~राजकुमार बानियाँ~
कवितालाई बम्पर चिट्ठा पर्यो यसपालि । दुई–दुई सय हजार थैलीका ठूला पुरस्कार कविको बगलीमा गयो । कवि–क्लबमा उल्लास छायो भने फिक्सन–फ्याक्ट्रीमा सन्नाटा । छन्दकविले मदन पुरस्कार पाए भने पद्मश्री साहित्य पुरस्कार गैरछन्द कविले । दुवै पुरस्कार कविको पोल्टामा गएपछि कतिपयले कविता ब्युँझियो भने, कतिपयले कविता भेटियो ।
माने पनि नमाने पनि पछिल्लो चरण आख्यानको आतंक छ नेपाली साहित्यमा । कहलिएका कविहरू नै आख्यानका नाममा ‘शब्दगणक’ भएका छन् । कविहरूले पुरस्कारपड्काउनु आख्यानखानामा पसेका स्वनामधन्य लेखकहरूलाई चुनौती हो । तर, स्तरको कसीमा कविता कस्तो छ ?
पुरस्कारका आफ्नै सीमा हुन्छन् । कुनै पुरस्कार पाउनु सबैलाई जित्नु होइन, सिर्फ प्रतिस्पर्धी या आकांक्षीलाई हराउनु हो । यस वर्ष मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कारको मनोनयन सूची हेर्दा उम्दा कृति आएनन् भन्नु नै मनासिब हुन्छ । पुरस्कारको हावाले छुन थालेपछि ‘कृति’भन्दा ‘किताब’ यसैगरी हावी हुन्छन् ।
यति हुँदाहुँदै पनि नेपाली साहित्यमा आख्यानको सापेक्षमा कविता नै बलियो छ । त्यसको कारण पूर्वीय समाजका पुराण, महाभारत, गीता, रामायण, स्वस्थानी आदि पौराणिक ग्रन्थ काव्यमय छन् । हामी प्राय: ‘मेटाफर’मै सोच्न रुचाउँछौं । कुनै पनि कुरा सोझै नभनेर बिम्ब या प्रतीकमा भन्नु या उखान, टुक्का वा मुहावरा जोड्नु यसको एउटा प्रमाण हो । यसमा जीवनको गहन दर्शन हुन्छ । अर्थात् आम मानिस काव्यकै भाषामा अनुरक्त छन् ।
आखिर कविता भन्नु पनि जीवनदृष्टि हो । पूर्वीय समाजको जनजीवन, संस्कार र परम्परासँग कविता जोडिएको छ । गीतका माध्यमबाट होस् या भजनको । कविता रगतजस्तै नसानसामा प्रवाहित छ । बरु उपन्यासको आतंकमा कविहरू दिग्भ्रमित भएको अवस्था छ । कविहरूले ‘इनर्जी’ र ‘इमोसन’ आफ्नो विधामा पोख्न छाड्नु दुर्दशा हो । खासमा कविले बेबकुफ कसलाई बनाएको हो ? आफैलाई वा अर्कालाई ?
कविताप्रति मानिसहरूको ध्यानाकर्षण कम भएको होला । तर, मानिसले आविष्कार गरेको सबैभन्दा सुन्दर रचना कविता नै हो । तर, त्यही रचनालाई कुरूप बनाइदिने पनि कविहरू नै हुन् । कविता कविको नितान्त निजी अनुभूति हो । अरू विधाकारलाई जस्तो अनेक व्यक्तित्व देखाउने छुट कविलाई छैन । कवि हृदयको भव्यता, सौम्यता अनि महानताको अद्भुत प्रकाशन यसमै मात्र हुन्छ । यसका ज्वलन्त उदाहरण विप्लव प्रतीक, मनु मञ्जिल या उपेन्द्र सुब्बा आदि कविहरू हुन सक्छन् ।
कविताको ‘ट्रयाजेडी’ के हो भने कहिलेकाहीँ यसका बैरीहरू नै प्रवक्ताको आवरणमा देखापर्छन् । साँच्चै भन्ने हो भने कवितालाई राजनीतिक अस्त्र मात्र मान्नेको जमात खाली भोक, भोक भनेर चिच्चाउँछन्, गरिबी, आँसु र आक्रोशको पसल थाप्छन् । त्यसले कविताको विशाल मानकलाई साँघुरो गल्लीमा पुर्याइदिएको छ ।
