~डि आर पोखरेल~
१. विषय प्रवेश
नेपाली साहित्यमा पारिजातको नाम शीर्ष स्थानमा रहेको छ । उनी बहुमुखी प्रतिभाकी धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यको चारवटै विधामा कलम चलाएकी छिन् । कविता विधाबाट सिर्जनायात्रा आरम्भ गरेकी उनले आख्यानमा ठूलो उचाइ प्राप्त गरेकी छिन् साथै नाटक र निबन्धसहित सबै विधाको शिखरमा उभिएर जीवन र जगतको यथार्थतालाई मापन गर्न समर्थ पारिजात एक अनुपम प्रतिभा हुन् । उनी सम्बन्धीको अध्ययनले नेपाली साहित्यमा ठूलो महङ्खव राख्दछ ।
२. पारिजात र उनका कृतिहरू
पारिजातको जन्मभूमि दार्जिलिङ, भारत र कर्मभूमि नेपाल हो । वि.सं. १९९४ वैशाखमा लिङ्गिया चियाकमानमा जन्मिएकी पारिजात सत्र वर्षको उमेरमा नेपाल आइन र जीवनपर्यन्त यतै बसिन् । उनको सिर्जनायात्रा पनि यहीँ नै सुरु भयो । २०१३ मा धरती पत्रिकामा उनको पहिलो कविता छापियो । यसपछि पुस्तकाकार कृतिहरू पनि प्रकाशित हुन थाले । तीनवटा कवितासङ्ग्रह, चारवटा कथासङ्ग्रह, दशवटा उपन्यासहरू, तीनवटा आत्मसंस्मरण साथै नाटक र निबन्धका एकएकवटा गरी जम्मा बाइसवटा पुस्तकाकार कृतिहरू र अन्य फुटकर लेखहरू उनले नेपाली साहित्यमा थपिन् । साहित्यलगायत सामाजिक, शैक्षिक र राजनैतिक क्षेत्रमासमेत उनको विशेष रुचि रहँदै आयो र ५६ वर्षे जीवनमा ३७ वर्ष निरन्तर साहित्यसाधनामा रत हुँदै वि.सं. २०५० वैशाख ५ गते पारिजातले महाविश्रान्ति लिइन् ।
३. कथा/नेपाली कथा
‘कथा’ शब्दले केही भन्नु वा कथन गर्नु भन्ने बुझाउँछ । तर साहित्यमा कथा भन्नासाथ निश्चित संरचनात्मक नियममा बाँधिएको आख्यानात्मक गद्यरचना भन्ने बुझिन्छ । यही नियमभित्र उपन्यास पनि पर्छ तर उपन्यास र कथा अलगअलग विधागत सौन्दर्य भएका रचनाहरू हुन् । उपन्यासको बृहत् आकार र बृहत् कथाखण्ड हुन्छ भने कथा लघु आकार र लघु कथाखण्ड भएको हुन्छ । यसैगरी उपन्यासमा मानवजीवनको समग्र चित्रण हुन्छ भने कथामा जीवनको कुनै एक पक्षको मात्र चित्रण हुन्छ । कथालाई लम्ब्याएर उपन्यास र उपन्यासलाई छोट्याएर कथा हुने नभई दुवैको आ–आफ्नो संरचना हुन्छ र ती आफैँमा पूर्ण हुन्छन् । यसर्थ कथा एक स्वतन्त्र साहित्यिक विधा हो ।
नेपाली साहित्यमा कथालाई कथा र लघुकथा भनेर अलगअलग सिर्जना गर्ने गरेको पाइन्छ । तर पश्चिममा भने ‘सर्ट स्टोरी’ मात्र भनिन्छ । वास्तवमा आजको कथा उन्नाइसौँ शताब्दीको देन हो । यो परम्परागत कथाभन्दा फरक छ । यसमा कथात्मकता मात्र होइन कलागत मूल्यहरू पनि समावेश भएको छ । गद्यात्मकता, परिवेश चित्रण, कथात्मक दृष्टिविन्दु, द्वन्द्व, पात्र वा चरित्रको संवेदना, भाव वा विचारको संवेग आदि संरचनात्मक वा कलागत मूल्यहरूको सैद्धान्तिक आधार निर्माण भई यसले साहित्यको एक विधाका रूपमा मान्यता पाएको छ (श्रेष्ठ र शर्मा, २०६३ : ६७) । तर परम्परागत रूपमा चल्दै आएको नेपाली कथाको आधार भने निकै पुरानो रहेको छ । किस्सा, कहानी, दन्त्यकथा, पुराणकथा, जातककथा, पञ्चतन्त्र र हितोपदेशका कथाहरू भन्ने हाम्रो परम्परा हो । अझ कथाको वीजरूप त वेद र ब्राह्मण ग्रन्थहरूमा पनि देखिन्छ । रामायण र महाभारतका कथाहरू पनि पढ्ने गरिन्छ । यसरी नेपाली कथाको मुहान खोज्दै जान नसकिने होइन तर नेपाली कथाको इतिहासलाई विद्वान्हरूले प्राचीन काल, मध्यकाल र आधुनिक काल भनेर वर्गीकरण गरी वि.सं. १८२७ देखि प्राचीन कालको आरम्भ भई १९५७ सम्मको १३० वर्षको अवधिलाई प्राचीन काल, १९५८ मा गोरखापत्र प्रकाशित हुन थालेदेखिको १९९१ सम्मको ३३ वर्षको अवधिलाई मध्य काल र १९९२ देखि यतालाई आधुनिक काल भनी वर्गीकरण गरिएको पाइन्छ (श्रेष्ठ र शर्मा, २०६३ : ७४) ।
बौद्ध वाङ्मय र संस्कृतसाहित्यमा लेख्य कथाको परम्परा भए पनि नेपाली साहित्यमा प्राचीन कालअघि कथाको कुनै लेख्य आधार थिएन । नेपाली कथाको लेख्य परम्परा शक्तिवल्लभ अर्यालको ‘महाभारत विराट पर्व’ (वि.स. १८२७) बाट सुरु भएको र भवानीदत्तको ‘मुद्राराक्षस’ (१९८२) देखि मुन्सीका ‘तीन आहान’ (१८७६) लगायत स्वस्थानी व्रतकथा, शुकबहत्तरी जस्ता संस्कृत प्रभावका आख्यानात्मक रचनाहरूले प्राचीन काल ढाकेको देखिन्छ । यसै गरी गोरखापत्रमा सामाजिक, धार्मिक, मनोरञ्जनात्मक, जासुसी आदि विषयका कथाहरू छापिन थालेपछि र शुकबहत्तरी, सुनकेशरी रानीका कथाहरू जस्ता दन्त्य कथाहरू रचिँदै, अनुवादित हुँदै र उपसिर्जित हुँदै मध्यकाल बितेको देखिन्छ ।
