वीरगंजका रमेश गोर्खाली । अचेल जीविकाको लागि काठमाडौंमा बस्छन् । उनले वीरगंजमै जीविकाको स्रोत पाएको भए यही बस्थे होलान् । रमेश गोर्खालीको बारेमा यसरी किन भन्नुपर्यो ? यसका पछाडि मौलिक कारण र आधारहरू छन् । मैले उनलाई चालीसको दशकको मध्यतिरबाट चिन्न थालें र विस्तारै हिमचिम र आत्मीयता पनि प्राप्त हुँदै गयो र आज पनि भेट हुँदा त्यतिकै स्नेह र सल्लाह पाइराखेको हुन्छु । यो सन्दर्भ मेरै लागि मात्र होइन, उनको आत्मीय परिधि भित्र हुने जो कोहीले अनुभव गरिरहेको हुन्छ ।
वीरगंजका लागि एउटा घुम्ती पुस्तकालय हुन् रमेश गोर्खाली । वीरगंजमा त्यतिको पठन–व्यसन भएको अरू कोही व्यक्ति छैन । ऐतिहासिक तिथिमिति र सन्दर्भहरू उनलाई कण्ठस्थ छ । भेट्दा आफूले पढेका, पढिरहेका विषय वस्तुहरूबारे चर्चा गर्न मनपराउँछन् र श्रोता व्यक्तिले उनले कुन सन्दर्भ कहाँबाट भन्न शुरु गरेका हुन्, त्यसको भेउ पाउन एक छिन समय लाग्छ । पढन रुचाउने र पढेका कुरा पचाउने पनि, त्यति मात्र कहाँ हो, त्यसलाई अभिव्यक्त गर्ने अदभूत खुबी छ उनमा । त्यसैले उनको पहिचान नेपालको एक नामुद समालोचकको रूपमा भएको छ । काठमाडौंबाट प्रकाशित हुने ‘ज्ञानगुनका कुरा’नामक पत्रिकाले उनलाई समर्पित रमेश गोर्खाली अड्ढ गत भदौमा प्रकाशित गरेको छ । त्यसले पनि उनको उत्कृष्टता प्रमाणित गरेको छ ।
रमेश गोर्खालीको जन्म २००९ मङ्सिरमा भएको थियो । उनका प्रकाशित कृतिहरू मुकात्माको अन्तध्र्वनि (शोक काव्य), तिमी हाँसिदेऊ म गीत गाउँछु (कथा सङ्ग्रह), पत्थर (उपन्यास), पृथ्वीवादको मर्म (निबन्ध सङ्ग्रह), रचनाको अभिव्यक्ति (समालोचना) आदि छन् । उनले नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, यति फाइनान्स पुरस्कार, त्रिमूर्ति पुरस्कारलगायत महत्त्वपूर्ण पुरस्कारहरू प्राप्त गरेका छन् । उनीबारे प्रसिद्ध साहित्यकार कमल दीक्षितले हेटौंडाको अध्यापनबाट मुक्त भई काठमाडौं आइपुग्दाको पीडालाई बडो मर्मस्पर्शी ढ·ले अभिव्यक्त गर्नुभएको छ । गोर्खालीले केही समय वीरगंजका क्याम्पसहरूमा पनि पढाएका थिए तर त्यसले निरन्तरता पाउन नसकेपछि हेटौंडा गएका थिए । दीक्षितको शब्दमा “राजनीतिक दाउपेच नजान्ने यी सुधा प्राध्यापक, “चचाचु” गर्न नसकेकै भरमा खारेजीमा परे, विभाग नै बिलाएर जागिर गएपछि ‘ढाक्रे’ भएका गोर्खाली बिलखबन्द परेर वीरगंज फर्के, धर्मपत्नीका शरणमा । पत्नीले उनलाई पसलमा बस्न, व्यवसाय गर्न सिकाउन खोजिन् । तर बेपारी दाउपेच, त्यो पुर्खेली सीप उनको जेहनमैं थिएन । उनी असफल भए । अनि ‘भग्न हृदय’ भएर रमेश गोर्खाली राजधानी उक्ले । रमेशका साथी भाइहरूले उनलाई काठमाडौंमा टिकाइराख्न पनि निकै मेहनत गर्नुपर्यो । नयाँ नयाँ साथी बने । उनको मनको कुरा बुझ्ने जमात भेटे उनले यहाँ । नयाँ ऊर्जा दियो, नयाँ प्रेरणा रमेश गोर्खालीलाई उपत्यकाले ।”
