~जगत नवोदित~
झुपडीको पीरो धुँवासँगै आँखामा
आशाको दियो बलेको होला
तोरीबारी भएर सपना
बाटोभरि फुलेको होला
साउने भेलझैं उर्लेको वैंश
छड्के तिलहरीले बाँधेकी हौली
सबै सबै रहरहरू
सिन्दुरको बट्टाभित्र राखेकी हौली
कति कठोर यो समय
तिम्रो संझना बोकेर मरुभूमिमा
बाँझो तिर्खा बाँचिरहेछु म ।
बुद्ध हाम्रो रहर
युद्ध हाम्रो जिन्दगी
अरुलाई दुःखको ओखती खोज्दै हिडेको
आफैं दुःखको रोगी बनेको छु
सपनामा लडीझर्छु भीरबाट
ऐठन पर्दै ब्युँझन्छु
विपनामा आङभरि
च्यातिएको स्वाभिमान काँडासरि बिझ्छ ।
खेलौना देख्यो छोराछोरी सम्झन्छु
साँझ पर्यो डाँडामाथिको आमाबुबा सम्झन्छु
बाडुली लाग्यो गाउँघर सम्झन्छु
यो परदेशमा
आफूलाई धिक्कार्दै आँसुसरि हुन्छु ।
सुन टिप्छु भनेर हिँडेको
हाम्रै माटोमा फल्दोरहेछ सुन
जून छुन्छु भनेर हिँडेको
हाम्रै आकाशमाथि रहेछ जून ।
चाउरिएको आमाको अनुहारमा
विरहको आँसु पुछ्न
मुना !
तिम्रो मदन फर्कदैछु घर ।
– बेलायत
(राष्ट्रिय कविता महोत्सव 2069 मा द्धितीय भएको कविता)
