कविता : तिमी अर्थात् उज्यालो

~ठाकुर बेलवासे~

तिमीले चिनाएको
देशको झण्डा हातमा उठाएर
म आज नागरिक बनेको छु ।

तिमीले रचेको इतिहास पढेर
खोल्सा, खोँच र गोरेटाहरू
अनि आफ्नै अनुहार चिन्ने भएको छु ।

तिमीले एउटा आकाश बनायौ
म त्यही आकाशमा
अनन्त उड्ने चराजस्तो भएको छु ।

तिमी नजन्मिएको भए
मेरो टाउको माथिको आकाश
वर्षाको हिलोजस्तो हुने थियो
गर्मीसँगै फुटेर पटपटी मेरा आँखामा उड्ने थियो ।

तिमीले आँखा नखोलेको भए
बादलको जंगलमा हराउने थियो आकाश
चारैतिरबाट तन्काएर
आकाशलाई आकार दियौ तिमीले
अहिले म
निर्धक्क आकाश हेरेर
ताराहरू गन्न सक्ने भएको छु ।

हृदय सल्काएर तिमीले
उज्यालो बनायौ धर्ती–आकाश
तिम्रै विचारको सलेदोको उज्यालोमा
बाज र परेवासँगै कावा खाइरहेका छन् ।

दुःख र स्वतन्त्रताको रङ्ग पोतेर
तिमीले अस्तित्वको सुन्दर तस्बिर छोडेर गयौ
आज त्यही तस्बिरमा
आफ्नो अनुहार हेरेर
जीवनको संगीत सुन्न सक्ने भएको छु ।

तिम्रा सपनामा म बिउँझिएको छु
अब बाँसुरी बजिसकेको छ
तिमीले कथेको मेरो गीत
गाउने समय आएको छ ।

(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.