गोर्खाली साहित्यिक पत्रपत्रिकाहरूका लागि अवैतनिक सेवक नै हुन् । वीरगंजमा बजार व्यवस्थापन गर्नका लागि नेपालका उत्कृष्ट साहित्यिक पत्रिकाहरूले उनीसँग समन्वय गर्छ र उनी खुशी खुशी सहयोग पनि गर्छन् । कुन पसलबाट कति प्रति कुन पत्रिका बिक्री भयो, त्यसको हिसाब कति भयो, त्यो सबै कुराको दुरुस्त हिसाब सम्बन्धित पत्रिकालाई आवधिक बुझाइदिन्छन् । उनको यो इमानदारिताको साहित्यिक क्षेत्रमा निकै चर्चा छ । उनको अर्को विशेषता भनेको साहित्यकारहरू भने पछि हुरुक्र्कै हुने । वीरगंज आइपुग्ने साहित्यकारहरूलाई घर लाने, सत्कार गर्ने र सकभर एक रात भए पनि आफ्नो घरमा राख्ने उनको बानी नै रहेको छ । स्थानीय साहित्यकारहरूसँग पनि गफिने र पुस्तकहरू पढ्न प्रेरित गर्ने बखान कैयौंको मुखबाट सुनिएको छ ।
गोर्खालीको मातृभाषा नेपाली होइन, नेवारी हो । तर उनको नेपाली भाषाप्रतिको अनुराग अवर्णनीय छ । उनी वीरगंजको एउटा प्रतिष्ठित व्यापारिक परिवारमा जन्मेर पनि साहित्यमैं आफ्नो जीवन अर्पण गरिराखेका छन् । उनका पिता सुन्दर बहादुर गोर्खाली वीरगंजका प्रतिष्ठित व्यवसायी थिए । उनकै नाममा रहेको सुन्दर स्टोर्स एकताका वीरगंजको कहलिएको व्यापारिक प्रतिष्ठान थियो र अहिले पनि त्यो भवन छँदैछ । यतिखेर नेपाली साहित्यिक क्षेत्रमा अनेकौ विस·तिहरू छन् । कतिपय समालोचकहरू लेनदेन, आग्रह, पूर्वाग्रह र कुण्ठाको आधारमा लेख्ने गरेको आरोप छ । तर रमेश गोर्खालीको व्यक्तित्व सबैभन्दा माथि छ । उनी आफूले पढेका र रोजेका जुनसुकै साहित्यिक विधा र व्यक्तिको सन्तुलित र कारगर समालोचना गर्न चुक्दैनन् । उनको सोझोपन र सहृयदयताको कतिपय साहित्यकारहरूले अतिरिक्त लाभ लिएको टिप्पणी सुन्न पाइन्छ । समालोचनाको क्षेत्रमा उनले एउटा फरक धार नै स्थापित गरिसकेका छन् र सबै पक्षले उनको योग्दानलाई स्वीकारसमेत गर्दछ ।
उनले प्रसिद्ध लेखकका केही कृतिहरूको सम्पादन कार्य पनि गरेका छन् । तिनमा ‘संरक्षक’ (डा.धु्रवचन्द्र गौतमका कथाहरूको सँगालो), ‘एकान्तका आफन्तहरू’ (नगेन्द्रराज शर्माका कथाहरूको सँगालो), ‘भीम विरागका कविता’ (भीम विरागका कविताहरूको सँगालो) , ‘अदृश्य पीडा’ (नवराज रिजालका लघुकथाहरूको सँगालो), ‘रोकिंदैन लेखिने क्रम’ (विभु अधिकारीका कथाहरूको सँगालो) आदि हुन् । वीरगंजकै अर्का स्रष्टा जो गोर्खालीका समकालीन पनि थिए, र एउटा नाम कमाएका साहित्यकार र पत्रकार पनि थिए विनय रावल जो अब भौतिक रूपमा छैनन् । उनले एकपटक राष्ट्र पुकार साप्ताहिकको आफ्नो स्तम्भमा लेखेका थिए– “जसरी फ्रान्सले ज्याँ पाल सात्रलाई आफ्नो राष्ट्रको गौरवको रूपमा लिन्थ्यो, त्यसैगरी रमेश गोर्खालीलाई पनि नारायणी अञ्चलले आफ्नो गौरव ठान्ने गरेको छ ।” गजल सम्राट् ज्ञानुवाकर पौडेलको भनाइ पनि अर्थपूर्ण छ–विशद् अध्ययनशीलता र गहन सृजनशीलताका पर्याय बनिसकेका रमेश गोर्खाली न केवल नारायणी अञ्चल, पूरै नेपाली वाङ्मयको गौरव हुने बाटोतर्फ अग्रसर भइरहेका छन् ।
उनी वीरगंजका एक्लो यस्ता साहित्यकार हुन् जसको मुलुकभरिकै सर्वाधिक बढी स्रष्टाहरूसँग व्यक्तिगत चिनजान र सम्पर्क छ । त्यसैले त प्राज्ञ सनत रेग्मीले लेख्नुभएको छ– “वीरगंज, साहित्य र रमेश गोर्खाली । रमेश गोर्खाली र वीरगंज नेपाली साहित्यमा एकाकार छन् । नेपाली साहित्यको उनी इन्साइक्लोपेडिया नै हुन् । रमेश गोर्खालीको कलमले कतिपय साहित्यकारहरूलाई वजन दिएको छ, प्रेरणा दिएको छ र बहुपठित बनाएको छ ।
गोर्खालीको केवल साहित्यिक व्यक्तित्व मात्र छैन । उनी वीरगंजका कतिपय साहित्यिक संस्था र अभियानहरूका जगका पत्थर हुन् । चालीसको दशकको प्रारम्भताकादेखि नै उनी क्रियाशील छन् । उनी पत्रकार पनि हुन् । प्रतीक दैनिकसँग पनि उनको लामो साहचर्य रहेको छ । वीरगंजमा खेलपत्रकारितातर्फ कलम चलाउने उनी आदिपुरुष हुन् । प्रतीक साप्ताहिक हुँदा ताका नै उनले खेल टिप्पणीमा नयाँ आयाम दिएका थिए । उनका कतिपय खेल विश्लेषणहरू अहिले पनि पुराना पाठकहरूको सम्झनामा छ । वीरगंजमा खेलकुदबारे गहिरो जानकारी राख्नेमा उनी अग्रणी छन् ।
वीरगंज शहरले उनलाई उपेक्षा गरेको छ । उनीजस्तो समर्पित स्रष्टा वीरगंजमैं बसेर अध्ययन र लेखनमा क्रियाशील हुन सकेको भए समकालीन वीरगंजले बहुआयामिक लाभ लिन सक्थ्यो । एउटा नामुद स्रष्टा आफ्नै शहरमा क्रियाशील हुन पाउँदाको अवसरले अन्य भाषाका लेखकहरूलाई पनि ऊर्जा दिन्छ । उनीसँग पुराना पुस्तकहरूको राम्रो सड्ढलन पनि छ । त्योभन्दा पनि उनीसँग भएको सूचना महत्त्वपूर्ण छ । हाम्रो सन्र्दभमा स्रष्टाहरूलाई सहयोग गर्ने परम्परा नै छैन । एउटा स्रष्टालाई निवृत्तिको व्यवस्था गर्न सकियो भने ऊ निर्वाध आफ्नो काममा समर्पित हुन्छ र आखिर त्यसको लाभ समाजले पाउँछ । वीरगंजबाट गोर्खालीजस्ता इन्साइक्लोपिडियाहरू पलायन हुनु भनेको यो आर्थिक राजधानी नामधारी शहरको लागि दुखान्त पक्ष हो । हामीले स्रष्टाहरूलाई सहयोग गर्ने र समर्पित भएर आफ्नो सृजनामा लाग्न वातावरण बनाउनका लागि के गर्ने त्यसबारे गोर्खालीको सन्र्दभले पाठ सिकाएको छ ।
रमेश गोर्खाली पढ्नकै लागि जन्मिएका हुन् । त्यतिको गम्भीर अध्येता विरलै पाइन्छ । यो स्तम्भमार्फत् हीरक वर्ष अर्थात साठीयौं वर्षमा रमेश गोर्खालीको शब्द अभिनन्दन गर्न चाहन्छु । उनी जहाँ रहे पनि नेपाली साहित्य भण्डार समृद्ध पार्न सफल बनून् यही छ कामना ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)