~दिपा धिताल~
हेलो ! कवि ज्यु । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है ।
एक्कासि एउटा अपरिचित व्यक्ति फोनमा बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भने कवि ? कथा ?कसलाई भन्नू भएको ? मैले त बुझेननी ? ।
बुझ्नु पनि कसरी तपाईँले मलाई चिन्नु नै भएको छैन । उसो भए मलाई नचिनेको मान्छे सँग कुरा गर्न मन पर्दैन । फोन राख्नुस् है ।
अरे ! कविहरू त कोमल मनका हुन्छन् रे तर तपाईँ त कति चाँडै रिसाउनु भएको । चिनजान गरे हुँदैन र ?
मनलाई कोमलता सँग नदाज्नुहोस आफ्नो परिचय दिनुहोस् न त उसो भए । मैले पनि ठाडो जबाफ दिएँ ।
उसले फेरि भन्यो तपाईँले लेख्नुभएका कथा कविताहरू यथार्थतामा आधारित हुन्छन् । के ती कथा कविताहरू सबै तपाईँका भोगाई हुन ?
म हाँसे हा हा हा …….सबै लेखाइ भोगाई हँुदैनन् र सबै भोगाई लेखाइ हँुदैनन् महोदय् । जब कुनै पनि घटना परिस्थिति ले मनलाई छुँदैन तबसम्म कथा कविता केही लेखिँदैन एउटा लेखकले आफूलाई कहिल्यै लेखेको हुँदैन ।
उसो भए मेरो एउटा कथा छ म तपाईँलाई सुनाउँछु लेखिदिनुहोस न हैे !
यति बेला भने मलाई झनै रिस उठ्यो । मेरो खिल्ली उडाए झैँ लाग्यो । र भनिदिए मलाई लेखनको लागि कथा माग्दै हिँड्ने मगन्ते जस्तो लाग्यो के हो ?
हैन,हैन साँच्चै भनेको अन्यथा नसोच्नु होला । मिल्छ भने लेख्दिनुस न है ।
मैले भने कस्तो कथा हो तपाईँको आफ्नै वास्तविक होकि कतै काल्पनिक मा त मलाई फसाउन लाग्नु भएको हैन ?
किनकि एक पटक मलाई एक जना साथीले पनि वास्तविक कथा हो लेख्नुहोस भनेर लेखे पछि काल्पनिक नै रहेछ । उसले मलाई उल्लु बनाएको थियो तर पछि पत्रिकामा छपाए पछि वास्तविकतामा आधारित कथा छ भनेर धेरैको राम्रो प्रतिक्रिया पाएकी थिएँ ।
उसले फेरि भन्यो मेरो त हैन तर मेरो साथीको वास्तविक कथा हो । उसले तपाईँको कथा कविता पढ्दो रहेछ निकै राम्रो मान्दो रहेछ । त्यसैले तपाईँलाई लेख्न लगाएको नि ।
मैले भने तपाईँको साथीको आफ्नै कथा नै हो भने साथी सँग मलाई भेट गराइदिनुहोस न किन तपाईँ भरिया बनेको त ?
म भरिया चाहिँ हैन । साथी अहिले यहाँ छैन टाढा छ । म भनिदिन्छु उसको कहानी ।
मैले भने ,कहानी ? कस्तो कहानी ?
उसको प्रेम कथा हो ।
म हाँसे हाहाहा… ए प्रेम कथा पो मलाई त लेख्न आउँदैन हो प्रेम कथा लेख्न ।
म भन्दिन्छु हजुरले लेख्नुहोस् ।
अहिल्यै ?
हैन भेटेर भन्छु नि ।
कहाँ भेट्नु हुन्छ ?
