व्यङ्ग्य कविता : सिंहदरबारसँग

~राहु~

सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ?
मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो,
म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु
ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो
तर तिमी आएनौ
कहिले आउँछौ सिंहदरवार तिमी मेरो आगनीमा ?
छिमेकीहरू भन्दै थिए,
सिंहदरवार आउँछ, हामीलाई पानी ख्वाउँछ
सिंहदरवार आउँछ, बाटो बनाउँछ,
सिंहदरवार आउँछ, विकासको बक्सा ल्याउँछ
अब कसैले विदेश जानु पर्दैन, कोही भोको मर्दैन
तर सिंहदरवार तिमी कहिले आउँछौ ? कि आउँदैनौ ?
कतै तिम्रा ती पुराना भरौटेहरूले
नयाँ भारदारलाई दवाएर राखे कि ?
लड्डुपेडा ख्वाए कि वालुवाटारका विटा भिराए ?
हाम्रा आँखामा मिर्ची पाउडर फ्याँकेर पोको पारिएका विटाहरू
अव धेरै दिन टिक्ने छैनन्
सिंहदरवार, तिमी कहिले आउँछौ ? कि आउँदै आउँदैनौ ?

(स्रोत : नेपालभूमी – २०७४ माघ २ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.