वास्तवमा जात, वाद, लिंग, धर्म, भाषा र भूगोलभन्दा माथि उठ्न सक्नु नै कवि हुनु हो । त्यस्तो सन्तमा घृणा, आक्रोश, नारा या गालीगलौज कसरी जन्मन्छ ? लौ त भनूँ भने सदैव मानवता, भ्रातृत्व र शान्तिको गीत गाउने पहिलो विश्व नागरिक नै कवि हो । यहाँको हालत बेग्लै छ । राजनीतिक सत्संगले कविहरूको भाषा कति कठोर भइसकेको छ भने अब कविता छाडेर बागवानी, पकवान कला, संगीत, पेन्टिङ या कृषिका प्रयोगशालामा जानुपर्ने स्थिति छ । ‘पोलिटिकल्ली करेक्ट’ हुने व्यक्ति कवि होइन, ‘एक्टिभिस्ट’ मात्र हो ।
काव्य र आख्यानको अनावश्यक द्वन्द्वमा फसेका छन् कविहरू जानी–नजानी । कवि हुनुमा लघुताभास कसैमा छ भने त्यो उसलाई थाहा नहुन सक्छ, संसारमा पैसा कविले पनि कमाएकै छन् । बीसौं शताब्दीका सबभन्दा चर्चित लेखक कुनै उपन्यासकार थिएनन् । कवि नै थिए एलेन गिन्सबर्ग । आफूले पाँच–दसवटा उपन्यास पढेको छैन, उपन्यास लेख्न तम्सिनु सम्बन्धित विधाको व्यापकतालाई नबुझेको प्रमाण हो ।
अन्तर्वार्ता पढ्दा के थाहा हुन्छ भने नयाँ उपन्यास सुरु गर्न स्वयं मार्खेज डराउँथे । स्तरीय उपन्यास लेख्न जीवन नै लाग्न सक्छ । अब खालिद हुसैनी, म्याक्सिम गोर्की या मार्खेजकै जस्तो उपन्यास लेख्ने होडबाजी जरुरी होइन । तलुवा फाटिसकेको जुत्ता लगाएर नयाँको फुर्तीफार्ती लगाउनुको तुक छैन ।
नेपाली आख्यानमा आम जनमानसमा भिजेको कुनै पात्र भेटिएको छैन । अझ त्यसको हास्यास्पद अवस्था हो, फिल्मस्टार र कमेडियनहरूबाट गरिने विमोचन । नक्कलबमोजिमको नक्कल । स्टन्टबाजीबाट मदन पुरस्कारसम्म त आउला, नोबेल पुरस्कार दिवास्वप्न हो ।
नेपाली साहित्यको सन्दर्भमा त न कविताले पुरस्कार पायो भनेर खुसी हुने स्थिति छ, न त उपन्यासले पाएन भनेर दु:खी हुनुपर्ने कारण छ । न कवितामा नयाँपन आएको छ, न त आख्यानले नै कुनै असाधारण क्षमता देखाएको छ ।
पुरस्कारको लामो पृष्ठभूमि बाँधिए पनि पंक्तिकारको सुसेधन्दा भने किताब समीक्षा हो । यहाँनेर के सुविधा छ भने दुवै पुरस्कृत पुस्तक हुन् । कम्तीमा फलानोले अन्यथा लेखिदिएर महत्त्वपूर्ण पुरस्कार पाइनँ भन्ने अवगालबेहोर्नुपर्ने छैन ।
साहित्यको भूतपूर्व विधा भइसकेको खण्डकाव्य परम्पराले यसपटक मदन पुरस्कार पाएको छ । घनश्याम कँडेलकृत ‘धृतराष्ट्र’ लाई उत्कृष्ट सूचीमा आउँदासमेत कसैले ‘नोटिस’ गरिहालेको थिएन । यसको अर्थ उनी मूलधारका कवि थिएनन् र चर्चाका पछिल्तिर कुदेका थिएनन् ।
यसलाई नजरअन्दाज किन पनि गरिएको होला भने यसको पुस्तक हुने योग्यता नै पुगेको छैन । ९६ पृष्ठमा ४० पृष्ठ मात्र सात सर्गको खण्डकाव्य हो भने बाँकी भूमिका । भलै माधवप्रसाद पोखरेलको भूमिका ओजनदार छ । रामप्रसाद ज्ञवालीको अतिरिक्त भूमिका गुरुभेटीजस्तोमात्र लाग्छ ।
कवि कँडेलको रुचि महाभारतीय मिथकमा छ । महाभारतको कथास्रोतमै उनले ‘देवयानी’ (२०३९) र ‘विश्वामित्र–मेनका’ (२०६६) पछि ‘धृतराष्ट्र’ (२०७३) लेखेका रहेछन् । जगजाहेर छ, मदन पुरस्कारको इतिहास पनि महाभारतमय नै छ । महाभारतको मिथकमा लेखिएका थुप्रै किताबले मदन पुरस्कार पाएका छन् । यस हिसाबमा मदन पुरस्कारमा ‘धृतराष्ट्र’ को दाबी या मनोनयन स्वाभाविकै हो । मदनमणि दीक्षितकृत ‘माधवी’ का कारण ‘देवयानी’ (२०३९) मदन पुरस्कारबाट वञ्चित भएका यी कविलाई रोलक्रमको छैटौँ खण्डकाव्यमा आएर त्यो अवसर मिल्यो ।
