~कमलमणि देवकोटा~
वास्तवमा कथा यथार्थरुपी जीवनको भोगाइ हो भने जीवन वास्तविक कथारुपी यात्रा हो । त्यसैले त जीवनका यात्रारुपी अनगिन्ती पाइलामा ठोकिन्छन् धरातलीय उतार चढावका प्रतिबिम्बहरु । यिनै बिम्ब प्रतिबिम्बभित्रका जीवनयात्राका उतार चढावरुपी परिवेशहरु नै बन्छन् वास्तविक कथा । यिनै घटना परिघटनाहरु टकराउँछन् हरेक मानव मुटुका स्पन्दनमा र छुन पुग्छन् हरेक संंवेदनशील मन–मनमा । त्यसैले त सिर्जिन्छन् स्रष्टाका मनमा अनि टाँसिन्छन् कागजका पाना–पानामा । यिनै कागजका पानामा कोरिएका यथार्थ जीवनका सिर्जनारुपी सङ्ग्रहको मूर्तरुप हो कथाकार हरिप्रसाद भण्डारीको सिर्जना– ‘काला सर्पको खोजी ।’
बुवा परमानन्द भण्डारी र आमा बिनितादेवी भण्डारीको कोखबाट वि.सं. २०१६ जेठ ५ गते गुल्मी वस्तु–४ जन्मिई हाल रुकुमको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत साहित्य सर्जकको नाम हो हरिप्रसाद भण्डारी । जनप्रशासन र नेपाली साहित्यमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका साहित्यसर्जक भण्डारीका कथा संग्रहहरु चिराग (२०४७), अस्वीकृत कथाहरू (२०५८) लघुकथा संग्रह अविरल यात्रा (२०६३), काला सर्पको खोजी (२०६७), बालकथा संग्रह चरीका रमाइला कथा (२०६७) र मनको आँखा (२०६९), नियात्रा कुनमिनको सेरोफेरो (२०६९) र धनञ्जय क्षेत्रीय भण्डारीहरूको वंशावली–२०७० प्रकाशित भइसकेका छन् भने अन्य केही प्रकाशोन्मुख साहित्यक कृतिहरू पनि छन् । त्यसो त उहाँका गद्य र पद्यमा रचिएका कविताका साथै फुटकर थुपै्र रचनाहरू पनि सङ्ग्रहित छन् ।
स्रष्टा भण्डारी धौलागिरी साहित्य प्रतिष्ठानद्वारा ‘काजिरोशन साहित्य पुरस्कार–२०५८’, विद्युतकर्मी साहित्य समाजद्वारा आयोजित राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार–२०६३ लगायत विभिन्न साहित्यिक संघ संस्थाहरूबाट पुरस्कृत एवं सम्मानित भइसक्नुभएको छ । प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय समिति सदस्य, नागार्जुन साहित्य प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र राप्ती साहित्य परिषद्का आजीवन सदस्य साथै विभिन्न साहित्यिक संघ संस्थाहरूमा समेत संलग्न रहँदै आउनुभएका भण्डारी नेपाली साहित्यिक क्षेत्रका एक जाँगरिला हस्ताक्षर एवं सशक्त साहित्य सर्जक हुनुहुन्छ ।
साझा प्रकाशनद्वारा प्रकाशित हरिप्रसाद भण्डारीको लघुकथा सङ्ग्रहको नाम हो– काला सर्पको खोजी । जम्मा ६३ वटा लघुकथाहरू समेटिएको यस सङ्ग्रह २०६७ सालमा प्रकाशन भएको हो । कृतिमा समाविष्ट पहिलो कथाकै शीर्षकबाट पुस्तकको नामाकरण गरिएको छ । यस शीर्षकको कथामा सामाजिक परिवेशभित्रको यौन पेशाको पराकाष्ठामा लिप्त एक महिलाको चित्रण गरिएको छ ।
कुर्सी नाम दिइएको अर्काे कथामा मोटाउँदै गएको व्यक्तिको वजनको भार कुर्सीलाई परेको कुरा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत भएको पाइन्छ । यसैगरी भागबण्डा शीर्षकको कथामा यो देशका जिम्मेवार व्यक्तिहरूबाट सिङ्गो नेपालको लुछाचुँडी भइरहेको अवस्थालाई देखाइएको छ । शालिक शीर्षकको कथामा महत्वाकांक्षी व्यक्तिबाट गरिएको सम्मान र स्वागतको तीब्र अभिलाषाको प्रतीत हुन्छ ।
अर्काे निर्वाचन नाम दिइएको कथामा चुनावको बेलामा प्रस्तुत छद्मभेषीको बर्बरता एवं मताधिकार प्रयोगको विकृत रुप दर्शाइएको छ । यसैगरी अनौठो प्रजातन्त्र शीर्षकको कथामा नेताको भाषण र व्यवहारमा देखिएको फरकका कारण आपसी युद्घको संकेत झल्किन्छ ।
सङ्ग्रहभित्र रहेको चक्काजाम शीर्षकको कथामा सरकारले पुराना गाडीहरू चलाउन रोक लगाएकोमा व्यवसायीद्वारा चक्काजामको आह्वान र सरकारद्वारा चक्काजाम नगर्ने आदेशले दोहोरो भूमिका जस्तो बडो रोचक प्रस्तुति उल्लेख छ । यस्तै फोहोर शीर्षकमा धार्मिक कट्टरताको पराकाष्ठाका कारण दीर्घरोगी हुनुपरेको चित्रण छ । मृत्युको मूल्य कथामा मृत्युअघिको जीवन र मृत्युपछिको जीवनको मूल्यका बारेमा रोचक वर्णन छ ।
त्यस्तै महत्वपूर्ण कार्यक्रम शीर्षकमा सिद्घान्त एवं भाषण विपरित कार्य हुने गरेको यथार्थता झल्किन्छ । ब्ल्याकआउट शीर्षकको कथामा दुबै आन्दोलित पक्षबीचको चर्काे द्वन्द्वलाई समेटिएको छ । घाइते बालक शीर्षकको कथामा नक्कली मगन्तेहरूको चित्रण र बालशोषणबारे उल्लेख छ ।
मृत्युको घण्टी शीर्षकमा खरायोको जुक्तिले सिंहको घाँटीमा घण्टी झुण्ड्याउन सफल भएको कुरा उल्लेख छ । बोकाको सहर यात्रामा कालको चक्रमा फसेको कुरा छ । विज्ञापित मान्छे शीर्षकमा विज्ञापनको नाममा कमाइको धन्दा छ । जनग्रहमा असफल भविश्यवक्ताको कुरा छ । नायक शीर्षकमा संस्कृतिको विरोध गर्ने नायक पनि पूजाआजामा संलग्नता जस्तो रोचकता देखिन्छ ।
अनुत्तरित प्रश्नहरू शीर्षकमा जागिरे जिन्दगीको कहालीलाग्दो असीमित चाहनाको यथार्थता झल्किन्छ । मन शीर्षकमा युवायुवतीको बहकिदो अवस्थाको चित्रण छ । विष नभएको सर्प शीर्षकमा शक्तिहीन नेताको अवस्था दर्शाइएको छ । चोरीको रिपोर्ट शीर्षकमा चोरीमाथि पनि चोरीको रमाइलो प्रसंग जोडिएको छ ।
सरकारी चिट्ठी शीर्षकमा कार्यालय प्रमुखको सशंकित एवं कार्बाहीबाट ग्रसित मनको ब्यथापूर्ण कुरा उल्लेख छ । छोरीको जिज्ञासा शीर्षकमा समयको वेवास्ता गर्नेहरुको चित्रण छ । शक्तिपूजा शीर्षकमा प्रशंसक बनेर फुक्र्याउने कुरा उल्लेख छ । यस्तै विद्रोह शीर्षकमा दुईनम्बरी धन्दा अर्थात् कालो बजारीपूर्ण कामको विरोध छ ।
मापदण्ड शीर्षकमा खर्च गर्नेलाई छुट र केही नभएको गरीबलाई कार्बाही गरिएको रोचक प्रसंग भेटिन्छ भने म अनन्ते होइन शीर्षकमा मोवाइल फोनको दुरुपयोग सम्बन्धी यथार्थता झल्किन्छ ।
यसैगरी मेरै मृत्युको खबर शीर्षकमा जिउँदोलाई वास्ता नगर्ने तर मरेपछि सम्झेका कुरा छन् । जहाँ ‘म बाँचेर मरेको रहेछु र आज मरेर पनि मजाले बाँचिरहेछु । म अब बाँचेर मरुँ कि मरेर बाँचूँ ?’ जस्तो भावुक तर्क छ ।
यस्तै स्वीच अफ शीर्षकमा तिम्रो लागि सबै दिन तयार छु भन्ने तर सहयोगको याचनामा लाग्ने प्रवृत्ति उल्लेख छ । आन्दोलन शीर्षकमा बाल स्वतन्त्रताको आवाज प्रतीकका रुपमा हतारमा स्वतन्त्रताको निर्णय छ भने रोटी शीर्षकमा भोक र रोटीको महत्त्व दर्शाइएको छ । बाटो शीर्षकमा सपना र वास्तविकताको रहस्योद्घाटन र अस्मिथको नाति शीर्षकमा अन्तरमनको लामो यात्रापछिको अवस्थाको संकेत छ ।
महामानव शीर्षकमा आफैले आफैलाई खाइरहेको मान्छे जो मुढोजस्तै लडेको अवस्थाको चित्रण छ । यस्तैगरी शाकाहारी बिरालो शीर्षकमा परिवर्तित रुपपछि पनि ऊ साधु बन्न नसकेको चित्रण छ । समस्या शीर्षकमा काम टार्ने प्रवृत्ति एवं निरीक्षकको निगरानी छ भने सम्झौता शीर्षकमा स्वार्थी ब्राह्मणको साँठगाँठ छ ।
यसैगरी म होइन ऊ शीर्षकमा बिरामी श्रीमतीको देखावटी माया र कालसँगको आफ्नो चलाखीपूर्ण कुराकानी छ । ढुकुर र कौवा शीर्षकमा चतुर कौवाको बिगबिगी छ । उपदेश शीर्षकमा ब्रह्मचारीको परिवर्तित सोचको रोचक प्रसंग छ । युवराज शीर्षकमा सत्ता र शक्तिको लालच झल्किन्छ भने छाउराको जिज्ञासा शीर्षकमा कुकुर पूजाको दिन उसको महत्व भएझैं चुनावको दिन नेताको महत्व भनेर यथार्थता प्रस्ट्याइएको छ ।
यस्तै इच्छा शीर्षकमा घरबाट अपहेलित आमाको झ्यालखानाको रोजाई एउटा कहालीलाग्दो एवं मर्मस्पर्शी चित्रण छ । मोटो हवल्दार शीर्षकमा गरीबबाट खान पल्केको विचार छ । ओखती शीर्षकमा पेट दुखेको बहानामा प्रेमजालको नाटक छ ।
यसैगरी न्याय शीर्षकमा कुमार र वैवाहिक जीवनको चित्रण छ । देवताको मृत्यु शीर्षकमा सत्यतामा मौनताको पराकाष्ठा एवं अत्याचारीको प्रगति उल्लेख छ । काउलीको पात शीर्षकमा विशाक्त औषधीको प्रयोगको वास्तविकता देखिन्छ । सूत्रधार शीर्षकमा १० रुपैयाँको नोट दिदा हिसाबमा लुछाचुँडीको अवस्था भेटिन्छ ।
यस्तै वास्तविकता शीर्षकमा पहिले रिसाउने मान्छे भोट माग्दा हँसिलोको स्वार्थीपन देखिन्छ । प्रवेश शीर्षकमा पार्टी प्रवेशले धनी मान्छेमा परिवर्तनको रुप देखाइएको छ । पुलिस ल्या शीर्षकमा अर्काको मनपरी खाएर ठाँटिने मान्छेको चित्रण छ । पूजा शीर्षकमा बृद्धहरुको सेवा गराई, व्यवहार र बोली विपरित झल्किन्छ । सम्मानको अर्थ शीर्षकमा हतियारको डर एवं सम्मान देखिन्छ ।
आगलागीको कारण शीर्षकमा सम्पत्तिको घमण्डले अरुको घर जल्दा बेवास्ता तर आफ्नै घर जलेपछि होस खुलेको रहस्य छ । निष्कर्ष शीर्षकमा घमण्डले घाटा अर्थात् कुखुरो नबासे पनि उज्यालो हुने जस्तो रोचकता छ । छोराको बिहे शीर्षकमा सम्पत्तिको आशामा घमण्डको आभास पाइन्छ । सहमति शीर्षकमा दलित–दलितबीच पनि छुवाछूतको द्वन्द्व भेटिन्छ । प्रतिबिम्ब शीर्षकमा पियक्कडले पियक्कडको मृत लाशमा आफ्नै अनुहार देख्नु र समवेदना शीर्षकमा सम्पादकको गल्तीले बधाईमा समवेदना छापिएको यथार्थता छ ।
यस्तै पत्रकारको धर्म शीर्षकमा खान पाएपछि समर्थनको आभास भेटिन्छ भने घमण्डी माछोलाई शीर्षकमा आखिर पानी नै चाहिने कुराको वास्तविकता छ र आमा शीर्षकमा आफ्नो पार्टीको बचाउ र आन्दोलनमा मर्नेहरु सर्वसाधारण भएको यथार्थताबोध हुन्छ ।
अपवादको रुपमा भन्नुपर्दा केही थोरै कथाका शीर्षकहरुमा भने अझै पनि मिल्दो नाम जुराएको भए झनै राम्रो हुन्थ्यो कि ? तथापि समग्रमा कथाहरु रोचक एवं तर्कपूर्ण र मर्मस्पर्शी नै छन् । कथासङ्ग्रह भित्रका सबै कथाहरु पढिसकेपछि यी कथाहरुमा यथार्थता भेटिन्छ । बढी व्यावहारिकता झल्किन्छ । धेरैजसो कथाहरु प्रतीकात्मक एवं मनोविश्लेषनात्मक छन् । बोधगम्य एवं मर्मस्पर्शी र सारगर्भित छन् ।
प्रायजसो कथाहरुले पाठकको मन मुटु नै छुने खालका यथार्थरुपी छन् । मानव जीवन भोगाइका गतिशील विषयवस्तुका व्यावहारिक घटनाहरु बनेका छन् र त सबै कथाहरु वास्तविक परिस्थितिका निकै चोटिला एवं घोचिला उदाहरणसमेत बनेका छन् । त्यसैले त जीवन डसाइका काला सर्पहरुको खोजीमा सफल देखिनुहुन्छ कथाकार भण्डारी । शुभकामना कथाकार भण्डारीलाई आगामी सिर्जनाहरुमा पनि यसैगरी विषालु सर्पहरुको विष ओकल्न अझै सिद्घहस्त बन्नुहोस् ।
KMD2018@gmail.com