कथाको आधुनिक काल वि.सं. १९९२ मा कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रह प्रकाशित भएपछिको अवधिलाई मानिन्छ । ‘नासो’ ले कथासिर्जनाको मध्यकालीन ढाँचा र चिन्तनलाई विदा दियो र कथालाई उडन्ते, काल्पनिक, जासुसी, तिलस्मी र अलौकिक पात्रहरू भएको ढाँचाबाट अलग गरेर समाजकेन्द्री बनायो । समाजका दुःखसुख, मान्छेका आँसुहाँसोलाई आफ्नो विषय बनायो । ‘नासो’ सङ्ग्रहको ‘नासो’ कथामा त्यतिखेरका सम्भ्रान्त पात्र देवीरमण र उनकी बालखकालमै विवाह गरेकी श्रीमती सुभद्रा र पछि सन्तानका लागि ल्याइएकी कान्छी दुलही लक्ष्मीको कथा छ । तर आदर्श पुरानै हिन्दू आदर्श रहेको छ । छोरा नपाई स्वर्ग जान पाइन्न भन्ने र छोरा जन्माउन नसक्नुको कारण श्रीमतीमा देख्नु । तीर्थव्रत गर्नु, दुई विवाह गर्नु । यस्तो आदर्श छ । त्यसो भएकाले यसलाई आदर्शोन्मुख सामाजिक यथार्थवादी कथा मानिएको छ । यसरी यथार्थवादी धाराको सुरुवात भएपछि २००७ मा जुन राजनीतिक घटना घट्यो नेपालमा राणाशाही धराशयी भयो नेपालमा काँग्रेस, कम्युनिस्ट पार्टीहरू बने र तिनले संसारका नवीन चिन्तनहरू प्रजातन्त्र, समाजवाद, समानता, स्वतन्त्रताका विचार नेपाली समाजमा ल्याए । यसको असर नेपाली साहित्यमा खास गरी कथासाहित्यमा पनि प¥यो । ‘कमरेड जाने होइन ?’ जस्ता प्रगतिवादी धाराका कथाहरू लेखिए । गोविन्दप्रसाद लोहनी, डी.पी. अधिकारी, भवानी घिमिरे, बालकृष्ण पोखरेल, तारानाथ शर्माहरूले नयाँ आदर्शले भरिएका कथाहरू २०१४/१५ सालसम्म लेख्दै रहे । २०१७ सालको काण्डले राजनीतिक पार्टीहरू भूमिगत भए । पञ्चायती शासन सुरु भयो । यसले साहित्यक्षेत्रमा केही निराशा केही विद्रोही चेतना ल्यायो । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुष्कर शमशेर, भवानी भिक्षु, गोविन्द ब. मल्ल गोठाले, केशवराज पिँडालीहरूको सामाजिक यथार्थवादी धारामा पनि शिथिलता आयो । उता प्रगतिवादी धारामा पनि शिथिलता आएको थियो । यही समयमा हङ्ग्री जेनेरेसन टाइपका नयाँ युवाहरू पुराना आदर्शहरूलाई अस्वीकार गर्दै राल्फा, अस्वीकृत जमातलगायतका साहित्यिक, सांस्कृतिक, साङ्गीतिक आन्दोलनमा लाग्न थाले । यही समयमा पारिजातको प्रादुर्भाव भयो र कथासिर्जनामा देखा परिन् ।
४. पारिजातको कथासिर्जना
पारिजातको कथायात्रा कथाको आधुनिक कालको पनि नवचेतनाको उन्मेष भएको चरणमा भए पनि उनले अग्रजहरूको प्रगतिवादी धारालाई पक्रिन सकिनन् र आदर्शवादी वा यथास्थितिवादी धारामा पनि अटाउन सकिनन् । कथ्यमा पुरानै र शैलीमा नयाँपनसहित केही विद्रोही चेतना बोकेर पारिजात कथासिर्जनामा आइन् । कथायात्राको उनको पहिलो कथा हो मैले नजन्माएको छोरो । यो कथा रचना अङ्क–३, वर्ष–१, २०२१ मा पहिलोचोटि प्रकाशित भएको हो (घिमिरे र ज्ञवाली, २०५८ : ४) । पछि यो उनको कथासङ्ग्रह आदिम देश (२०२५) मा सङ्कलित भएको छ । आदिम देश (२०२५) उनको पहिलो कथासङ्ग्रह हो । यसैगरी उनका अरू तीनवटा कथासङ्ग्रहहरू सडक र प्रतिभा (२०३२), साल्गीको बलात्कृत आँसु (२०४३) र बधशाला जाँदा आउँदा (२०४९) गरी जम्मा चारवटा कथासङ्ग्रहरू प्रकाशित भएका छन् । यी चारवटा कथा सङ्ग्रहहरूमा प्रस्तुत भएका प्रवृत्तिहरूका कारणले उनको कथायात्रालाई मुख्य गरी दुई भागमा वर्गीकृत गरिएको छ ।
पहिलो खण्डमा आदिम देश र सडक र प्रतिभा र दोस्रो खण्डमा साल्गीको बलात्कृत आँसु र बधशाला जाँदा आउँदा रहेका छन् र यसलाई पूर्वाद्र्धकाल र उत्तराद्र्ध काल भनिएको पाइन्छ (भट्टराई, २०७२ ः ६८) । पूर्वाद्र्धकालका दुईवटा कथासङ्ग्रहहरू– आदिम देश र सडक र प्रतिभा र उत्तराद्र्ध कालका साल्गीको बलात्कृत आँसु र बधशाला जाँदा आउँदा गरी यी चारैवटा सङ्ग्रहहरूमा जम्मा ४७ वटा कथाहरू रहेका छन् । ती कथाहरूबारे यहाँ क्रमशः सङ्क्षिप्त चर्चा गरिएको छ :
क) आदिम देश
यो पारिजातको पहिलो कथासङ्ग्रह हो । यसमा बाह्रवटा कथाहरू रहेका छन्– १. आदिम देश, २. बीसौँ शताब्दीको एक गल्लीमा, ३. सिमेन्टभित्र एउटा राजबेली, ४. सधैँ बित्नुपर्ने हामी, ५. मैले नजन्माएको छोरो, ६. एक उडानमा, ७. तिउरीको फूल पायरियाको गन्ध, ८. सोफिजम मेरो लोग्नेसँग कुराकानी, ९. निर्माणको मोडेल समयभित्र, १०. साइनो ग्य्रानीटको टुक्रासँग, ११. अनिदो र शून्यता र १२. अप्ठेरो र अभ्यस्त मान्छे । प्रवृत्तिका हिसाबले प्रायः यी सबै कथाहरू अस्तित्ववादी–विसङ्गतिवादी धाराका रहेका छन् ।
ख) सडक र प्रतिभा
यो पारिजातको दोस्रो कथासङ्ग्रह हो । यसमा सत्रवटा कथाहरू सङ्कलित छन्ः– १. सडक र प्रतिभा, २. प्रतीक, ३. नयाँ मान्छे, ४. निस्सारतादेखि, ५. विरुद्ध, ६. डायरीको आठौँ पाना, ७. यस ठाउँमा, ८. अन्तर्विरोध, ९. रात, १०. घाम ताप्दा, ११. सन्त्रास, १२. देवल, १३. बूढा बा, १४. साथीको सम्झना, १५. सङ्घारनेर, १६. सिटीहलको बूढो ज्यामीसँग र वर्कसपभित्र शीर्षकका यी १७ कथामध्ये १२ वटा कथाले पहिलेकै अस्तित्ववादी–विसङ्गतिवादी प्रवृत्ति बोकेका छन् भने ४ वटा कथाले सामाजिक यथार्थवादी र एउटाले व्यक्तिविद्रोही अराजक चेतना बोकेको छ ।
ग) साल्गीको बलात्कृत आँसु
यो पारिजातको तेस्रो कथासङ्ग्रह हो र यसमा ११ वटा कथाहरू सङ्कलित भएका छन् :– सइसको चिट्ठी, २. सम्बन्ध, ३. एउटा गाउँमा, ४. नैकापे सर्किनी, ५. प्रतिकूलता, ६. कलिलो अतीत, ७. यसरी एउटा नाउँ काटिन्छ, ८. साल्गीको बलात्कृत आँसु, ९. कुनै गुलाफ ओभानो छैन यहाँ, १०. पैसाको रङ्ग, र ११. वर्षा ऋतु । प्रवृत्तिका हिसाबले यी एघार कथाहरूमध्ये ६ वटा प्रगतिवाद उन्मुख धाराका, दुईवटा सामाजिक यथार्थवादी धाराका र ३ वटा समाजवादी यथार्थवादी धाराका रहेका छन् ।
घ) बधशाला जाँदा आउँदा
यो कथाकार पारिजातको चौथो कथासङ्ग्रह हो । यसमा सातवटा कथाहरू सङ्कलित छन् :– १. शोध, ३. नाटकको चौथो चरण, ३. साँझ उदास घरको पिंढीमा, ४. विकल्पहीन, ५. बधशाला जाँदा आउँदा, ६. शकुन्तलाको चिन्तन र ७. एउटा जून पानीभित्र । यी ७ वटा कथाहरूमध्ये कथात्मक प्रवृत्तिका दृष्टिले कथाहरू प्रगतिवाद उन्मुख र चारवटा सामाजिक यथार्थवादी धाराका रहेका छन् ।