यो खण्डकाव्यको अलिकति नयाँपन भनेकै पुत्रमोहको पासो परेको भनेर बदनाम धृतराष्ट्रलाई काव्यनायक बनाउनु हो । तर, यो पनि रामलाई खलपात्र र रावणलाई सत्पात्र बनाइसकिएको स्थितिमा कसरी मौलिक मान्नु ? जमाना क्रान्तिकारीको छ । अब कवि कँडेलले कृष्णलाई कुटिल र भीष्मलाई कुण्ठित भन्नु वा दृष्टिविहीनको नाममा धृतराष्ट्रलाई अपार स्नेह र सहानुभूति खन्याउनुमा त्यसको धेरथोर प्रभाव पक्कै छ ।
खण्डकाव्यभरि पेसेवर वकिलजस्तो भूमिकामा छन् कवि, जसलाई खलपात्रको पक्षमा बहसपैरवी गर्न जति पनि छुट छ । यसो गर्न उसलाई कुनै आचारसंहिताले रोक्दैन । कालो कोटको लाइसेन्स कस्तो हुन्छ भने उसले बलात्कारी, भ्रष्टाचारी, चोर–डाँका होस् या हत्यारालाई समेत जिताउने किसिमका तर्क या कुतर्क गर्नुपर्ने हुन्छ । कँडेलको कानुनी विज्ञता पुस्तकमा झल्किएकै छ ।
पुस्तकमा कवि स्वयं धृतराष्ट्रको अवतारमा प्रस्तुत भएका छन् र उसकै खलचरित्रको औचित्य साबित गर्नु नै काव्यको ध्येय देखिएको छ । धृतराष्ट्र नै नायक भएपछि दुर्योधन, शकुनि, अश्वत्थामा, कर्ण आदिलाई स्याबासी दिनु सामान्य हो ।
कविले जसरी वकालत गरे पनि महाभारतीय धृतराष्ट्र खलपात्र नै हुन् । महाभारतको विनाशकारी युद्ध उसकै प्रतिशोधको प्रतिफल हो । दृष्टिविहीनता उसको अयोग्यता होइन तर युद्धको विध्वंस उसकै कारण निम्तिएको हो । अपांगता भएका व्यक्तिमाथिको विभेद र सामाजिक न्यायको आवाज खण्डकाव्यको मूलमर्म हो ।
महाभारतको कथाअनुसार हस्तिनापुरका राजा विचित्रविर्यको मृत्युपछि जेठा राजकुमार धृतराष्ट्र नै स्वाभाविक उत्तराधिकारी थियो । तर, दृष्टिविहीन धृतराष्ट्रको साटो उसकै भाइ पाण्डु राजगद्दीमा बस्यो । दृष्टिविहीन भएकै कारण धृतराष्ट्रलाई सिंहासनबाट वञ्चित गरिएकाले नै युद्ध भएको भन्ने काव्यकारको निष्कर्ष छ ।
सय पुत्रको महाशोक र महाभारतको सर्वसंहारपछि वयोवृद्ध (ज्ञानवृद्ध होइन) धृतराष्ट्रको संस्मरणात्मक एकालाप छ पुस्तकमा । खण्डकाव्यको नायक मात्र नभएर सम्पूर्ण घटना र प्रसंगका प्रस्तोता पनि भएकाले उसकै हालीमुहाली छ काव्यमा । आफ्नो बाल्यकाल, अन्धत्वको बोध र त्यसपछिको सत्तास्वप्न, सत्ताप्राप्ति, युद्धको त्रासदी अनि हाहाकार सिलसिलेवार रूपमा आउँछन् ।
उसको व्यक्तित्व नै घृणा, क्षोभ, द्वेष, कुण्ठा, अपमान, अभिमान र अतृप्तिको भण्डार हो । पाण्डुको मृत्युपछि राजा बने पनि उसको चित्त शान्त हुँदैन । भाइको जुठोपुरो मात्र खाएको अनुभूति गरिरहन्छ । कतिसम्म भने जेठो छोरा दुर्योधनको कपट, क्रूरता र अहंकारमाथि कुनै लगाम लगाउँदैन । यस्तो लाग्छ, कवि कँडेलको प्रयास भोलि युद्धका सरदारहरूलाई नायक बनाउने चेष्टा त होइन ? मिथकमाथि यसो गर्दै जाँदा भोलि नयाँ नयाँ संस्करणका धृतराष्ट्रहरूलाई महानायक बनाउने दिन आउँदैन ?
