कविता: भुइँमान्छे

~राधा कार्की~

ए प्रिय मान्छे !
कहाँ जाँदैछौ तिमी
कता गइरहेछ तिम्रो सोच ?
भरोसा गर्न लायक
किन देखिदैन तिम्रो विवेक ?

उसले तिमीलाई पटक–पटक भनिरहँदा
किन सुनिँदैन उसको आवाज,
अभिमानको आडमा
सत्य कुरा तिमीलाई पच्दै–पचेन
किनकि ऊ भुइँमान्छे हो ।
शक्ति र पदको तुजुकमा
उसको सोच मारेर
उसैलाई तिमीले मलामी बनायौ ।

अनेकाँै प्रपञ्च रच्न तिमीले
जन्मजातै जानेका छौ
किनकि उसका बराजु, बाजे र अहिले ऊ पनि
स्वाभिमानको चोट बोकेर
तिम्रै समूह वरिपरि छट्पटाइरहेको छ
यी सबै देख्ने बानी परिसकेको छ तिमीलाई ।

मान्छेको भूगोलभन्दा पर
अरू कुनै विचार हुँदैन,
कुत्सित विचारले कोपर्दैछ तिमीलाई !
पसिनाको रङ मेटेर
कुन कल्पनाको रङमा हराउँदैछौ
कुन सर्वोच्चको कुरा गर्छौ ।

केले छेक्दैछ तिमीलाई
असमानताको घेरा मेट्न ?

थाहा छैन,
किन हुन्छ मान्छेसितै मान्छे बेइमान !
थाहा छैन
किन हुन्छ मान्छेबाटै मान्छे रोज थर्कमान !!
कुन गायत्री र उपनिषद् जपेर हिँड्दैछौ
भुइँमान्छेको खुसीभन्दा उर्बर अर्को के हुन सक्छ र !!

आऊ प्रिय मान्छे !
हातमा हात मिलाई
वर्षौं वर्षदेखि हेपिएका, थिचिएका, चेपिएका
भुइँमान्छेका कुरा सुनाँै
उनका सपना र रहरलाई एकत्रित गरी
मान्छे नै गुनगुनाएको सङ्गीत भरौँ ।
मान्छे नै मगमगाएको रङ्गीन तरङ्ग भरौँ ।

– इलाम

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.