५. पारिजातका कथाका प्रवृत्तिहरू
पारिजातका कथाहरूमा एकातिर विश्वव्यापी रूपमा स्थापित भएका साहित्यिक सामान्य प्रवृत्तिहरूको प्रस्तुति भएको पाइन्छ भने अर्कोतिर पारिजातका वैयक्तिक एवं विशिष्ट प्रवृत्तिहरू प्रकट भएको पाइन्छ । यी प्रवृत्तिहरूलाई निम्नानुसारको तालिकीकरण गरिएको छ :
कथात्मक प्रवृत्तिहरू
क) सामान्य वा साहित्यिक प्रवृत्तिहरू ख) विशिष्ट वा वैयक्तिक प्रवृत्तिहरू
१. अस्तित्ववादी–विसङ्गतवादी धारा १. अकथात्मकता
२. व्यक्तिविद्रोही अराजकपन २. बौद्धिक भाषा र चित्रात्मक शैली
३. सामाजिक यथार्थवादी धारा ३. नारीचरित्रकेन्द्री प्रवृत्ति
४. प्रगतिवादी धरातर्फको उन्मुखता ४. मनोचित्रणको प्रवृत्ति
५. समाजवादी यथार्थवादी धारा ५. यौनकुण्ठा
६. स्वाभिमानी स्वर
७. विद्रोही चेतना
क) सामान्य वा साहित्यिक प्रवृत्तिहरू
५.१ अस्तित्ववादी–विसङ्गतिवादी धारा
अस्तित्ववाद एक साहित्यिक धारा हो । यो अराजक, विद्रोही र बौद्धिक धारा हो । यसको केन्द्रमा मानिसको अस्तित्व रहेको छ । मानव अस्तित्वको खोजीको क्रममा ईश्वरीय सत्ताको अस्वीकृति, परम्पराको अस्वीकृतिका साथ आन्दोलनरत एउटा धारा र अस्तित्वको खोजीको नाममा जीवनका विसङ्गत पक्षको अतिशय पक्षपोषण गर्दै जीवनबाट पलायन भइदिने अर्को धारा रहेको छ । यी दुई धारामध्ये पछिल्लो प्रवृत्ति नै विसङ्गतिवाद हो । यो प्रवृत्ति पारिजातका पूर्वाद्र्धकालीन दुई कथासङ्ग्रहका धेरैजसो कथाहरूमा प्रस्तुत भएको देखिन्छ । पहिलो कथासङ्ग्रह आदिम देशका निम्न कथाहरूका यो प्रवृत्ति हावी भएको छ । आदिमदेश यो यस सङ्ग्रहको पहिलो कथा हो । यसमा म र म की स्वास्नी दुई पात्र छन् र म को सन्तुष्टिका लागिमात्र स्वास्नीले बच्चा पाइदिन्छे र मर्छे । स्वास्नीको अस्तित्व चिन्तन मृत्युमा वा निस्सारतामा टुङ्गिएको छ । अर्को कथा बीसौँ शताब्दीको एक गल्लीमा म पसल्नी, काजी र काजीकी वेश्या पात्रहरूमध्ये वेश्याले मोलतोल नमिलेकाले काजीको यौन आग्रहलाई अस्वीकार गर्छे । सिमेन्टभित्र एउटा राजबेली कथामा चिम्चा र हीराकाजीको काम–क्रिडा राजबेलीको झ्याङमुनि भएको देखाइएको छ । यस्तै गरी अर्को कथा सधैँ बित्नुपर्ने हामी मा पनि बेबी र म पात्रको प्रेमको नाममा काम–क्रिडा छ । कलिली बेबीले भर्खरै गर्भपतन गरेर आएकी भए पनि पुनः म पात्र घुम्न जाने प्रस्ताव राख्छ । अर्को कथा पारिजातको पहिलो प्रकाशित कथा मैले नजन्माएको छोरो मा पनि अविवाहित युवतीको यौनभावना र मनोविज्ञान प्रस्तुत भएको छ र ऊ अस्तित्व चेतनाले भरिएकी देखिन्छे । एक उडान कथाकी एयर होस्टेज सोफिया पात्रको यौनकेन्द्री विसङ्गत जीवन प्रस्तुत भएको छ । यस्तै यौनकुण्ठा र विसङ्गत जीवनको चरम अभिव्यक्ति तिउरीको फूल पायरियाको गन्ध कथामा भएको छ । मन्दिरको पेटीमा गुजारा गर्ने फोहोरी, घिनलाग्दी लाटीलाई सधैँ बलात्कार गर्ने टुरिस्ट गाइड र पुलिसवालाको कृत्यप्रति क्षुब्ध रहेको म पात्रसमेत लाटीलाई भोग्न तयार भएको चरम रूपको कुरूप स्थितिको प्रस्तुति यस कथामा छ । अर्को कथा सोफिजम मेरो लोग्नेसँग कुराकानीमा म स्त्रीपात्रले आफ्नो लोग्नेलाई परपीडक बताएकी छे । अस्तित्ववादी चेतना मृत्युबोधी चेतनामा फेरिएको उदाहरण अनिदो र शून्यता कथामा पाइन्छ । माधू पात्र एउटा कथाकारले नग्न चित्र बनाउने प्रस्ताव राख्यो भन्दैमा अनिदोको सिकार भई एकैचोटि धेरै औषधि खाएर मृत्युवरण गर्छे । यस्तै साइनो ग्य्रानीटको टुक्रासँग कथाकी नायिका एक स्त्री लोग्नेले छोडेकाले वागमतीको किनारमा सङ्घर्ष गरेर बसेकी छ तर त्यहाँका महारोगी, हात्तीपाइले बुढी पात्रले जस्तै मृत्युको चाह गरेकी छ । यस सङ्ग्रहको अन्तिम कथा अभ्यस्त र अप्ठेरो मान्छे मा यौनकुण्ठित निरोटिक युवक एक झुपडीमा बस्ने गरिब चमेलीसित पल्केको छ । पेट भोको भए पनि चमेली वेश्यावृत्ति गर्न छोड्दिन ।
पारिजातको अर्को कथासङ्ग्रह सडक र प्रतिभा का कथाहरूमा पनि यो प्रवृत्ति प्रस्तुत भएको छ । यस सङ्ग्रहको पहिलो कथा हो सडक र प्रतिभा । यसमा म पात्रले आफ्नी प्रियतमा भेट्न जाँदा ऊ पात्रको कोट लाएर गएको छ र ऊ सोच्छ म की प्रियतमाले पनि अर्कैको सारी लगाएर बसेकी होली । अर्को कथा प्रतीकमा आफूले ज्याला नपाएको झोँक स्वास्नीलाई देखाएर कुटपिट गर्छ, स्वास्नी सहन्छे । नारीसमस्याको अर्को कथा नयाँ मान्छे कथामा छ । बुहारीको यौनशोषण गर्ने भान्से बुढाले ज्यापूकी तरुनी स्वास्नीलाई पनि लुट्छ । यो देख्ने म पात्र भने आफ्नो यौन शोषक बाबु मरेकोमा खुसी नै भएको छ । अर्को कथा निस्सारतादेखिमा म र ऊ पात्रको यौनशोषण गर्ने विसङ्गत संवार्ता छ । विरुद्ध कथामा नारीमाथिको हिंसा छ । तर लोग्नेको यो अत्याचार स्वास्नी सहन्छे र बाँच्नु र मर्नु एकै ठान्छे । अर्को कथा डायरीको आठौँ पाना भने स्त्रीपात्र म को एउटा डायरी छ उसकी साथी ऊ पात्रलाई ऊ त्यो हेर्न दिन्न सस्ता प्रेमका गीतहरू छन् भन्छे । मलाई ज्वरो आएको जस्तो हुन्छ । उसले हेरी भने के ठान्ली भन्छे । यस ठाउँमा कथामा पनि दुई पात्र म र ऊ छन् र पत्र लेखेर सबै मैथुनजीवी