कविता : विमलाहरू

~विष्णु विभु घिमिरे~Bishnubibhu Ghimire

विमला उसको नाम हो
उसका बाबुआमाकी जवान छोरी हो
क्याम्पसमा पढ्दै गरेकी मेहनती छात्रा हो
विमला उसको थर छैन
विमला स्वास्नीमान्छे हो
(स्वास्नीमान्छेको थर हुँदैन)

थुप्रै सपनाहरू बुन्दै
रामायणकालकी आफ्नी आमालाई सम्झाएर
यो सहरमा आफ्नो भविष्य बनाउन बसेकी छ

गाउँमा उसकी बूढी आमा
छोरीको कुरा समाजले काटेकोमा
पश्चात्तापमा आँसु खसाउँछिन्

उसका बाबु केही कठोर भएरै बाँच्न सकेका छन्
विमलाहरू यो देशमा
अझै सिसाको घर जीवन बाँचेका छन्
(मलाई थाहा छ सारै कमजोर बाँचेका छन्)
सिसाको घर

साना नानीहरूले ढुङ्गा हाने पनि फुट्छ
ठूला मानिसले ढुङ्गा हाने पनि फुट्छ
सिसा फुटेपछि जोडिएको छैन
सिसा फुटेपछि त्यहाँ कसैले आफ्नो प्रतिबिम्ब हेर्दैन

विमलाहरू सम्पन्न बाबुका छोरीहरू पढ्ने क्याम्पसका
असम्पन्न विपन्न स्थितिका मजबुरहरू हुन्
विमलाहरू सम्पन्न अफिसका
असम्पन्न कर्मचारीहरू पनि हुन्
विमलाहरू जुनसुकै सुश्री युवतीहरू हुन्
जसलाई यो महँगो शहरले सस्तोमा किनेको छ
मनको चोट
कति सजिलै ओठको मुस्कानले छोपेका छन्
विमलाले थाम्न नसकेर एक दिन
अस्तिको दिन
मलाई जब यी कुराहरू भनी
मृत्युभन्दा बाँच्नुको आवश्यकता ठानेर
रासनपानी र कोठाभाडालाई जोडेर
पहिले आफूलाई अलिकति बेची
सारी र सेन्डिलको अभावमा

जब बाहिर निस्कनै दुःसाध्य भयो
उसले सम्पूर्णमा आफूलाई बेची
भन्दै थिई-
‘अब नबेची आफूले आफैंलाई
आफूलाई किन्न सकिँदैन

स्वर्ग चाहिएन मलाई
पाप नगरी यहाँ बाँच्न सकिँदैन’
म निरुत्तर टोलाएँ

ऊ हिँडिसकेकी थिई
मनमा एउटा प्रतिध्वनि गुञ्जिरह्यो
‘अब नबेची आफूले आफैंलाई
आफूलाई किन्न सकिँदैन’

स्वास्नीमान्छेको जे कुरा पनि बिक्री हुन्छ

म लोग्नेमान्छे
यो अभावमा मेरो के बिक्री हुन्छ ?

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.