~तारा पराजुली~
ए जून !
तिमी मेरो नजिक नजिक नआउ।
ती अनेकन नक्षत्रहरुको चुलबुल
कहिले साँझको रातो सिम्रिक पहिरिएर
कहिले रातको गहिरो बर्को ओडेर
ताराअरुलाई झुक्याएर कहिले आधा कद
कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर
नओर्ल यी बादलका खुड्किलाहरु
यति फराकिलो आकाशको आँगन छोडेर
झर्ने सुरसार नगर धर्तीको भिरालो आँगन
म तिमीलाई परै बाट भेट्न् चाहान्छु
थाहा छ ?
संसारमा नभेटेका जिनिस नै औधी सुन्दर र प्रिय छ्न् ।
उ पर !!! मन्दिरमा साविकको भक्तले
आज पनि तिम्रै नाममा अगरबत्ती सल्काएर
मन चढाए
यी विश्वास जोगाउनु छ
यसैबेला यतै कतै मेरो प्रेमी
मलाई प्रेमपत्र लेख्दै होला
तिम्रो लागि आकाशको जून झारिदिन्छु भनेर
यस्ता अमर बिम्बहरु बचाउनु छ।
अर्को कुरा, त्यहाँ तिम्रो कुनै जात छैन
धर्म ,सम्प्रदाय र वर्ग छैन
र त तिमीमाथि विभेद छैन
तिमी आलोचनामूक्त छौ
र त सर्वपुज्य छौ
यहाँ त नाघ्नै नसक्ने जातका पर्खाल छन्
आँखा पोल्ने गरि धर्मको धुवाँ उडिरहेको छ
यो पिरो पिरो बाटो छिचिल्न सक्छौ ?
यो साँघुरो छाती
नङ्ले चिरेर भाग भाग लागेको छ
मानौंस मासु पसल जस्तो
यो चिरा चिरा माटो हेर्न ससक्ने कठोर छाती छ तिमीसँग ?
तिमी सगोल आकाशमा निस्फिक्री हिंड्ने बानी
यहाँ त हरेक मान्छेलाई देश चाहिन्छ
र त पहाड अर्कैको छ
मधेश अर्कैको छ
हिमाल उपत्यका र दसगजा अर्का अर्कैको छ
एक चोक्टा राज्यको निम्ति काटमार छ
तिमी कहिल्यै आफन्तको रगत नटेकेको
कसरी तर्न सक्छौ यी ठूल्ठूला रगताम्मे खोला ?
अन्तमा फेरि भन्नू छ
तिमी नआउ यहाँ
तिमीले देखे जस्तै सुन्दर छैन यो धरा
म भने ढुक्क छु
तिमी मैले बनाएको चित्रभन्दा कति फरक छैनौ
म यही बसेर हेर्नेछु तिम्रो रुप
छुनेछु यहीँबाट यौवनको मादकता
तिमी यहाँ आयौ भने सिङ्गो धर्तीको कौतुहलता निभ्नेछ
तिमीलाई थाहा छ ?
धर्तीको कौतुहलता निभेपछि के होला ???
– तारा पराजुली,मोरङ