भोलि एउटा साहित्य कार्यक्रम छ हजुर आउनु हुन्छ सायद म पनि त्यही आउँछु भनौला नि ।
ए ए .. हुन्छ नि ।
भोलिपल्ट एउटा साहित्य कार्यक्रममा भेट भयो ऊ सँग । मैले भने चिनेको थिएन । उसैले मलाई चिनेको रहेछ र आफैले बोलायो । कार्यक्रम सिद्धएपछी एउटा चिया पसलमा उसको आग्रह अनुसार म पनि गएँ । चिया पिउँदै उसले आफ्नो साथीको कथा सुरु ग¥यो । मानौँ ! ऊ नै कथाकार हो । लेख्दै छ आफ्नै साथीको कथा र मलाई यसरी सुनाउँदै छ ….!
त्यो दिन आँखा भरी आँसु पारेर ऊ यसरी रोएको थियो कि त्यस्तो रुवाई आज सम्म मैले कसैको देखेकै छैन । सायद नजिकै नदी बगेको भए नदीले नै उसको आँसुलाई पनि सामेल गराएर हिँड्थ्यो होला । उसका ती सुन्दर जून जस्तै देखिने आँखाको डिलबाट आँसु हैन पहाड बाट ठोकिँदै ठोकिँदै आएको छाल बगिरहेको छ आज । म नै हँुला सायद उसको आँखा बाट खसेका छालहरू देख्ने पहिलो व्यक्ति । जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि बाहिर सधैँ अरूको अगाडि खुसीका साथ हिँड्ने मान्छेलाई के भएछ आज । म अचम्म मा परे र उसको नजिकै गएर भने ।
अरे… शिखर सधैँ जून जस्तै देखिने तेरो अनुहारमा आज किन ग्रहण लाग्यो ? जिन्दगीमा जस्तोसुकै पहाडले थिचेपनी सधैँ खुसी हुनुपर्छ भन्दै मुस्कुराउदै ,अरूको आँसुलाई हौँसला दिँदै हिँड्ने मान्छे नै दुखी आज ? पत्थर जस्तो मुटु पग्लियो कि के हो हँ ? के भयो तँलाई ? किन यसरी रुँदै बसेको कोठामै ? आज अफिसमा बिदा नै मागेर रुनकै लागि बसेको होस के हो ? फेरि छोरा मान्छे यसरी रोएको सुहाउदैन है नरो मलाई रुने साथी मन पर्दैन ।
उसलाई एक एक गरेर सोध्ने प्रश्न आज एकैपटक सोधिदिए मैले । मानौँ ,कुनै युद्धमा बन्दुक बोकेर हिंड्न् लागेको सिपाही झैँ गरेर ।
शिखर , जो हामी यात्राका क्रममा यही बाटोमा भेटिएका थियौँ । यही बाटोमै उसको र मेरो परिचय भएको थियो । परिचयको क्रम सँग सँगै हामी एक आर्काको एकदम मिल्ने साथी भैसकेका थियौँ । एक अर्काका दुःख ,सुःख , खुसी, आँसु बाँड्ने गर्दथ्यौ । शिखरको त्यो व्यवहार र इमान्दारीताले नै मलाई उसको नजिकको दुःख,सुःख, आँसु,खुसी साट्ने साथी बनाएको थियो ।
केही समयको मौनता पछि शिखरले भन्यो । हेर राम सबैका आ–आफ्नै पिर र चिन्ता छन् । आशा र भरोसा छन् । इच्छा र चाहनाहरू छन् । फरक यत्ति हो कि कोहीले उपन्यासमा छापिएका लामा –लामा कथाहरू झैँ सुनाउँदै हिँड्छन् भने कोहीले मुटुमै कुटुरो पारेर हिँडेका हुन्छन् । आफ्नो मुटु ढुङ्गाले थिचेर हो अरूको अगाडि खुसी र सुखी देखिने भनेको । के हामी छोरा मान्छेको मन हँुदैन ? पिडा हुँदैन ? हाम्रो पनि तिमीहरूको जस्तै मन छ । मुटु छ । पिडाहरू छन् । कतिपय काम कुराहरू ,यात्राहरू बहानामा गर्नुपर्छ । सबैको अगाडी दुख भयो ,पिर भयो भनेर आँसु खसाएर किन हिँड्ने । कसैले कठै भन्ला तर कोही कसैको आँसुमा रमाउने व्यक्तिहरू पनि त हुन्छन् । आँसु को पनि आफ्नै मूल्य र मान्यता हुन्छ । परिधि हुन्छ । उसको नि निश्चित समय हुन्छ राम ।
छोड्दे यी कुरा कहिलेकाहीँ आशु बगाउनु पनि पर्छ । ठिकै छ ! भन बरु के छ तेरो खबर ?
