~श्रमिक बराल~
थियो नाम सेती तिम्रो, किन भयौ काली आज
थियौ सिधासाधा तिमी, किन भयौ जाली आज
भित्र खबर अर्कै रै’छ निम्तो मेरै नाममा हुँदा
धेरै पात हल्लिए छन् सानो बतासले छुँदा
फूलवारी तिम्रै थियो किन अर्को माली आज
थियौ सिधासाधा तिमी, किन भयौ जाली आज
शिरमा लाउने शिरको फूल भुँइमा खसिदिँदा
पूजा अन्तै सकिएछ कर्ता अर्कै भइदिँदा
सर्दाम त तिम्रै थियो, किन रित्तो थाली आज
थियौ सिधासाधा तिमी, किन भयौ जाली आज
– पोखरा
(स्रोत : मधुपर्क २०७० मङ्सीर)