कविको दाबी के छ भने नयाँ चेतनाअनुसार सामाजिक न्यायलाई केन्द्रमा राखेर लेखिएको खण्डकाव्य हो ‘धृतराष्ट्र’ । कविको मान्यता छ– समाजमा अन्याय र विभेद कायम रहुन्जेल विद्रोह हुन्छ र न्याय पाए युद्धको आवश्यकता पर्दैन । दृष्टिविहीन र अपांगता भएका व्यक्ति उपहास, व्यंग्य र दया पात्र होइनन् ।
छन्दराज मानिने अनुष्टुप् छन्दमा संरचित खण्डकाव्य ‘धृतराष्ट्र’ को भाषाशैली एकदमै सरल छ । भाषा सरल भएकाले श्लोकहरू अति सामान्य भएका छन् । अनुष्टुप् छन्दको भावगाम्भीर्यको प्रौढता यसमा खासै झल्किँदैन । कवि स्वयं पौरस्त्य र पश्चिमा साहित्यशास्त्रका ज्ञाता भईकन पनि यसमा अलंकार, गुण, रीति वा वक्रोक्तिका संकेत पाइँदैन । उनको कोसिस खालि ‘पोलिटिक्ली करेक्ट’ हुने खालको छ । शैली र शिल्पमा कुनै काव्यात्मक आविष्कार छैन । त्यसैले यो कविताको मानक होइन ।
सबभन्दा अनौठो त के भने कँडेल मात्र नभएर यहाँका धेरैजसो कवि र आख्यानकार महाभारतबाहेक अरू कथाबीज भेट्दैनन् । मदन पुरस्कार गुठीले पनि महाभारतकै कथावरिपरि मात्र श्रेष्ठता देख्छ । नयाँ समयका कथा र पात्रमा साहित्यिक रचना जन्मन सक्दैन ? पौराणिक पात्रमा हाराकिरीको शृंखला कहिले सकिने हो ?
अर्को विचारणीय पक्ष छन्दका नाममा तुकबन्दीमै सबथोक देख्छन् कतिपय । छन्दलाई पनि तलुवा फाटेको जुत्ताजस्तो बनाइसके कविहरूले । छन्दका आफ्नै सीमा छन् । विमर्शको विषय हो, ‘फर्म’ले ‘कन्टेन्ट’ निर्धारण गर्छ कि कन्टेन्टले फर्म ? छन्दमा अनुभूतिहरू नअटाउन सक्छन् । हरेक कथ्यमा इमोसन हुन्छ भने हजारौं इमोसन्सका हजारौंं फर्म हुन सक्छन् ।
मिटर या फर्मुलामा समयका नयाँनयाँ स्वर नअटाउन सक्छन् । त्यसलाई तोडेर आए रिमाल, देवकोटा र भूपी । उनीहरूले कलामा सम्झौता गरेनन् । रिमालको चेतनाले फर्म आफैं निर्धारण गर्यो । त्यसमा इतिहास, भविष्य र वर्तमानको चित्र छ । त्यसपछिका अधिकांश कविमा त्यही प्रभाव छ । अब आचार्य मम्मटकै चस्माले साहित्यलाई हेरिरहनु पर्छ भन्ने छैन ।
पद्मश्री विजेता नवराज पराजुली पछिल्लो छिमलका चर्चित कवि हुन् । उनको काव्य वाचन (गर्जन ?) युट्युब च्यानलमा ‘हिट’ छन् । केही महिनाअघि मात्रै युरोपदेखि अस्ट्रेलियासम्म कविता कन्सर्ट गरेर आए । नवराजकृत ‘सगरमाथाको गहिराइ’ कवितासंग्रहको पनि उस्तै हाईहाई भइदियो । त्यसमा कविताको गहिराइ कति छ वा कविताको बाटोमा कति धुलो उडायो ?
