~इश्वर देवकोटा~
दरिलो पार कलिला पाइला सहारा म दिन्छु
धर्म रूप धारी घमण्डि समाज सबैलाइ म चिन्छु
कुल्चेर जाने समाज छ यहाँ हिड्नु है सम्हाली
लडेर पनि चढ्नु छ बाबु जीवनको उकाली
रमितेहरू हाँसेरै टार्छन् सहयोग को के आशा
देखेर पनि चिम्लिन्छ आँखा मुर्ति भै समाज
काधमा भारी अनेक मेरा आँशु नि सहन्छु
प्राण झै प्यारा सन्तान मेरा रक्षामा रमाउँछु
कलिला तिम्रा पाखुरा सँगै पाइला सानै छ
अप्ठ्यारो बाटो छिचोल्दै पनि झन् टाढा जानै छ
सुमार्ग हिडे सबैले भोली देवता मान्नेछन्
नजानी तिम्ले कुमार्ग रोजे राक्षस ठान्नेछन्
संसारको खुशी आमा नै दिन्छिन् साथ उनकै दुखमा
ठेस मात्र लाग्दा सम्झिने सबले आमा नै मुखमा
नभुल्नु सधै आमाको माया कसैले विर्सेर
सम्झिन्छु म नि त्यो मधुर बोली तस्विर हेरेर
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा जराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)