भएको जनाउँछन् । अर्को कथा अन्तर्विरोध मा पनि यौनकुण्ठाकै चर्चा छ । म पात्र सोच्छ यो समाज र जीवन मान्छेको लागि अनुकूल छैन तसर्थ ऊ पसल्नीलाई बलात्कार गर्न जान्छ । पसल्नी अस्वीकार गर्छे र आफ्नो अस्तित्वको परिचय दिन्छे । तर ऊ पसल्नीको मृत्यु चाहन्छ । रात कथामा एउटा पात्रले भयङ्कर आकृति देख्छ र त्यसलाई मृत्युको प्रतीक ठान्छ । अर्को कथा घाम लाग्दा मा भने म (एक अकर्मण्य) पात्रकी स्वास्नीले उसलाई ‘म तिम्री स्वास्नी होइन भन्छे’ । यस्तै सन्त्रास कथाकी म पात्र आफ्नो श्रीमान्लाई परपीडक देख्छे । छोरी मात्र भएकोमा ऊ दुःखी छे र मर्न चाहन्छे । यस्तै देवल कथाकी देवलमा बस्ने वेश्याआमा सधैँ नाइके र ठेकेदारबाट सस्तोमा भोगिन्छे । ऊ सँगै बस्ने उसको छोरो पनि एक दिन आमालाई भोग्न तयार हुन्छ । यस्तो विसङ्गतिको चरम रूप र घातक स्थितिको वर्णनचित्रण गरिएको यस कथाकी आमा पात्रलाई देशकी प्रतीक पनि कतिपय समीक्षकले ठहर्याएका छन् (भट्टराई : २०७२, ६९) ।
यसरी पारिजातका पूर्वाद्र्धकालीन दुई कथासङ्ग्रहका २९ वटा कथाहरूमध्ये २३ वटा कथाहरूमा अस्तित्ववादी–विसङ्गतिवादी चेतना प्रस्तुत भएको देखिन्छ ।
५.२ व्यक्ति–विद्रोही अराजक प्रवृत्ति
पारिजातका उपन्यासमा पाइने यो प्रवृत्ति कथाहरूमा पनि फाट्टफुट्ट देखा परेको छ । उदाहरणार्थ पारिजातको पहिलो कथासङ्ग्रह आदिम देशको एउटा कथा निर्माणको मोडेल समयभित्रको रोलर चलाउने ड्राइभर म पात्रले बाटो बनाउने मजदुर केटीहरूलाई यौनशोषण गर्ने नाइकेलाई रोलरले पेलिदिने विचार गरेको छ । अन्यायको विरुद्धमा ऊ आक्रोशित देखिन्छ । यसैगरी पारिजातको दोस्रो कथासङ्ग्रह सडक र प्रतिभा मा सङ्कलित अन्तिम कथा वर्कसपभित्र को एक पात्र मेकानिक अर्को पात्र भोटे क्लिनरसँग वर्कसपमा आगो लगाइदिने कुरा गर्छ । उसले आफ्नो परिश्रम चुसेर मालिक मोटाएको र आफूहरूको जीवन जस्ताको तस्तै भएको बोध गरेको छ । उसले आगो लगाएपछि त्यसको परिणाम के हुन्छ भनेर विचार गरेको छैन । विद्रोहको अराजक भावना मात्र छ । यसरी दुईवटा कथासङ्ग्रहका एकएक वटा गरी दुई कथाहरूमा व्यक्ति विद्रोही अराजक प्रवृत्ति प्रस्तुत छ ।
५.३ सामाजिक यथार्थवादी धारा
यस धारामा सडक र प्रतिभा कथासङ्ग्रहका तीन वटा साल्गीको बलात्कृत आँसुमा दुईवटा र वधशाला जाँदा आउँदा कथासङ्ग्रहका ४ वटा गरी जम्मा ९ वटा कथाहरू रहेका छन् । सडक र प्रतिभा कथासङ्ग्रहको पन्ध्रौँ कथा हो बूढा बा । यस कथाका पात्र बूढा बा आफू युगबाट ठगिएका त छन् तर समाजमा सभ्यताको लहर ल्याउन चाहन्छ । अर्को कथा साथीको सम्झना को कथावाचक पात्र एक केटीको डायरी पढ्छ त्यसमा पुलिस र आन्दोलनकारी शत्रु–शत्रु भएको उल्लेख पाउँछ । यस्तै अर्को कथा सँघारनेर मा एउटा विद्यार्थी पात्रले घरमा एयरगन राखेकाले त्यसको लाइसेन्स खोज्न पुलिस आएको हुन्छ । पारिजातको अर्को कथासङ्ग्रह साल्गीको बलात्कृत आँसुका कथाहरूमध्ये दसौँ कथा हो पैसाको रङ । यस कथामा पैसाको रङ अलगअलग हुन्छ । पुँजीपतिहरूको पैसाको रङ कालो हुन्छ र श्रमजीवी जनताको श्रमको पैसा सेतो हुन्छ भनेर पत्रकारले ठाने पनि पुँजीवादीहरूले जन्माएको आर्थिक विकृतिको विरोध नगर्ने पत्रकार पात्र आफूलाई लाछी ठान्छ । अर्को कथा वर्षा ऋतु हो । यसमा म पात्र उदारतापूर्वक धेरै दुःखी भएकी कान्छी दनुवार्नीलाई सहयोग गर्न खोज्छ तर कान्छी दनुवार्नी विश्वास गर्दिन र उल्टो पुलिसको विश्वासमा पर्छे र दुःख पाउँछे । यसैगरी यही प्रवृत्तिको प्रस्तुति भएका कथाहरू छन् पारिजातको चौँथो कथासङ्ग्रह बधशाला जाँदा आउँदा मा । यस सङ्ग्रहको तेस्रो कथा हो साँझ उदास घरको पिँढीमा । यसमा नारीसङ्घर्षको कथा छ । कथाकी पात्र कमलीकी आमा परिवार पाल्ने बोझले मात्र होइन, रक्सीवाज लोग्नेबाट पनि पीडित छे । बल्लतल्ल कमलीकी आमाले परिवार धानेकी त हुन्छे तर कमलीले जागिर पाई अब घरमा सहयोग गर्छे भन्ने बेलामा कमली मालिकसित पोइल हिँड्छे । अर्को कथा छ विकल्पहीन । यस कथाकी नायिका लक्ष्मीपुरे डल्ली लोग्नेले फत्तुर लाएर घरबाट निकालिन्छे । जागिर खान थालेपछि लोग्नेले उतै अर्की ल्याएको हुन्छ र डल्लीलाई त्यतिकै बात लगाएर निकाल्छ । डल्ली गल्लीमा माग्न निस्कन्छे दुई साना छोरीसहित । तर उसले आफ्नो जीवन कुकुर्नीको भन्दा पनि तल पाउँछे । यसैगरी अर्को कथा बधशाला जाँदा आउँदा मा म (कर्मचारी) पात्रको कथा छ । ऊ न बाटामा माग्ने चन्द्रधरलाई केही दिन सक्छ न अफिसमा काम खोज्न आउने पात्रलाई केही सहयोग गर्न सक्छ । ऊ विवश देखिन्छ । यस सङ्ग्रहको अन्तिम कथा छ एउटा जुन पानीभित्र यसमा कोसीमा ¥याफ्टिङमा जाने विदेशी सैलानीहरू, क्याप्टेन, टोली नाइके र हेल्परहरू छन् । हेल्पर जनक लागू पदार्थको आदतमा परेको छ । विनासित्ती क्याप्टेनमाथि रिस गर्छ । जिन पिएर कोसीमा आत्महत्या गर्न खोज्छ । जेनतेन क्याप्टेनले सम्झाउँछ तर भोलिपल्ट ¥याफ्टिङमा डुङ्गा भुमरीमा पर्छ, डुङ्गा बच्छ तर जनक कोसीमा बेपत्ता हुन्छ । यसरी यी कथाहरूमा सामाजिक यथार्थताको वर्णन चित्रण गरिएको पाइन्छ ।
५.४ प्रगतिवादी साहित्य धारातर्फको उन्मुखता