फुटकर रचना पढे वा सुनेजस्तो हुँदो रहेनछ पुस्तक । पुस्तकले ओल्टाइ–पल्टाइ गर्ने सुविधा दिँदो रहेछ । पटके पठन गर्दा नवराजका कविताले थकान मात्र दिए । बेचैनी र छटपटी दिए । भूपीको स्कुलमा भर्ती नभए पनि उनले मौलिक हस्ताक्षर दिएजस्तो लागेन । कतै लामो निबन्धजस्तो, कतै लघुकथाजस्तो, कतै नाटकैजस्तो त कतै गफजस्तो कविता ।
कविहरूबाटै डाह गरिएका र फ्यान–फलोअर्स भएका युवाकविको यस्तो हालत उदेकलाग्दो नै हो । के ‘ओभर रेटिङ’ को दरबन्दीमा परे त नवराज ? एकाधपटक मैले पनि उनको पर्फमेन्स कलाको प्रशंसा गरेको थिएँ । म पहिले गलत थिएँ या अहिले गलत छु ? एकखालको द्विविधामा पारिदियो संग्रहले ।
हो, नाराहरूको घेरामा छैनन् नवराज । गालीगलौज या क्लिष्टताको बोझ छैन । सरल भए पनि कविताको लक्षण गहकिलो हुनु हो । त्यसैले त चिन्तकहरू आनन्दलाई सत्यसित जोड्ने कला पनि मान्छन् । वास्तवमा कविता समाचार सार होइन, सूत्र हो र सूक्ति पनि ।
झेन कविहरूले केही हरफ या केही शब्दमै गजबको जिनिस दिन्छन् । तीनपाते हाइकु पनि उम्दा लेख्छन् । यति लामो कवितामा नवराजले के भने वा कस्तो बिम्बलाई कसरी प्रस्तुत गरे ? प्रशंसा हुनुमा नवराजको दोष नहोला । तर, आखिर संग्रहका तीन दर्जन थान कविता के हिसाबले उत्कृष्ट हुन् ? तिनमा अर्गानिक शक्ति कति छ ?
उनको बहुचर्चित कविता ‘सगरमाथाको गहिराइ’ नै एउटा ‘अतिशयोक्ति’ जस्तो लाग्छ । कविता बखान मात्र होइन, विश्वसनीय र विशिष्ट बनाउने कला पनि हो । कविता कविको कल्पना मानिए पनि अतिशय भावुकता या अतिरञ्जनामा खोट हुन सक्छ । ‘विश्वलाई नै पोत्न पुग्ने रङ मेरो देशका गुराससँग सापटी माग्नू’, ‘पृथ्वीभरिकै फोहोर पखाल्न पानी चाहिए मेरो देशका नदीसँग सापटी माग्नू’ या ‘मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले नौलाख बत्ती बाल्न पुग्ने बिजुली निक्लन्छ’ भन्नुमा कति कवित्व झल्केला ?
कविता खालि कम्प्युटर–किबोर्डको एक इन्टर होइन । क्रियापदबाट सुरुआत हुनु पनि होइन । कवितालाई रबरजस्तो तन्काइरहने शैली त अझ फजुल खर्च मात्र हो । शब्दमा किफायती कविले मात्र कमाल गर्न सक्छ । शब्द त काँचो माटोजस्तै हो । यसलाई मूर्तिमा ढाल्न कलाकार नै चाहिन्छ । कवि भनेको शब्दको कलाकार हो । नवराजमा कलाकारिता हुँदै नभएको होइन, तर कमजोरी देखिन्छ संग्रहमा ।
बरु उनका लामाभन्दा छोटा कविता नै चिल्लापाते छन् । तर, ती थोरै छन् । सपना, कम्पन, औंला, बिहे, हार, सेल्फी आदि । ब्रह्माजीको रजस्वला, सतीदेवीको गाण्डीव, च्याउ, खोया आदि कविता पनि औसत नै हुन् । वाचनबिना कविता यसरी टुहुरिन्छ भने कविले सोच्नैपर्छ । यसले कवितालाई एउटा क्यालेन्डरबाट अर्को क्यालेन्डरसम्म पुर्याउन सक्दैन । कविता सस्तो भावुकता र आदर्शै आदर्शको चुचुरो पनि होइन ।
बाबु, आमा, दिदी, दाजुभाइ आदि पारिवारिक व्याकरण अनि दाइजो, छुई, खाडीको नयाँ मुग्लानबारे इमोसनल कुरा गर्नु एक हिसाबले अत्याचार नै हो । एकैथरी बिम्बमा रमाउनु वा बिम्बैबिम्बमा खेल्नु पनि दुव्र्यसन हो । क्राफ्ट र टेक्निकमा हेर्दा नवराजका अधिकांश कविता उस्तै देखिन्छन् । त्यो बाँसुरी, हार्मोनियम, तबला या मादलजस्तो साजबाज होइन । आफ्नै कविता र बिम्बको नक्कल वा निरन्तरता जरुरी छैन ।
यो देशको राष्ट्रिय फूल लालीगुराँस
आजभोलि यतिबिघ्न रातो फुल्नु
मैले यी पहाडहरूमा दस वर्ष बगाएको रातो रगतको कारणले गर्दा हो ।
….