मैले भने हेर ,शिखर मलाई थाँहा छ तेरो बानी तँ कस्तो मान्छे होस भनेर । तैँले आफ्नो मुटु ढुङ्गामा थिचेर अरूलाई खुसी र सुखमा देख्न चाहान्छस हैन ? किन रोएको होस तँ त्यो पनि मलाई थाहाँ छ । उसले दलाइ मन पराउँदिन त पराउँदिन । तँ फेरि उसैको यादमा किन रोएर बसेको छस् । फेरि उसले दलाइ प्रेम गर्दैन भनेकी छैन । तैँले पनि खुलेर उसलाई प्रेम गर्छु भनेको छैनस् । कस्तो मूर्ख प्रेम हो यार तेरो यो ।
हेर ! चन्द्र दलाइ थाहाँ छैन । तर उसलाई मैले माया गर्छु भन्ने कुरा स्पष्ट थाहाँ छ । थाहाँ भएर पनि बहिरो बनेको बहाना गरेकी हो उसले । माया गर्नु भनेको उसको शरणमा परेर ,उसलाई अँगालोमा बेरेर ,उसलाई चुम्बन गरेर मात्र माया गर्नु होइन । निस्स्वार्थ माया मुटुमा ,मनमा बसेको हुन्छ । मेरो प्रेम शारीरिक आकर्षण होइन । भावनात्मक उपज हो । म उसलाई प्रेम गर्छु । के मैले गल्ती गरे चन्द्र ?
शिखर ! जीवन भनेको भ्रम र मुर्खताको यथार्थ पनि हो । कतिपय सम्झनाका गेडाहरू नचाहँदा नचाहँदै पनि लडिबुडी गरिरहन्छन । छोड्न नै मान्दैनन् । जीवनका सबै घाउचोट र यादहरू सधैँ भरी सम्झने भए मान्छे वहुलाउथ्यो होला ।
जीवनमा त्यति बेला मुर्खता हुदोरहेछ शिखर ! जोतिबेला केही सम्झना र यादहरू बिर्सन खोज्दा पनि जबर्जस्त बसिदिन्छन मुटुमा । टाढीन नै मान्दैनन् । जिन्दगीका बाटाहरू फरक भए पनि कतिपय यादहरूले कुम ठोक्याउदै पनि हिँड्छन् । तर बिर्सन कोसिस गर । माया भनेको एकोहोरो हैन दोहोरो हुनपर्छ । एक औलाले प्रेम लिखिदैन शिखर । मायामा घमण्डता हैन कोमलता हुनुपर्छ । माया भौतिक प्रमाण भन्दा दूर र आत्मा सँग नजिक हुनुपर्छ । फेरि मायामा दया पनि हुँदैन । म तँ जस्तो महान् त छैन । तर आजभोलि दिलमा बसेर प्रेम गर्नेहरू यो समाजमा कम भेटिन्छन् ।
शिखर ले भन्यो , मन्दिरा तेरा कुरालाई मैले अस्वीकार गरेको छैन । प्रेम बाचा र कसम को सामिप्यता भन्दा विश्वासको छहारीमा मौलाएको हुन्छ । म उसबाट केही लिन चाहान्न र म सँग दिने पनि केही छैन । भौतिक प्रमाण भनेको सब निर्जीव हुन सजीव भनेको यहीँ माया नै हो । म सँग प्रमाण भनेको यही चोखो माया नै छ । म कसरी देखाऊ यो प्रमाण भन त ? मैले भने शिखर ! चोखो प्रेम गर्नेहरुले प्रमाण नै खोज्दैनन् । यदि उसलाई प्रेम गर्छस् नै भने भन न त म प्रेम गर्छु भनेर । हैन भने प्रेममा धेरै झाङ्गिन नखोज पागल हुन्छस् नत्र । यादहरूका पहाडलाई नाघेर त हिँड्न सकिँदैन तर पनि प्रयास गर्नुपर्छ ।
