~राजु नेपाल~
शनिबारको दिन। घाम पनि झोलुंगामा हल्लिँदै आएझैं पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो। तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै थियो। मानिसहरू उठेर दैनिक क्रियाकलापमा व्यस्त हुँदै थिए। मोटर गाडीको घर्घराहटले बिहानको निस्तब्धता छिचोल्दै थियो। केही मानिस आ–आफ्ना गन्तव्यतिर लम्किरहेका देखिन्थे।
त्यो बिहानी हुतराज आफ्ना परिवारसँग गफ गर्दै थियो। आज छुट्टीको दिन। ऊ छुट्टीमा प्रायः बाहिर जान मन पराउँदैन। यो उसको परिवारका लागि छुट्याएको दिन हो। नत्र त ऊ व्यस्त छ, अति व्यस्त; यो सहरजत्तिकै व्यस्त। हप्ताका छ दिन ऊ आफैंलाई फर्केर हेर्न भ्याउँदैन। आज आफूलाई निहार्न तथा छोराछोरीका निम्ति पिताको शीतल छहारी दिन ऊ घरै बसेको थियो। श्रीमतीले दिएको चियाको चुस्की सकिएको थिएन। अकस्मात् फोनको घन्टी बज्यो। सामान्यतः उसलाई शनिबार कसैको फोनसमेत उठाउन मन पर्दैन। आज किन हो, ऊ त्यसै उठेर फोन भएतिर गयो। फोन उसकी बालसखा सबिताको रहेछ। उनी त्यति धेरै फोन गर्दिनन् र विनाकाममा त झनै गर्दिनन्।
सबिता र हुतराज स्कुलका असाध्यै मिल्ने साथी। अचानक सबिताको आवाज सुनेर उसलाई आश्चर्य लाग्यो। साथसाथै खुसी पनि। उसले औपचारिकताबस केही सोध्न नभ्याउँदै सबिताले भनिन्, ‘हुतराज तिमीले लक्ष्मणका बारेमा थाहा पायौ?’
लक्ष्मण उसको बालापनको हितैषी मित्र। उनीहरू दुवै तीन दशकअगाडि भक्तपुरको पद्म स्कुलमा पढ्थे। लक्ष्मणको प्रसंग आउनासाथ उसको मनमा चिसो बरफझैं ठिहिर्याउने भाव मडारिएर आयो। केही दिनअघि उसले लक्ष्मण बिरामी परेको खबर सुनेको थियो। ढुक्ढुकाउँदो मनले बिस्तारै जिज्ञासा राख्यो, ‘अहँ? के भयो र?’
‘लक्ष्मण त बितेछन् नि?’ सबिताले शुष्कस्वरमा भनिन्। उसका आँखाअघि छिपछिपे अँध्यारो भरिएर आयो। मुटु जोडले थर्थरायो। उसले सकेसम्म आफूलाई सम्हाल्ने प्रयत्न गर्दै सोध्यो, ‘कहिले? कहाँ?’
‘भक्तपुरमै हिजो राति,’ सबिताको बोलीमा कुनै उत्साह थिएन। उसले पनि यसअघि केही सुन्ने हिम्मत गर्न सकेन। उनी अझै केही भन्दै थिइन्। उसले बुझेन। उनको बोली टाढा कतैबाट आएझैं धमिलो भएर उसको कानमा ठोकिइरह्यो। उसले कुनै प्रतिक्रिया जनाउन सकेन। फोन राखेर ऊ सोफामा लमतन्न पर्यो। दुवै हातमा टाउको अड्यायो र आँखा चिम्लियो। उसका आँखाका कुनाबाट एकनासले आँसुका थोपा चुहिए। उसले पुछ्ने प्रयत्न गरेन।
मनमा सिर्सिराउने चिसो हावा चल्यो। त्यही हावाले उडाएर उसका बालापनका केही मृदु स्मृतिहरू यत्रतत्र छरिदियो।
हुन त केही दिनअघि स्कुलकै अर्की साथी नीलाले फोन गरेर लक्ष्मणका बारेमा उसलाई बताएकी थिइन्। लक्ष्मणलाई लिभरको क्यान्सर भएर अस्पतालमा राखेको र क्यान्सर अन्तिम अवस्थाको भएको उसले थाहा पाएको थियो। तैपनि ऊ हेर्न जान सकेन। ऊ बिरामी हेर्न सक्दैन। उसको छाती थेग्नै नसक्ने गरी गह्रुँगो हुन्छ। यही कमजोरीले ऊ निकै मर्माहत हुने गरेको छ।
