~मोहराज शर्मा ‘मोहबाबु’~
मलाइ गर्व छ
आमाले लेखेका अक्षरहरुमा ।
वहाँले आफनो नाम लेख्दा
… मलाइ लाग्छ त्यही नाममा
मेरो भगवान छ
मैले पुजा गर्ने
इश्वर छ ।
वहाँलाइ अक्षर चिनाउन
कुनै गुरुले कक्षामा भेटाएनन ।
र त्यो बतिलो उमेरले
कुनै स्कुलका भित्ता र
व्ल्याक बोर्डको धुलो पाएन ।
र पाएन
अघि मास्टरले पढाइरहदा
भुइ पन्छाएर वस्ने चकटी …..
क नपढेर समाज पढन पर्दा
कक्षा नचढेर जिन्दगीको श्रेणि उक्लनु पर्दा
नैतिक शिक्षा नपढिकन
संस्कार खर्लप्प खान पर्दा
कति अफठेरो भएहोला ।।
आफनो आधा पाटो संझेर
परदेश वाट बा ले पठाएको चिठी
मनले मन पढेर बा को ।
चिठी बुझेपनि
मनले मन साटेर
त्यही मन
अक्षरको पोको बनाएर
पठाउन नसक्दाको
कम्तिको पिडाले होइन
आमाले प्रौढ कक्षा पढेको ।
समालेर घर
समालेर मझेरी
वेलुका अर्घेलो समय निकालेर
प्रौढ कक्षाको नयाँ गोरेटो पढदा
पहिलो भएर पाएको पुरस्कार
यिनै आमाका अक्षर देखि गर्व छ मलाइ ।
पहिलो पटक कापिमा क पार्दा
खुसीले खसालेको आँशु
त्यही अक्षरमा खसेर
अक्षर ठुलो क भएको संझना छ मलाइ ।
पहिलो पटक अंकको आकार पारेर
जोड घटाउ र गुणन जान्दा
वहाँले भनेको संझना छ मलाइ
वावु,
अव जिन्दगीको हिसाव गर्न जान्ने भँए ।
अक्षर चिनेपछि
अक्षर फुटाल्न जानेपछि
बा को चिठी पढन आत्तिएको मन
आँखा र अक्षरको लत वसेर होला
आमा मेरा कितावका
वडा बडा अक्षर पढन थाल्नु भो
अनि साना पनि ।
अहिले वहाँको प्रौढ अक्षर फुलेर
स्वयं सेविका भएका छन ।
समाज पढेर सिकेका वहाँका अक्षर कति छिटै
अरुलाइ पनि काम लाग्ने भएका छन
त्यसैले गर्व छ मलाइ
आमाका अक्षरहरुमा ।।
मोहबाबु
बागलुङ, हाल काठमाडौ।