सति प्रथा र जाति प्रथाको निन्दा मात्र गरेन, मूर्ति पूजा समेत प्रति विरोध जनाएर मानवतावादको नारा लगाएको देखिन्छ । यो नेपालको मौलिक परम्परा भएता पनि यो सम्प्रदायको नाम “जोसमनी” कसरी रह्यो ? भन्ने प्रश्न अहिलेसम्म ठोस रूपमा अनुत्तरित नै छ । सम्भवतः यो मतको आदि प्रबद्र्धकको नाम जोसमनी नै थियो होला भन्ने अनुमान मात्र लगाउन सकिन्छ । जनक लाल शर्माका अनुुसार यो परम्पराका प्रथम, हरिश्चन्द (द्वितीय) हुन् भने त्यसपछिका सन्त थिर्जेदिलदास हुन् । उनका विषयमा अन्य तथ्यहरू बाहिर आएका छैनन् ।
जोसमनी सन्त परम्पराका प्रभावकारी व्याख्याता शशिधर पौडेल थिए । उनी पृथ्वी नारायण शाहका समकालीन थिए । उनले पृथ्वी नारायण शाहलाई समेत श्री सम्बोधन नगरी पत्र लेख्थे । शर्माका अनुसार शशिधर विहारको शाहवाद जिल्लाको धरकन्धा गाउँमा बस्ने भारतका कविरपछिका हठयोगी दरिया भन्ने व्यक्तिको सङ्गतमा थिए । त्यसैले सन्त शशिधर जातपात र कर्मकाण्डका आलोचक थिए । सन्त शशिधर पौडेल खस आर्य मूलका थिए तर जोसमनी सन्त परम्परा एउटा अमूक जातिको मात्र परम्परा थिएन, विशेषतः शशिधरकै कालमा यो परम्परामा नेपालका विभिन्न जात÷जाति भाषाभाषीहरू समाहित हुँदै गए । शशिधरकै मोक्षमण्डल भन्ने मगर चेला, शेषधर भन्ने गुरुङ चेला मायामण्डल भन्ने सुनुवार चेला तथा प्रेम दिल भन्ने बाहुन चेला थिए । पृथ्वी नारायण शाहका प्रसिद्ध भारदार धौकलसिंह बस्नेत, शशिधरसितै शिक्षित भएर दौकलदास बनेका थिए भने राजा रणबहादुर शाह शशिधरकै सत्सङ्गबाट प्रभावित भएर आफूलाई “स्वामी निर्गुणानन्द” घोषणा गरेका थिए । जर्नेल रणवीरसिंह थापा पनि जोसमनी सन्त परम्परा स्वीकार गरेर शशिधरका चेला भएका थिए ।
जोसमनी सन्त परम्पराको प्रचारले पश्चिम नेपाल हुन दार्जिलिङ हुँदै बर्मासम्म प्रचारको व्यापकता पाएको थियो । सन्त शशिधरले जीवनको उत्तराद्र्ध रेसुङ्गामा बिताएका थिए । जोसमनी सन्त परम्पराले परलोकभन्दा इहलोकको कार्य, सामाजिक सम्बन्धन र वैरागभन्दा निर्माणलाई प्राथमिकतामा राखेको थियो । जोसमनी सन्त परम्पराले लोक स्तरको कल्पना गर्दैन । स्वर्ग, नर्क सति पनि विश्वास गर्दैन । जोसमनी सन्त परम्पराको प्रभाव बालतपसी स्वर्गद्वारी प्रभू महाराजमा पनि पर्यो । स्वर्गद्वारीका महाप्रभू जोसमनी मतका हंशानन्दका चेला बनेका थिए । उनले आत्म सन्यास घोषित गरेपछि गेरूवा वस्त्र लगाएका थिए । तरपछि उनका केही नन्द ब्रम्हाचारी नामका गुरूमुखी गृहस्थ चेलालाई गेरूवा वस्त्र अनिवार्य गराइएन । पिताम्बर वा स्वेताम्बर इच्छा अनुरूप वस्त्र लगाउने प्रचलन आज पनि छ ।