यस धारामा पारिजातको दोस्रो कथासङ्ग्रह सडक र प्रतिभा को एउटा कथा, तेस्रो कथासङ्ग्रह साल्गीको बलात्कृत आँसु को छवटा कथाहरू र चौथो कथासङ्ग्रह बधशाला जाँदा आउँदा का तीनवटा कथाहरू गरेर दशवटा कथाहरू परेका छन् । सडक र प्रतिभा सङग्रहको सोह्रौँ कथा हो सिटीहलको बूढो ज्यामी । यस कथाको पात्र सिटीहलको बूढो ज्यामीमा आत्ममूल्याङ्कन सुरु भएको छ । उसले धेरै सिटीहल बनाए पनि बास बस्ने ठाउँ छैन तर मालिकको भने मस्ती छ । अर्को कथासङ्ग्रह साल्गीको बलात्कृत आँसु को पहिलो कथा हो सइसको चिठी । यसमा एक तामाङ सइस पात्रले गाउँमा रहेकी आफ्नी मायालुलाई पत्र लेखेर आफू काठमाडौँमा आएर घोडा मोल्ने र उसिनाको भात खाने सइसको काममा लागेको, दुःख पाएको, गरिबीका कारणले यस्तो भोग्नु परेको जनाएको छ । सइसमा वर्गबोध भएको देखिन्छ । अर्को कथा सम्बन्धमा पुन्टेको बाउ पात्रले उसकी श्रीमती पुन्टेकी आमालाई उपचारार्थ सहरमा ल्याएको तर गरिब भएकाले हस्पिटलमा उपचार नपाएको र डक्टर, नर्सले विशेष मान्छेलाई मात्र हेरेकोमा मन खिन्न भएको छ । आखिर पुन्टेकी आमा आफै सुत्केरी हुन्छे र भन्छे हस्पिटल नआएको भए पनि हुने रहेछ । अर्को कथा नैकापे सर्किनी हो । यसमा सर्किनी पात्रले आफ्नो अपाङ्ग लोग्नेलाई पालेकी छे । दिनभरि बाग्मतीमा बालुवा चाल्ने काम गर्छे । श्रमशील यस्ती पात्रलाई एउटा भिखारी राती बलात्कार गर्न आउँछ । उसले त्यसलाई कुटोको पासाले भकुर्छे । नारीसङ्घर्षकै अर्को कथा छ साल्गीको बलात्कृत आँसु यसमा ल्वाँगे घर्ती पात्रद्वारा भारतको वेश्यालयमा पुर्याइएकी सिन्धुपाल्चोककी साल्गीको करुण कथा छ । साल्गीलाई आफ्नो ठाउँ र आमाबाबाको मायासँगै ल्वाँगे घर्तीलाई कसैले छिनाइदिए हुन्थ्यो भन्ने भाव जागेको छ । अर्को कथा छ कलिलो अतीत । यसमा कलिलै उमेरमा सानी र ऊ (युवक) पात्र प्रेमबन्धनमा बाँधिन्छन् र गाउँमा बस्न अनुकूल नभएपछि काठमाडौँ सहर आएर सानो जागिर खोजेर बस्छन् तर जागिरबाट घर चल्दैन । सानीले विद्यार्थीसँग चामल सापट मागेर खाना बनाउँछे । यसरी गरिबी र वर्गप्रेमको कथा बनेको छ यो । अर्को कथा छ यसरी एउटा नाउँ काटिन्छ । यस कथाको पात्र बूढो ज्यामी (बलबहादुर गोले) कुलीन वर्गको घर बनाउने काममा दिनभरि सिमेन्टी बोक्छ र बेलुका रगत छादेर मर्छ । अरू कामदारहरू ठेकेदारले दिएको भोज खान लाग्छन् । पछि भारतीय ठेकेदारले उसको नाउँ कुल्लीको रजिस्टरबाट काट्छ ।
तेस्रो कथासङ्ग्रह बधशाला जाँदा आउँदाको पहिलो कथा हो शोध । यसकी पात्र अमेरिकी समाजशास्त्री मोनिका हड्सन शोधको लागि धादिङका दुई गाविस पुग्छे । त्यहाँ उसले कृष्णबहादुर नाम भएका श्रेष्ठ, तामाङ, खाती र खड्का पात्रहरूलाई भेट्दा सबैको हालत विपन्न पाउँछे र छक्क पर्छे । अर्की पात्र म (नेपाली) ले गाउँमा प्रधानपञ्च सभापति, ठेकेदार मुखिया, जिमुवाल जस्ता सम्पन्न मान्छे पनि छन् भन्छे । यस सङ्ग्रहको अर्को कथा नाटकको चौथो चरण हो । यसमा नैनबहादुर पात्रले आफ्नी श्रीमतीलाई उपचार गर्न बाह्रबिसेबाट काठमाडौँ ल्याउँछ । वीर हस्पिटलमा उपचार नभएकाले टेकु लैजान्छ । त्यहाँ पनि उपचार हुँदैन । पैसा सकिन्छ । स्वास्नी मर्छे । लास लैजान बस, ट्याक्सीले मान्दैनन् र ऊ लास छोडेर बाह्रबिसेको बसमा चढ्छ र स्वास्नीलाई यो सहरमा सबै मुर्दा रहेछन् तँ सक्ने भए उठेर हिँड् भन्छ । यस्तै अर्को कथा छ शकुन्तलाको चिन्तन । शकुन्तला हाकिमकी अरौटे भएर बसेको पियन हरिप्रकाशकी श्रीमती हो । हाकिम्नीले रातभरि जागेर घर कुर्नुपर्छ भनी कचकच गर्दा ऊ लोग्नेलाई यो घर छोडेर अन्तै बसौँ र लोग्नेले पढेर एसएलसी गर्नू भन्छे । यसरी यी कथाहरूमा प्रगतिवाद उन्मुख प्रवृत्ति मुखरित भएको पाइन्छ ।
५.५ समाजवादी यथार्थवादी प्रवृत्ति
पारिजातका कथाहरूमध्ये एकदमै थोरै कथामा मात्र समाजवादी यथार्थवादी दृष्टि प्रस्तुत भएको पाइन्छ । समाजका यथार्थतालाई वस्तुवादी, ऐतिहासिक र विज्ञान सम्मत दृष्टिले पर्गेल्ने र त्यसलाई मानवीय आवश्यकताअनुरूप उन्नत जीवनमूल्यहरूद्वारा आदर्शीकृत गर्ने चेतना नै समाजवादी यथार्थवादी प्रवृत्ति हो । वस्तुगत यथार्थ चित्रण, पात्र र घटनाहरूको प्रतिनिधीकरण, प्रारूपण, आदर्शीकरण र उदात्तीकरणको बाटो भएर उन्नत मूल्ययुक्त सुन्दर समाजको स्थापनार्थ जुन सौन्दर्यबोधी चेतना हो यो नै समाजवादी यथार्थवादी प्रवृत्तिको आधारशिला हो । पारिजातका कथाहरूका यथार्थवादी, अस्तित्ववादी, विसङ्गतिवादी, अराजकतावादी, प्रगतिवाद उन्मुख जुन प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरूबाट माथि उठेर नवीन मूल्यचेतनासम्म उठेका कथाहरूले नै यस प्रवृत्तिलाई प्रतिनिधित्व गर्दछन् । यस्ता कथाहरूमा पारिजातको तेस्रो कथासङ्ग्रह– साल्गीको बलात्कृत आँसु भित्रका तीन कथाहरू छन् । समाजवादी यथार्थवादी प्रवृत्ति प्रखर रूपमा अभिव्यक्त भएको कथा भने एउटै मात्र छ एक गाउँमा । यसमा समाजसचेत पात्र छे अतिमाया । उसले खिउटेकी आमा अर्की पात्रलाई पनि गाउँको सुरक्षार्थ सङ्गठित गरेकी छे । उसले गाउँको अन्याय, अत्याचार, शोषणदमनका विरुद्ध सङ्घर्ष गर्नुपर्छ, बिलौना गरेर दुःखका गीत गाएर अधिकार पाइन्न भनेर जागरणको शङ्ख फुकेकी छ । सत्तरी वर्षकी बूढी गाउँको सुरक्षार्थ निस्केकी छे । प्रधानपञ्चको शोषणबाट घोचिएकी र कामी जातकी भनेर उपेक्षित भएकी खिउटेकी आमाले त हातमा खुकुरी पनि बोकेकी छ । अतिमायाका तीन भाइ छोराहरूमध्ये जेठो र माहिलो क्रान्तिकारी कार्यमा लागेर भूमिगत भएका र कान्छो जेलमा पुगेको छ । अतिमायामा छोराहरूको क्रान्तिकारी जीवनको छाप परेको छ । गाउँका लोग्नेमान्छेहरू गाउँपारि मोर्चा कसेर बसेकाले प्रतिक्रियावादी पुलिसबाट गाउँ जोगाउन अतिमायाहरू कस्सिएका छन् । अर्को कथा छ प्रतिकूलता । यो महिला सदर जेलभित्रको कथा हो । यहाँ महिला कैदीहरू छन् : दाजुले भुँडी बोकाएर आएकी र दश वर्षे जेल परेकी मसिनी घर्तिनी, वेश्याका आरोपमा तीन वर्षदेखि थुनिएकी मिट्ठु क्षेत्री, बौलाही कैदीलगायत पियनकी गर्भ तुहाएकी, भर्खर जन्मेको बच्चा मारेर आएकी, मान्छेको मासु खाएर आएकी स्त्री पात्रहरू छन् । यसैगरी जेठाजु काटेर आएकी पात्र स्वयं नाइकेनी छे र नारीमुक्तिका आवाज उठाउँदा जेल परेकी मर्यादा छे । मर्यादाले जेलको अत्याचार डायरीमा नोट गरेकी छे । अर्को कथा छ कुनै गुलाफ ओभानो छैन । यसमा म पात्रले नारीवर्गको मुक्तिको कुरो उठाएको छ । अर्की पात्र इकेवानाले फक्रिसकेको गुलाफमा झुसिल्कीरा बसेको प्रतीकात्मक भाव व्यक्त गरेकी
छ । सेतो गुलाफ श्रमजीवीको प्रतीक बनेर आएको छ । यसरी यस सङ्ग्रहका तीन कथाहरूले समाजवादी यथार्थवादी प्रवृत्तिको प्रतिनिधित्व गरेका छन् ।
ख) विशिष्ट वा वैयक्तिक प्रवृत्तिहरू
५.१ अकथात्मकता
पारिजातका दुई कथासङ्ग्रहहरू आदिम देश र सडक र प्रतिभाका केही कथाहरू निबन्ध जस्ता छन् । कथानक नाम मात्रको छ । कथात्मकताभन्दा अनुभूतिको पक्षले ठाउँ ढाकेको छ । कुनै साधारण चिट्ठी, कुनै साधारण संवाद जस्ता मात्र छन् । पात्रहरू पनि म र ऊ रहेका छन् । निजात्मकता, अवस्तुवादिता, अकथात्मकता छाएको छ । आदिम देश, बीसौँ शताब्दीको एक गल्लीमा, सडक र प्रतिभा, यस ठाउँमा, निस्सारतादेखि, विरुद्ध, प्रतीकलगायतका कथाहरूमा अकथात्मकता प्रवृत्ति छाएको छ । डायरीको आठौँ पानालाई त अकथाको पनि अकथा भनिएको पाइन्छ (पाण्डेय, २०५३ : ११२) ।
५.२ बौद्धिक भाषा र चित्रात्मक शैली
पारिजातको परिचय भनेकै झर्झराउँदो शैली हो । यो बौद्धिक र चित्रात्मक किसिमको देखिन्छ । प्रतीक कथाको आरम्भिक अनुच्छेदभित्रको हरफ हेरौँ– “भर्खरै नीला अन्धकार टकटकिँदै भागेर गएको हुनुपर्छ रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर तथा नङ्ग्याएर छाप्रो र धुलेटे सडकलाई । … यो मैदान हो यहाँ घाम सपाट सुत्छ र सपाट उठ्छ, आँखाअगाडि एउटा पहाड आएर उभिदिनु कविता हो यो ठाउँको (पारिजात, २०५४ ः ६८) ।
५.३ नारीचरित्रकेन्द्री प्रवृत्ति
पारिजातको कथायात्रा नै नारी चरित्रकेन्द्री कथा मैले नजन्माएको छोरो बाट भएको छ । यो नारी मनोविज्ञानमा आधारित कथा हो । यस्तै साग्लीको बलात्कृत आँसु, नैकापे सर्किनी आदि नारी सङ्घर्ष र समस्याकेन्द्री कथा हो । तिउरीको फूल पायरियाको गन्ध र देवल नारी यौनशोषणकेन्द्री कथा हो । एक गाउँमा की अतिमाया, नैकापे सर्किनी की सर्किनी, साल्गीको बलात्कृत आँसु की साल्गी, प्रतिकूलता की मर्यादा, शोध की मोनिका हड्सन, शकुन्तलाको चिन्तन की शकुन्तला, कलिलो अतीत की सानी, सम्बन्ध की पुन्टेकी आमा, सइसको चिट्ठी की मायालु आदि उल्लेख्य नारीचरित्रहरू हुन् । यसरी नै सङ्घर्षशील तर अति नै पीडा भोगेका नारीहरूमा, साँझ उदास घरको पिँढीकी कमलीकी आमा, विकल्पहीनकी लक्ष्मीपुरे डल्ली, एक गाउँमाकी खिउटेकी आमा आदि हुन् । यसरी नै आफ्नै लाटोपनले दुःख पाएकी वर्षा ऋतुकी कान्छी दनुवार्नी हो । पारिजातले एकदमै सडेका, यौनकुण्ठी नारीहरूको पनि चित्रण गरेकी छिन् । एक उडानकी सोफिया, अप्ठेरो र अभ्यस्त मान्छेकी चमेली, सधैँ जित्नु पर्ने हामी की बेबी, सिमेन्टभित्र एउटा राजबेली की चिम्चा आदि यस्ता पात्र हुन् भने यथार्थसँग टकराएर पलायन भएका पात्रहरू अनिदो र शून्यता की माधू, साइनो ग्य्रानीटको टुक्रासँगकी स्त्रीपात्र आदि रहेका छन् भने लोग्नेमानिसबाट भएको उत्पीडन सहेर त्यतिकै गुम्सिएर रहेका नारी पात्रहरू पनि त्यतिकै छन् । यसरी के महसुस हुन्छ भने पारिजातको वैयक्तिक प्रवृत्ति नारीकेन्द्री भएर प्रकट भएको छ ।
५.४ मनो–चित्रणको प्रवृत्ति
पारिजातका कथाहरूमा मनोचित्रणको प्रवृत्ति पनि रहेको देखिन्छ । मैले नजन्माएको छोरो की युवती, अनिदो र शून्यता की माधू, एक उडान की सोफिया, कलिलो अतीत की सानी, अप्ठेरो र अभ्यस्त मान्छे की चमेली आदि पात्रहरूको मनको विश्लेषण पनि गरिएको छ ।
५.५ यौनकुण्ठा र जीवन विरोधी, मृत्यून्मुखी चेतना
पारिजातका पूर्वाद्र्धकालीन कथाहरूमा यो प्रवृत्ति प्रमुख रूपमा रहेको देखिन्छ । अप्ठेरो र अभ्यस्त मान्छे, बीसौँ शताब्दीको एक गल्लीमा, यस ठाउँमा, एक उडान मा यस्ता प्रवृत्तिहरू व्यक्तिएका छन् । मृत्यून्मुखी प्रवृत्ति बोकेका कथाहरूमा आदिम देश, अनिदो र शून्यता, साइनो ग्य्रानीटको टुक्रासँग, विरुद्ध आदि कथाका मुख्य पात्रहरू यथार्थबाट पलायन भएर मृत्यून्मुखी बनेका छन् ।
५.६ स्वाभिमानी स्वर
