~योगेन पौडेल~
हामीलाई हाम्रो मूर्खता प्यारो छ,
हामीलाई मुढता प्यारो छ।
अराजकता, अकर्मण्यता, बिग्रह र उथलपुथल
कोलाहल, अशान्ति र अन्धकार प्यारो छ,
हामीलाई जडता प्यारो छ।
धुँवा, धुलो र टायर प्यारो छ,
तोडफोड, हड्ताल र हुल-हुज्जत प्यारो छ।
केही झुण्डका भाडाका सिपाहीहरु हामी,
जसका नाईकेहरु,
हामीलाई एक अर्का सँग भिँडाउँछन्,
र हामी भिँड्छौँ,
साम्प्रदायिकताका नाउँमा,
जाति, धर्म, भाषा र भौगलिकताका नाउँमा।
अनि, हाम्रा आस्थाका कुलेसाहरु जोडएपछि,
भरोसा, सपना र भ्रमका खहरेहरु जोडिएपछि,
ती नाईके नदी बन्छन,
र बिसर्जित हुन्छन,
दम्भ, अभिमान र अहँकारका
शक्ति, सत्ता र पैसाका,
फोहोरी समुद्रहरुमा।
लघुताभाषले संक्रमित हामी,
अकर्मण्यताले ग्रसित,
उत्तर फर्केर धारे हात लगाउनु,
अथवा दक्षिण हेर्दै सत्तोसराप फलाक्नु,
राष्ट्रप्रेम भन्ठाँन्छौँ।
वा आफ्नो अस्तित्वै बिर्सेर,
स्वभिमानै बिर्सेर हामी,
एउटा पुल बन्न चाहान्छौँ।
उत्तर र दक्षिण जोड्ने त्यस्तो पुल,
जसको ढाड टेकेर,
बेरोकटोक पार हुन सकुन्
उत्तरका प्रगतिहरु दक्षिणतिर
र दक्षिणका उत्तरतिर।
हामी खस्ला र खाँउला भन्ने आशमा
एकादेशको कथाको स्याल झैँ
कुर्न तयार छौँ,
फगत एउटा पुल बनेर।
सानो क्षेत्रफलमा कैद
हाम्रो सोचाईको परिधि,
खुच्चिँग खुचिँगमा रमाएको
हाम्रो प्रगति,
सिद्धान्त र बादको भारीले थिचेको
हाम्रो बामपुड्के बैद्धिक उचाई,
सँकुचनमै रमाएको,
हाम्रो मानसीकता,
हो, हामीलाई यीनै बिरोधाभाषहरू प्यारा छन्
अक्षमता डँगुरहरु प्यारा छन्।
हामीलाई हाम्रो मुर्खता प्यारो छ,
हामीलाई मुढता प्यारो छ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)