~मीरा प्रसाईं~
‘बा !’ आमाले जस्तो गर्भमा बोकेनौ तिमीले
आमाले जस्तो प्रसव पीडा सहेनौ तिमिले
म दुख्दा, आमाले जस्तो बर्बरी आँसु झारेनौ तिमीले
मेरो अघि पछि लागेर `मेरि प्यारी गुडिया´
भन्दै छातीमा टासेनौ तिमीले,
`बा´
तिमीले गर्भाशयको गर्भमा बोक्न सकेनौ त के भो
मस्तिष्कको गर्भमा सधै बोकेर हिड्यौ
आँखाबाट आँसु झारेनौ त के भो
छातिमा टासेनौ त के भो !
मन भित्रै तिमी कुन्ठित भएर
आफैसङग आफै पोखियौ
अतुलनीय अकल्पनीय शितलताको छाहारिले
कपाल दुख्ने गर्मीमा पनि शितल दि` रहयौ
आफू रित्तो भएर मलाई भरिपुर्ण गरायौ
म सम्झिन्छु अझै पनि ,
मैके ` क ´ लेख्न नजान्दा तिमीले बारम्बार सिकाएको
तिम्रा हात समाएर टुकुटुकु `जलेश्वर स्कुल´ गएको
`बा´
तिमीले सधै मस्तिष्कमा
सोचाइको खेती गरि रहयौ
खुइय…गर्दै निधारमा फुटेका
पसिना दानालाइ हत्केलाले पुछेर
सन्तानका खातिर मुस्कुराइ रहयौ ,
“`बाहरुले ` जुँगा भित्र गम्भीरता लुकाउछन रे ।”
सधै `सफाचट´ देखिने तिम्रो मुहारमा
संजय , सबिता स्मिताका `बा´को जस्तो
बाक्लो जुँगा त थिएन
तर त्यो `सफाचट´ देखिने मुहार भित्र
मैले सधै `गम्भीरता´ लुकेको देखेको छु
सन्तानका खातिर परिश्रमका राजमार्गहरुमा
मेहेनतका गाडिहरु गुडाउदा गुडाउदै
तिमी त तिलचामले पो भइ सकेछौ
हुर्कायौ , बढायौ , पढायौ मेरो अस्तित्व दिलायौ
मेरो बिठ्याइ र दिक्दारिमा पनि
कहिल्यै एक लबटा लगाएनौ
बरु फकायौ , काहानी सुनायौ
तिनताका कोठाभरी माओत्सेतुङ , लेनिन , कालमार्क्सका तस्बिरहरु थिए
माक्सबाद र लेनिनबादका किताबहरु थिए
तिनकै बारेमा बताउथ्यौ
म भने , बडो चाख दिएर सुन्थे !
जिज्ञासु म सोध्दै जान्थे
तिमी झर्को नमानी बताउथ्यौ
जवान तिमी मसङग बालक झै बन्थ्यौ
हो `बा´ कयौंपटक तिमी बालक झै बन्थ्यौ
`बा!´
“तिमीले दिएको अर्ति ओखती हो भन्थ्यौ !”
तर म तेति बेला तिम्रो अर्ति सुन्न` झ्याउ´ मान्थे
बल्ल अहिले बुझ्दै छु ,
मेरो उमेर काचो थियो त्यो बेला !
आज समयले कोल्टे फेरिसक्यो
म तिम्रो अर्ति सुन्न चाहान्छु
हो `बा´म तिम्रो उपदेश बुझ्न चाहान्छु
तर` बा ´ अब धेरै ढिला भइ सक्यो
समयले कोल्टे फेरि सक्यो ।
हिजोको जवान मेरो `बा´
आज तिमी बूढो भयौ
छालाले हड्डी छोड्यौ
नशाहरु देखिन थाले
मुटु रोगले थला पार्यो
`बा´
हेर्दाहेर्दै तिमी त अस्ताउदो सुर्य झै भयौ
आगनको डिलमा ठिङ्ग उभिएको
`अम्बा´को त्यो बुढो रुख हेर्छु
तिमी झै लाग्छ
साझ पख डुब्न लागेको सुर्य हेर्छु
तिमी झै लाग्छ !
म,
तिमी देखि कोसौ टाढा अर्कैको आकाश मुन्तिर
अर्कैको धर्तीमा उभिएर
फेरिएको गोत्र सङगै आफुलाइ परिचित गराउदै छु
तिमीलाइ थाहा छ` बा ?´
तिमी बिमारले थला परेको बेला
कहिलेकाही मलाइ हिनताबोधले फत्रक्कै गलाउछ
छोरी हुनुको पिडाले पिरोल्छ
`म´ छोरी हैन छोरा भएको भए तिम्रो साथै हुन्थे
तिमीलाइ आडभरोसा दिन्थे
`बा´सङगैको साथ र टाढाको साथ त `धर्ती र आकाश´ जस्तै न हो !
जाहाबाट केवल एकले अर्कोलाइ हेर्न मात्र सकिन्छ ।