पारिजातका कथाहरूमा यो प्रवृत्ति पनि उल्लेख्य रहेको छ । साल्गी, नैकापे सर्किनी, अतिमाया, खिउटेकी आमा, पुन्टेकी आमा, नैनबहादुर, सानी, शकुन्तला, बूढो ज्यामी, मेकानिक आदि पात्रहरूमा स्वाभिमान उर्लेको देखिन्छ ।
५.७ विद्रोही चेतना
पारिजातका उत्तराद्र्धकालीन कथाहरूमा मात्र होइन पूर्वाद्र्धकालीन कथामा पनि विद्रोही चेतना प्रकट भएको पाइन्छ । आदिम देश कथासङ्ग्रहको निर्माणको मोडेल समयभित्र कथामा रोलर ड्राइभरले मजदुर केटीहरूको यौनशोषण गर्ने नाइकेलाई रोलरले पेल्नु पर्ने विद्रोही भाव प्रकट गरेको छ । यसैगरी सडक र प्रतिभा कथासङ्ग्रहको वर्कसपभित्रको मेकानिक पात्रले शोषण र अन्याय भइरहे वर्कसपमा आगो लाइदिने कुरा गरेको छ । यसपछि उत्तराद्र्ध कालमा कथासङ्ग्रह साल्गीको बलात्कृत आँसु को एक गाउँमा को अतिमाया र खिउटेकी आमा हतियार बोकेर हिँडेका छन् । यसैगरी नैकापे सर्किनीकी सर्किनी पात्रले बलात्कारको चेष्टा गर्ने पात्रलाई कुटोको पासोले दन्काएकी छ । साल्गीको बलात्कृत आँसु की साल्गीले पनि ल्वाँगे घर्तीलाई कसैले छप्काइदिए हुन्थ्यो भन्ने ठानेकी छ । यसैगरी सम्बन्ध कथाकी पुन्टेकी आमा र प्रतिकूल की मर्यादाले पनि विद्रोही चेतना बोकेको देखिन्छ ।
यसरी पारिजातका कथाहरूमा साहित्यिक प्रवृत्तिका साथै वैयक्तिक प्रवृत्तिहरू पनि प्रस्तुत भएका पाइन्छन् ।
६. कमजोरी र प्राप्ति
पारिजातका ४ वटा कथासङ्ग्रहहरूका ४७ वटा कथाहरूमा प्रस्तुत भएका साहित्यिक र वैयक्तिक प्रवृत्तिहरूको अध्ययनपश्चात् के भन्न सकिन्छ भने पारिजातका कथाका कमजोरीहरू पनि छन् तर ती प्राप्तिका तुलनामा त्यति धेरै छैनन् । पारिजातका कथाहरूका कमजोर पक्षको कुरा गर्ने हो भने त्यो उनको अवस्तुगत निवर्गीय चेतना हो । जबसम्म पारिजातका कथाहरूले वस्तुगत वर्गीय चेतनालाई समातेनन्, जबसम्म समाजचेतना प्रकट भएन, त्यतिखेरसम्मका उनका कथाहरू यौनकुण्ठा, विसङ्गति, निस्सारता, निराशा, व्यक्ति अहम्, मृत्युबोधी, जीवनविरोधी चेतना भएका कथाका रूपमा प्रकट भइराखे । यथार्थसित टकराएर उनका कथाको अस्तित्ववादी चेतना पनि मृत्यु चेतनामा परिवर्तन भएको देखिन्छ । समाजका विसङ्गत एवं नकरात्मक पक्षहरूको मात्र चित्रण, वर्णन भएमा उनका कथाहरूले कुनै उच्च मूल्यलाई उठाउन सकेका छैनन् । बरु उनका पात्रहरू पतनको बाटोमा हिँडेका छन् । नारकीय जीवन भोगेका छन् । मानवीय पक्षको कतै नामनिसान पाइँदैन । चिन्तनगत दृष्टिले पारिजातका पूर्वाद्र्धका अकिकांश कथ्यलाई हेर्दा ती जीवनविरोधी देखिन्छन् । कलाका हिसाबले पनि उनले कथाको विधागत सौन्दर्यलाई पक्रिन सकेकी छ्रैनन् । कथामा कथात्मकताभन्दा निजात्मक अनुभूति र भावुक अभिव्यक्तिहरूले ठाउँ पाएका छन् । कथा निबन्धजस्ता लाग्छन् । कथानक नाममात्रको पाइन्छ । भाषा बौद्धिक प्रकारको त छ तर त्यो भाषा कथालाई सुहाउने छैन । लेखकीय प्रवचन नै बढी भएको लेखाइलाई आख्यानको भाषा मानिँदैन । यसरी हेर्दा कथामा कथानक नहुनु, कथावस्तु वस्तुगत नहुनु, आत्मकथन बढी हुनु, कथा किन लेखिएको भन्ने निर्दिष्ट उद्देश्य नहुनु, भावुक कुराहरूको विकीर्ण प्रस्तुति हुनु आदि । पारिजातका पूर्वाद्र्धका कथाहरूका कमजोर पक्षहरू हुन् भने उत्तराद्र्धका कथाहरूमा चौथो कथासङ्ग्रह बधशाला जाँदा आउँदा का कथाहरू यस अघिको तेस्रो कथासङ्ग्रह साल्गीको बलात्कृत आँसु का कथाहरूभन्दा दृष्टिगत र कलागत हिसाबले खस्केको हुनु, कथामा उन्नत मूल्यहरू खस्किनु र परिस्कृत भएर आउनुपर्ने ठाउँमा झन् कथा सिर्जनशक्ति कमजोर हुनुलाई उत्तरार्धका कथाहरूको कमजोरी मान्न सकिन्छ ।
पारिजातका कथासिर्जनाबाट भएका प्राप्तिहरू भने मूल्यवान् रहेका छन् । पारिजातले नेपाली कथालेखनको दिशा नै बदलिदिएकी छिन् । कथासिर्जनाको परम्परामा पारिजातले नयाँ आयाम थालेकी छिन् । परम्परागत जीवनबाट बाहिर निस्किन खोजेका नारीपात्रहरू यसका उदाहरण हुन् । पारिजातका नारीपात्रहरूले नवचेतना बोकेका छन्, विद्रोही छन्, स्वाभिमानी छन् र क्रान्तिचेत भएका साहसी चरित्रहरू पनि छन् । नैकापे सर्किनी को सर्किनी, साल्गीको बलात्कृत आँसु की साल्गी, एक गाउँमा की अतिमाया र खिउटेकी आमा, प्रतिकूलता की मर्यादा आदि उच्च मूल्य बोकेका नारीपात्रहरू, यसैगरी वर्कसपभित्र को मेकानिक, नाटकको चौथो चरण को नैनबहादुरलगायतका पुरुष पात्रहरू र तिनले बोकेको जीवनदर्शन र व्यवहारले हामी सबैलाई प्रेरित गर्छन् । ती जीवनवादी छन्, ती वस्तुगत छन्, सामाजिक छन् र ती समाजको लागि खास गरी नयाँ समाजको लागि मूल्यवान् छन् ।
पारिजातको कथा लेखनमा जो फड्काहरू देखा परे, अवस्तुवादी यौनकुण्ठी, विसङ्गत, अस्तित्वबोधी, मृत्युबोधी, अमानवीय र जीवनविरोधी लेखाइबाट फड्को मारेर जुन जीवनवादी, वस्तुवादी, समाजकेन्द्री, वर्गकेन्द्री, सङ्गतिपूर्ण, मानवीय र कथात्मकता भएका कथासिर्जनाको क्षेत्रमा पारिजात आइन् यो सबभन्दा ठूलो उपलब्धि रहेको छ । यसले नवीन दृष्टि र उच्च कलामूल्यलाई स्थापित गरेको छ जसबाट आउने पिँढीले लामो समयमा चिन्तनगत, कलागत, मार्गनिर्देशन प्राप्त गरिरहने छन् । पारिजातले समस्त शोषित–पीडित उपेक्षित, दलित, जनजाति मधेसी, महिला आदि जनसमूहको न्याय र मुक्तिका लागि विचार र कला दुवैले सिँगारिएका जुन कथाहरू सिर्जना गरेकी छन् ती हाम्रा लागि ठूला प्राप्ति हुन् ।
