~तिर्थराज अधिकारी~
छन्द : स्रग्धरा
दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई
बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ
फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ
चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१।
आएको गर्भबाटै हलचलसित ऊ मार्ग पक्री चिकित्सा
भन्थिन् आमा उसै ऊ कहर पथ कहाँ हार खाला अभीप्सा ?
मेरा यी दुग्धधारा प्रतिपल उसका रक्तका ज्वारमा छन्
ऊ मेरै प्राणशाखा कर कुशल कला कर्म के भिन्न हुन्छन् ?२।
कोर्रालाई गलाई उदर जलनको भोक – तिर्खा पचायो
फाँसीको जाल बुन्ने कलुषित शठको मातलाई लता~यो
गर्दै संकल्प सच्चा हरप्रहर प्रजातन्त्रको मन्त्र गायो
बेथा -वैरी झुकाई अविचल तपले माथलाई उठायो ।३।
स्वार्थी साना कुरामा समय – पल कतै व्यर्थमा क्यै नफाली
लम्क्यो नेपालकै ऊ जय जय जयको गान सच्चा उचाली
आँखा खोल्दा उसैले अबल अभरका दीनले दृष्टि पाए
काँपेका रुग्णजस्ता लुगलुग मुटुमा प्राण नौला पलाए ।४।
धावा बोल्थे अनेकौँ असुर चर गला त्रास भर्थे हजारौँ
द्रष्टा ऊ नित्य सोच्थ्यो अविचल मनले देश केले सपारौँ !
आस्था स्वाधीन आभा प्रमुदित दिल के गल्न सक्थ्यो र पानी ?
योद्धाको झार्न सक्थ्यो तिमिर कर कहाँ चम्किएको जवानी ?५।
लामो जंघार तर्दै बगर डगरका बास भेट्दा रसायो
काया माया तिनैका अतल हृदयमा चित्र नौलो सजायो
निर्धा ,सोझा अजानी मलिन अधरका रूपमा रंग भर्दै
लाग्यो यात्री उकालो अधम दम कडा वज्रलाई पछार्दै ।६।
झुप्राको ख्याल गर्दै दमित कृषकका मर्म बाधा नियाल्दै
नेपाली जाति सोच्दै हरपल यिनकै योजना चित्र कोर्दै
जित्दै संग्राम सारा अगलित मुटुमा आश विश्वास साँच्ने
चूडा आँटी प्रतापी मणिमुकुट महाचेत हो राष्ट्र हाँक्ने ।७।
सिर्जेका काव्य उस्तै प्रणय रहरिला , गर्विला , बान्किला छन्
आफैँमा लठ्ठ पर्दै रसिक जन बडा प्रेमले स्वाद लिन्छन्
मान्छेका भाव भित्री सर- सर -सरका शब्दका चित्रमा छन्
वाणीका शिल्प उच्चा कलम वर कहाँ चेत निश्चेत बन्छन् ?८।
ठूलाको धाक त्यागी असल सरल भै बाँच भन्ने सिकायो
अन्यायी साथ लड्दै अटल शिर सधैँ साँच भन्ने सिकायो
हैनन् खाना र नाना सकल सफलता , ज्ञान नै हो कमाइ
भन्दै ऊ आँत फक्रयो नव-नव रसका सिर्जनामा रमाई ।९।
कालो झण्डा हटाई टहटह जगमा दिव्य तारा सजायो
ताराको बीच बल्ने झलझल नभको चन्द्रझैँ झल्झलायो
लाखौँमा एक जन्मी युगपुरुष बनी कर्ममा जन्म साँच्यो
नेता , द्रष्टा र स्रष्टा अजर – अमर भै मान अम्लान बाँच्यो ।१०।
(स्रोत : सगरमाथा वाङ्मय, २०७० साउन-पुस (विपी विशेषाङ्क)बाट साभार)