~अनुपम ‘नवोदित’~
मेरो प्रिय डक्टर
कहिले भावर जस्तै तातो तातो
कहिले बरफ जस्तै चिसो चिसो
ॠतुचक्र फेरिईरहने
यो अजनवी भूगोलको
सुदूर कन्दरामा
यो हृदय दशौं चिरा भएर फाटिरहँदा
खूनसँग नून साटिंरहँदा
मानसपटलमा घुमिरहेछ ती अभिशप्त क्षणहरु
जतिवेला म
वर्गीय मुक्तिको लागि भनेर
झन्जावाततिर हुत्तिंदै गर्दा
आगोको यात्रामा होमिंदै गर्दा
भीषण लडाइँमा परेपछि
गोलीले करंगको बार भत्काउँदै
कलेजोको भित्ता छेडेपछी
जीवन मृत्युको दोसाँधमा छटपटाईरहँदा
तिम्रै शरणमा पुगेको थिएँ
तिम्रै शरणमा नुगेको थिएँ
जिन्दगी त मरिसकेको थियो
जिन्दगी त झरिसकेको थियो
तर तिमीले
रंगिचंगी अप्रेसन थिएटरमा
स्लाईन र रगतको संजीवनी चढाउँदै
मलाई सजीव प्राण भरेका थियौ
तिमीले त्यही प्राण भरेको
उपहारको जिन्दगी लिएर
अझै पनि पराईभूमीमा जोतिंदैछु
तिमीले टाँंका लगाएको शरीर बोकेर
जीवनको मुक्ति खोजिरहेछु
अनायास तिमीलाई
अस्पतालको शैय्यामा देख्दा
यो मन जलिरहेछ
यो छाती धपधपी बलिरहेछ
कुनै अद्भुत शक्ति छ भने
मेरो प्रिय ! डक्टरको
शिघ्र स्वास्थ्य लाभको कामना गर्छु
वर्गीय हूरीले एकाएक दिशा बबदलेपछी
मुक्तियुद्धको मेरो कमान्डरहरु
हजारौं सहिदका सपनालाई कुल्चेर
माओवादकै मलामी गएपछि
आज तिमीलाई नै सम्झिरहेछु
मेरो जीवनमा संजीवनी भर्ने
मेरो प्रिय डक्टरलाई
मलाई अब एउटै चिन्ता छ
एउटै फर्मेशनका ढलेका योद्धाहरुको
सपना पूरा गर्न सक्छु कि सक्दिन ?
रातो झन्डालाई फहराईरहन सक्छु कि सक्दिन ?
अनि,
मेरा चिहानमा लालीगुराँंस फूलाउन सक्छु कि सक्दिन ?
(आदरणीय डक्टर उपेन्द्र देवकोटामा सपर्पित कविता )
कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।
२०/०५/२०१८
समय : बिहान ०५:२० बजे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )