कविता : देवत्वकरण

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

देश देश नै हो
किनकि देश देश जस्तै छ
नेता नेता जस्तै भएका भए ,नेता नेता नै हुन्थे
नेता नेता नै भएका भए
नेपाली ले नेपालीको बलि चढाउँदा
टुलुटुलु हेरेर बस्दैन थे
अर्थात् बलि चढाउनेको मतियार बन्दैन थे
जनता र्पिर्सएका बोका जस्ता हुँदैनथे
देबिका मन्दिरमा चढाऊँन लगेको बोका पर्सिए झैं
जनता बोका झैं पर्सिने थिएनन्
जनता त जना नै हुन् तर नीरीह
किनकि जनतालाई ,जनता जस्तो भएर बस्न दिईदैन
उर्दिको पालना गर्नु पर्छ नेताको
कहिले बन्द कहिले हडताल कहिले टाएर बाल्न
तम्तयार भएर बस्नु पर्छ आदेश पालनाको
कहिले कसको जय ,कहिले कसको जय ,कहिले कसको जय
जय जयकार गर्नु पर्छ जनताका मुखले
चुईक्क बोल्नहुदैन नेताका बिरुद्ध
देवत्व प्राप्त गरिरहेका छन् नेताहरु
देवता बिरुद्ध बोल्दा पाप लाग्छ , देवता रिसाउँछन्
किनकि देवता रिसाउँदा देश र प्रजामा अनिष्ट हुन्छ
अब उनिहरु यस देशका नेता होईनन्
देवता हुन् देवता , साक्षात देवता
हामी पुनरजन्ममा बिश्वास गर्नेहरु
यस जन्ममा नेताले सुख र शान्ति नदिए पनि
नेता प्रतिको राग र भक्तिभावले हाम्रो परत्र सुध्रने छ
मृत्यु पश्चात बैकुण्ठको बास प्राप्त हुने छ
बैकुण्ठमा सुख प्राप्त हुन्छ रे
छ न त यो देश पनि बैकुण्ठ जस्तै छ
तर हाम्रा लागि होईन प्रजाहरुका लागि होईन केवल नेताहरुकालागि
किनकि यो बैकुण्ठरुपि देश नेताहरुको मात्र हो
अभाब छैन, उनिहरुलाई अनि अप्ठेरो पनि छैन
देश र जनता लाई दीर्घकाल असर पर्ने निर्णय गर्न
रोक छैन छेकवार छैन
जनताका घर दुर्गम छिमेकी को घर सुगम
देश र जनताको आकाँक्षा मार्दै
छिमेकीको आकाँंक्षा पुरा गर्दै
देश र जनताको सामु झूटको पुलिन्दा ओछ्याउँदै
चल्दै आएको परंपराकोे निरन्तरता
अन्ततःकसले छेक्छ कसले रोक्छ कसले बिरोध गर्छ ?
अगाडी पछाडी भक्तहरु लामवद्ध छदैछन् रक्षाकवचको रुपमा
चवर हल्लाई रहेका छन् , धुप बालिरहेकाछन् भगवान खुसि बनाउन
कतै भगवानको बक्रदृष्टि भए पनि पर्छ कि भन्दै
माला लगाई दिंदा आँखा आँखा जुध्छ कि भन्दै
माला लगाई दिन्छन् ,माला लगाई दिन्छन्
माला ले भगवानको ( नेताको) गला भरिएर अनुहार ठाकिन्छ
तर कर्के नजर पनि परेन भगवानको ,
कठै कत्रो आस्था र बिश्वास भगवानप्रति
धुप बाल्छन् , आरति उतार्छन् मिठा मिठा पकवान्नको भोग लगाउँछन्
तर रुच्दैन तिनीहरुलाई ति चिजबिजहरु
अरुहरुकै पकवान्न खान पल्केकाहरु
देश भक्त र स्वाभिमानको पूजाबाट किन तृप्त होऊन्
बेरोजगारी नेताहरुलाई पाल्ने जिम्मा पाएकाहरु
तल्लिन छन् सेवामा ,कतै त्रुटी नहोस् पूजामा
कमि नरहोस् पञ्चामृत र प्रसाद अर्पणमा
यो ईज्जतसंग सवाल छ ,आशिर्वाद पाऊनसंग सवाल छ
कतै भोली अर्कैले धुपदिप नैबेद्य अर्पण गर्ने अवसर प्राप्त नगरोस्
बिकृतिका नायक हुनबाट बञ्चित नभईयोस्
किनकि ,
सच्चा भक्तहरु त बिमुख भई सके
अब त हामी नै सच्चा भक्त हौं ,
अस्तिका संग पनि हामी थियौं
हिजोका संग पनि हामी थियौ
आजका संग पनि हामी नै छौं र
आई परेको अवस्थामा भोलिकासंग पनि हामी नै हुने हौं
हामी भगवानका सच्चा भक्त
धुप दिप नैबेद्य अर्पण गर्न जानेका
षोडषोपचारले भगवानको पूजाअर्चना गर्न जानेका
भगवानकोे ढोका बन्द भई सक्यो (कार्यकर्तालाई) भक्तहरुलाई
भगवानको (नेताको) ढोका खुल्छ हामीहरु जस्ता भक्तहरुलाई
राजनीति परिवर्तनमा जुधारुको आबश्यता थियो
त्याग बलिदान र सर्मणको आबश्यकता थियो
राजनीति निष्ठाको आबश्यकता थियो
जिवन उत्सर्ग गर्नेको आबश्यकता थियो
कर्मि मौरीको आबश्यकता थियो
अब समय बदलियो
अब इन्कलाब को नारा घन्काउने मुखहरु होईन
पूजाका किस्ति सजाउने हातहरुको आबश्यक छ
देशको दुश्मन हराऊने योद्धा होईन
सजाईएका किस्तिहरु मन्दिर सम्म सुरक्षीत पुर्याउने हातहरुको आबश्यकता छ
भगवानको महत्व बुझ्न सकुन्
भगवानको आबश्यकता बुझ्न सकुन्
अटुटरुपमा भक्तिभाव रहीरहोस्
सिक्कामा दुई पाटाको अपरिहार्यता जस्तै
भक्त र भगवानको अपरिहार्यता कायम रहोस्
ता कि निर्बाधरुपमा भगवान (नेता) लाई
सजाईएका किस्तीहरु प्राप्त भईरहुन
प्राप्त भईरहुन जिवन बृत्तिकालागि भाविसन्ततीको समुन्नतिकालागि

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.