~दिल पौडेल~
कालीले पहिरेको मुण्डमाला
हिंसा, आतङ्क जिलेटिनले अडेको सत्ता
मूर्खता सिवाय केही होइन
डामिएका रहरहरु सपनाहरु
अतृप्तिका धारिला हतियारका
पुरस्कार हुन् आघात, पीडा आँसु
झोक्राएका चमेली फूल
श्रद्धाञ्जली प्राप्त मन
धुवाँ मैलो ओकल्दै
विश्वासको मलामी बोकेर
हिँडिरहेछ विजय जुलुस ।
कुर्सीका लागि जे मूल्य पनि चुकाउन
छेपारे रङ्ग र चमेरे सिद्धान्तमा
तालिम लिएका झण्डा बोकेर
अघि बढिरहन्छ – विजय जुलुस
पुराना अवशेष ढाकछोप गर्दै
नयाँ संरचनाको भस्मासुर नीति
प्रत्यारोपण गर्दै
मञ्चमा रावण, कंस, सकुनी
मधुकैटभ, बाली, हनुमान, कालीभैरवी
चण्डमुण्डलाई खेद छैन
आआफ्नो जिब्राको थुक छिनेर
पैतालाको पानी अचाउन
आफूलाई आफैँ पूजा गर्दै
सडकमा “लुट र पेटभर”को सिद्धान्त गाँसेर
चिच्याइरहन्छ – विजय जुलुस
सपेराको ढकीभित्रको गोमन
ढकीभित्रै निदाओस् भन्ने कामना गर्दै ।
– सिन्धुली
हाल : जिल्ला विकास समिति, भक्तपुर
(स्रोत : शब्दङ्कुर असौज २०६४)