~कात्यायन~
धेरै वर्ष पछि; केही महिना अगाडि फेरि सुनयनाको त्यही नैन कहींकतै देखें र सोधें – “चिनेको छ ?”
“याद छैन |” – भनेर तर्किए ती नैनहरू |
कुनै समय / कुनै उष्ण शहरमा ती रसालु आँखाहरू मेरो सामुन्ने भएर बग्ने गर्थ्यो र म त्यसैमा पौडिदै शीतलता महसूस गर्थें |
जुध्दा त विष्फोट हुनुपर्ने ! चकनाचूर हुनुपर्ने ! तर त्यस्तो हुँदोरहेनछ आँखा जुध्दा ! मनभित्र गहिरेर बस्दोरहेछ !
म बसेकै सामुन्ने घरको झ्यालबाट कुनै समय मलाई फोड्न आतूर झैं देखिन्थे ती नसालु अनुपम आँखाहरू, र कुनै न कुनै बहानामा बोले झैँ भान हुन्थ्यो | तर म मौन थिएँ | विहान वा साँझको चिया वा चमेनामा आमन्त्रित हुन्थें र पनि मौन बस्थें | फुर्सतभरि मलाई निलुंला झैं गर्थे ती हेराईहरू; म असमन्जस्यमा पर्थें |
युगौं बिते झैं लाग्ने गर्थ्यो ती सुनयनहरूले मलाई कोपरेर नछिचोलेको कुनैदिन !
कारणवश केही समयकोलागि म आफ्नो शहर फर्कनुको अघिल्लो दिन नमकिन शर्बत पियाएर बिदा गरेको क्षण; आजको झैं लागिरहेछ | सायद, अविस्मरणीय शर्बतमा आँखाबाट केही थोपा नयनजल झरेका थिए होलान् !
छि: ! कायर-अन्तराभिमुखि थिएँ कुनै समय म !
जब फर्कें; उनको नाम, थर र ठेगाना परिवर्तन भैसकेका रहेछन् |
फेरि आज पनि ती नशालु आँखाहरू कहींकतै देखें र अनुभूत गरिरहेछु कि सुनयनाको मादकपूर्ण नजरको नशा कहीं कसोगरी पनि उत्रने रहेनछ ! दृष्टि टक्कराएपछिको सामीप्यताको अन्त्य नहुँदोरहेछ !…
र फेरि पनि सोध्न हत्तारिएँ – “मलाई बिर्सियौ ?”
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)