सन्त शशिधरले योगलाई मुख्य स्थान दिएका छन् । उनले कसैको मृत्युमा आसौच बार्न, नपर्ने, अन्त्यष्टि क्रिया गर्नु नपर्ने, मृत शरीरलाई गाडे पुगिहाल्ने र ३ दिनमा भण्डारा लगाए पुग्ने विचार राखेका छन् । त्यसैले जात, भात, कर्मकाण्ड, मूर्तिपूजा आदि जस्ता कुरामा जोसमनी सन्त मत आदर्शवादी भइकन पनि कर्म काण्डीय हिन्दू संस्कारभन्दा प्रगतिशील पन्थका रूपमा देखिन्छम । सन्त शशिधर जोसमनी सम्प्रदायको इतिहासमा जोसमनी सन्तका रूपमा, समाज सुधारकका रूपमा तथा साहित्य र भाषाको एक जना सहजमानी आदर्शवादी चिन्तक देखिन्छन् । उनको चिन्तनको व्यापकता खस आर्य समाजमा मात्र कायम रहेन । समग्र नेपाल र भारतमा बर्मामा समेत प्रचारित भयो । उनको विचारले नेपाली समाजका जनता भारदार, जर्नेल, कर्नेल हुँदै राजाहरूको समेत दिमाग हल्लाउन पुगेको थियो ।
भारतमा मुस्लिमहरूको सानो फौजले विशाल हिन्दू समाजलाई आधिपत्यमा राख्न सफल हुनुका पछाडि जाति प्रथाले हिन्दूभित्र ल्याएको विभाजन मुख्य कारण बनेको थियो । हिन्दू भइकन पनि दलित र अपहेलित अवस्थामा रहेकाहरूले ब्राह्मण र राजपुतलाई मुस्लिम आक्रमण विरुद्ध साथ दिएनन् । हिन्दूहरूले त्यति कडा प्रतिरोध पनि गरेका थिएनन् । विचारमा मुसलमान कट्टर थिए । खानपान र रहनम सहनमा हिन्दूहरू कट्टर थिए ।
सिन्धु उपत्यकामा सन् ७१२ मा मुसलमानहरूले कब्जा जमाएका थिए भने मुहम्मद गोरीले ११९२ दिल्लीमा विजय गरेका थिए । कथित नीच जातिसित स्पर्श भएको खण्डमा स्नान गर्न पर्ने, अर्को जातिले छोएको खान नहुने, विदेश घुमेमा जात खसिहाल्ने हिन्दू परम्पराका कारण भारतमा हिन्दूहरू अल्पसङ्ख्यक हुँदै र अन्य मतसँग पराजित हुँदै गएका थिए ।
तर जोसमनी सम्प्रदायको निर्गुणवादको प्रचारले जातिवादको निन्दा गर्यो, जसको परिणाम प्रायः खास आर्य सन्तहरू भएको जोसमनी सम्प्रदायमा नेपालका सम्पूर्ण जात÷जाति, भाषाभाषी र विभिन्न समुदायका मानिसहरूले आश्रय पाए, जसको स्वाभाविक परिणाम कट्टर वा सनातन हिन्दू कर्म काण्डीय परम्पराले विभाजित बनाएको नेपाली समाज एकात्मक प्रणालीको दिशामा उन्मुख भयो । त्यति मात्र होइन, त्यति बेला भारत वर्षमा सक्रिय रहेको इसाई मतमा प्रभावित हुन सक्ने खतराबाट पनि रोकियो । जातिभेद, छुवाछूत र मानिस–मानिसबीचको विभेद भएको कारणले हिन्दू धर्मबाट मानिसहरू अन्य धर्ममा सहजै आकर्षित हुन्छन् भन्ने वास्तविकता बुझेका सन्त शशिधर पौडेलले जातिभेद विरुद्धमा उठाएको कदमले नेपाली सामाजिक जीवनलाई एकताबद्ध र बलियो बनाउन महत्वपूर्ण योग पुर्याएको देखिन्छ । यही जोसमनी सन्त परम्पराको प्रभावमा परेर नै रण बहादुर शाहले विधवा ब्राह्मणी कान्तवतीलाई विवाह गर्ने, तिनबाट जन्मेको छोरालाई राजा बनाउने, कतिपय स्थानमा मन्दिर भत्काउने र जहाँ पायो त्यहीँ खाने बस्ने गरेका थिए भन्ने मत पनि विद्वानहरूको छ, यद्यपि उनी सन्काह राजा थिए ।
