~मधुवन पौडेल~
भित्तामा अडेस लागेर आफनो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखा अगाडि खाटमा लम्पसार परिरहेका ८४ वर्षीय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार लिएर बसिरहेका अन्य थुप्रै गाउँले र प्रियजनहरु थिए । बाबु जीवन र मृत्युको दोसांधमा थिए अनि वसन्त चांहि सबैको अनुहार ताक्दै उनीहरुले वारम्वार आफना बाबुको बारे व्यक्त गर्दै रहेका विभिन्न प्रतिक्रिया चाहेर नचाहेर सुनिरहेको थियो । प्रत्येकपल्ट नेपाल आउँदा सुनिने त्यस्ता प्रतिक्रियाबाट वास्तवमा ऊ अभ्यस्त पनि भइसकेको थियो ।
एउटा भन्थ्यो, “डिठ्ठाबाले के मात्र गरेनन् छोरा छोरीका लागि ! पढाएर लेखाएर सवैलाई एकलै हुर्काए विचराले !
तर के गर्नु ! विधिको विडम्बना, आफनो जीवनको अन्तिम सास जाने वेला कोही पनि वरिपरी छैनन् ! तै वसन्त
बाबु चाहिँ आइपुग्नु भएछ !” अर्को भन्थ्यो, “यस्तै हो, हिजो आज रमाकान्त काका ! सबै आँफ्नै धूनमा हुन्छन्, कसलाई पो आफनो बाबु आमाको बुढ््यौलीको चिन्ता हुन्छ र ? त्यसमा पनि विदेशिइसकेका त त्यतैको संसारमा मस्त भएका हुन्छन् !” बिहानैदेखि यस्तै यस्तै कुनै नरम र कुनै तिक्त प्रतिक्रिया भई नै रहन्थे, कुनै नयाँ कुरा थिएन ।
वसन्तलाई मनमनै रिस उठेर आउँथ्यो । वित्थामा ती सवैले आफ्नो घरको कुरामा चासो देखाइरहेको उसलाई मन पर्दैन । ऊ मनमनै सोच्थ्यो, “कसरी नेपाल उँभो लाग्छ यसरी ?” बसन्त आफै पनि काम विशेषले छिमेकी देशसम्म आइसकेकोले मात्र केही दिन छुट्टी मिलाएर आएको थियो । दाजु र वहिनीहरु तिनै जना आ—आफ्नै काममा व्यस्त थिए । फेरि भनेको वेलामा आउन पनि त्यति सजिलो कहाँ हुन्छ र ? कसले वुझ्ने र विवरण गर्ने यस्ता कुराहरु ? ऊ यस्तै कुरा सोचेर घोत्लिरहन्थ्यो । पेशाले वसन्त एउटा शिक्षक हो, मनोविज्ञान र दर्शन शास्त्र पढाउँछ विदेशमा, उसको २० वर्षदेखि ! उसको मनमा आफूले पढाउने गरेका कुराहरु खेल्न थाल्छन् । “मृत्यु त मानव जीवनको स्वाभाविक अवस्था हो, मृत्युवारे डराउने वा चिन्ता किन लिने ? यो कुनै खराव होइन सवैले एक दिन मरेर जानुपर्छ र यसमा त्यति संवेदनशील हुनुको कुनै अर्थ छैन्, आदि….आदि ।”
तर वसन्त अहिले यहाँ यो कुरा भन्न सक्तैन । घरको परिवेश हेर्दा र प्रतिक्रिया सुन्दा सवैले दाजुभाइ र दिदीवहिनीहरुलाई नै तारो वनाए जस्तो अनुभव हुन्थ्यो उसलाई ! बाबुलाई वसन्तले पटक पटक आफू वसेको देश लगिसकेको थियो । तर के गर्ने ? उनी कहिल्यै २ महिना भन्दा वढी टिक्तैनथे । घरका सवैजना आ—आफ्ना काममा लागेपछि उनी विरक्तिएर घर फर्कन जिद्दी गर्ने गर्थे । एकपटक त सवै मिलेर एउटा राम्रो वृद्धहरु वस्ने ठाउँमा स्याहार सुसार गर्ने गरी राखिदिने कुरा पनि भएको हो, तर उसका बाबुले नमानेर आफ्नै माटोमा गएर मर्छु भनेर फर्कने गर्थे ।
घरमा पनि हेरचाह गर्ने मानिस नभएका होइनन् । आँफै नजिकका नातादारलाई अलिकति जग्गाजमीन दिएर
सानो घर समेत वनाइदिएका थिए उनीहरु सवै मिलेर ! तिनले पनि राम्रो हेरचाह गरिरहेकै थिए । बाबुले पनि कहिल्यै त्यसवारे केही प्रतिवाद गरेका थिएनन् । उसलाई मनमनै रिस उठिरहेको थियो, “यी यहाँ भेला भएका
मान्छेलाई किन टाउको दुखेको होला ? संसार कहाँबाट कहाँ पुगिसक्यो, यी भने जहाँको तहीं छन् !”
वसन्तलाई जसरी भए पनि ३ दिनपछि हिड्नै पर्ने थियो, नत्र उताको खप्की र जागीर पनि खतरामा पर्न सक्थ्यो । तर बाबुको अवस्थामा सुधार होला भन्ने लक्षण पनि थिएन । हिजोसम्म उसको कपाल मुसारिरहेका उसका बाबुले रातिदेखि नै वोल्नै छाडेका थिए । त्यसमा पनि विरामी हेर्न आउने माान्छेहरुले बोलेका कुराले उनका मन कति कँुडिएको होला भन्ने उनका आंखावाट वगिरहेको बलिन्द्रधारा आँसुले झल्काउँथे । तर ऊ पनि के पो गरोस् ? ३० वर्ष अगाडि घर छाडेर हिँडेको दिन वसन्तका आँखा अगाडि नाच्न थाल्छन् ।
“मेरो चिन्ता नगरेस्, तेरो राम्रो होस् । त्यसैमा मलाई सन्तोष हुन्छ । वरु दाजुले जस्तो नगरेस् । दुईवटी वहिनी
छन् । उनीहरुलाई पार लगाउने जिम्मा चांहि तँलाई दिन्छु ।”
वसन्तको दाजुले दुई वर्षदेखि बाबुको खासै चासो राखेको थिएन भन्ने उसका बाबुको सोचाइ थियो । तर वसन्तलाई भने राम्ररी थाहा थियो । “विचरा ! दाजु पढाइ र अरु ऋणमा चुर्लुम्म भएर केही सहयोग गर्न सक्ने अवस्थामा पनि थिएनन् । त्यसमा पनि भाउजूको अलि बढ्तै नियन्त्रण पनि थियो । बाबुलाई पनि छोराको कमाइ चाहिएको होइन । जे जति पाए पनि यताउति दान गर्ने गरिदिन्थे उनी ! तर छोराले कमाइ गरेपछि केही अंश बाबुआमालाई दिनुपर्छ भन्ने सोचाइ भएको समाजको एक अङ्ग नै थिए डिठ्ठा बा ! “ए ! त्यति ठूलो कमाइ भएर पनि तपाईंलाई सुको पैसा पठाउन्न ठूलोले ” ! गाउँले र इष्टमित्रले बेला बेलामा उचाल्ने गर्थे रे !
यो संसार र त्यो संसार ! कसले वुझ्ने यसभित्र अन्तरनिहित तथ्य एवं यथार्थता ? जतिसुकै गरे पनि आखिर व्यक्तिवादी समाज र रहनसहनले एक दिन न एक दिन सवैलाई लपेटिहाल्छ नि ! त्यहाँ जति कमाए पनि कहाँ
कहाँ जान्छ भनेर कतिलाई सम्झाउनु र सम्झाउनु पनि किन ? तर आफनो वृद्धावस्थामा सवै लालावाला अगाडि
हुन् भन्ने चाहना उसका बाबुमा मात्र होइन सवैमा हुन्छ भन्ने उसले वुझेको थियो । ऊ एउटा यस्तो संसारमा थियो जहाँ व्यक्ति जति सधैं नै रिनमा झन् झन् डुबिरहेका हुन्थे, सरकार र वैँङ्क भने झन् झन् मोटाउँथे । यत्तिकैमा फोनको घण्टी वज्यो । बसन्तले बाबुको मुख हेर्दै फोन उठायो ।
“दाजु, बुबालाई कस्तो छ ?” “आज रातिदेखि बोल्नु भएको छैन, म तिम्रो आवाज सुनाइदिन्छु । पख त …. ।” वसन्तले जुरुक्क उठेर बाबुको कान नजिकै रिसिभर राखिदियो । “वहिनीको फोन, शिकागोबाट !” वहिनीले के
भनी अनि बाबुले के सुने वसन्तले केही पत्तो पाएन । एकछिन पछि फेरी फोन फिर्ता लिएर ऊ कोठाबाट वाहिरियो वहिनीसंग अझै कुरो गर्ने विचारले ।
“दाजु, अलि छिटो फर्कन मिल्दैन ? सुजनाको “स्वीट् सिक्स्टिन” को पार्टी भ्याउनुहोला भनेको त !” “कस्तो कुरा गर्छे ! वरु मेरो कलेजको प्रेसिडेन्टलाई भेटेर विदा थप गराउनुपर्ला जस्तो छ, कसरी छाडेर आउनु यस्तो अवस्थामा !” फोन काटिइसकेको थियो । उसले खास चासो पनि राखेन । बरण्डाबाट फर्कंदा कोठाभित्रको गाईंगुर्इं उसका कानमा बजेका थिए, “कस्ती नकच्चरी हगि छोरी भएर पनि ? आँफू आउनु त कता हो कता, उल्टो यता भएको दाजुलाई समेत उतै फिर्ता वोलाएकी जस्तो छ !”
“ए वसन्त बाबु, तिमीलाई खोज्नुभए जस्तो छ डिड्डा वाजेले !” एक जना छिमेकी उसलाई वोलाउदै थिए । बसन्तले भित्र पस्नासाथ बाबुले हातको दृष्टान्तले उसलाई केही भन्न खोजे जस्तो देखियो । उनी छोरालाई जानू भन्दै थिए । हत्केला हल्लाएको संकेतले त्यसै भन्थ्यो । उसका बाबुलाई शायद यतै अल्झेर छोरो वढी चिन्तित भएर नबसोस् भन्ने लागेको थियो । “लौ न रिसाए जस्तो छ नि !” त्यही वसिरहेको एउटाले प्वाक्क थप्यो । वसन्त केही नवोली आँफ्नो ठाउँमा गएर बस्यो । उसलाई राम्रै सम्झना के थियो भने पाँचवर्ष अगाडि ऊ र ठूली वहिनी आउँदा बाबु कति खुशी भएका थिए । तर फर्कने वेला पनि उनलाई केही दिक्क मानेका थिएनन् । “राम्रोसंग जाओ, मेरा केही चिन्ता नगर्नू । वरु बेला बेलामा आफनो स्वर सुनाउने गर्नू है !”
बाबुले सवै कुरा वुझेका थिए, देखेका पनि थिए । त्यसैले पनि वसन्तलाई ठूलो सन्तुष्टि हुने गथ्र्याे । तर त्यहाँ भेला भएका कसले वुझ्थे र यस्ता कुरा ? बाबुले नवुझे नजानेको भए किन बारै सन्तानलाई विदेशिन दिन्थे होलान र ? त्यसपछि पनि बाबुले कहिल्यै छोराछोरीले हेरेनन् भनेर गुनासो गरेका थिएनन् । हुन त आफना सन्तानलाई देख्ने हेर्ने ईच्छा कसलाई हुन्न र ? त्यसैले पनि छोराछोरीले वोलाउने गर्दा थोरै समयका लागि भए पनि उनी जान्न भन्ने गर्दैनथे । तर उनी छिट्टै फर्केर आफ्नै परिवेश, आफ्नै साथी संगति र समाजमा वस्न रुचाउने भएकाले केही समय पछि नै फर्किहाल्ने गर्थे ।
पुराना कुरा मनमा खेलाउदै गर्दा वसन्तका कानमा अनायास केही शब्द जस्तै गरी गुंजिए, “बाबु डिठ्ठाबालाई तल लग्नुप¥यो !” उसले जुरुक्क उभिएर नजिक गएर एकपटक बाबुलाई नियालेर हे¥यो । बाबुको प्राणपखेरु एडिसकेको थियो । बसन्तले लामो सास फे¥यो । अनि आफ्नो बाबुको जीर्ण शरीरमाथि घोप्टियो । ढिलो चाँडो यस्तो त एक न एकदिन हुनु नै थियो । उसका कानमा बाबुका तिनै शब्द गुञ्जिरहेका थिए, “बाबु तँ राम्ररी गएस् है ! मेरो चिन्ता नगरेस् !”
कुवेत, मार्च २९, २०११
(स्रोत : प्रतिध्वनि – वर्ष १, अङ्क १, सन् २०११, विक्रम सम्वत्। २०६८ )