कविता : युगद्रष्टालाई बेली पुष्प

~भुवनहरि सिग्देल~

स्रष्टाले सिर्जनै गर्छ सिर्जनाभित्र सिर्जना
श्री विश्वेश्वर गर्दैथे सिर्जनामय तिर्सना
नयाँबाट पुरानाको अस्तित्व घट्न सक्दछ
सूर्यको लालिमादेखि रजनी पर सर्दछ ।

कालिमा रजनीलाई नौलो अभ्यास लाग्दछ
तर यो दिनमा तारा झुल्के अत्यास लाग्दछ
अँध्यारो र उज्यालोको सिमाना बीचमा थियो
विश्वेश्वर थिए घाम तुरुन्तै रात पारियो ।

मभन्दा बलियो सिंह पस्ला जङ्गलमा भनी
हुँडार स्यालका साथ गर्छन् सामन्त सोधनी
पस्ला यो राज्यमा सिंह दिन्न शासन गर्न म
चक्रवर्ती म मात्रै हुँ पगरी गिर्न दिन्न म ।

जनताले नयाँ देख्लान् उतै मोडिन सक्तछन्
गुम्ला यो मान सम्मान श्रीपेच पनि बिक्तछन्
ठूलो सानो कहाँ बन्छ सानो हुन्छ कहाँ बडो
बसोस् आरामले जेल यो विश्वेश्वर घिड्घिडो ।

गुम्स्यो नेपालको भाग्य मस्क्यो रात घना भई
कालरात्रि बन्यो देश पञ्चसत्ता उकासिई
सिर्जनाको नयाँ बीज रोपिएमा कुनै दिन
माटैभित्र जरा हाली थाल्छ बीज टुसाउन ।

चेतनादीप निभ्दैन भित्रै सल्किन्छ बल्छ त्यो
त्यो बिस्फोट गरी छाड्छ यो बिस्फोटक तत्व हो
विश्वेश्वर यही दीप जो निभाउन खोजियो
तीनै दशकमा झिल्को मुस्लो बन्दै मडारियो ।

ढले घमण्डका सत्ता युगले बदला लियो
विश्वेश्वर मरी बाँचे राजसत्ता उखेलियो
जित्छन् विचारका युद्ध बन्दुके युद्ध हार्दछन्
आस्था विचारमै हुन्छ युगले रङ्ग फेर्दछन् ।

म तिम्रो सुम्निमा पढ्दै रमाए कति ती दिन
तिर्नै सकिन्न जस्तो छ साम व्याज सबै ऋण
म तिम्रो लेखनी पाए चिल्लो खल्वट माथमा
राखी प्रणाम गर्नेछु दिनमा मध्य रातमा ।

२०७१ साउन ९, सानेपा, पाटन

(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.