कविता : शुभकामना

~कृष्ण सिंह पेला~

वर्षा विदा भै शरद हेर आयो ।
हिन्दुहरुको दशैं चाड आयो ।।
चिन्ता गरी त्याग सब चल्मलाए ।
आफू र घरलाई सिंगार्न लागे ।।

जौंका मुना, आँकुरा श्वेतपीत ।
गुच्छो लिई स्नेह, आशिषसित ।।
सिउरिन्छ त्यो कानमा प्रियजनका ।
ठूलाबडाबाट थापिन्छ टीका ।।

शीतल पवन चाँदनीमा रम्यो वन ।
चङ्गासरी भैगयो आज तनमन ।
यो हर्ष बाँडौं सबै आधी आधी ।
आऊ रमाऔं गरी मेल साथी ।।

यी बालबच्चाहरू दौडी खुर्र ।
पुतलीसरी उड्दछन् फुर्र फुर्र ।
नौला लुगा, रुप सौन्दर्य नौलो ।
यो स्वप्न आकाश, धर्ती छ नौलो ।।

निश्तिन्त उद्यानमा खेलिराख्ने,
नानीहरुलाई शुभकामना छ ।
ब्यूँझेर यौटा नयाँ गीत रच्ने,
बैनीहरुलाई शुभकामना छ ।।

यो राष्ट्रको भार बोकी हिंडेका,
युवाहरुलाई शुभकामना छ ।
साना, ठूला, वृद्ध समस्तलाई,
पावन दशैंको शुभकामना छ ।।

आफन्त सबका सकुशल पुगून् घर ।
चोरी र लुटपाटको नि नहोस् डर ।।
भोकाहरुले पनि गाँस पाऊन् ।
अर्थोक नपाए नि चामल त खाऊन् ।।

नेताहरुको बुद्धि पलाओस् ।
यो राष्ट्रले झट्ट निकास पाओस् ।
नेपालीको आज यै चाहना छ ।
यै कामको लागि शुभकामना छ ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.