~लक्ष्मण नेवटिया~
मातृभूमिको नुनको सोझो गर्ने चाहना बोकेर
आफ्नो अंशको कर्तव्य निर्वाह गरुँ भनि उद्यत भै सोचेर
प्राप्त गर्न आफ्नो अपेक्षित अधिकार
मतदान केन्द्रमा हेलिएँ गर्दै हतार
थमाइयो मतपत्र जस्को क्यालेण्डरीय आकार
पहिले त मक्ख परें हेरि उपहार, बुट्टेदार
बीस वर्षपछि पाएको नागरिक अधिकार ।
आवेगित मेरा रहरहरु
मौरीको यस घारमा खोज्दा खोज्दै थाकें
आफुले रुचाएको उम्मेदवार
कता कहाँ लगाउनु कति पटक लगाउनु
स्वस्तिक छाप गोलाकार !
चिन्है चिन्हको भुमरीमा
कति रूमलिनु- कति अल्मलिनु
आम नागरिकका लागि त भयो
क्यालेण्डरीय मतपत्र निल्नु न ओकल्नु ।
चोइटियो आस्था कसलाई के बोल्नु- कति मुख खोल्नु,
पाएर पनि नपाएको जस्तो-
नबोक्नुपर्नेलाई पनि बोक्नु परेको कस्तो !
गह्रुँगिएको जनताको मन छातीमा हुँडलिन आएको छ
दिग्भ्रमित हुँदा आकाशमा पुग्नु पर्नेलाई
पातालमा पुर्याइएको छ ।
बदरमतको ओछ्यान्मा थला परेको छ मताधिकार,
न दाँतलाई न आँतलाई भने झैं कतै कुनै पुगेन आधार
यतिका वर्षमा घोरेटो बन्नु पर्थ्यो मूलबाटो
झन् बन्यो गोरेटो मूलबाटोको साटो ,
जनताले बढी रुचाएको नेता,
“बदरको बाँदर” ले तानेर लगि,
बसाएको छ भूइंमा योगासनमा,
बस्नु नपर्ने बसेका छन् कति नै
पाँचवर्षे सिंहासनमा ।
यसलाई न ठान्नुस मात्र कविता
यो आजको जिउँदो व्यथा छ- वेदनाको कथा छ
जो छ सत्तामा सोच्नु पर्ने यता छ!!
आमजनताको सम्मानका लागि आह्वान छ,
फेरि नदोहोर्योस् यस्तै? के समाधान छ?
तथ्य यो सत्य हो-
यस क्यालेण्डरीय मतपत्रले,
जनचाहनाको अधूरो भएको छ कदर,
रोजाइ माथि रजाइँ भएर
“भोट बदर – नेता सदर !”
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)