एउटा आदर्शवादी दर्शनमा मात्र होइन, जोसमनी सन्त परम्परा एउटा ठूलो साहित्य पनि हो । यो परम्पराले नेपाली साहित्यको क्षेत्रमा पनि महत्वपूर्ण योग पुर्याएको छ । यो सम्प्रदायभित्र धेरै ज्ञानी सन्तहरू पैदा भएका थिए । त्यसमा श्याम दिलदास, निरष दिल दास, अच्युत दिलदास, धर्मदिल दास, सत दिलदास, वैदिक दिलदास, ज्योति दिलदास हंशानन्द आदि पर्दछन् । निरष दिलदासले पूर्व भोजपुरलाई केन्द्र बनाएर काम गर्दा अदेशदिल राई चेला भएका थिए । त्यसैगरी अगभदिल दास, धरणीदास, मङ्गलदास, कमलदास, अषद दिलदास, कृष्णदास, सीताराम दास, ज्ञान दिलदास आदि जोसमनी सन्त परम्पराका ज्ञानी साधु सन्तहरू थिए ।
नेपालमा वि.सं. १९०३ बाट जनरल जङ्ग बहादुर कुँवरको नेतृत्वमा राणा शासनको अभ्युदय भएको थियो । राणाहरूले सामन्तवादी चरम परम्परावादी ढङ्गले देशमा तानाशाही शासन कायम गर्न चाहान्थे । जोसमनी सन्त परम्पराले अगाडि सारेका विचारहरू पनि जङ्ग बहादुरलाई पाच्य भएन । लखन थापा मगर पनि जोसमनी सन्त परम्पराका अनुयायी थिए । जङ्ग बहादुरको शासन चरमोत्कर्षमा थियो । जङ्ग बहादुरले लखन थापालाई गोरखाबाट पक्रेर ल्याई उनी सहित ७ जनालाई फासीको सजाय दिएका थिए । अन्य ५० जना कठोर काराबासको सजायको भागिदार भएका थिए । यो काण्डमा सन्त ज्ञान दिलदास पनि पक्राउ परेका थिए ।पछि जङ्ग बहादुरका भाइ रणोद्विप र एउटी पौडेल र अर्को कोइराला थरकी ब्राह्मणी समेत जोसमनी सन्त परम्परामा लगे । जङ्ग बहादुरले ज्ञानदिलदासलाई नजरबन्द राखेको केही समयपछि मुक्त गराएर षडयन्त्रपूर्वक साँगाबाट बाहिर धपाएका थिए । राणाहरू जोसमनी सन्त सम्प्रदायको विचारबाट मात्र होइन, जुनसुकै नयाँ विचार समाजमा आउँदासाथ आत्तिहाल्थे । आर्य समाजको प्रचार र निरन्तरबाट पनि पछिल्ला राणाहरू कम्ती आतङ्कित भएनन् ।
जोसमनी सन्त परम्पराको शशिधर पौडेलदेखि यताको इतिहासले पनि जोसमनी सन्त चिन्तनको निर्माण र विकासको कार्यमा खस आर्यहरूकै नेतृत्वदायी भूमिका देखिन्छ भने जङ्ग बहादुर राणा जस्ता खस शासकहरू नै त्यसको कडा प्रतिवादमा उत्रेको परिदृश्य पनि छ । जाति प्रथा, छुवाछूत, हिन्दू धार्मिक कर्मकाण्डीय अन्धविश्वासको जगमा जनता लडाएर शासन सत्ता टिकाउने नेपाली सामन्ती खस शासकहरूले नै नेपाली माटोमा खस आर्यहरूकै नेतृत्वको जोसमनी चिन्तनलाईमाथि उठ्न र जनताको तहसम्म फैलिनबाट रोके । मस्टोपुजक खस सिमे, भूमे पुजक मगर, गुरुङ, किराँत थारू र अन्य सम्पूर्ण मधेश समेतलाई एउटा धारमा समेट्न प्रयत्नरत जोसमनी चिन्तनपछि मनुवादी हिन्दू वर्णाश्रमको पुरातनवादको ओझेलमा परेको देखिन्छ । सन्त परम्पराको इतिहास नबोकेको मस्टो, बराह, कुलानी गोठ पूजाको संस्कृति बोकेको खस आर्य समाजमा जोसमनी चिन्तनले सन्त परम्पराको मौलिक मौलो भने अवश्य गाडेको थियो । जोसमनी चिन्तनबाट उत्पन्न ज्ञानको धारा हिन्दू सनातनको एउटा नविन, मौलिक धारा भएको देखिन्छ । त्यसकारण कतिपय विद्वानहरूले भारतीय चिन्तक कबिरको नेपाली संस्करण भन्न पनि सक्छन् । खस आर्यहरूपछि मात्र हिन्दूकरण भए ।
नेपालमा प्रचलित कैयौँ चिन्तनहरू आयातित छन् । तर नेपाली माटोमा पैदा भएको मौलिक चिन्तनधारा जोसमनी चिन्तन धारा हो । यसले नेपालका सम्पूर्ण जाति, जनजातिको साझा चिन्तन धाराका रूपमा पनि वैचारिक उपस्थिति जनायो । जोसमनी सन्त परम्परा प्रकारान्तरमा नेपाली सन्त परम्परा भएकोमा शङ्का गर्ने ठाउँ छैन । त्यसो त जोसमनी सन्त परम्परालाई खस सन्त परम्पराका रूपमा मात्र अथ्र्याउनु गल्ती हुन्छ । आज नेपालमा उत्तर आधुनिक नश्लवादी राजनीतिले प्रवेश पाए पश्चात् जातिवाद र उग्र सम्प्रदायवादको आँधी चलिरहेको छ । त्यसैले नश्लवादी सांस्कृतिक साम्राज्यवादले हिन्दू संस्कृतिलाई मात्र होइन, बौद्ध र जोसमनी सन्त परम्परालाई समेत पराई ठान्ने र इसाईकरण हुनुलाई आफ्नो ठान्ने इतिहास द्रोही प्रवृत्तिको विकास भइरहेको छ । कुनै पनि धर्ममा र विचारमा आस्था राख्ने स्वतन्त्रता लोकतन्त्रमा सबैलाई छ तर इतिहासको अपव्याख्या र अवमूल्यन गर्ने स्वतन्त्रता कसैलाई छैन । तर पनि संस्कार र संस्कृति फेरिने र युग अनुरूप रूपान्तरित हुने विषय हुन् । प्राचीन रोममा निलघाटीमा, सुमेरिया, असिरिया र बेबिलोनमा जुन सभ्यता र संस्कृतिहरू निर्माण भएका थिए, ती आज छैनन् । प्राचीन ग्रिसको सन्दर्भमा पनि त्यही कुरा सत्य हो । तर इतिहास फेर्न र रूपान्तरित गर्न सकिन्न ।
उत्पादन प्रणाली, युगको चरित्र र समयको धड्कनसँगै हामीले हाम्रा चिन्तन संस्कृति र सांस्कृतिक मूल्य–मान्यताहरूलाई फेर्न, रूपान्तरित गर्न, जीवनमुखी बनाउन सक्छौँ बनाउन पर्छ तर इतिहासका परिदृश्यहरूलाई आजको साँचोमा ढाल्न सकिँदैन । सबै धर्म, सम्प्रदाय, संस्कार र परम्परामा नीति रहँदै आएका पुराना रूढिवादी, अन्धविश्वास र जीवनहीन मान्यताहरूका विरुद्धमा सच्चाइको तलबार उठाएर समाजमा पुनर्जागरण ल्याउन आवश्यक छ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ५ – Dec. 16, 2015 – २०७२ पौष १ गते, बुधबार)