म मर्नुअघि
मेरा बूढा भएका बुवाका हातका नङ
नदुखाईकन काट्न चाहन्छु ।
कविताको अति सामान्यीकरण उचित होइन । अतिशय राग र वितरागले असन्तुलन ल्याउँछ कवितामा । नवराजका कविताको अन्तिम परिणति त्यही हो । सारमा नवराजलाई रोनाधोना क्लबमै लगेको छ संग्रहले । ताली, सिटी र सुसेलीको भ्रम उनलाई हुन सक्छ । आँसुलाई मोतीदाना सम्झने कविलेखक र पाठक–श्रोताले रुचाउलान् पनि ।
संग्रहमा थुप्रै कविता रोमान्टिक छन् । त्यसका अनुभूति र संंवेदनाको रङ हुँदै नभएको पनि होइन । पिरती, राधा, प्रांगारिक प्रेम, चाह आदि कविताले नवराजलाई युवावयमा प्रेमभत्ता पनि देलान् । तर, तिनमा पनि साधना नपुगेको, काव्यविन्यास या परिपाक नमिलेको अवस्था छ । ‘वामपन्थी लभ’ व्यंग्य कविता हो । सँगै म:म खान जाँदा वा पानीपुरी खान जाँदा देब्रेतिर बस्ने वामपन्थी प्रेमिकाप्रतिको कटाक्ष । समसामयिक राजनीतिक र सामाजिक परिहास पनि छ कवितामा ।
यति हुँदाहुँदै पनि कविता कविको खच्चड होइन, जे पनि भारी बोकाउने । स्टन्टबाजी चटकेलाई सुहाउला, कविलाई सुहाउँदैन । ‘समर्पण अष्टावक्र गीताप्रति’ होस् या ‘यी कविता मैले लेखेका होइनन्, मद्वारा लेखिएका हुन्’ को तात्पर्य पनि बुझिँदैन । आभारमा उनले पाठकहरूका नाम लेखेर पपुलिजमको भद्दा नमुना नै देखाएका छन् । सयौँ जनाको नाम किन जरुरी हुन्छ ? कवि कतिसम्म भन्छन् भने, ‘मेरा कवितालाई प्रेम गर्ने ती सबै प्रिय नाम, जो यहाँ छुट्दा चित्त दुखाउनुहुन्न ।’ यसको मतलब आफ्नो कवित्वमा स्वयं कविलाई नै सन्देह देखिन्छ ।
धेरैलाई भ्रम हुन सक्छ । सबैलाई होइन । अनुभूतिया संवेदनाको शिखर छोएको कवितामा बेग्लैताकत हुन्छ । हाल सालै विराटनगरिया कवि विवश पोखरेलको कविता ‘बग्दै बग्दै जाने छोरासँग’ कविता सामाजिक सञ्जालमा ४५ हजारभन्दा बढी सेयर भयो । कविता यति धेरै मन पराउनु भनेको नेपालमा कविहरूको भविष्य छ भन्ने नै हो । कोही पनि भ्रममा रहनु जरुरी छैन– कविता या आख्यान, साहित्यका कुटुम्ब हुन् । सबै स्तरीय र पठनीय भए नै साहित्य गुल्जार हुन्छ । कविले पुरस्कार पाउनुमा जुन आनन्द छ, कवितामै ज्यान नहुनुमा कुनै आनन्द छैन । काव्यखानाको कमजोरीमै पनि एकअर्कालाई बधाई दिनुमा के आनन्द ?
(स्रोत : कान्तिपुर – कोसेली)