केही वर्षपहिले आफ्नै पिताको आखिरी अवस्थामा पनि ऊ अस्पतालको शैऒ्ढयासम्म पुग्न सकेन। हरेक दिन उहाँलाई राखिएको कोठाको ढोकासम्म जानु र स्वास्थ्य–अवस्थाबारे जानकारी राख्नु उसको दिनचर्या बनेको थियो, यद्यपि भित्र पसेर उहाँको अन्तिम दर्शन गर्ने हिम्मत जुटाउन सकेन। भित्रबाट पिता उसलाई हेर्ने अन्तिम इच्छा व्यक्त गरिरहनुहुन्थ्यो, ऊचाहिँ बाहिर छातीमा हातले थिचेर रुँदै बस्थ्यो।
उसले लक्ष्मणलाई पनि हेर्न जाने हिम्मत जुटाउन सकेन। जिन्दगीको अन्तिम मोडमा पुगेर आफ्नो अन्तरंग मित्रलाई अन्तिम हात हल्लाउने मन त थियो तर आफ्नो कमजोरीमाथि उसले यसपटक पनि विजय पाउन सकेन।
उसका आँखा आँसुले टम्म भरिए। तिनै आँसुमा मिसिएर उसको स्वच्छन्द बालापन गालाभरि छरियो। ती दिन ज्यादै प्रिय थिए। भक्तपुरका गल्ली–गल्ली चहार्दै स्कुल दौडिनु, एक आपसमा भलाकुसारी गर्नु, कहिलेकाहीँ कुनै कुरामा मत नमिले लात्ता हानाहान गरेर चल्नु अनि तुरुन्तै सुलह गर्नु; यस्तै थियो लक्ष्मण र उसको मित्रता। कहीँ कतै स्वार्थको नाम निशान थिएन। आज ती दिनको सम्झनाले मात्र पनि उसको मन शीतल हुन्छ।
आज उही परम मित्रको मृत्युको खबर उसले सुनेको थियो। मनको कुनै ठेगान थिएन। त्यो घरि रुन्थ्यो त घरि अतीततिर फर्किएर जान्थ्यो। के गर्ने/के नगर्ने, कुनै निर्क्योल गर्न सकेको थिएन। त्यसै बेला अर्को साथी शरदले लक्ष्मणलाई दाहसंस्कारका निम्ति घाटमा पुर्याएको खबर दियो। उसको दिमाग स्तब्ध भयो। मनमा भक्कानो छुट्यो। ऊ मनको भेलमा बहकिँदै भर्याङ ओर्लियो। थर्थराउँदो छातीलाई सम्हाल्दै गाडी निकाल्यो र साथीले बताएअनुसार लक्ष्मणलाई लगिएको भनिएको हनुमान घाटतिर लाग्यो। बाटोभरि गाडी चलाउँदै गर्दा उसको मनमा अतीतको याद बल्भि्करह्यो।
लक्ष्मण मध्य चालिसको उमेरमा थियो तर कपाल फुलेको थिएन। उसका गाला पोटिला थिए। पातला ओठमाथि काला बाक्ला जुँगा। ऊ आफ्ना उमेरका साथीभाइभन्दा उमेरले दस वर्ष कान्छोजस्तो देखिन्थ्यो। उसको हँसमुख बानीले गर्दा सबैका बीच प्रिय थियो। आफ्ना बानी–व्यवहारले उसले कसैको चित्त दुखाएको थिएन। त्यसैले उसका शुभचिन्तक धेरै थिए। उसको सरल व्यवहार र मिठो बोलीले लक्ष्मण धेरै नजिकको मित्र बनेको थियो। ऊ भक्तपुरकै एक विद्यालयमा विज्ञान शिक्षकका रूपमा अध्यापन गर्दथ्यो। उसका प्रशस्त विद्यार्थी थिए। तिनका बीच ऊ लक्ष्मण सरका रूपमा आदरणीय थियो।
गएको वर्षमात्र उसले छोरोको व्रतबन्ध गरेको थियो। त्यहाँ प्रायः सम्पूर्ण साथी आमन्त्रित थिए। छोराको व्रतबन्धको पार्टीमा आइदिएकोमा लक्ष्मणले उसलाई पटक–पटक धन्यवाद भन्यो। त्यति बेला हुतराजलाई छातीभित्र कताकता कसैले चिमोटिदिएझैं भएको थियो। उसले आफ्नो बालसखाका दुवै हात समातेर यसरी बारम्बार धन्यवाद नभन्न आग्रह गर्दै भनेको थियो, ‘बरु तिमीले आफ्नो भोजमा मलाई सम्भि्कदिएकोमा धन्यवाद!’ हुतराज विशिष्ट व्यक्ति भएको ठान्ने लक्ष्मणलाई पत्याउन सायद गाह्रो परेको हुँदो हो कि हुतराज अझै पनि उसको मित्र हो, केटाकेटीमा लात हान्दै खेलेको मित्र। हुतराजलाई लक्ष्मणको त्यो निःस्वार्थ मित्रताको तिर्सना अझै मरिसकेको थिएन। ओहदाले ऊ जतिसुकै माथि भए पनि मित्रतामा त्यहीँ थियो, आसपासमै।