चन्द्र..म उसलाई प्रेम गर्छु तर पनि ऊ सँग किन भागिरहेछु भने यदि उ सामु मेरो प्रेम अभिव्यक्ति गरे भने आज सम्म ठेस नलागेको मेरो आत्मसम्मान मा ठेस लाग्छ कि भन्ने डर छ मलाई । यो मेरो पहिलो र गम्भीर प्रेम हो म चाहान्न कि मेरो पहिलो प्रेम असफल बनोस् ।
मैले भने, शिखर दीक्षा त्यस्तो केटी हैन बुझ्छे उसले तेरो प्रेम । तेरो जस्तो छ उस्तै बिचार, सोच छ उसको पनि। मैले राम्रो सँग चिनेकोछु दीक्षालाई ऊ आम केटीहरू भन्दा अलि भिन्नै छे । ऊ कुनै लोभ र मोहमा डुब्ने केटी हैन ।
शिखरले भन्यो त्यसो भए किन बुझ्दिन उसले मेरो प्रेम ?
तैँले भनेको पनि छ छैनस् नि अनि कसरी थाहाँ हुन्छ उसलाई तैँले प्रेम गर्छस् भनेर । उसले त दलाइ एउटा सच्चा इमान्दारी साथी मात्र भन्दै थिई ।
यस्तै हुन यार यी माया प्रेमका कुरा । कस्तो मान्छेलाई कस्तो बनाइदिन्छ । तर हामीले विगतलाई भुलेर वर्तमान रंगिन बनाउनुपर्छ । विगत हाम्रो सम्झना मात्र हो । त्यसैले वर्तमानलाई निराश बनाउन नखोज । कहिलेकाहीँ फुलका पत्रैपत्र केलाउँदै जाँदा काँडाले पनि घोच्छ । जीवन भोग्नु र देख्नु एउटै नहुँदो रहेछ । सबै मान्छेहरूको मन एउटै नहुँदो रहेछ । सबैको जीवन भोगाई एउटै नहुँदो रहेछ । मान्छे सोचे भन्दा धेरै फरक हुँदोरहेछ । कोही आफन्तहरू पनि आफन्त जस्ता नहुँदा रहेछन् । कोही मित्रहरू पनि मित्र जस्ता नहुँदा रहेछन् । अनि जीवन पनि सोचेभन्दा धेरै फरक छ शिखर त्यसैले एकोहोरो माया गरेर मनमा आगो सल्काएर मुटुलाई खरानी बनाउन नखोज । आजका कतिपय प्रेम प्रेमिकाहरू लोभ र मोहको तालाऊ मा डुबेर आफ्नो अस्तित्व नै भुलेको छन् । यस्तै हो कहिले मन मिल्ने सँग बिचार मिल्दैन त कहिले कहिले बिचार मिल्ने सँग मन मिल्दैन कहिले दुवै मिल्ने सँग भाग्य मिल्दैन । तेरो पनि भाग्य नमिलेको होकी ।
त्यति भने पछि म पनि त्यो अवस्थामा शिखरलाई छोडेर घरतिर लागे । उसले अझै पनि कुरा गरिरहन्छ दिक्षाकोे !
