व्यङ्ग्य कविता : थुइक्क सभासद् म !

~डा.लक्ष्मणप्रसाद गौतम~

कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ :
थुइक्क सभासद् म !

प्रत्येक महिना ५१ हजार पचाएर
रोस्टम भाँचिनँ कि, माइक फोरिनँ कि
ब्रिफकेस फालिनँ कि, सबै काम गरेकै हुँ
त्यही जाबो संविधान नबनाएको त हुँ नि !

कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !

मलाई किन गाली गर्नु हुन्छ हजुर !
बैठकमै चौथो तलाबाट कुर्सी फालेर देखाइनँ कि
मुक्का बजारेर बहादुरी र पुरुषार्थ देखाइनँ कि
क्यासिनोबाट समातिइनँ कि
मैले के गरिनँ ? सबै थोक त गरेँ, किन पुगेन मेरो योग्यता ?
मैले आँैठाछाप पनि बेसरी लगाएकै हुँ
त्यही जाबो संविधान नबनाएको त हुँ नि !

कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !

मेरो के योग्यता पुगेन ?, तपाईंहरू त्यसै मलाई गाली गर्नु हुन्छ ।
मेरो जिउँदै श्राद्ध गरेनन् कि कैयौं पटक ६ सय १ वटा
पिण्ड खाँदा खाँदा मेरो पेट फुलेर भुक्क भएको छ
त्यसैले उपचार गराउन बेलायत जानु छ ।
मैले त्यही जाबो संविधान नबनाएको त हुँ नि !
अरू त जम्मै गरेकै छु नि, दोहोरो नागरिकता लिएर मन्त्री भइनँ कि !
रातो पासपोर्ट बेचेर करोडौँ कमाइनँ कि
तपाईंहरू त्यसै त्यसै मलाई गाली गर्नुहुन्छ ।

कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !

बिहान बिहानै रक्सी खाएर, बाटामा हल्ला गर्दै हिँडिनँ कि !
दिउँसै र रातभरि पनि यौनकर्मीसँग नाङ्गै होटलमा सुतेर
मस्ती मारिनँ कि ?, के योग्यता पुगेन मेरो ?
गर्नु जति ‘कू’कृत्यहरू त सबै गरेकै छु नि !
के योग्यता पुगेन र तपाईं मलाई गाली गर्नुहुन्छ ?
त्यही एउटा जाबो संविधान नबनाएको त हुँ नि ?

त्यसैले त
कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !

अपराधीको नाइके भइनँ कि, अपराधी छुटाउन प्रयास गरिनँ कि !
एसएलसी पनि पास नभएको, सभासद् भन्लान् भनेर
नक्कली परीक्षार्थी राखी एसएलसी दिइनँ कि !
के गरिनँ मैले ?
त्यही एउटा जाबो संविधान नबनाएको त हुँ नि !
त्यसैले त, कहिलेकाहीँ त आफैँले आफैँलाई गाली गर्न मन लाग्छ
थुइक्क सभासद् म !

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४४७)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.