कविता : मरुभूमिको गीत

~गिरी श्रीस मगर~

मध्यरातको नीरव छटपटीमा
दह बास बसिरहेको आँखामा
छाइरहेछ प्रियसीको उदास अनुहार,
आइरहेछ ऋणमा डुबेको घरबार,
बेतोड भागिरहेछ निद्रासँगै
प्रेमजस्तो सुकोमल सपना ।

सम्झेर घरको भोक चुहिने मझेरी
लागिरहेछ आँखामा आँसुको झरी
छिचोलेर आँसुको झरना
देखिरहेछु स्वजनका तस्वीर,
मनमा उर्लिरहेछ पीर
छातीमा बज्रिरहेछ तीर ।

दौडिइरहेछु मृगतृष्णाको पछिपछि
सेकिदैछु बालुवाको ताप बोकी
चलिरहेको पवनमा,
डुब्दै छु पलपल
आँसुको आफ्नै आयतनमा,
एकान्तको अँध्यारो गोठमा
जब हुत्याउँछ निराशाको छालले
छाती फोडेर उभिन्छ
पीडाप्रश्न सचित्र—
फर्किनेछु आफ्नै खुट्टामा उभिएर ?
वा काठको बाकसभित्र ¤

गोलीजस्तै यो
प्रश्नको घाउ लिएर
दौडिदै घाइते मृगजस्तै
सिँचिरहेछु पसिनाले मरूभूमि
र माटो आफ्नै हराइरहेछु
भाँसिइरहेछु बालुवाव्यूहमा
र बाटो आफ्नै हराइरहेछु
हजुर ¤
म त एक पाशित गोठालो,
आत्मबलिदानको रेमिट्यान्समा
विद्वान् विज्ञहरूले जस्तै
देखिरहेको छैन—
देशको मुहारमा मुस्कान,
भेटिरहेको छैन—
लत्रेको शिरमा स्वाभिमान ¤

हरदम मलाई बोलाइरहने
मैलाई सम्झी टोलाइरहने
यौटी छिन् मेरी मोई,
हरियो पासपोर्ट बोकाइरहने
यातनाको गोमनले टोकाइरहने
अर्को छ अग्निवर्णको राज्यसत्ता
जो खाइरहेछ
मेरै पसिनाको भत्ता ।

पश्चिम र पूर्वजस्तै
वा चुम्बकको दुई धु्रवजस्तै
यौटी मेरी मोई छिन्
र अर्को छ राज्यसत्ता ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.