उसले यती कुराहरू बोल्दै जाँदा मैले उसका कुराहरू एक तमासले सुनिरहे । केही बोलेन । मेरो मन पनि निचोरीयो एक पटक । कागती निचोरीएझै । यो माया कस्तो माया बुझ्नै नसकिने । माया बुझ्ने कुनै यन्त्र नै भएन सायद यन्त्र भइदिए आगो सांक्षि राखेर जोडिएका सम्बन्धहरू छुट्टिने थिएनन् ।
उसको नाम चन्द्र मैले सोधे !
अनि चन्द्र जी ! दीक्षा र शिखर जी लाई कहाँ के गर्दै हुनुहुन्छ त आजभोली ?
शिखर पढाइको सिलसिलामा जिल्ला बाहिर छ अहिले र सुन्दै छु दीक्षा पनि यतै छ रे
के शिखर जी सँग मलाई भेट गराउन सक्नुहुन्छ ?
किन ?
कहिलेकाहीँ कठोर वर्तमान सँग पनि जुधेर हिँड्नु पर्ने हुन्छ चन्द्र जी ,उहाँ सँग प्रत्यक्ष भेट भएस् केही कुराहरू मैले पनि उहाँलाई भन्न पाउँथे कि भनेर !
ए होर उसले नि तपाईँलाई भेट्ने मन गर्दै थियो ।
कहिले आउनुहुन्छ शिखर यहाँ ?
एकदुई महिना पछि आउँछ होला ।
उसो भए आयसी मलाई भेट्ने भन्नुस् है ? अनि दीक्षा लाई पनीे !
हुन्छ ।
केही समय पछि ……
एक दिन म काम विशेष ले घर बाट अलि टाढा गएकि थिएँ । त्यतिवेलै चन्द्र को फोन आयोे र शिखर सँग भेट्न आग्रह गर्नुभयो उहाँले । मैले पनि नकार्न सकिन । समया मिलाएर भेट्ने निधो गरे ।
दिउँसोको पारीलो घाम समय आफ्नै गतिमा दौडिरहेछ । म पनि त्यही समयको पछि ,पछि दौडिरहेछु । चिया पिउनको बाहाना पारेर शिखर र चन्द्रा लाई भेट्न म पनि चन्द्रले बोलाएको एउटा चिया पसलमा पसे ।
सदिक्षा जी ! कति ढिला हो आउन पनि ?
ढिला त भइहाल्छ नि चन्द्र जी थोरै काम थियो सकेर नै आऊ भने ढिला भयो नि । अरे ! प्रवीण जी तपाईँ पनि चन्द्र सँगै ? कहिले चिनजान भएको चन्द्र जी सँग ?
प्रवीण सँग एक वर्ष पहिले एउटा कार्यक्रमा नै भेट भएको थियो । कहिलेकाहीँ उहाँ सँग फेसबुकमा कुराकानी पनि हुने गथ्र्यो । जीवन र दर्शनका कुरा पनि गर्नुहुन्थ्यो । निकै इमान्दारी र सभ्य मान्छे ।
त्यतिकैमा चन्द्र बोले । हामी साथी हौँ नि सँगै पढेका ।
ए ! हो र
मैले फेरि सोधे । चन्द्र जी खै त शिखर मैले त देखेन नि ?
अ…..शिखर !
किन के भयो र ,उहाँ आउनु भएन ?
उहाँ यही हुनुहुन्छ ।
खै त देखेन मैले, अनि दीक्षा ?
उहाँ पनि यहीँ हुनुहुन्छ ।
हैन के भन्दै हुनुहुन्छ तपाईँ यतै रे ? खै त देखेन मैले ।
मैले सोधिरहँदा शिखर र प्रविनको अनुहार निकै खुसी देखिन्थ्यो मानौँ युद्ध जितेको सिपाही झैँ ।
मैले रिसाउँदै भने चन्द्र जी के तपाईँले मलाई केटाकेटी जस्तै ठान्नु भएको ?