७. उपसंहार
पारिजात नेपाली साहित्यजगत्की एक शीर्ष स्रष्टा हुन् । कथासाहित्य सिर्जनामा नवीनता थप्ने एक अग्रणी स्रष्टा पनि हुन् । उनले परम्परागत कथालेखनमा जसरी ब्रेकथ्रु ल्याइन त्यसै गरी आफ्ना अस्तित्ववादी विसङ्गतिवादी र अराजक चिन्तनबाट माथि उठेर समाजचिन्तन समातिन् र शोषित–पीडित जनताको पक्षमा उभिइन् । विचार र कला दुवैले सिँगारिएका सिर्जनाहरू पस्किन् । उनी जुनजुन चिन्तन र साहित्यधाराको नजिक पुगिन्, त्यसै अनुसारको उत्कृष्ट लेखन पनि गरिन् । २२ वटा पुस्तकाकार कृतिहरू प्रदान गरेर नेपाली साहित्यभण्डार भरिन् । समाजसेवा, शैक्षिक सेवालगायत राजनीतिक क्षेत्रमा समेत उनको उल्लेख्य योगदान रह्यो ।
पारिजात मिलेनियम स्रष्टामध्येकी एक हस्ती हुन् । उनको गणना देवकोटा र विश्वेश्वरप्रसाद कोइरालापछि तेस्रो स्थानमा मिलेनियम स्रष्टा अध्ययन कर्ताहरूले राखेका छन् । वास्तवमै पारिजातले नेपाली साहित्यको शिखर छोएकी छन् । उनले उपन्यास र कथा मात्र होइन कविता, नाटक र निबन्धमा पनि राष्ट्रिय चर्चा पाएकी छिन् । स्वच्छन्दतावादी धाराको कविता कृतिबाट साहित्ययात्रा आरम्भ गरेकी पारिजातले साहित्यका अनेक मोडहरू पार गरिन् । प्रत्येक मोडमा साहित्यिक कीर्तिमान कायम गर्दै नेपाली साहित्य आकाशमा उज्ज्वल ताराको रूपमा चम्किन पुगिन् । कथायात्रामा उनका जुनजुन मोडहरू देखिए ती उपन्यासका पनि मोडहरू हुन् । उनको साहित्यिक जीवन नै दुई मुख्य मोडहरूमा बाँडिन समेत पुग्यो । कतिपय कृतिहरूमा उनी विवादित पनि भइन् । एउटा छुट्टै धाराबाट अर्को छुट्टै धारासम्म उनले यात्रा गरिन् । उनको लेखाइको शैली अत्यन्त मनोहर रह्यो र सिर्जनाका अन्तर्वस्तुहरू एउटै खालका नभए पनि ती बौद्धिक स्तरका रहँदै आए । ५६ वर्षे जीवनमा ३७ वर्ष निरन्तर गतिशील रूपमा साहित्य साधना गर्दै आएकी पारिजात दार्जिलिङबाट नेपाल आएर नेपाली साहित्यमा नव चेतनाहरू थपिन्, यो हाम्रा लागि उपलब्धिपूर्ण रह्यो । यसरी उनले साहित्यको जुन शिखर छोइन्, जुन स्थान इमान्दारीका साथ सिर्जना गरिन् त्यो प्रेरणादायी रह्यो र रहँदै आएको छ । नेपाली नारीस्रष्टाहरूमध्येकी सगरमाथा पारिजातले नेपाली साहित्यको जुन उचाइ छोइन्, प्रगतिवादी साहित्य धारामा आएर शोषित पीडित जनसमूहका दुःख, वेदना र उन्मुक्तिका जुन कुराहरू गरिन्, त्यो बिर्सिनसक्नु छ । यसर्थ पारिजात हाम्रो गौरव हुन् । हाम्रो मुटुको ढुकढुकी हुन् ।
कृतज्ञता ज्ञापन
पारिजातको २४औं स्मृति दिवसको अवसर पार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित गोष्ठीमा “पारिजातका कथाका प्रवृत्तिहरू” सम्बन्धी कार्यपत्र तयार गरी प्रस्तुत गर्ने अवसर दिनुभएकोमा प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू लगायत सम्पूर्ण प्रज्ञा परिवार र विशेषतः प्राज्ञ मातृका पोखरेल, गद्य विभागप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । धन्यवाद !
सन्दर्भसामग्री
१. घिमिरे, कृष्णप्रसाद र रामप्रसाद ज्ञवाली, आख्यानकार पारिजात, काठमाडौं : हजुरको पुस्तक संसार, २०५८ ।
२. चापागाईँ, निनु, यथार्थवादी रचना दृष्टि र विवेचना, काठमाडौं : दिववरदान र महिम चापागाई, २०५१ ।
३. पाण्डे, ताराकान्त (डा.), कला साहित्य भूमिका र मूल्याङ्कन, काठमाडौं : चिन्तन प्रकाशन प्रा.लि., २०५३ ।
४. पाण्डे, भवानीप्रसाद (डा.), पारिजातका उपन्यासमा समाजवादी यथार्थवाद, काठमाडौं : अल्टिमेट मार्केटिङ (प्रा.) लि., २०६४ ।
५. पारिजात, पारिजातका सङ्कलित रचनाहरू– ग्रन्थ ३, सिक्किम : निर्माण प्रकाशन, २०५४ ।
६. पोखरेल, डी.आर., पारिजातको साहित्यिक मूल्याङ्कन, काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेसन्स, २०६२ ।
७. पोखरेल, बद्रीविशाल (डा.) पारिजात जीवनी, व्यक्तित्व र कवितायात्रा, सुनसरी : मिथिला पोखरेल, २०६५ ।
८. प्रसाईं, नगेन्द्रराज, पारिजातको जीवनकथा, काठमाडौं : एकता प्रकाशन, २०५७ ।
९. बराल, ऋषिराज, उपन्यासको सौन्दर्यशास्त्र, ललितपुर : साझा प्रकाशन, २०५६ ।
१०. भट्टराई, धनेश्वर (डा.), पारिजात परिचय, चिन्तन र प्रवृत्ति, चितवन : प्रगतिशील लेखक सङ्घ, २०७२ ।
११. वाइवा, सुकन्या, अनुभव पारिजातको कलम सुकन्याको, ललितपुर : साझा प्रकाशन, २०६७ ।
१२. श्रेष्ठ, दयाराम (डा.) र प्रा. मोहनराज शर्मा, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, (आठौँ संस्करण), ललितपुर : साझा प्रकाशन ।
१३. शर्मा, मोहनराज, कथाको विकासप्रक्रिया (ते.सं.), ललितपुर : साझा प्रकाशन,
२०५८ ।
१४. सुवेदी, राजेन्द्र, सृजन विधाका परिधिमा पारिजात, वाराणसी : भूमिका प्रकाशन, २०५७ ।
(नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंको हीरक जयन्ती एवं पारिजातको २४ औं स्मृति दिवसको उपलक्ष्यमा प्रतिष्ठानद्वारा आयोजित गोष्ठीमा समालोचक डि.आर. पोखरेलद्वारा प्रस्तुत कार्यपत्र । नेपाली साहित्य आकाशका सर्वाधिक ख्यातीप्राप्त साहित्यकार पारिजातका कथाहरुको प्रवृत्ति बारेको कार्यपत्र समकालीन साहित्यलाई हेर्ने एउटा मानक हुन सक्छ । )
(स्रोत : इ-मुल्यङ्कन डट कम)