गाडी भक्तपुरतिर मोडिँदा पनि उसलाई आफ्नो स्कुले जीवन र लक्ष्मणकै यादले पिरोलिरहे। भक्तपुर प्रवेश गरेदेखि नै उसका आँखासामु लक्ष्मणसँग बिताएका अमूल्य क्षण फन्को मारिरहेका थिए। मन हिउँझैं जमेको थियो। उसले बाटोमा दायाँ–बायाँ केही देखेन। आँखामा केवल लक्ष्मण र वियोगको पीडामात्र महसुस गरिरहेको थियो। उसले हनुमान घाटमा पुर्याएर आफ्नो गाडी रोक्यो। घाटको एकछेउमा मानिसको जमघट थियो। चितामाथि कसैलाई फूल–अबिरले सिँगारेर सुताइसकेको देखेपछि ऊ पनि त्यतै लाग्यो, नभन्दै त्यो उसकै साथीको अन्तिम यात्रा थियो।
वरिपरि नेवार समुदायको बाक्लो उपस्थिति। ऊ पुग्दा स्कुलका साथीहरू उदय, शरद, कपिल र प्रकाश त्यहाँ पुगिसकेका थिए। तीबाहेक उसले चिनेका धेरै मानिस थिएनन्, तर पनि सबै परिचितझैं लाग्यो। हुतराज गह्रौं मन र छचल्किँदा आँखा लिएर चिताको नजिकै गयो। लक्ष्मण फूल–मालाले छोपिएर निदाइरहेको थियो, चीर निद्रा। अन्तिमपल्ट उसको बोली सुन्ने इच्छा भयो। उसको उही स्वरूप थियो– पातलो जिउ, काला जुँगा र तेजस्वी अनुहार। एकटक लक्ष्मणको पार्थिव शरीर हेर्यो। वरिपरि लक्ष्मणका विद्यार्थीहरू निन्याउरो अनुहार लगाएर आफ्ना गुरुलाई अन्तिम श्रद्धाञ्जली दिन कुरिरहेका थिए। उनीहरूले लक्ष्मणप्रति श्रद्धाले उच्चारण गर्ने सर र उसलाई मानिसले सम्बोधन गर्ने सर शब्दमा कति भिन्नता थियो। लक्ष्मणको सरमा श्रद्धा लुकेको थियो भने उसको सरमा बाध्यता लुकेको ऊ प्रस्टै थाहा पाउँथ्यो। उसको मनमा चिसो निःश्वास चल्यो। ऊ त्यहाँबाट उठेर यताउता टहलिन थाल्यो। लक्ष्मणको मृत शरीरसँगै उसले लक्ष्मणको जुम्ल्याहा दाजु रामलाई नेवारी परम्पराअनुसार खास्टो ओढेर टुक्रुक्क बसेको देखेर सम्‰यो– एकैदिन, एउटै ठाउँमा, एउटै आमाको कोखबाट जन्मेका दुई जुम्ल्याहामध्ये एक मृत छ र एक उसको वियोगमा छटपटाइरहेको छ। दैवको लेखाइसँग उसलाई रिस उठ्यो तैपनि यो समय रामले के सोच्दै होला भन्ने उसले कल्पना पनि गर्न चाहेन।
अलि पर एउटा तेह्र–चौध वर्षजतिको केटो सेतो धरो फेरेर उभिएको थियो। ऊ आफ्नो खाली पैताला चिसोले कठ्यांग्रिएर चलाउँदै थियो भने छिनछिनमा बाबुको मृत शरीर अनि आउने मानिसलाई हेर्दै थियो। उसलाई अर्को वयस्क पुरुषले समातेको थियो। हुतराजलाई अन्दाज गर्न गाह्रो परेन, त्यो लक्ष्मणको छोरो थियो जसको व्रतबन्धमा अघिल्लो साल सबै साथीको भेटघाट भएको थियो। उसले आँखा बन्द गर्यो। मन चसक्क दुखेर आयो। उसले भक्कानिँदो हृदयले सोच्यो– ‘यति बेला म मरेँ भनेँ मेरो छोरो पनि यसैगरी निरीह भएर उभिन्छ होला।’ उसले लक्ष्मणको छोरामा आफ्नो छोरा देख्यो। लक्ष्मणको छोरालाई गएर गम्लंग अँगालो हालेर रुन मन लाग्यो। पितृ वियोगमा छटपटाएको छोरोलाई गएर टाउको मुसार्दै सान्त्वना दिन मन लाग्यो। तर उसले हिम्मतै जुटाउन सकेन। आफ्नै छातीभित्र अथाह पीडा उर्लिइरहेको थियो। उसले जसोतसो आफ्नो मन थुम्थुमायो।
चितामाथि लक्ष्मणलाई राखिसकिएको थियो। हुतराजले आँखा झिमिक्क नगरी आफ्नो साथीको अनुहार मनभरि नियाल्यो। उसका खुट्टा ओढाइएको पहेँलो कपडाभन्दा बाहिर निस्किएका रहेछन्। हुतराजलाई गएर छोपिदिऊँ झैं लाग्यो। यो पुसको ठन्डीमा उसलाई कति जाडो लागेको होला? भावावेगमा ऊ हुत्तिएर अघि बढिसकेको थियो। तुरुन्तै उसको मनले महसुस गर्यो, अब त लक्ष्मणलाई केही हुँदैन न जाडो न गर्मी। ऊ त अब निदाइसकेको छ। चीर निद्रामा। यो संासारिक जञ्जालबाट टाढा उसको आत्माले मुक्ति पाइसकेको छ।
उसको पैतालादेखि चिसो सरेर तालुसम्म पुग्यो। हात–गोडा सिरिंग भए। मन भारी हुँदै आयो। जिन्दगी के रहेछ र! पानीको फोकाझैं क्षणभंगुर त रहेछ नि। मान्छे व्यर्थै अतृप्त प्यासको पछिपछि दौडन्छ। उसको छातीलाई नैराश्यले खँगार्दै लैजान्छ।
घाटमा लक्ष्मणलाई दागबत्ती दिने बेला भइसकेको थियो। ऊ पनि आफ्ना जुत्ता–मोजा फुकालेर लाममा उभिन गयो। जल चढाउने लाइन रहेछ त्यो। सानो घैंटोमा प्वाल पारेर सबैका अँजुलीमा पानी दिइयो। उसले पनि पानी थापेर लक्ष्मणको मुखमा हालिदियो। उसका हात–खुट्टा थरर्र काँपे। मुटु जोडले ढुक्ढुकायो। उसलाई रिंगटाले छोप्लाजस्तो भएर आयो। ऊ धर्मराउँदै अघि बढ्यो। अलि पर्तिर उभिएर आफ्नो प्रिय साथीको अन्तिम दर्शन गर्यो।
उसको मनमा स्कुले जीवनका अनगिन्ती तस्बिर एकपछि अर्को गर्दै फन्को मार्न आए। उसको मनमा एक तमासले गाँठो परेझैं भयो। ऊ जसोतसो आफ्नो मन थुम्थुमाएर केही अघि बढ्यो। अलिकति पर्तिर सरेर अग्निमा लपेटिँदै गएको आफ्नो साथीलाई निहार्यो।
बिस्तारै चिता आगोको लप्काले छोपिँदै आयो। हुतराजलाई आफ्नो मनमाथि काबु राख्न गाह्रो पर्दै गएकोले केही बेर अर्कोपट्टि मुख फर्काएर उभियो। रसाएका आँखाका कुना पुछ्यो। आफ्नो पैतालामुनिको जमिन पनि धस्सिँदै गएझैं भयो। छातीमा मडारिँदै आएको भक्कानोलाई धेरै बेरसम्म रोकिराख्ने धैर्य जुटाउन गाह्रो पर्दै गएकोले ऊ फर्कियो र आफ्नो गाडीतिर लाग्यो।
आज उसले जिन्दगीको अमूल्य पल गुमाएको छ। उसको मन रित्तो भएर आउँछ। बाटोभरि उसका मन मस्तिष्कमा लक्ष्मण र उसको यादमात्र घुमिरहन्छन्। सिनेमाको पर्दामा झैं ऊसँग बिताएका क्षणहरू एकपछि अर्को गर्दै फन्को मार्न आउँछन्। ऊ चाहेर पनि तिनलाई रोक्न सक्दैन। आँखाबाट धैर्यको बाँध तोडेर आँसुको भेल उर्लिन्छ, एकनासले उर्लिरहन्छ। अलबिदा मेरो प्यारो साथी!
२० पुष, २०७०
(स्रोत : नागरिक – शनिबार)