अहिले भने ऊ डराउदै बोल्यो । सदिक्षा जी ! त्यस्तो ठानेको हैन । कुरा के …भने…।
के हो कुरा स्पष्ट भन्नु न ? किन चपाइरहनु भएको हो ।
यति बेला भने चन्द्रको अनुहार पुरै ग्रहण लागे झैँ अँध्यारो भयो । प्रविनको अनुहारको रङ्ग नै बदलियो । मानौँ उनीहरू कानुनको कठघरामा उभिएर न्यायधिस समक्ष आफूलाई पुरै दोषी साबित गर्दैछन् ।
त्यसपछि चन्द्र बोले । वास्तवमा मैले तपाईँलाई सुनाएको शिखरको कथा कुनै काल्पनिक हैन ,वास्तविक नै हो । बरु मैले तपाइलाई सुनाएको कथाको पात्र शिखर काल्पनिक थियो वास्तविक भने यही प्रवीण हो ।
मैले भने अनि त्यो दीक्षा नि ?
त्यो पनि काल्पनिक नाम हो वास्तविक हजुर… सदिक्षा नै हो ।
म कतै सपनामा त छैन एक पटक आफूले आफैलाई छामे अहँ , बिपनामै रहेछु । तर पनि मलाई चन्द्रको कुरा विश्वास लागेन र प्रविनलाई सोधे । प्रवीण के यो कुरा साँचो हो ?
प्रविनले त्यतीेबेला कुनै आज्ञाकारी छात्र झैँ मुन्टो हल्लाउदै बोल्यो । अँ…..हो सदिक्षा जब तिमीलाई भेटे अनि तिम्रो त्यो सभ्यता , व्यवहारीकता र तिम्रो लेखनले मलाई तिमीप्रति निकै प्रभावित पा¥यो र ,तिमीलाई मैले धेरै माया गर्न थाले ,अझै गर्छु पनि तर भन्न सकेको थिएन मैेले । एक पटक भन्न खोजेको हुँ तर तिमीले वास्ता गरिनौ । म छटपटाईरहे । कसरी भनौ ,कसलाई भनौ केही उपाय नै पाएन । एक दिन म कोठामै टोलाएर बसेको थिएँ । त्यसैवेला चन्द्र गयो र यसलाई सबै कुरा बताएँ । तिमीलाई भनौ भने थहाँ थियो तिमी यसरी भेट्न आउँदिनौ । त्यसैले तिमीलाई भेट्नको लागी चन्द्रलाई यो सब भन्न लगाएको ।
प्रवीणका कुरा सुनेर मनले एक छिन केही सोच्नै सकेन । मैले मायाको अनुभव पनि कहिल्यै गरेन । कसैप्रति नजर नै गएनन् । गए त केवल आफ्नै बाटो,पाटो यात्रा र गोरेटोहरूमा उनीहरू सँगसँगै हिडीरहे , हिडाईरहे जिन्दगीलाई सँगसँगै डो¥याउदै । के माया पनि यस्तो हुन्छ र ? लेख्छु ,कति प्रेमका कथा ,गजल,मुक्तक,कविताहरू तर स्वर्ग देख्न मर्नु पर्दैन महसुस गर्ने मन हो, मनको नजरले बुझ्ने कुरा हो । जीवनका हरेक कुराहरूलाई भोग्न पर्दैन लेख्नको लागी । मात्र पात्रहरू खोज्नपर्छ ।
तर पात्रहरू खोज्दै जाँदा कहिलेकाहीँ आफैले कथा लेख्दालेख्दै आफू नै पात्र भएको थाहौँ नै हुँदोरहेनछ । अहिले त्यस्तै भयो चन्द्र र प्रविनको यी कुराहरू सुनेर । म यो काथाको कथाकार हुँ कि पात्र बुझ्नै सकिनँ ।
समाप्त ..।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )