पत्र कथा : मेरो यो कथा सुनाइदिनू

~विश्वराज अधिकारी~

साथी हेमन्त,

म चालिस वर्ष पहिलेको वीरगंजमा पर्कंदैं छु ।

हामी दुईजना, म र जुनैद अंसारी वीरगंजको श्रीपुरस्थित हाई स्कूलमा पढ्थ्यौं । दुवैजनाले एउटै वर्ष एसएलसी दियौं । म प्रथम श्रेणीमा पास भएँ तर जुनैद फेल भयो । म ठाकुरराम कलेजमा आइएस्सी पढन थालें भने जुनैदले आफ्नो पिताले गर्दै आएको धुनिया पेशा अँगाल्यो । रूओ धुन्ने र सिरक, डस्ना बनाउने पेशा कर्ममा लाग्यो ।

जुनैद पढ्नमा निकै कमजोर थियो । मैले उसलाई अलजेब्रा र जोमेट्री नसिकाएको भए, टेस्ट परीक्षामा नै फेल भएर यसएलसीको मुख देख्न पाउने थिएन होला । र उनलाई त्यसरी हिसाब सिकाउने क्रममा हामीबीच निकै घनिष्ठता बढेको थियो । घनिष्ठता बढ्नुको एक अर्काे तर ज्यादै बलियो कारण थियो– हामी दुवै ज्यादै गरीब परिवारका सदस्य थियौ। बरु जुनैदको मभन्दा राम्रो आर्थिक स्थिति थियो किनभने उसको घर वीरगंजमा थियो । म भने वीरगंजदेखि छ कोस पश्चिमको एउटा गाउँबाट शहर आएको थिएँ । ब्राह्मण परिवारको भएकोले मलाई स्कूलमा त पण्डितजी भन्थे नै, कलेजमा पनि धेरैले पण्डितजी नै भन्थे । दुवैतिरको साथीहरूलाई मेरो पिताजीले जजमानी गर्ने भन्ने थाहा थियो ।

वीरगंजमा घर हुने हाम्रो एक गाउँले व्यापारीको छोरा र छोरीलाई ट्युसन पढाइ दिने शर्तमा उनको घरमा मैले निश्शुल्क खाने र बस्ने मौका पाएको थिएँ । पिताजीको जजमानीबाट आएको दाल, चामल र केही पैसाले हाम्रो परिवारको बडो मुश्किलले गुजारा हुन्थ्यो।
जहिले पनि म क्याम्पसबाट फर्कंदा जुनैदलाई रेल्वे स्टेशनको रेलको लिकमा बसेर पितासँग रूओ धुन्दै गरेको देख्थें । म उनको नजिक पुग्थें र केही कुराकानी गथें । हामीबीच कुराकानी हुँदा जुनैदको सँधै एउटै गुनासो हुनथ्यो ‘के गर्ने यार, पढ्न सकिएन । तिमीजस्तो किताब बोकेर क्याम्पस जाने भाग्य पाउन सकिएन । अब बाँकी जिन्दगी रूओबाट धूलो निकालेर बित्छ । थाहा छैन, रूओको धूलो झारेको हो वा आफ्नै दिमागमा भरिएको धूलो झारेको हो ।’ प्राय: म जुनैदको कुरा सुन्थें मात्र, ज्यादै कम प्रतिक्रिया व्यक्त गर्थें ।

वीरगंज, ठाकुर राम क्याम्पसमा पढुन्जेल जुनैदसँग भेट्ने क्रम टुटेन, बाक्लो किसिमले नै चलि नै रहयो। उसको घरमा म रमजान, इद मनाउन जाने क्रम पनि कलेजमा पढ्दासम्म कायम नै रहयो।

म पटना डाक्टरी पढ्न गएपछि भने जुनेदलाई भेट्ने क्रम निकै पातलो भएर गयो । तैपनि वीरगंज बसेको बेला या त उसको घरमा या कार्य स्थलमा पुगेर भेट्थे नै । कार्यस्थलमा पुग्दा जुनैद जहिले पनि त्यही भन्ग्यो–‘के गर्ने यार, पढ्न सकिएन । तिमीजस्तो किताब बोकेर क्याम्पस जाने भाग्य पाउन सकिएन । अब बाँकी जिन्दगी रूओबाट धूलो निकालेर बित्छ । थाहा छैन रूओको धूलो झारेको हो वा आफ्नै दिमागमा भरिएको धूलो झारेको हो ।’

पटनाको पढाइ सकिएपछि म डाक्टर भएँ । वीरगंजमा बस्न मन लागेन, काठमाडांंतिर सुरिएँ । काठमाडौंमा दुई चार वर्षको प्रेक्टिस पछि सोंचेजति पैसा कमाएँ, नाम पनि कमाएँ । अब भने पैसाको पटक्कै समस्या थिएन । काठमाडौंमा अन्तर्जातीय विवाह गरें । पटनाबाट फर्केपछि काठमाडौं करिब दस वर्षजति बसें । काठमाडौंमा हुँदासम्म वीरगंज गएको बेला जुनैदलाई भेटथें । रूओ धुनेर सिरक बनाइरहेको अवस्थमा ऊसँग प्राय: सडकको छेउमा भेट हुन्थ्यो। भेट हुँदा उसले त्यही दोहोर्‍याउँथ्यो–‘आफ्नै दिमागमा भरिएको धूलो झारेको हो…’। तर अब भने मैले पनि म र जुनैदबीच आर्थिक अवस्थाको हिसाबले आकाश जमिनको भिन्नता रहेको बोध गर्न थालें । मेरो यो सोंचलाई बल दिन मेरा भौतिक सुविधाहरूले पनि निकै मदत पुर्‍याए ।

पत्नीजीको दबाब, इच्छा, आग्रह सम्मिलित जेटले मलाई हुत्याएर जर्मनी, यूरोप पुर्‍यायो । जर्मनीमा करिब पाँच वर्ष बसें तर विदेश बस्न मन नलागेर नेपाल फर्कें । हुनत मैले ड्रिंक गर्न पटनाबाट काठमाडौं फर्केपछि नै शुरु गरिसकेको थिएँ । तर जर्मनीबाट फर्के पछि भने ड्रिंक गर्ने क्रम बाक्लो भएर गयो । राम्रो आम्दानी र बलियो आर्थिक स्थितिले मलाई अति महँगा–महँगा रक्सी खाने बानी लगाइदियो ।

जर्मनीबाट फर्केपछि करिब पाँच वर्ष जति काम गरें । र यो पाँच वर्ष भित्र एउटा राम्रो निजी अस्पतालको स्थापना गरें । मैले स्थापना गरेको अस्पताल निजी क्षेत्रका अस्पतालहरूबीच निकै लोकप्रिय र लाभदायक पनि हुन पुग्यो । आफूले क्लिनिकल कार्य नगरेर अब केवल व्यवस्थापकीय कार्य मात्र गर्न थालें । यस्तो गर्न पाएकोले मेरो रक्सी खाने क्रम झनै बाक्लो भएर गयो । अब हरेक दिनजसो अनि किसिम किसिमका, महँगा ब्रान्डका रक्सीहरू खान थालें ।

रक्सी खाएको विषयलाई लिएर पत्नीसँग प्रत्येक दिन झगडा हुन थाल्यो । पछि त्यो झगडामा छोराछोरीहरू पनि संलग्न हुन थाले । दिनका दिन र बढी परिमाणमा रक्सी खाने मेरो त्यो बानीमा भने सुधार आएन । म रक्सीको लतमा नराम्ररी फसें । अल्कोहोलिक नै भएँ । भन्ने हो भने परिवारभित्र नै रहेर पनि एक किसिमले परिवारबाट धेरै टाढा हुन पुगें । परिवारका सदस्यहरूले प्रेम, आदर र श्रद्धा होइन केवल कर्तव्यको हिसाबले मात्र मलाई हेर्न थाले ।

अब म वर्तमानमा आउँदैछु । हिजो आजको कुरा लेख्दैछु । दुई वर्ष पहिलेको कुरा हो, वीरगंज गएको बेला जुनेदलाई त्यही अवस्थामा भेटें । वीरगंजको सडक छेउ बसेर रूओ धुनेर सिरक बनाउँदै थियो । मैले जुनेदसँग उसको हालखबर सोधें । उसले हालखबर मात्र भनेन, पहिले पहिले भन्ने गरेको कुरा दोहोर्‍यायो । रूओको धूलो झार्नु परेकोमा आफ्नो जीवनलाई पीडित र अभागी रहेको दर्शायो । आफ्नो भाग्यलाई आफंैले निन्दा गर्‍यो ।

अहिले यो नयाँ परिस्थितिमा, म ओछ्यान परेको छ महिना भयो । म बाँच्ने भनेको अर्काे छ महिना मात्र हो । मेरो लिभर पूर्णतया खराब भइसकेको छ । साथमा ब्लडप्रेसर र डाएबेटिज पनि छ । यस्तो अवस्थाको मान्छे धेरै दिन बाँच्दैन भन्ने मलाई राम्ररी थाहा छ । आफैं पनि डाक्टर भएकोले प्रस्ट गरी थाहा छ ।

मैले यो पत्र तिमीलाई आफ्नै हातले लेखेको पनि होइन । मेरो हातखुट्टा राम्ररी चल्दैन । एक सहयोगीको भरमा, अब अगाडि पुगेर छिटै दुर्घटना हुने, मेरो जीवनको गाडी चलिरहेको छ । त्यही सहयोगीलाई यो पत्र लेख्न र पोस्ट गर्न लगाएको हुँ ।

यो पत्र लेख्नुको प्रमुख उद्देश्य के हो भने मेरो अति बलियो आर्थिक स्थितिले गर्दा जुनैदलाई पत्याउन गार्‍हो होला । जुनैद तिम्रो पनि साथी भएकोले तिमीले भनेको उसले पत्याउने छ । र शायद तिमीलाई पनि कुनै किसिमको भ्रम छ भने त्यो भ्रम निवारण हुनेछ ।

मैले उच्च शिक्षा हासिल नगरेको भए, डाक्टर न बनेको भए, थुप्रै पैसा नकमाएको भए, म पनि जुनैदले जस्तै आफ्नो पिताले गर्दै आएको धुनियाको काम गरेझै, ब्राह्मणको सन्तान म, गाउँ गाउँमा पुगेर जजमानी गर्थें होला । आर्थिक अभावमा सादा जीवन बिताउँथे । तर मेरो स्थिति जुनैदको भन्दा विपरीत भइदियो । मैले धेरै पढें, धेरै कमाएँ पनि । तर के त्यो धेरै पढाइ र धेरै कमाइले मेरो जीवन सुखी तुल्यायो ? सकेन । बरु उच्च शिक्षा हासिल नगरेको भए, धेरै नकमाएको भए, नराम्रो बानी लाग्थेन, ज्यान नै जाने गरी रक्सी खान्थिनँ । मेरो जीवन पनि जुनैदको जस्तो अभावमा नै भए पनि एक किसिमले सुखमय नै हुन्थ्यो । यो पचपन साठ्ठी वर्षको उमेरमा दुनियाँ छाडेर जानु पर्थेन होला ।

हेमन्त, यो पत्र लेख्नुको मूल र स्पष्ट कारणतिर जाउँ । तिमी पनि जुनैदको साथी भएकोले उसलाई तिमीले नै भन्न सजिलो र प्रभावकारी पनि होला । म वीरगंज पुगेर जुनेदलाई यो कुरा भन्नु सम्भव छैन । मेरो शारीरिक अवस्थाले गर्दा मैले त्यस्तो गर्न सक्ने कल्पनासम्म गर्न सक्तिनँ । त्यस कारण तिमी यो वर्ष वीरगंज गएको बेला जुनैदलाई भेटेर के भन्नु भने तिमीले संसारकै भाग्यमानी र सुखी ठानेको तिम्रो घनिष्ठ साथी शिवशड्ढर झा, डाक्टर शिवशड्ढर झा ज्यादै बिरामी छ । डाक्टरले शिवशड्ढर छ सात महिना मात्र बाँच्छ भनेको छ । मेरो जिन्दगीको कथा पनि जुनैदलाई छोटकरीमा अवश्य सुनाइदिनू । अनि जुनैदलाई यो पनि भन्नु कि गरिब हुँदैमा मान्छे सुखी हुँदैन भन्ने छैन र धनी हुँदैमा मान्छे खुशी हुन्छ भन्ने पनि छैन । साथै जुनैदलाई यो भन्न पनि नबिर्सनु कि अबदेखि उसले रूओको धुलाई गर्दा आफ्नो भाग्यलाई गाली नगरोस् । आफ्नो भाग्यलाई, रूओलाई लाठीले पिटेझैं न पिट्नू । बाँकी मेरोबारे जुनैदलाई तिमीले जे भन्न मन लागेको छ त्यो भन्नू । तर यति यो मेरो काम भने अवश्य गरिदिनू । यो मेरो अन्तिम इच्छाहरूमध्येको एक प्रबल इच्छा अवश्य पूरा गरिदिनू ।

तिम्रो साथी
शिवशड्ढर झा
घट्टेकुलो, काठमाडौ।

br2063_adhikari@yahoo.com

(यो कथा पूर्णतय काल्पनिक हो। कसैको वास्तविक जीवनसँग मिल्न गएमा त्यो केवल संयोग मात्र हुनेछ।)

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा, पत्र साहित्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.