~कल्याण पन्त~
म २५ वर्ष अघि पहिलोचोटि शहर पसेको हुँ । त्यतिबेला मेरो उनकै घरमा डेरा थियो । क्याम्पस गइन्थ्यो, आइन्थ्यो । प्रायशः डेरामा ओहोरदोहोर गर्दा ढ्याम्म झ्याल लाग्थ्यो । कसैका आँखा मप्रति कर्कन्थ्यो पनि । मैले गाउँ र शहरको संस्कृति त्यतिखेरै बुझ्दै थिएँ ।
आज म प्राध्यापक भइसकेको छु । अहिलेको त जमाना पनि फेसबुकको । हिजो १२ बजेसम्म कम्प्युटरमै व्यस्त भएँ । बिहान उठ्दा भारी जिऊ, टाउको पनि गरुङगो । क्याम्पस जानुपर्ने हतारहतारमा म त्यतैतिर लागेँ । च्याटिङमा मैले उनै घरबेटी सरलालाई भेटेँ । उनी निकै फरक भइसकेकी रहिछिन् । “उनको छोरो इन्जिनियर, उनी शिक्षक, श्रीमान् बेरोजगार रे…!” मेरो मनमा हिजोकै तन्द्रा बल्झियो ।
हिजो अक्षरअक्षरमा कुरा भो । विगत कोट्टियो । उत्कर्षमा पुगियो । डराईडराई एउटा प्रश्न पनि लेखेँ । धन्य ! उताबाट जवाफ आयो, “…अँझै पनि किन अस्वीकार हुन्थ्यो, प्राध्यापकज्यू !”
मैले मुखभरिको जवाफ टाइप गरेँ तर इन्टर थिच्नै सकिनँ । अनि दैनिक दुःखसुख साट्ने मेरी श्रीमतीसँग पनि कुरो गर्नै सकिनँ ।
– पोखरा
(स्रोत : मधुपर्क २०७० मङ्सीर)